कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विशेष शिक्षामा ५ जनालाई पीएचडी उपाधि

गणेश राई

काठमाडौँ — दक्षिण कोरियाको छाङवन नेसनल युनिभर्सिटीबाट ५ जना नेपालीले विशेष शिक्षामा विद्यावारिधि (पीएचएडी) उपाधि हासिल गरेका छन् । विद्यावारिधि हासिल गर्नेमा यज्ञराज पाण्डेय, शरणहरि श्रेष्ठ, स्मृति राई, रविन्द्र शिवाकोटी र ध्रुवप्रसाद निउरे छन् । जसमध्ये शिवाकोटी, निउरे र श्रेष्ठ त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् ।

विशेष शिक्षामा ५ जनालाई पीएचडी उपाधि

उनीहरूले विश्वविद्यालयले शुक्रबार साउन ३१ गते (अगस्ट १६) दक्षिण कोरियामै आयोजना गरेको दीक्षान्त समारोहमा विद्यावारिधि उपाधि प्राप्त गरेका हुन् । शिवाकोटीले ‘नेपालमा विशेष/समावेशी शिक्षा नियम र नीतिहरूको विश्लेषणात्मक अध्ययन’ शीर्षकमा शोध गरेको जनाएका छन् । त्यसैगरी निउरेले ‘दृष्टिविहीनका लागि पाठ्यक्रम विभेदिकरण’, श्रेष्ठले ‘अटिजम नेपालको अवस्था विश्लेषणात्मक अध्ययन’ शीर्षक शोध गरेका छन् । पाण्डेय ‘अपांगता भएका बालबालिकाहरुको मूल्यांकन प्रक्रियाको विश्लेषणात्मक अध्ययन’ र राईले ‘नेपालका विशेष विद्यालयमा लैगिक विविधताको अध्ययन’ शोध गरेका छन् ।


अपांगता अर्थात् साधारण समूहभन्दा फरक क्षमताका बालबालिकाको विशेष आवश्यकता परिपूर्ति गर्नुका लागि विशेष वातावरणमा दिइने शिक्षा नै विशेष शिक्षा हो । ‘हामीले तीनदेखि पाँच वर्षको मिहिनेतबाट सफलता पायौं,’ उपप्राध्यापक शिवाकोटीले टेलिफोनमा कान्तिपुरसित भने, ‘अब नेपाल फर्केर विशेष शिक्षाको विकास स्पेसल एजुकेसन सोसाइटी गठन गर्ने छौं । यसको विकास र प्रवर्द्धनमा लागीपर्ने छौं ।’


त्यसैगरी उपप्राध्यापक निउरेले त्रिविले दिएको चार वर्षे बिदाको सदुपयोग गरेको बताए । ‘विश्वविद्यालयले विशेष शिक्षामा विशेषज्ञको आवश्यकता महसुस गर्‍यो र हामीले आज पीएचडी उपाधि हासिल गर्न सफल भयौं,’ उपाधिले थप जिम्मेवारी दिएको उल्लेख गर्दै टेलिफोनमा उनले भने, ‘नेपालको विशेष शिक्षाको क्षेत्रमा कम्तीमा एक/दुई स्टेप माथि उठाउने हाम्रो प्रयास रहन्छ । त्यसले देश र समाजलाई फाइदा पुग्ने छ ।’


छाङवन नेसनल युनिभर्सिटी अपांगताबारे अध्ययन/अनुसन्धान गर्ने अगुवा विश्वविद्यालय हो । यही युनिभर्सिटीले लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेसनल कोअपरेसन (अन्तर्राष्ट्रिय सहयोगका लागि अगुवा विश्वविद्यालय परियोजना/लुपिक) सुचारु राखेको छ । सन् २०१४ देखि नेपालमा लुपिक सुचारु छ ।


लुपिकअन्तर्गत त्रिविमा एमएड र बीएड तहमा विशेष शिक्षा विषयको पठनपाठन भइरहेको छ । उक्त विश्वविद्यालयले त्रिविसित गरेको सम्झौताअनुसार पाँच जनाले विद्यावारिधि अध्ययन, शोध तथा उपाधि हासिल गरेका हुन् ।

प्रकाशित : श्रावण ३१, २०७६ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?