कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होम क्वारेन्टाइनमा हेलचेक्र्याइँ

स्थानीय तहले भारत तथा तेस्रो मुलुकबाट आउनेको सरोकार नै राख्न छाडेका छन् । कसैले सोधेमा उनीहरूलाई होम क्वारेन्टाइनमा राखिएको जनप्रतिनिधिहरु जवाफ दिन्छन् तर अहिलेसम्म कति जनालाई त्यसरी राखिएको छ, कुनै तथ्यांक छैन ।

कपिलवस्तु, दाङ, पाल्पा, रुपन्देही — पाँच दिनअघि भारतबाट आएका कपिलवस्तुको यशोधरा गाउँपालिका–५, पुर्निहवाका पाँच जनाको समूह गाउँ पुग्यो । वडाध्यक्ष श्यामनारायण उपाध्यायलाई फोन गरेर क्वारेन्टाइनमा पठाइदिन उनीहरूले आग्रह गरे । वडाध्यक्षले यसअघि वडामा सञ्चालन गरिएका चारवटा क्वारेन्टाइन बन्द भइसकेको जनाएपछि उनीहरू आ–आफ्ना घर गए । अहिले परिवारसितै बसेका छन् । ‘सबैसँग हेलमेल भइरहेका छन्,’ एक स्थानीयले भने, ‘हामीलाई भने गाह्रो भइरहेको छ ।’

होम क्वारेन्टाइनमा हेलचेक्र्याइँ

उनीहरू भारतको नयाँदिल्ली र गुजरातबाट फर्किएका हुन् । सिधै घरमा गएकाले उनीहरूको न स्वास्थ्य जाँच भयो, न कुनै परामर्श नै पाए । वडाध्यक्ष उपाध्यायले गाउँमा नयाँ मान्छे भित्रिएकाबारे गाउँपालिका अध्यक्षलाई जानकारी गराएको बताए । विकल्प नभएपछि होम क्वारेन्टाइनमा पठाइएको उनको भनाइ छ तर गाउँले भने कोरोना सर्न सक्ने जोखिम बढेको भन्दै त्रासमा छन् । गाउँपालिकामा यसअघि बनाइएका २९ वटा क्वारेन्टाइन खाली गरेर विद्यालय सरसफाइ गरिसकिएको छ ।

कपिलवस्तु नगरपालिका–१२, सौराहाका अजिजुर रहमान शुक्रबार कतारको दोहाबाट गाउँ आइपुगे । यद्यपि उनी घरमै सबैसँग हेलमेल भएर बसेका छन् । ‘वडामा क्वारेन्टाइन छैन,’ वडाध्यक्ष ओमप्रकाश पाण्डेले भने, ‘त्यही भएर घरमा बस्न भनेका छौं ।’ जिल्लामा पछिल्लो पटक क्वारेन्टाइन बन्द गर्दै होम क्वारेन्टाइन भन्दै कोरोना प्रभावित क्षेत्रबाट आएकालाई समेत सोझै घर पठाउने गरिएको छ । तर, शंकास्पद भनिएकाहरूको अनुगमन नहुँदा लापरबाही बढेको छ ।

यसरी बस्नेको स्वास्थ्यबारे ख्याल गरिएको छैन । गाउँघरमा होम क्वारेन्टाइनको मापदण्ड पुर्‍याउन पनि समस्या छ । बस्ने अलग्गै कोठा र शौचालयको अभाव छ । खानपानदेखि व्यक्तिगत सरसफाइमा समेत ध्यान दिइएको छैन । ‘यसले समस्या निम्त्याइरहेको छ,’ कपिलवस्तु–३, सड्वाका दीपेन्द्रनाथ शुक्लाले भने, ‘नगर प्रमुखलाई मतलबै छैन ।’ अधिकांश पालिकाका स्वास्थ्य शाखा यसमा गम्भीर देखिएका छैनन् । कतारको दोहाबाट आएका कपिलवस्तु–७, सेरहियाका अनिलकुमार बरईले शुक्रबारबाट घरमै क्वारेन्टाइनमा बसिरहेको बताए । ‘यसरी बस्दा जोखिम त छ तर स्थानीय सरकारले कुनै चासो नदिँदा दु:खी छु,’ उनले भने, ‘यहाँ आएपछि पीसीआर परीक्षण गरेर ढुक्कसित बस्न चाहेको थिएँ, भएन ।’

