कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छटपटीमा उखु किसान !

शिव पुरी

रौतहट — गढीमाई–४, सग्रामपुरका किसान हरिनारायण साह मंगलबार बिहान खेतमा उखुको बिटा बाँध्दै गर्दा भेट्टिए । उनी निराश थिए । कारण अरु केही होइन । आफ्नै गाउँ नजिकको चिनी मिल बन्द भए पछि उनी उखु कहाँ र कसलाई बेच्ने भन्ने चिन्तामा परेका थिए । धमाधम उखु काटेर उनले सर्लाहीको हरिऔन बेच्ने निधो गरेका छन् । 

छटपटीमा उखु किसान !

रौतहट जिल्लाको गरुडामा रहेको श्रीराम सुगर मिलले अघिल्लो वर्ष उखु दिए वापतको उनको २ लाख बाँकी राखेको छ । अहिले मिल चल्ने छाँटकाँट नदेखीए पछि उनी छटपटिएका हुन् । उनी जिल्लाकै सबैभन्दा पुराना उखु किसान हुन् ।


हरिनारायणको ६ बिगाहा जमिनमध्ये चार बिगाहामा मोरन र खुटी उखु तयारी अवस्थामा छ । उखु काटेर मिलमा लैजाने तयारीमा जुटेका उनी मिल चल्ने छाँट नदेखिएपछि छटपटी चलेको सुनाउँछन् । ‘चार बिगाहाको उखु कहाँ लगेर बेच्ने ? आफ्नै जिल्लाको मिल बन्द हुन थालेको छ,’ उनले भने, ‘यतिका वर्षदेखि गर्दै आएको उखु खेतीलाई अब विश्राम दिनुपर्छ जस्तै छ ।’


खेती गर्दा एक वर्ष अघि गाउँकै छिमेकीसँग लिएको १ लाख ५० हजार कर्जा तिर्नसकेका छैनन् उनले । अघिल्लो वर्षको २ लाख गरुडा मिलले भुक्तानी गरेको भए त्यसैबाट ऋण सधाउने उनको सोच थियो । उनी मिल चल्छ की चल्दैन भनेर घरीघरी सोध्थे । २०४५ सालदेखि निरन्तर उखु खेती गर्दै आएका हरिनारायण अहिले निकै छट्पटिएका छन् । वीरंगजमा चिनी मिल हुँदादेखि नै खेती सुरु गरेका हुन् उनले । त्यतिबेला ७० रुपैयाँ क्विन्टलमा उखु बेच्थे । वीरगंजको मिल पनि बन्द भइसकेकोछ ।


खुटी उखु तह लगाए पनि मोरन बेच्न उनलाई समस्या हुने सुनाउँछन् । नेपाली शुद्ध बोल्न नसक्ने हरिनारायण भोजपुरीमा बोल्छन् । ‘अबकी बार बहुत दुःख भेलन । मिल बन्द होला पर बहुत किसानके क्षति होतई,’ उनले भने, ‘रातदिन मिहिनेत गरेर लगाएको उखु श्रीराम सुगर मिलले चिनी बनाएर देशभर बेच्यो तर पैसा भने आफैं राख्यो । अब कसरी अशुल्ने ?’


हरिनारायण मात्र होइन जिल्लाभरीका १२ हजार किसानहरु अहिले छट्पटिएका छन् । झण्डै २५ वर्षको इतिहास बोकेको ठूलो उद्योग एकाएक बन्द हुने अवस्था आएपछि जिल्लाका किसानको बिचल्ली हुने देखिएको छ । उनीहरुले ८ हजार बिगाहा क्षेत्रफलमा लगाएको खुटी, कार्तिका र माघे जातको झण्डै १४ लाख क्विन्टल उखु अब के गर्ने र कहाँ बेच्ने भन्ने अन्यौल देखिएको छ ।


मिलले किसानको ४२ करोड बक्यौता राखेर मिल बन्द गर्ने जनाएको छ । यही बीचमा किसानहरु पटकपटक मिलमा भेला भए । संचालकलाई मिल चलाउन अनुरोध गरे । तर उनीहरुको प्रयास सफल हुन सकेन । प्रदेश २ का सभासद अब्बुलकलाम आजाद (फुलबाबु) ले केही दिनअघि मिल परिसरमा किसानलाई भेला गराई उद्योग संचालन गर्न दबाब दिने तयारी गरेका थिए । उखु उत्पादक संघका पदाधिकारीहरु समेत किसानको छटपटी देख्न नसकेर राजधानी पुगेका छन् ।

संघका अध्यक्ष अशोक यादवले किशानलाई मर्नु न बाँच्नु भएको पीडा सुनाए । ‘किसानको यति धेरै रकम बाँकी राखेर मिल बन्द गर्नु न्यायोचित हुँदैन,’ उनले भने, ‘जसरी भए पनि मिल चलाउनुपर्छ र किसानको बक्यौता तिर्नुपर्छ ।’

यतिखेर मिल मर्मत र सफा गरी क्रसिङको तयारीमा जुट्नुपर्ने बेला हो । पछिल्लोपटक मिल चल्ने भनिए पनि मालिकहरु चुप बसेका छन् । २०४९ सालमा शिल्यान्यास भई २०५१ सालबाट मिलले उखु क्रसिङ थालेको थियो । बारा, पर्सा, रौतहटका किसानले सिजन भरी उखु दिँदै आएका थिए । मिलले २०७१ सालदेखि किसानको झण्डै ४२ करोड बाँकी राखेको छ ।


समय भुक्तानी नदिएको भन्दै मिल र किसान बीच वादविवाद हुँदै आएको थियो ।


‘जति झगडा गरे पनि मिल र किसान बीचको सम्बन्ध सुमधुर नै थियो,’ समनपुरका किसान रामएकवाल रायले भने, ‘उखु विक्री गर्ने अन्तिम समयमा आएर मिल बन्द गर्दा निकै समस्यामा परेका छौं । समस्या के हो किसानलाई स्पष्ट भन्नुपर्‍यो ।’


यतिखेर किसानहरु जिल्लाभरीका खाडसरीमा उखु बेच्ने सोचमा छन् । तर मुल्य निकै कम भएकाले उनिहरु दोधारमा छन् । मिलको भुक्तानीकै कारण केही वर्ष यता केही किसानले खाडसरीलाई उखु बेच्दै आएका थिए । अघिल्लो सिजनमा श्रीराम सुगर मिलले १३ लाख ७१ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । यसबाट उत्पादन भएको चिनी मध्ये गोदाममा झण्डै १ हजार क्विन्टल चिनी अहिले त्यतिकै थन्किएको छ । मिल बन्द रहेको र पुरानो बक्यौता नदिएको भन्दै किसानले मिलको गोदाममा रहेका चिनी विक्री गर्न दिएका छैनन् । किसानले मिलको ३ लाख १३ हजार लिटर स्प्रिट समेत रोकेका छन् । भुक्तानीकै विषयलाई लिएर अघिल्लो वर्ष पनि किसानले गोदामको चिनी बेच्न रोकेका थिए ।



प्रकाशित : पुस १८, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?