कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महरा राजनीतिको दोस्रो इनिङ : पार्टी र नैतिकता निर्णायक

नेकपा नेता भन्छन् : पार्टीमा उचित स्थान दिनुपर्छ
जयसिंह महरा

काठमाडौँ — सभामुख पदमा रहेका बेला संसद् सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयासजस्तो गम्भीर आरोप खेपेर पद गुमाएका कृष्णबहादुर महरा सरकारी निवासबाटै पक्राउ परे । पक्राउ परेको १३३ दिनपछि उनले अदालतबाट राहत पाएका छन् ।

महरा राजनीतिको दोस्रो इनिङ : पार्टी र नैतिकता निर्णायक

काठमाडौं जिल्ला अदालतले उनलाई सोमबार उक्त आरोपमा सफाइ दिएको छ। १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीका शीर्ष मध्येका नेता थिए महरा । माओवादी र तत्कालीन सरकारबीच भएका वार्तामा विद्रोही पक्षका एक प्रमुख वार्ताकार थिए महरा । विद्रोही माओवादीका तर्फबाट वार्ता टोलीको सदस्यदेखि संयोजकसम्मको भूमिका निभाएका थिए ।

माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा अवतरण गराउन महत्त्वपूर्ण भूमिका खेलेका महरा नेपाली राजनीतिको संक्रमणकाल (२०६३-०७४) मा पटक पटक मन्त्री बने । उपप्रधान तथा गृहमन्त्री, उपप्रधान तथा अर्थमन्त्री, सूचना तथा सञ्‍चारमन्त्री, परराष्ट्रमन्त्री बनेका उनी माओवादीमा लाभको पद पाउने नेतामा एक नम्बरमै पर्थे ।

राजनीतिक उचाइ छुने क्रममा महरा तत्कालीन एकीकृत नेकपा माओवादीको महासचिवसम्म बनेका थिए । उनी तत्कालीन माओवादी पार्टीमा अध्यक्ष पुष्पकमल दाहालपछिका शक्तिशाली व्यक्तिका रूपमा लिइन्थे ।

सत्ता र पार्टी राजनीतिमा महराले प्राप्त गर्न प्रधानमन्त्री र पार्टी अध्यक्ष बाँकी थियो । भद्र देखिने उनलाई सबैलाई मिलाएर लैजाने क्षमता भएको नेता मानिन्थ्यो । र, यी दुवै मोर्चामा नेतृत्वका दाबेदारका रूपमा उनलाई हेरिएको थियो ।

२०४८ सालमै सांसदका रूपमा महरा सिंहदरबार प्रवेश गरिसकेका थिए । त्यसपछि उनी २०६३, २०६४, २०७० र २०७४ मा सांसद निर्वाचित भए । पाँच पटक सांसद बनेका उनले संसदीय मोर्चाको शीर्ष पदमा पुगेका बेला बलात्कार प्रयासको आरोप खेप्नुपर्‍यो । जसले पार्टी र संसदीय मोर्चामा उनले जीवनभर आर्जन गरेको राजनीतिक पुँजीमा पहिरो ल्यायो ।

यसरी पाए महराले सफाइ

महराले जिल्ला अदालतबाट सफाइ पाए पनि बलात्कार प्रयासजस्तो गम्भीर आरोप खेपेपछि नैतिक धरातल निकै कमजोर बनेको छ ।

जिल्ला अदालतबाट सफाइ पाएका महराविरुद्ध सरकारी पक्ष उच्च अदालत जान पनि सक्छ । जिल्ला अदालत काठमाडौंले सफाइको फैसलाको पूर्ण पाठ आएलगत्तै काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय महराविरुद्ध उच्च अदालत जाने/नजाने निर्णय गर्नेछ । जिल्ला अदालतको फैसला चित्त नबुझेमा सरकारी वकिलको कार्यालय उच्च अदालतमा पुनरावेदनका लागि जान सक्‍नेछ । त्यसैले, यो मुद्दाले महराको कानुनी रूपमा पिछा छोडिसकेको छैन ।

यता सफाइ पाएसँगै संसद प्रवेश गर्न महरालाई बाटो खुलेको छ । निलम्बनमा परेको उनको सांसद पद फुकुवा भएको छ । जिल्ला अदालत काठमाडौंबाट राहत पाएका महराको मुद्दालाई कानुनीभन्दा पनि नैतिक रूपमा लिनुपर्ने प्रतिक्रिया आइरहेका छन् । योसँगै उनी नेपालको राजनीतिक दृश्यमा कहाँनेर देखा पर्लान् भन्ने चासो पनि बढ्न थालेको छ ।

महरा सभामुख नहुन्जेल माओवादीका नेता थिए । पार्टीको जिम्मेवारी त्यागेर उनी २०७४ सालमा सभामुख बने । यता उनको पार्टी तत्कालीन नेकपा एमालेसँग एकता गरेर नेकपा बनेको छ । अब उनी नेकपामा कस्तो भूमिका पाउलान् त भन्ने प्रश्‍न पनि उठ्न थालेको छ ।

