कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा एमसीसी कार्यदलले परराष्ट्रबाट कागजात माग्‍न पार्टीलाई लेख्यो पत्र

बबिता शर्मा

काठमाडौँ — अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अध्ययन गर्न बनेको नेकपाको कार्यदलले परराष्ट्र मन्त्रालयसँग कागजात मागेको छ । नेकपाले वरिष्ठ नेता झलनाथ खनाल संयोजक तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्थायी कमिटी भीम रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो । 

नेकपा एमसीसी कार्यदलले परराष्ट्रबाट कागजात माग्‍न पार्टीलाई लेख्यो पत्र

एमसीसी अध्ययन कार्यदलले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो । मन्त्रालयले कार्यदलले माग गरेका कागजात नदिएर असहयोग गरेको थियो । त्यसपछि कार्यदलले पार्टीको सहयोग मागेको हो । कार्यदलले पार्टी महासचिव विष्णु पौडेललाई पत्र लेखेर आवश्यक कागजात उपलब्ध गराउने गरी मन्त्रीलाई निर्देशन दिन माग गरेको छ ।

'हामीले सबै कागजात उपलब्ध गराइदिन भनेर पार्टी महासचिवलाई पत्र लेखेका हौं,’ कार्यदल संयोजक खनालले इकान्तिपुरसँग भने, ‘परराष्ट्र मन्त्रालयबाट ‘डकुमेन्ट’ उपलब्ध हुनेक्रममा छन् । त्यो आएपछि थप अध्ययन गरेर सुझाव प्रतिवेदन पार्टीमा बुझाउँछौं ।’

माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकमा अहिलेकै अवस्थामा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने र त्यसबारे थप अध्ययन गर्नुपर्ने भन्दै अधिकांश सदस्यले कुरा उठाएपछि केन्द्रीय सचिवालयले कार्यदल गठन गरेको थियो ।

आवश्यक अध्ययनपछि एमसीसी सम्झौताबारे निर्णय लिनुपर्छ भन्ने मध्यमार्गी धारमा रहेका वरिष्ठ नेता खनालको संयोजकत्वमा एमसीसीको पक्षमा खुलेर लागेका परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवाली र एमसीसी सम्झौताका विरोधमा देखिएका रावल सदस्य रहेको कार्यदल बनेको थियो । र, कार्यदललाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको थियो । तर, कार्यदलले प्रतिवेदन बुझाउन सकेन ।

बरु थप दस दिनको समय माग गरेर अध्ययन जारी राखेको छ । खनालका अनुसार परराष्ट्र मन्त्रालयबाट एमसीसीसँग सम्बन्धित ‘डकुमेन्ट’ आएपछि त्यसको अध्ययन गरेर फागुन १० गते भित्र सुझाव सहितको प्रतिवेदन पार्टी सचिवालयमा बुझाउने तयारी भएको छ ।

सम्बन्धित समाचारः

प्रकाशित : फाल्गुन ६, २०७६ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?