कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामाजिक सञ्‍जालमा प्रशंसा, व्यवहारमा हेला

लीला श्रेष्ठ

(भक्तपुर) — कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरीको मलामी बनेका अरुण सैंजू र राजेश गाइजूले सामाजिक सञ्जालमा प्रशंसा बटुले । सयौंले फेसबुकलगायत सामाजिक सञ्जालमा उनीहरुको फोटो राखेर साहसिक कामको खुलेर प्रशंसा गरे । तर, व्यवहारमा भने उनीहरुले त्यस्तो पाएनन् ।

सामाजिक सञ्‍जालमा प्रशंसा, व्यवहारमा हेला

उनीहरुले शनिबार साँझ धुलिखेल अस्पतालबाट एम्बुलेन्समा मृतक २९ वर्षीया महिलाको शव ल्याई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरेका थिए । त्यसपश्चात् वीर दल गण सूर्यविनायकका प्रमुख सेनानी शिव पौडेल र महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सविन प्रधानको संयोजकत्वमा सूर्यविनायक–७ घ्याम्पेडाँडास्थित आइसोलेसनमा उनीहरुलाई राखियो । आइतबार बिहान सैंजू र गाइजूलाई खाना पुर्‍याउन पुगेका प्रमुख सेनानी पौडेललाई स्थानीयले घेरे ।

‘स्थानीयले कोरोना संक्रमितसँग सम्पर्क भएका व्यक्तिलाई किन यहाँ राखेको भन्दा चित्त दुख्यो,’ पौडेलले भने ।

स्थानीयको असन्तुष्टिपछि वीर दल गण सूर्यविनायकले ब्यारेकबाट झन्डै २ सय मिटरको दूरीमा उनीहरुका लागि टेन्ट टाँगेर आइसोलेसनको व्यवस्था गरेको छ । उनीहरुलाई खाना पनि सेनाले दिँदै आएको छ । जस्तापाताले बारेर बाथरुम, शौचालय, हात धुने ठाउँको छुट्टाछुट्टै व्यवस्था छ ।

‘आइतबार उहाँहरुको थ्रोट स्वाबको नमुना परीक्षणका लागि पठाइएको छ । रिपोर्ट नआएसम्म आइसोलेसनमै बस्नुहुन्छ,’ प्रमुख सेनानी पौडेलले भने ।

जो निःसंकोच कोभिड–१९ ले मृत्यु भएकी महिलाको मलामी गए

आइसोलेसनमा राखिनुअघि उनीहरुले प्रयोग गरेको पीपीईलगायतका सामग्री भक्तपुर नगरपालिका–१ सल्लाघारी चौरमा नष्ट गरिएको छ । संक्रमितको शव बोक्न प्रयोग गरेको गाडी डिस्इन्फेक्सन गरेर प्रहरीको सुरक्षामा सल्लाघारीमै राखिएको एसपी सविन प्रधानले बताए । उक्त गाडी डिस्इन्फेक्सन गरेको ७२ घण्टासम्म नचलाउने जनाइएको छ । तर, सल्लाघारीका स्थानीयले संक्रमित महिलाको शव बोकेको एम्बुलेन्स त्यहाँ राखेको भन्दै विरोध गरेका छन् ।

भक्तपुरका स्वयंसेवी युवा सैंजू र गाइजूसहित पुनम कर्माचार्य र न्हुज किजूले लकडाउन सुरु भएदेखि भक्तपुर अस्पतालमा टेन्ट टाँगेर स्वयंसेवकको भूमिका खेल्दै आएका छन् । ‘आरएनए १६’ नामक संस्थामा आबद्ध उनीहरुले कोरोना भाइरस संक्रमणको जस्तै लक्षण भएका बिरामीहरु लिन जाने, उपचारपछि पुर्‍याउन जाने तथा अस्पतालको फिभर क्लिनिकमा सहयोग पुर्‍याउने गर्दै आएका छन् ।

कोरोना भाइरस संक्रमितहरुको सुरक्षित ओसारपसार गर्न हुने गरी ‘मोडिफाई’ गरेर उनीहरुले गाडी प्रयोग गर्दै आएका छन् । शनिबार सोही गाडीमार्फत संक्रमित महिलाको शव ल्याइएको थियो । आइसोलेसनबाट निस्किएपछि पुनः कोभिड–१९ संक्रमितको सेवामा फर्किने सैंजूले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७७ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?