कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलद्वारमा अर्धतरल सुन, दुई केजी सुनसहित दुई भारतीय पक्राउ

काठमाडौँ — संयुक्त अरब इमिरेट्सको शारजाहाँबाट आएका २ भारतीय नागरिक नवीनगोपी चन्द र भरतसुरेश लाल शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए । उनीहरू आगमन कक्षतर्फ निस्किने क्रममा निकै हतास देखिन्थे । 

मलद्वारमा अर्धतरल सुन, दुई केजी सुनसहित दुई भारतीय पक्राउ

उनीहरू तस्करीको सुन लिएर आउँदै गरेको सूचना विमानस्थल भन्सार र प्रहरीलाई पहिल्यै आएको थियो । त्यसैले चन्द र लाल यूएईबाट काठमाडौं उडेपछि नै भन्सार र प्रहरीको निगरानीमा थिए । विमानस्थलमा लगेज खानतलासी गर्दा त्यस्तो केही भेटिएन । सूचना नै गलत हो कि भन्ने पर्‍यो, भन्सार र प्रहरीलाई । त्यसपछि दुवै जनाको भिडियो एक्सरे गराइयो । दुवै जनाले क्याप्सुल आकार बनाएर सुनका ३/३ वटा टुक्रा मलद्वारमा राखेको भेटियो ।


भारतीय नागरिकबाट बरामद दुई केजी सुन अर्धतरल थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार अधिकृत राजकुमार श्रेष्ठका अनुसार तस्करीको सुन अर्धतरल बनाएर भित्रिएको पाइएको यो पहिलो पटक हो । ‘तस्करीको नयाँ शैली अपनाएर उनीहरू आएका रहेछन्, प्रविधिले समेत पत्ता नलाग्ने गरी मलद्वारमा सुन राखिएको भेटियो,’ उनले भने ।


मेटल डिटेक्टरले धातुको संकेत नदेखाएपछि भन्सार र प्रहरीको टोलीले एक्सरे गराएका थिए । दुवै जना काठमाडौं ओर्लिएलगत्तै स्थलमार्गबाट गोरखपुर जाने तयारीमा थिए । गिरोहले गतवर्ष लोकेसन चिनाउनकै लागि भारतीय नागरिक चन्द र लाललाई काठमाडौं घुमाउन ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भन्सार अधिकृत श्रेष्ठले यस विषयमा पनि अनुसन्धान भइरहेको जानकारी दिए ।

यसअघि मंसिर १२ र १३ गते क्रमशः ८ केजी र १ केजी सुनसहित चिनियाँ नागरिक विमानस्थलमा समातिएका थिए । त्यसअघि २०७६ साउन १९ गते हङकङबाट आएका चिनियाँ नागरिक ली निङसिङ ४ केजीसहित सुनसहित विमानस्थलमा पक्राउ परेका थिए । प्रहरीका अनुसार ६ वर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा चीन र भारतसँग जोडिएका नाकाबाट ५ सय ६९ केजी सुन बरामद गरिसकेको छ ।


प्रकाशित : पुस १९, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?