मायादेवी, यशोधरा र शुद्धोदन गाउँपालिकामा अहिले क्वारेन्टाइन नै छैनन् । कृष्णनगर नगरपालिकामा पनि क्वारेन्टाइनको व्यवस्था हटाइएको छ । स्थानीय तहले भारत तथा तेस्रो मुलुकबाट आउनेको सरोकार नै राख्न छाडेका छन् । कसैले सोधेमा उनीहरूलाई होम क्वारेन्टाइनमा राखिएको जनप्रतिनिधिहरु जवाफ दिन्छन् । तर, अहिलेसम्म कति जनालाई त्यसरी राखिएको छ, तथ्यांक छैन । ‘जिल्ला बाहिरबाट आएका सबै क्वारेन्टाइनमै बस्नुपर्छ,’ कपिलवस्तु स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले भने, ‘अहिलेसम्म होम क्वारेन्टाइनमा बस्ने नीति छैन । यो सबै स्थानीय तहले पालना गर्नुपर्छ ।’ जिल्लामा हालसम्म ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५ सय ९२ जना निको भएर घर फर्किसकेका छन् । घर फर्किएका ५ सयभन्दा बढीको दोस्रो र तेस्रो पटक पीसीआर परीक्षण गरिएको छैन । १ सय ४१ जना आइसोलेसनमा छन् ।

क्वारेन्टाइनबाट फर्किएकाको छैन निगरानी

दाङमा पनि धमाधम क्वारेन्टाइन खाली भइरहेका छन् । अहिलेसम्म संक्रमण क्वारेन्टाइनमा बसेकामा मात्र सीमित छ । परीक्षणबिना घर जाने क्रम बढेपछि यसबाट समुदायमा जोखिम बढेको छ । घरमा गएर ७ दिन छुट्टै बस्ने भनिए पनि प्रभावकारी कार्यान्वयन छैन । स्थानीय तहले होम क्वारेन्टाइनको अनुगमन गर्ने संयन्त्र नै बनाएका छैनन् । परीक्षणमा ढिलाइ हुँदा क्वारेन्टाइनको बसाइ लामो र कष्टकर हुँदै आएको त्यहाँ बस्नेहरू बताउँछन् । यस्तोमा कतिपय क्वारेन्टाइनबाटै भागेका पनि छन् । अहिले लक्षण देखिएकालाई मात्र परीक्षण गर्ने र संक्रमण देखिए आइसोलेसनमा राख्ने गरिएको छ । ‘जिल्ला बाहिरबाट आएकालाई तोकेको क्वारेन्टाइनमै राख्ने गरेका छौं । कसैले होटलमा पैसा तिरेर बस्न चाहेमा त्यो सुविधा पनि दिन सकिन्छ,’ स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले भनिन्, ‘१४ दिनसम्म लक्षण नदेखिए स्वाब परीक्षण नगरी घरमा पठाइन्छ । घरमा गएर भने एक साता छुट्टै बस्नुपर्छ ।’

लक्षण नदेखिएकाबाट संक्रमण अरूमा सर्दैन भन्ने मान्यताका आधारमा त्यस्तो गर्ने गरिएको उनको भनाइ छ । ‘विश्व स्वास्थ्य संगठनले नै लक्षण नदेखिए अरूलाई सर्दैन भनेका कारण यसबाट डराउनुपर्ने अवस्था छैन । तैपनि सुरक्षाका लागि घरमा गएर एक साता छुट्टै बस्नुपर्छ,’ उनले भनिन्, ‘लक्षण देखिएकाबाट मात्रै खतरा छ । उनीहरूलाई आइसोलेसनमा नै राखिन्छ ।’ अनुगमन र परीक्षण नहुँदा कोरोना क–कसमा फैलिइरहेको छ भन्ने पत्ता लगाउन कठिन भइरहेको घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले बताए । ‘दैनिक काममा खटिरहेका मानिसहरूमा समेत कोरोना संक्रमण देखिइरहेको छ । यस्ता मानिसहरूबाट कता–कता सर्‍यो भन्ने पत्ता लगाउन कठिन भइरहेको छ,’ उनले भने, ‘क्वारेन्टाइनबाट गाउँ गएका मानिसहरूको पनि उचित निगरानी हुन सकेको छैन । यसबाट जोखिम बढिरहेको छ ।’

