कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवा भन्छन्, 'कांग्रेस पार्टी हेर्दा एक, गन्दा दुई'

प्रतीक्षा काफ्ले

(गण्डकी) — कांग्रेस सभापति शेरबहादुर देउवाले गुट र उपगुटका कारण पार्टी कमजोर बन्दै गएको बताएका छन् । कांग्रेसको गण्डकी प्रदेशस्तरीय महाधिवेशन प्रतिनिधिका लागि शुक्रबार प्रशिक्षण कार्यक्रममा सभापति देउवाले आफ्नो पार्टी हेर्दा १ भए पनि २ वटा रहेको भन्दै चिन्ता व्यक्त गरे ।

देउवा भन्छन्, 'कांग्रेस पार्टी हेर्दा एक, गन्दा दुई'

कम्युनिष्ट पार्टी २ वटा भएर पनि १ भएको बताउँदै उनले कांग्रेस पार्टी पनि एउटै भएर एउटै एजेण्डामा अगाडि बढ्नुपर्नेमा जोड दिए ।


गुट-उपगुट हुँदा पार्टीले नराम्रोसँग हार व्यहोर्नु परेको उनको भनाइ थियो । उनले कास्कीको क्षेत्र नम्बर २ लाई इंगित गर्दै अबको उपनिर्वाचनमा कांग्रेस एक हुनुपर्ने बताए । ‘निर्वाचनको बेला उम्मेदवारको टिकट पाउने एउटाले हो’ उनले भने, ‘सबैलाई टिकट दिन मिल्दैन । टिकट जसले पाए पनि सबै कांग्रेस एक भएर अगाडि बढ्नुपर्छ । यदि तपाईहरु एक हुनु भएन भने चुनाव जित्न गाह्रो छ । यदि चुनावमा उम्मेदवार हारे कांग्रेसकै कारण हार्ने हुन् ।’ उनले कम्युनिष्ट एक हुदाँ कांग्रेसलाई ठूलो चुनौती रहेको बताए ।


चुनावबाट पार्टी एकताको सुरुआत हुने उनको विश्वास छ । ‘सबै एक भएपछि चुनाव जितिन्छ । अनि पार्टी एकताका साथ अगाडि बढ्छ’ उनले थपे । चुनावको लागि प्रचारप्रसारमा लाग्न उनले कार्यकर्तालाई निर्देशनसमेत दिए ।


सभापति देउवाले कम्युनिष्ट सरकारले मन लाग्दो काम गरेको आरोप लगाए । प्रेस स्वतन्त्रतामाथि मिडिया काउन्सिल ऐन ल्याएर आफ्नो कव्जामा लिन र मन नपरेका व्यक्तिलाई सिध्याउने खेल खेलेको आरोप देउवाको थियो । बहुमतको सरकारले लोकतन्त्रमा बोल्न र लेख्ने अधिकार हनन् गरेको उनको आरोप छ ।

प्रकाशित : श्रावण ३१, २०७६ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?