अब साना हिमाल चढेपछि मात्र सगरमाथा आरोहण

सुरज कुँवर

काठमाडौँ — आगामी सिजनदेखि सगरमाथा आरोहण गर्नुअघि ६ हजारदेखि ७ हजारसम्म उचाइ भएका हिमाल आरोहण गरेको अनुभव अनिवार्य गरिएको छ । सरकारले जेठमा गठन गरेको सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनले यस्तो सिफारिस गरेको हो । 

हिमाली जिल्ला मनाङको हुम्डेस्थित ३ हजार २ सय मिटर उचाइको हिमपहरो चढ्दै पर्यटक । तस्बिर सौजन्य : नेपाल क्लाइम्बिङ टिम

प्रतिवेदन बुधबार सार्वजनिक गरिएको छ। ‘पैसा हुनेले अब सोझै सगरमाथा आरोहण गर्न पाउने छैनन्,’ प्रतिवेदनमा भनिकएको छ, ‘अब स्वदेशी वा विदेशीले पहिले ६ हजार ५ सय हाराहारी उचाइको कुनै हिमाल आरोहण गरेको हुनुपर्नेछ।’

विदेशीहरूले सगरमाथामा आरोहण अनुमतिमा नियन्त्रण गर्नुपर्ने, सगरमाथालाई आराम दिनुपर्ने लगायत विषय उठाउँदै सरकारलाई दबाब दिँदै आएका थिए। तर प्रतिवेदनले सगरमाथा आरोहण अनुमति नियन्त्रण नगरिने र आराम पनि दिनु नपर्ने उल्लेख गरेको छ । ‘सिजनमा एक महिना मात्रै आरोहण हुन्छ। बाँकी ११ महिना सगरमाथाले आरामकै समय पाइरहेको हुन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यस्तै आरोहण अनुमति नियन्त्रण पनि गरिने छैन।’

आगामी सिजनदेखि आरोहण दलको लियाजन अफिसर (सम्पर्क अधिकृत) मा आरोही शेर्पाहरूलाई पनि समेटिनेछ । ‘यसअघि स्नातक पास गरेका आरोही शेर्पालाई लियाजन अफिसर तोक्न सकिने प्रावधान थियो। ‘एसएलसीसरह अध्ययन गरेको अनुभवी शेर्पालाई पनि लियाजन अधिकृतको समूहमा राख्न सकिनेछ,’प्रतिवेदनमा उल्लेख छ ।

यसअघि संघ र आरोही संघको सिफारिसमा वर्षमा ४ जनासम्म स्नातक अध्ययन गरेका शेर्पालाई लियाजन अफिसरका रूपमा पठाउने व्यवस्था रहेको नेपाल पर्वतारोहण संघका एक पदाधिकारीले बताए। अब एसएलसी पाससरहको व्यवस्था हुँदा अत्यधिक आरोही शेर्पाहरूले सम्पर्क अधिकृतको भूमिका पाउनेछन्। त्यसैगरी प्रतिवेदनले आधार शिविरमा नपुग्ने निजामतीतर्फका सम्पर्क अधिकृतलाई सेवा अवधिभर रोक्न सक्ने प्रस्ताव गरेको छ। त्यस्तै चिकित्सकको स्वास्थ्य जाँच पनि अनिवार्य गरिएको छ। स्वास्थ्य परीक्षणमा अयोग्य देखिए आरोहण दलका सदस्य, गाइड, हेल्पर, भरिया आदि कुनै पनि भूमिकामा हिमाल चढ्न पाइने छैन।

पछिल्लो पटक पर्वतारोहणका क्षेत्रमा देखापरेका नीतिगत, कानुनी र संरचनागत कार्यविधि सुधारका लागि सुझाव दिन प्रधानमन्त्रीस्तरीय निर्णयबाट सुझाव समिति गठन गरिएको थियो।

उक्त समितिमा मन्त्रालयको जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवर्द्धन महाशाखा प्रमुख घनश्याम उपाध्यायबाहेक पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा र ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) का अध्यक्ष नवराज दाहाल सदस्य थिए। उक्त समितिमा विभागकी उपसचिव मीरा आचार्य सदस्य सचिव थिइन्।

यस्तो छ प्रतिवेदनः

प्रकाशित : श्रावण २९, २०७६ १७:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नेपालगन्जमा रक्षाबन्धनको चहलपहल (तस्बिरहरु)

शब्द/तस्बिर : ठाकुरसिंह थारु

नेपालगन्ज — दाजु र बहिनीको पवित्र चाड रक्षाबन्धनको चहलपहल नेपालगन्जमा बुधबारबाटै सुरु भएको छ । बिहीबार परेको रक्षाबन्धनका लागि मध्यनजर गर्दै नेपालगन्जको त्रिभुवनचोकमा मेला नै लागेको छ । महिलाहरुले आफ्ना दाजुभाइका लागि विभिन्न प्रकारका राखी र मिठाई किनेका छन् । मधेसी समुदायमा मनाइने यो पवित्र चाड पछिल्लो समयमा अन्य समुदायले पनि सिकेका छन् । रक्षाबन्धनका दिन दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर दीघार्युको कामाना गर्छन् । दाजुभाइले इच्छा अनुसार दिदीबहिनीलाई दक्षिणा दिने चलन मधेसी समुदायमा छ ।

प्रकाशित : श्रावण २९, २०७६ १६:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT