कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘आइसोलेसनमा हामीलाई मार्न राखिएको हो ? ’

आइसोलेसन भवनको सेप्टिक ट्यांकी भरिएको छ । संक्रमितहरू शौचालयभित्र जमेको पानीमै शौच गर्छन् । उनीहरू भन्छन्– ‘कोरोनाले होइन, यहाँ अरू रोग फैलिएर मर्ने खतरा छ ।’
‘सुरक्षाकर्मी र कर्मचारीहरू साउन्डबक्समा गीत बजाएर सुन्दै रमाइरहेका हुन्छन् । भित्र हामी खाना–पानीबिना छटपटाइरहेका हुन्छौं’
अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराजमा कोरोना संक्रमितलाई राखिएको आइसोलेसन केन्द्रमा अन्य रोगको महामारी फैलिने खतरा बढेको छ । राजविराज नगरपालिका–२ स्थित तत्कालीन साईकृष्णा मेडिकल कलेजको पुरानो भवनमा आइसोलेसन केन्द्र छ ।

‘आइसोलेसनमा हामीलाई मार्न राखिएको हो ? ’

भवनको सेप्टिक ट्यांकी भरिएको छ । शौचालयभित्र जमेको पानीमै संक्रमितहरू शौच गर्न बाध्य छन् । यस्तोमा कोरोना संक्रमितमा अन्य रोगले समेत सताउने सम्भावना बढेको हो ।

आइसोलेसन केन्द्रमा बिहीबार दिउँसोसम्म १ सय ३ जना संक्रमित छन् । आइसोलेसनको व्यवस्थापन नेपाली सेना र गजेन्द्रनारायण सिंह अस्पतालले गरिरहेको छ । संक्रमण भएर आइसोलेसनमा बसिरहेका एक प्रहरी हवलदारका अनुसार शौचालयभित्र दिसा र पानी जमेको छ । ‘आइसोलेसनमा कोरोनाले होइन, अरू रोग फैलिएर मर्ने खतरा छ,’ उनले टेलिफोनमा भने, ‘धेरै दिनदेखि यो समस्या छ तर समाधान भएको छैन ।’

पशुलाई भन्दा पनि खराब अवस्थामा आफूहरूलाई राखिएको ती हवलदारले बताए । ‘शौचालय जाम छ, दिसा थुप्रिएको छ, हातखुट्टा धुने पानी छैन, महामारी नफैलिए के हुन्छ त ?’ उनले भने । भान्साबाट निस्किएको फोहोर पनि व्यवस्थापन हुन सकेको छैन । हातमुख धुने र नुहाउने पानीसमेत नरहेको उनले सुनाए । ‘हामीलाई ताल्चा लगाएर भित्र थुनिएको छ,’ उनले भने, ‘समस्या सुन्ने पनि कोही छैनन् । आज (बिहीबार) पौने १२ बजे चिया, बिस्कुट र २ बजे खाना दिइयो,’ उनले भने, ‘हामीलाई आइसोलेसनमा राखिएको हो कि खाना–पानी नदिएर फोहोरमा मार्नका लागि राखिएको हो ?’

समस्याबारे जानकारी गराउँदा आइसोलेसनको सुरक्षामा खटिएका सुरक्षाकर्मी र अन्य कर्मचारीले वास्ता नगरेको उनले बताए । ‘सुरक्षाकर्मी र कर्मचारीहरू साउन्डबक्समा भोजपुरी गीत लगाएर सुन्दै रमाइरहेका हुन्छन् । भित्र हामी खाना–पानीबिना छटपटाइरहेका हुन्छौं,’ उनले गुनासो गरे ।

गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रन्जितकुमार झाले शौचालयको सेप्टिक ट्यांकी भरिएको कारण समस्या उत्पन्न भएको स्विकारे । ‘वर्षौंदेखि थन्किएको घर हो । सेप्टिक ट्यांकी भरिएर जाम छ । भित्र शौच गर्न समस्या छ,’ डा. झाले भने, ‘नगरपालिकामा सफाइ गर्ने गाडी नभएकाले कञ्चनरूप नगरबाट सेप्टिक ट्यांकी सफाइ गर्ने गाडी मगाएका छौं ।’

उनले बिहीबार वर्षाका कारण खाना र खाजामा केही ढिलो भएको बताए । ‘बिहीबार पानी पनि पर्‍यो । विभिन्न घटनामा ६ जनाको मृत्यु भएका कारण स्वीपरहरूलाई पोस्टमार्टमका लागि पनि बोलाउनु परेर केही समय लागेको हो,’ डा. झाले भने ।

उक्त आइसोलेसन केन्द्र सञ्चालन र व्यवस्थापनका लागि यसअघि प्रदेश सरकारले सेनाको भीमदल गणलाई २५ लाख रुपैयाँ दिएको थियो । खाना–पानीमा गजेन्द्रनारायण सिंह अस्पतालले पनि १० लाख रुपैयाँभन्दा बढी खर्च भएको जनाएको छ । ‘लाखौं खर्च भयो । तर, आइसोलेसनमा हाम्रो अवस्था पशुजस्तै छ,’ अर्का एक संक्रमितले भने । उनका अनुसार आइसोलेसनमा महिला र पुरुषलाई सँगै राखिएको छ । ‘रङ मात्र दूधजस्तो सेतो हुन्छ । बाँकी त त्यसमा पानी मात्रै हुन्छ,’ ती संक्रमितले भने । सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आइसोलेसनमा शौचालयको समस्या समाधानका लागि काम भइरहेको दाबी गरे ।

प्रकाशित : असार १२, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?