कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरीको 'सर्च अप्रेसन'मा पक्राउ पर्ने चिनियाँको संख्या १२२ पुग्यो [अपडेट]

जनकराज सापकोटा

काठमाडौँ — नेपाल प्रहरीले काठमाडौंको विभिन्न स्थानमा 'सर्च अप्रेसन' गरी १२२ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसर काठमाडौं संयुक्त टोली यस सर्च अप्रेसनमा सामेल थियो ।

प्रहरीको 'सर्च अप्रेसन'मा पक्राउ पर्ने चिनियाँको संख्या १२२ पुग्यो [अपडेट]

सीआईबीका प्रमुख डिआईजी नीरज शाहीका अनुसार प्रहरी मुख्यालयबाट प्राप्त सूचनाका आधारमा तीनवटै टोली परिचालित भइ अनुसन्धानको क्रममा चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो । उनले के विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको भने स्पष्ट पार्न चाहेनन् । उनको अनुसार मनमैंजु र बाँसबारीस्थित २ घर र बुढानिलकण्ठस्थित एक घरमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

सीआईबीका एसपी रामदत्त जाेशीका अनुसार पक्राउ परेका मध्ये ८ जना महिला छन् । उनको अनुसार पक्राउ परेका मध्ये थोरैले मात्रै अंग्रेजी बुझ्ने र अरुले चिनियाँ भाषामात्रै बोल्ने भएको हुँदा ६ ७ जना दोभाषे लगेर प्रहरीले बयान लिने प्रयास गरिरहेको छ । उनको अनुसार हालसम्म ५०० भन्दा बढी ल्यापटप तथा मोबाइल फोन बरामद भएको छ । यस्तै विभिन्न सीमकार्डहरु पनि बरामद भएका छन् । ती सबैको फोरेन्सिक जाँच भएपछि मात्रै धेरै कुरा खुल्न सक्ने उनले बताए ।

प्रहरी उच्च स्रोतका अनुसार आईजीपी सर्वेन्द्र खनालकै आदेशमा पर्यटन भिसामा नेपाल प्रवेश गरी अवैध रुपमा काम गरी बसेका, घर नै भाडामा लिएर कार्यालयको संरचना खडा गरी इन्टरनेटको दुरुपयोग गरेर चीन लगायत तेस्रो मुलुकमा आर्थिक अपराध गरेको तथा भिसा अवधी सकिएपनि नेपालमा लुकेर बसेका चिनियाँहरुलाई नियन्त्रणमा लिइएको हो ।

उनको अनुसार पक्राउ परेकाहरुबाट करिब ४५० थान ल्यापटप तथा सयौं थान मोबाइल र सीमहरु पनि बरामद गरिएको छ । पक्राउ परेकाहरु समूहमा बसेर अवैध क्रियाकलापमा संलग्न हुने गरेको आशंका प्रहरी स्रोतको छ । उनीहरुलाई हाल काठमाडौं परिसर अन्तर्गतका विभिन्न वृत्तमा राखेर अनुसन्धान थालिएको छ ।

पक्राउ परेका अधिकांश चिनियाँहरु पर्यटन भिसा लिएर नेपाल प्रवेश गरेको देखिएको छ । उनीहरु सबैको राहदानी जफत गरी थप अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ ।



प्रकाशित : पुस ७, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?