त्यसो त महरालाई नेकपाले सभामुखसँगै सांसदबाट पनि राजीनामा दिन भनेको थियो । नेकपा सचिवालय बैठकले बलात्कार प्रयासको आरोप लागेपछि महरालाई सभामुख र सांसदबाट राजीनामा दिन सुझाव दिएको थियो । सभामुखबाट राजीनामा दिएर आफूमाथि लागेको आरोपको न्यायिक रूपमा सामना गरेका उनलाई नेकपाले कस्तो स्थान देला त भनेर जिज्ञासा राख्‍ने नेकपाभित्रै छन् ।

कारागारबाट निस्किएपछि महराले भने- ‘बाँकी कुरा पछि भन्छु’

महराको विषय माघ महिनामा बसेको केन्द्रीय कमिटी बैठकमा पनि उठेको थियो । नेकपाका पूर्वमाओवादी तर्फका केही केन्द्रीय सदस्यहरूले महरालाई 'फसाइएको' भएकाले पार्टीले त्यसबारे बोल्नुपर्ने बताएका थिए ।

महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको दिन आइतबार नेकपाका केही केन्द्रीय सदस्य र विभिन्न प्रदेशका सांसद अदालतमा पुगेरै ढाडस दिइरहेका थिए । फैसला आएको दिन सोमबार संघीय सांसद धर्मशीला चापागाईंलगायत अदालत र डिल्लीबजार कारागार पुगेका थिए ।

अर्कोतिर नेकपाकी सचेतक शान्ता चौधरीले अब विगतको भन्दा झन् सक्रिय भएर राजनीतिमा महरालाई देख्न चाहेको फेसबुकमा लेखेकी छन् । 'कृष्णबहादुर महरालाई अदालतले सफाइ दिएको छ । यो पाँच महिनाको अवधिमा उहाँ र उहाँको परिवारले पाएको मानसिक यातना र मुलुकले भोग्नुपरेको पीडा असहनीय छ । न्यायालयले फैसला दिइसकेको छ,' उनले लेखेकी छन्, 'अब उहाँ तथा उहाँको परिवार पूर्ववत् अवस्थामा फर्कनेछ । राजनीतिमा महरा कमरेड पहिलेभन्दा सक्रिय बन्नुहुनेछ भन्ने विश्‍वास लिएकी छु ।'

नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसालले अदालतबाट सफाइ पाएका महरालाई कस्तो भूमिका दिने भन्नेबारेमा पार्टीका विभिन्न तहमा छलफल हुने बताए । उनले भने, 'उहाँ सांसदका रूपमा काम गर्नुहुन्छ । पार्टीमा कस्तो जिम्मेवारी दिने भन्नेबारेमा छलफल होला ।' एक आरोप खेपेर अदालतबाट सफाइ पाएका नेतालाई पार्टीमा भूमिका दिनुपर्ने प्रश्न उठ्ने उनले बताए । 'सफाइ पाइसकेपछि भूमिका दिनुपर्छ भन्ने कुरा त उठ्छन्,' उनले भने ।

अदालतबाट सफाइ पाएर डिल्लीबजार कारागारबाट खुमलटारस्थित डेरामा पुगेपछि महराले सोमबार नै विज्ञप्ति जारी गरेका छन् । उनले विज्ञप्तिमा 'तथाकथित' आरोप लगाएकोमा अदालतबाट सफाइ पाएको र आफू राष्ट्र, राष्ट्रियताका पक्षमा सधैँ लागिरहने' लेखेका छन् । प्रतिनिधिसभा सदस्यका हैसियतमा जारी गरिएको विज्ञप्तिमा उनले राजनीतिमा फर्किने स्पष्ट सङ्केत गरेका छन् ।

'एक देशभक्त नेपालीका रूपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैँ थियो, अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैँ रहिरहनेछ,' उनले लेखेका छन् ।

नेकपा स्थायी कमिटी सदस्य मणि थापाले भने महराको राजनीति अदालतको फैसलासँगै सुरक्षित भएको बताए । 'अदालतले सफाइ दिएपछि उहाँको राजनीति सुरक्षित भयो । अन्यथा आरोप लगाउने र शङ्का गर्ने कुरा रहेन,' सांसदको रूपमा हाल भूमिका रहने भन्ने नेता भुसालको भनाइमा सही थप्दै थापाले भने, 'संगठनात्मक रूपमा उहाँलाई कस्तो भूमिका दिने भन्ने कुरा अहिले नै त भन्न सकिन्न, तर उहाँको पार्टीमा जुन योगदान छ त्यसलाई पार्टीको सङ्गठनात्मक क्षेत्रमा उचित स्थान दिएर जानुपर्ने स्थिति आउँछ ।' महरा सक्रिय पार्टी राजनीतिमा आउनुपर्ने र पार्टीले पनि भूमिका दिनुपर्ने थापाको भनाइ छ ।

महराको आगामी राजनीतिक भूमिका सरकारी पक्ष उनीविरुद्ध मुद्दा लिएर उच्च अदालत गएमा त्यहाँबाट आउने फैसला, नेकपाले दिने जिम्मेवारीका साथै उनकै नैतिक निर्णयको कडीमा अडिएको छ ।


प्रकाशित : फाल्गुन ६, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?