जिल्लामा सोमबारसम्म ५ सय ६२ जना कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए । यहाँका २ सय ११ क्वारेन्टाइनमा अहिले ३ हजार जनामात्रै बसिरहेको उनले जनाए ।

संक्रमितको संख्या बढ्दै गएपछि पाल्पामा क्वारेन्टाइन र आइसोलेसनमा स्वास्थ्य निगरानी गर्न कठिन भएको छ । घर फर्केकाहरूको स्वास्थ्य अवस्था बुझ्नसमेत स्वास्थ्यकर्मीले पाएका छैनन् । स्वास्थ्यकर्मीको ध्यान संक्रमित राखिएका आइसोलेसन र क्वारेन्टाइनमा छ । यस्तोमा आइसोलेसन व्यवस्थापन गर्न हम्मे परिरहेको रामपुर नगरपालिका, पूर्वखोला र निस्दी गाउ‘पालिकाले जनाएका छन् । पाल्पामा संक्रमितको संख्या ४ सय ७३ पुगेको छ । पूर्वखोलामा मात्रै १ सय ४९ जना छन् । रामपुरमा १ सय ११ र निस्दीमा ९३ जनामा संक्रमण देखिएको छ ।

जिल्लाभर १ हजार ८ सय जना क्वारेन्टाइनमा छन् । १४ देखि २८ दिनसम्म क्वारेन्टाइनमा बसेर घरमा गएकाहरूको अवस्था भने नाजुक छ । निस्दी गाउ‘पालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरका अनुसार संक्रमित ह्वात्तै बढेपछि अहिले आइसोलसनमा मात्रै ध्यान दिनुपर्ने अवस्था आएको छ । स्वास्थ्यकर्मीहरू होम क्वारेन्टाइनमा पुग्ने समय नै नभएको उनले बताए । ‘ध्यान संक्रमित व्यवस्थापनमा मात्रै छ,’ उनले भने ।

‘व्यवस्थापनमा चुके खतरा’

आइसोलेसन केन्द्रमा १४ दिन बिताएर फर्किएका संक्रमित सेल्फ क्वारेन्टाइनमा नबस्ने र मुलुक बाहिरबाट आएकालाई सिधै घर पठाउँदा संक्रमण समुदायमा फैलिने खतरा बढेको प्रदेश ५ का विभिन्न कोरोना अस्पतालमा कार्यरत चिकित्सकले बताएका छन् । संक्रमितको दोस्रोपटक पीसीआर परीक्षण नगरिएकाले त्यस्ता व्यक्ति घरमै केही दिन आइसोलेसनमा बस्नुपर्ने चिकित्सकको सुझाव छ ।

पछिल्लो पटक मुलुक बाहिरबाट आएकालाई होम क्वारेन्टाइनमा पठाउने गरिएकाले यस्ता व्यक्तिको व्यवस्थापनमा चुके संक्रमण व्यापक हुने चिन्ता उनीहरूले व्यक्त गरेका छन् । लकडाउन खुकुलो नहुञ्जेल सर्वसाधरणले सावधानी अपनाए पनि अहिले लापरबाही बढेको बुटवलस्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । ‘अहिले लक्षण भएका बिरामी बढ्दै गएका छन्,’ उनले भने, ‘यसले संक्रमण बढिरहेको संकेत गर्छ ।’ उक्त अस्पतालमा अहिले कोरोनाको लक्षण भएका १४ बिरामीको उपचार भइरहेको छ । तीमध्ये २ जना आईसीयूमा छन् ।

