कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सगरमाथा’ तारा, ‘लालीगुराँस’ ग्रह

अतुल मिश्र

काठमाडौँ — सगरमाथा भन्नासाथ हामी सर्वोच्च शिखरलाई बुझ्छौं । विश्वले भने यो नामबाट तारा पनि बुझ्नेछ । सौर्यमण्डल बाहिर पत्ता लगाइएको एउटा तारा ‘एचडी १००७७७’ लाई मंगलबार ‘सगरमाथा’ नामकरण गरिएको हो । यस्तै, एउटा ग्रह ‘एचडी १००७७७ बी’ को नाम ‘लालीगुराँस’ भएको छ । 

‘सगरमाथा’ तारा, ‘लालीगुराँस’ ग्रह

इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले १००औं वार्षिकोत्सवका अवसरमा सौर्यमण्डल बाहिर रहेका तारा र ग्रह नामकरण गर्ने क्रममा नेपाली नाम पनि परेका हुन् । सगरमाथा तारालाई नेपालबाट सानो टेलिस्कोपबाट समेत राम्ररी देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष एवं आईएयूका नेपाल प्रतिनिधि सुरेश भट्टराईले बताए । ‘सगरमाथा तारालाई परिक्रमा गर्ने ग्रह पत्ता लागे नेपालीबाट नामकरण गरिनेछ,’ उनले भने ।


सोसाइटीका अनुसार सगरमाथा तारा करिब १ सय ७२ प्रकाश वर्ष टाढा छ । यो तारा सूर्यजस्तै छ । सूर्य साढे ४ अर्ब वर्ष पुरानो हो भने यो तारा करिब २ अर्ब वर्ष पुरानो हो । यो ताराको एउटा मात्र ग्रह सन् २००७ मा पत्ता लागेको छ । लालीगुराँस ग्रह सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १.१६ गुणा ठूलो छ । यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ । यो ग्रहमा जीवको सम्भावना छैन । यसको चन्द्रमा समेत भेटिएको छैन तर चन्द्रमा भेटिए त्यहाँ जीव हुन सक्ने सोसाइटीले जनाएको छ ।


अन्तरिक्षीय पिण्डको नामकरण गर्ने युनियनले नेपाललगायत ११० मुलुकका बासिन्दालाई आफ्नो राष्ट्रिय भाषामा ग्रह र ताराको नाम रोज्ने मौका दिएको थियो । भारतको प्रस्तावअनुसार ताराको नाम ‘विभा’ र ग्रहको नाम ‘सन्तमास’ राखिएको छ ।


जोर्डनको प्राचीन सहरका नाममा तारालाई ‘पेट्रा’ र ग्रहलाई ‘वाडिरम’ नामकरण गरिएको छ । यस्तै, मलेसियाको बहुमूल्य पत्थर ‘वाइदुरी’ ग्रहको नाम पनि बनेको छ, तारालाई ‘इन्टेन’ नामकरण गरिएको छ ।


पेरिसमा मंगलबार साँझ इन्टरनेटबाट ‘लाइभ’ गरिएको पत्रकार सम्मेलनमा ‘आईएयू १०० नेम एक्स्पो वडर्स’ अभियानमा नाम राखिएका तारा र ग्रहका १ सय १० भन्दा बढी नामको समूह घोषणा गरिएको थियो । अभियानकै रूपमा भएको नाम छान्ने प्रक्रियामा विश्वभरका ७ लाख ८० हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष सहभागी भएका थिए । मंगलबारको नामकरण गरिनुअघि यी तारा र ग्रह ‘कोड’ जस्तै लाग्ने वैज्ञानिक नामले नै चिनिन्थे ।


आईएयूले सयौं वार्षिकोत्सवका अवसरमा तारा र ग्रह नामकरण गर्ने भएपछि नेपाल एस्ट्रोनोमिकल सोसाइटीले पनि गत साउनमा नेपाली नाम प्रस्ताव गर्न आह्वान गरेको थियो । यसमा नाम सजिलै उच्चारण गर्न मिल्ने, धार्मिक शब्द तथा राजनीति वा सेनासँग सम्बन्धित शब्द नहुनुपर्ने, कुनै जीवित व्यक्तिका नाम नहुनुपर्ने लगायतका सर्त राखिएका थिए । ‘मंगलबारदेखि विश्वले एउटा तारालाई सगरमाथा र एउटा ग्रहलाई लालीगुराँस नामले नै चिन्छ,’ नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष भट्टराईले भने ।


प्रकाशित : पुस २, २०७६ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?