कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जंगल अंशबन्डा !

विनोद भण्डारी

(विराटनगर) — मोरङ जाँतेका इमानाथ पोखरेल, उर्लाबारीका बोधराज खतिवडा र हरैंचाका रेवती तिम्सिना सहोदर दाजुभाइ होइनन् । तर पनि उनीहरू हरेक वर्ष अंशबन्डा गर्छन् । उनीहरूबीच आफ्नो चल अचल सम्पत्तिको नभई अर्काको तोरी फुलेको खेतबारी र जंगलको अंशबन्डा हुन्छ ।

जंगल अंशबन्डा !

उनीहरूसहित मोरङमा सयजना व्यावसायिक रूपमा मौरी पाल्नेहरू छन् । हरेक वर्ष मंसिर पहिलो साता चरन मौरी चराउने चरन बाँडफाँट गर्छन् । यसलाई उनीहरू ‘अंश’ लगाउने भन्छन् । एउटाले पाएको भागमा अर्कोले मौरी चराउन पाउँदैनन् । उनीहरूले त्यो चरन क्षेत्र आफूखुसी भने लिन पाउँदैनन् । चरन क्षेत्र अंश लगाउने ठाउँ–ठाउँमा उपसमिति हुन्छ । त्यो समितिले सबै मौरी एकै ठाउँमा नजुध्ने गरी भागबन्डा गर्ने गरेको मौरीपालन संघ मोरङका अध्यक्ष बोधराज खतिवडाले बताए ।


समितिले किसानका मौरीका घारका आधारमा चरन क्षेत्र बाँडफाँट गर्छ । त्यसपछि उनीहरू मौरीका घार लिएर आफ्नो अंशमा चराउन निस्कन्छन् र तोरीको फूल झरेपछि घर फर्कन्छन् । फिरेपछि उनीहरू जंगली क्षेत्रको चरनका लागि समितिसँग पुन: चरन क्षेत्र अंश लिन पुग्छन् । मोरङ जाँतेका व्यावसायिक मौरीपालक पोखरेलको भागमा यसपालि पनि मौरी चराउन होक्लाबारी, बाहुनी र सुनवर्षीको तोरीबारी अंशमा परेको छ । तोरीको फूल नझरेसम्म त्यहाँ अरू कसैले पनि घार लिएर जान पाउँदैन । अरूले हस्तक्षेप गरे समितिले जरिवाना लिन्छ ।


युरोपबाट ल्याइएको मेलीफेरा जातको मौरीको व्यावसायिक पालन गर्दै आएका छन् । यो व्यवसायलाई बढाउन लेटाङ, उर्लाबारी र रंगेली नगरपालिकाले किसानलाई अनुदान दिँदै आएको छ । उर्लाबारीका बोधराज खतिवडालाई पनि यसपालि उर्लाबारी र होक्लाबारीको केही भाग अंश परेको छ । हरैंचाका रेवती तिम्सिनाको भागमा त्यहीँको बेलेपुरको तोरीबारी परेको छ । ‘तीन वर्षदेखि तोरीको सिजनमा मौरी चराउन होक्लाबारी, बाहुनी र सुनवर्षीका तोरीबारी अंश पाएको छु,’ पोखरेलले भने, ‘यो अंश फागुनसम्मका लागि हो ।’ अर्को साल मंसिर पहिलो साता सबै मौरीपालकलाई चार महिनाका लागि तोरीबारीको अंशबन्डा हुनेछ ।


यसपटक पोखरेलका १ सय ६५ वटा मौरीघार छन् । त्यसबाट जंगली करिब ४५ क्विन्टल मह उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । ‘पोहोर १ सय ८० घार थिए,’ उनले भने, ‘एकै सिजनमा ३५ क्विन्टल मह भएको थियो ।’ तोरीको सिजन सकिएपछि मौरीपालकलाई चरनका लागि बर्सेनि फागुनमा जंगल र बगर बाँडफाँट गर्ने गरेको मौरीपालन संघ मोरङका अध्यक्ष खतिवडा बताउँछन् । तोरीको सिजनमा मौरी चराउनका लागि होक्लाबारी, केरौन, सुनवर्षी, मृगौलिया, हरैंचाको बेलेपुर, बाहुनी, पथरी शनिश्चरे र बयरवनलगायतका स्थान चरन व्यवस्थापन उपसमितिले अंशबन्डा गरिदिन्छ ।


प्रकाशित : पुस ५, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?