कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कारविरुद्ध खुल्दै पीडित

‘पीडितमा पहिलेजसरी इज्जत जाला, थप पीडा होला भन्ने डर कम हुँदै गएको छ । हिंसाका प्रकृति फेरिएका छन्, जसले गर्दा घटना पनि बढेका छन् ।’

काठमाडौँ — साताअघि ओखलढुंगाको सदरमुकामदेखि ३८ किमि दक्षिणी श्रीचौर गाउँकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ परे । जंगलमा घाँस काट्न गएकी किशोरीलाई बलात्कार गरेको आरोपमा श्रीचौर प्रहरी चौकीमा कार्यरत प्रकाशकुमार यादव पक्राउ परे । 

बलात्कारविरुद्ध खुल्दै पीडित

आरोपितलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि उनले जंगलमै घाँस काट्न गएको मौका पारेर बलात्कार गरेको किशोरीले बयानमा भनेकी थिइन् । पछिल्लोपल्ट भने किशोरीका बुबाले बलात्कार गरिरहेको भेट्टाएपछि घटना प्रहरीसम्म पुगेको थियो ।

ओखलढुंगामा साउन महिनामा बलात्कार आरोपमा तीन जना पक्राउ परे । पक्राउ पर्नेमा प्रहरीदेखि ६५ वर्षीय वृद्धसमेत छन् । चिशंखुगढी गाउँपालिका ६ भदौरेका ६५ वर्षीया अम्बरबहादुर मगरले घरमा कोही नभएका बेला १० वर्षीया बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो । मगरले बालिकालाई प्रलोभनमा पारेर शौचालयमा लगी करणी गरेको प्रहरीको भनाइ छ ।

राष्ट्रिय महिला आयोगको अनुसन्धानले पनि समाजमा चेतनास्तर बढेसँगै हिंसा तथा दुर्व्यवहारविरुद्ध पीडित खुल्न थालेको देखाएको छ । आयोगको हेल्पलाइन कार्यक्रम व्यवस्थापक पलिता थापा भन्छिन्, ‘पीडितमा पहिलेजसरी इज्जत जाला, थप पीडा होला भन्ने डर कम हुँदै गएको छ । हिंसाका प्रकृति फेरिएका छन्, जसले गर्दा घटना पनि बढेकै छन् ।’

प्रहरी सेवाले मात्रै प्रभावकारी न्याय नपाउने आशंकाले आयोगसम्म पुग्ने पीडितको संख्यासमेत बढेको छ । ‘प्रहरीमा उजुरी गरे पनि राजनीतिक हस्तक्षेप होला, प्रभावकारी न्याय नपाउला भन्ने डरले यता रिपोर्टिङ गर्न आउनुहुन्छ,’ उनले भनिन्, ‘कानुनी सहायता, परामर्श, सेल्टरजस्ता थप सेवासुविधाका लागि पनि आउनुहुन्छ ।’

केही समयअघि बानेश्वरस्थित एक घरमा काम गर्ने महिलाकी ७ वर्षीया छोरी घरधनीबाट बलात्कृत भइन् । आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी दिएलगत्तै राष्ट्रिय महिला आयोगमा उजुरी गरिन् । आयोगका अनुसार बालिकालाई शारीरिक र मानसिक असर पुगेको थियो । स्वास्थ्योपचार र परामर्शका लागि आयोगले सहयोग गरेको थियो ।

टेकुकी १३ वर्षीया किशोरीले बाबुबाट पटकपटक शारीरिक दुर्व्यवहारको दबाब सहन नसकेपछि आत्महत्या गर्ने निर्णय गरिन् । एक औषधि पसलमा गएर ‘मर्ने औषधि’ किन्न खोज्दा शंका लागेपछि पसलेले प्रहरीलाई खबर गर्‍यो । प्रहरीले उनीसँग सोधखोज गर्‍यो । स्वास्थ्य परीक्षण गराउँदा गर्भवती भएको पत्ता लाग्यो । सुरक्षित गर्भपतन र परामर्श तथा सेल्टरका लागि राष्ट्रिय महिला आयोगले सहयोग गर्‍यो । उनी अहिले काठमाडौंकै एक ‘सेल्टरहोम’ मा बसेर पढिरहेकी छन् ।

