कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा जनकपुरलाई मोदीले चिनाएः पटेल 

सन्तोष सिंह

धनुषा — भारत सरकारका केन्द्रीय संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रहृलाद पटेलल‍े भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरलाई भारतमा चिनाएको बताएका छन् ।

भारतमा जनकपुरलाई मोदीले चिनाएः पटेल 

नेपाल भ्रमण वर्षको अवसरमा भारतको प्रतिनिधित्व गर्दै बिहीबार जनकपुर आएका मन्त्री पटेल भारतले नेपालको विकास हेर्न चाहेको बताए । उनले जनकपुरको पर्यटन क्षेत्रको विकासमा भारतको सहयोग रहने प्रतिबद्धता जनाए ।


जनकपुर विमानस्थलबाट ओर्लेर मन्त्री पटेलले राम मन्दिर, राजदेवी मन्दिर दर्शन गर्दै जानकी मन्दिरमा पूजा-अर्चना गरेका थिए । पूजापाठ पश्चात संचारकर्मीहरुसाग कुराकानी गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएपछि भारतीयहरुमा एकपटक जनकपुर पुग्नुपर्ने सूचना गएको बताए । ‘राम र सीताको विवाह भएको यो ठाउँ धेरै जनाले सुनेका थिए । प्रधानमन्त्री मोदी यहाँ आएर फर्केपछि धेरै भारतीयहरु यहाँ आउन चाहन्छन्,’ उनले भने । ‘पोखरा, लुम्बिनी जाने पनि विकल्प थियो तर भगवान रामको ससुराली जनकपुरधाम जाने इच्छा भयो,’ उनले भने ।


राज्यमन्त्री पटेलले मोदी जनकपुर आउँदा घोषणा गरेको सहयोगको प्रक्रिया सुरु गर्न सुझाव दिएका छन् । जनकपुरधामको विकासका लागि दिने भनिएको रकम प्रक्रिया अगाडी बढाउन उनले सुझाव दिए ।


उनले नेपाल र भारतको सामाजिक र राजनीतिक सम्बन्ध अझै बलियो बनाउनुपर्नेमा जोड दिए । ‘कहिलेकाँही नजिक भएर पनि टाढा महसुस भइरहेको हुन्छ । त्यसलाई हामीले अझै नजिक ल्याउन सक्नुपर्छ,’ उनले भने । छोटो समयमा नेपालमा धेरै राजनीतिक परिवर्तन भएको बताउँदै उनले यसलाई संस्थागत गर्न अभ्यास गर्दैजाँदा पर्यटकीय लाभ मिल्ने बताए ।


मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारतको सम्बन्धलाई युनिक बताए । पटेललाई स्वागत गर्दै मुख्यमन्त्री राउतले विश्वमा कुनै दुई देशबीच नरहेको सम्बन्ध नेपाल र भारतको रहेको बताए ।


नेपालका अभिभावकले छोराछोरीको बिहे गर्न भारतमा केटाकेटी खोज्न जाने गरेको र भारतका अभिभावकले नेपालमा खोज्न आउने गरेकोले दुवै देशबीचको सम्बन्ध युनिक रहेको मुख्यमन्त्री राउतको भनाइ थियो । यस्तो सम्बन्धले दुई देशको आत्मियतालाई उजागर गरेको उनले बताए ।

प्रकाशित : पुस १७, २०७६ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?