‘लक्षण देखिएका पनि सामान्य र गम्भीर प्रकृति भनेर छुटयाउने गर्छौं,’ उनले भने, ‘आईसीयूमै राख्नुपर्ने बिरामीको संख्या बढ्ने सम्भावना देखिन्छ ।’ अहिले बिनामास्क यात्रा गर्ने, बाहिरका खानेकुरामा जोडबल गर्ने, सामाजिक दूरी कायम नगर्ने बढेकाले संक्रमणको जोखिम बढेको उनको भनाइ छ । ‘यस्तो बेला मुलुक बाहिरबाट आएकालाई सिधै घर पठाउनु उचित देखिन्न,’ उनले भने, ‘घरमा बिरामीका लागि फरक कोठा र शौचालय नहुन सक्छन् ।’ गाउँघरमा यस्तो व्यवस्थापन गर्न कठिन हुने पनि उनी बताउँछन् । ‘उचित व्यवस्थापनबिना होम क्वारेन्टाइनमा पठाउन जोडबल गरिरहेका छौं तर यसको अनुगमन नगर्ने हो भने एक व्यक्तिबाट परिवार र परिवारबाट समुदायमा संक्रमण सर्न समय लाग्दैन,’ उनको चेतावनी छ ।

लक्षण देखिएका बिरामी वृद्धि भएमा कोरोना विशेष अस्पतालले मात्रै थेग्न नसक्ने उनको भनाइ छ । ‘नन–कोभिड अस्पताललाई समेत प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ, रूपन्देहीको हकमा बढीमा १ महिना अहिलेको व्यवस्थापनले थेग्न सक्छौं, त्यसपछि जनशक्ति, उपकरण र अस्पताल सबै अभाव हुने देखिन्छ,’ डा. थापाले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनाका आधारमा अहिलेसम्म समुदायमा संक्रमण नफैलिएको अवस्था मध्यनजर गर्दै सम्पर्कमा आएका बिरामीको उपचार गरिरहेको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले बताए । उनको नेतृत्वमा बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा संक्रमितको उपचार भइरहेको छ । ‘फाट्टफुट्ट देखिएका बिरामीले समुदायमा संक्रमण सरे/नसरेको निक्र्योल हुँदैन,’ उनले भने, ‘अहिलेसम्म भयावह स्थिति आइसकेको छैन ।’

१४ दिन आइसोलेनमा बसेका बिरामीमा पुन: लक्षण देखिनु सामान्य नै मानिने उनले बताए । उनीहरूबाट अन्यमा सर्ने सम्भावना न्यून रहने उनको दाबी छ । उनका अनुसार अहिलेसम्म धेरै संक्रमण फैलिएको मुलुक बाहिरबाट आएका व्यक्तिबाटै हो । बाहिरबाट आउनेको संख्या घटेको र संक्रमण दर पनि हाल कम भएको उनले जनाए । ‘मुलुक बाहिरबाट आएका मानिसलाई क्वारेन्टाइनमै राखेर उचित मापदण्ड पालना गराउनुपर्छ,’ उनले भने, ‘यसरी अलग्गै राखेर परीक्षण गरियो भने समाजमा कोरोना फैलिन पाउँदैन ।’ सिधै घर पठाइएका व्यक्ति सेल्फ क्वारेन्टाइनमा बसेनन् र बेलैमा परीक्षण भएन भने समाजमा संक्रमण फैलिने उनले चेतावनी दिए ।

गाउँघरमा घरघरबीच दूरी हुने, वातावरण स्वच्छ भएकाले होम क्वारेन्टाइनमा बस्न उपयुक्त हुने कोरोना विशेष अस्पताल बेलझुन्डीका फोकल पर्सन डा. सर्वेश शर्माले बताए । ‘अन्य क्वारेन्टाइनमा बस्दा मानिसको भीड हुने र संक्रमण सर्ने समस्या छ,’ उनले भने, ‘नियम पालना गरेर घरमा बस्नु उत्तम हुन्छ ।’ अहिले क्वारेन्टाइनमा बसेकामा स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि अस्पतालमा राखी १४ दिनसम्म उपचार गरिरहेको उनले बताए । ‘कोरोना समुदायमा फैलिने भनेको संक्रमितले ख्याल नगर्दा नै हो,’ उनले भने, ‘स्वास्थ्य सुरक्षा अपनाएमा डरलाग्दो रूप लिँदैन ।’ बेलझुन्डी अस्पतालमा अहिले ४० बिरामी आइसोलेसनमा छन् । उनीहरूको अवस्था गम्भीर छैन । लक्षण देखिएका बिरामी बढ्दै गएमा स्थान अभाव हुने उनले बताए ।

प्रकाशित : असार १७, २०७७ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?