पछिल्लो समय बलात्कार तथा बलात्कार प्रयासका पीडित खुल्न थालेका छन् । प्रहरी प्रधान कार्यालय, कार्य एवं अपराध अनुसन्धान विभागको तथ्यांकअनुसार देशभरि तीन वर्षको अवधिमा बलात्कारका उजुरी दोब्बर भएका छन् । नेपाल प्रहरीको महिला तथा बालबालिका सेवासम्बन्धी सर्वेक्षण नतिजाअनुसार प्रहरीमा आइपुग्ने पीडित ३६ प्रतिशतले बढेका छन् ।

आव ०७३/०७४ मा बलात्कारका १ हजार १ सय ३१ तथा बलात्कार प्रयासका ५ सय ३६ उजुरी परेका थिए । आव ०७४/०७५ मा बलात्कारका १ हजार ४ सय ८० तथा बलात्कार प्रयासका ७ सय २७ उजुरी परेका थिए । आव ०७५/०७६ मा बलात्कारका २ हजार २ सय ३२ तथा बलात्कार प्रयासका ७ सय ८७ उजुरी परेका थिए । आव ०७५/०७६ मा बलात्कारका १ हजार ९ सय ८ उजुरी फर्स्योट भए । ३ सय २४ प्रक्रियामा छन् । बलात्कार प्रयासका ६ सय ७७ फर्स्योट भएका छन् ।

तथ्यांक झट्ट हेर्दा र सुन्दा बलात्कारका घटना बढेको देखिए पनि यथार्थमा पीडितहरू हिंसाविरुद्ध खुल्न थालेको प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता रमेश थापा बताउँछन् । उनी भन्छन्, ‘घटनाभन्दा पनि रिपोर्टिङ बढेको छ, मानिसमा चेतना बढेको छ, समाज खुल्न थालेको छ ।’

प्रहरी तथ्यांकअनुसार बलात्कार हुनेमा बालिका तथा किशोरी बढी छन् । आव ०७५/०७६ मा परेका उजुरीमध्ये १ हजार २ सय ६८ पीडित १८ वर्षसम्मका छन् । १९ देखि ४५ वर्ष उमेर समूहका ६ सय ६५, ४६ वर्षमाथिका ७३ तथा उमेर नखुलेका १० जना थिए ।

पीडकले गल्ती ढाकछोप गर्न डरधम्की, ललाइफकाई, प्रलोभनमा पारेर, मादक पदार्थ सेवन गरी, औषधि प्रयोग गरेर बलात्कार गर्ने गरेका छन् । पीडितले दिएको उजुरी तथा बयानअनुसार आव ०७५/०७६ मा ९ सय ७३ जनालाई डरधम्की देखाएर, ७ सयलाई ललाइफकाई गरेर तथा २ सय १६ जनालाई प्रलोभनमा पारेर बलात्कार गरेको देखाएको छ ।

विगतका तुलनामा ऐन, कानुन तथा नीति निर्माण र कार्यान्वयनमा सरकार र सरोकारवालाले जोड दिन थालेपछि समाज हिंसा तथा दुर्व्यवहारविरुद्ध बोल्ने प्रवृत्ति बढेको अधिकारकर्मी पनि बताउँछन् । अधिकारकर्मीका भनाइमा अन्यायविरुद्ध कानुनी उपचारबारे बिस्तारै ज्ञान बढेको छ ।

अधिकार मागेर होइन खोसेर लिनुपर्छ भन्ने भावना पनि बढ्दै गएको छ । गाउँगाउँमा समुदाय प्रहरी साझेदारीका कार्यक्रम छिमेकी प्रहरी, प्रहरी मेरो साथी, टोल टोलमा प्रहरी र सामुदायिक प्रहरी सेवा केन्द्रमार्फत पनि जनचेतना अभिवृद्धि तथा रिपोर्टिङ बढेका छन् । हिंसा न्यूनीकरणका लागि नेपाल प्रहरी, स्थानीय सरकार, सामाजिक संघसंस्था, विद्यालय, सञ्चारमाध्यम तथा नागरिकले मुख्य साझेदारको भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रकाशित : भाद्र १, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?