कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस जिल्ला सभापति भेला माघभित्र 

काठमाडौँ — कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूले राजधानीमा बृहत् भेला आयोजना गर्ने निर्णय गरेका छन् । महाधिवेशनको कार्यतालिका र भ्रातृसंस्थाको भागबन्डालाई लिएर पार्टीभित्र विवाद चर्किंदै गर्दा पौडेलपक्षीय १७ जिल्ला सभापतिको आइतबार राजधानीमा बसेको बैठकले माघ महिनाभित्र भेला गर्ने निर्णय गरेको हो ।

कांग्रेस जिल्ला सभापति भेला माघभित्र 

जिल्ला सभापतिसहित ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रकै प्रतिनिधि सहभागी हुने गरी भेला आयोजना गर्ने निर्णय भएको काभ्रे जिल्ला सभापति मधु आचार्यले बताए । पार्टीलाई विधि र विधानसम्मत रूपमा अघि बढाउन नेताहरूलाई दबाब दिन भेला आयोजना गर्न लागिएको उनको भनाइ छ । तर कतिपयले संस्थापन र इतरपक्षबीच भागबन्डाका विषयलाई लिएर पछिल्लो समय जारी विवाद मिलाउन दबाब दिने गरी सभापतिहरूले भेला आयोजना गर्ने निर्णय लिएको बताएका छन् ।


काभ्रे, नुवाकोट, रामेछाप, संखुवासभा, जाजरकोट, बाँके, डडेलधुरा, सिन्धुपाल्चोक, खोटाङ, रोल्पा, उदयपुरलगायत १७ जिल्लाका सभापतिको बैठकले भागबन्डा दिने र माग्ने काम बन्द गर्नसमेत दुवै पक्षका शीर्षनेतालाई अपिल गरेका छन् । ‘पार्टीभित्र भाग खोज्न हुन्न, दिन पनि हुन्न,’ आचार्यले भने, ‘योग्य र क्षमताका आधारमा सबैलाई समेटेर पार्टी सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो निर्णय हो ।’सभापति शेरबहादुर देउवाले विधानअनुसार विभाग गठन गर्न नसक्ने निष्कर्ष उनीहरूको छ । देउवाले गत मंसिर २६ को केन्द्रीय कार्यसमिति बैठकमा विधानको संख्या थपेर गठन गर्ने एजेन्डा प्रस्तुत गरेका छन् ।


आवश्यक देखिएमा विधानको संख्या केन्द्रीय कार्यसमितिको बहुमतबाट बढाउन सकिने भए पनि विभाग गठन विधानविपरीत हुन्छ । एक वर्षअघि महासमिति बैठकले संशोधन गरेको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र विभाग गठन भइसक्नुपर्ने व्यवस्था छ ।


सभापति देउवाले केन्द्रीय कार्यसमितिको चार वर्षको कार्यकाल सकिने बेलामा विभाग गठनको एजेन्डा अघि सारेका हुन् । ‘पार्टीलाई विधान र विधानसम्मत रूपमा अघि बढाउने हो भने अहिले विभाग गठन गर्न मिल्दैन,’ आचार्यले भने ।

प्रकाशित : पुस ७, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?