कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परदेश गएकाहरु फर्केपछि खेतीपाती सजिलो 

वसन्तप्रताप सिंह

बझाङ — जसै खेतीपातीको सिजन सुरु हुन्थ्यो । बझाङको जयपृथ्वी नगरपालिका–१, माथीगाउँकी सिता खड्काको सुखले निदाउने दिन घट्दै जान्थे । गाउँमा रहेको बारी र घरबाट आधा घण्टा परको पिमीज्यूलाको खेत जोत्ने मान्छे खोज्न उनले आफन्त र छिमेकीका घर चाहर्नुपर्थ्यो ।

परदेश गएकाहरु फर्केपछि खेतीपाती सजिलो 

घर नजिकैको पाखोबारी, धान फल्ने खेतदेखि झण्डै चार घण्टाको पैदल दूरीमा रहेको लवाबान्ना लेकको आलुबारी जोत्नका लागि सहयोग (स्थानीय भाषामा बाउरु) खोज्नु उनको दैनिकी थियो । किनकी यहाँ महिलाहरुलाई हलो जोत्न मनाही छ । १२ र ९ वर्षका दुई छोरी र ६ वर्षका एक छोराका साथमा गाउँमा बस्ने उनका श्रीमानु नवराज तीन वर्षदेखि भारतमा थिए ।

कोही आफ्नो बारी जोतिसकेपछि काम गरिदिउँला भन्थे । कोही आफ्नै खेत जोत्न नपाएर बाँझै बसेको छ भनेर पन्छिन्थे । प्राय: सबैजसो घरका पुरुषहरु भारतमा थिए । ‘एक जनाले तीन /चार परिवारको खेती लाउन पर्ने भएकोले भनेको बेला मान्छे नै पाइँदैन्थ्यो’ उनले भनिन् ‘आफ्नो काम सकेर मात्रै खेत जोतिदिउँला भन्नेलाई कुर्दाकुर्दा खेती पछाइहाल्थ्यो (सिजन घर्किन्थ्यो ।’

गोडमेल गर्ने र बाली भित्र्याउने काम आफू र छोरीहरुले गर्ने गरेको भए पनि खेत जोत्ने मान्छे खोज्न सकस हुन्थ्यो । सानातिना बारी त उनले हातैले खनेर पनि काम चलाउँथिन् । कोरानाको महामारी फैलिएसँगै गत चैत मध्यतिर भारतबाट श्रीमान् घर फर्केपछि भने सीताको तनाव हल्का भएको छ । ‘तीन वर्षसम्म निकै दु:ख पाएँ । अहिले श्रीमान् घर आएपछि ठूलै भारी बिसाए जस्तो हल्का भएकी छु,’ उनले भनिन् ।

सीताको जस्तै समस्या उनको गाउँका धेरैजसो महिलाहरुले खेपिरहेका छन् । यद्यपि उनको गाउँमा चैत महिनामात्रै ४० जनाभन्दा बढी पुरुषहरु घर फर्किएपछि खेतीपातीको काममा निकै सहज भएको छ । ‘घर छिमेकमा सहयोग नगरौं भने पनि भएन । मैले मात्रै पाँच वर्षदेखि चार परिवारको खेती जोतिरहेको थिएँ,’ स्थानीय मोहन खड्काले भने ‘यो वर्ष धेरै घरका लोग्ने मान्छे गाउँ फर्किएका छन् अब केही सजिलो होला ।’ स्थानीय विद्यालयमा निजी श्रोत शिक्षकको रुपमा काम गरिहेका उनी आफू घरै बस्ने भएकोले गाउँलेको कामको बोझ पनि आफूले खेप्नु परेको बताए ।

जयपृथ्वी नगरपालिकाको माथीगाउँ मात्रै होइन, कामको खोजीमा देश बाहिर रहेका र देशभित्रै पनि अध्ययन र कामको सिलसिलामा गएकाहरु महामारीका कारण गाउँ फर्किन थालेपछि जिल्लाभरिका किसानहरुलाई खेतीपाती गर्न सहज भएको छ ।

कामका सिलसिलामा बाहिर रहेकाहरु गाउँ फर्केपछि वर्षौंदेखि बाँझै रहेका जमिनमा पनि खेतीपाती गर्न थालिएको बुंगल नगरपालिकाका वीरेन्द्र लोहारले बताए । ‘चार वर्ष भारत बसें । गाउँमा खेती गर्ने मान्छे नभएर धेरै जमिन बाँझै रहेछ । यो पाला सबै जोत्न लागेको छु,’ उनले भने । उनी श्रीमती र चार छोराछोरी छोडेर भारत पसेपछि काम गर्ने मान्छे नभएर जमिन बाँझै रहेको थियो । उनको गाउँका सबैजसो पुरुष भारत जाने गरेकोले धेरैको जग्गा बाँझो हुने गरेको थियो । यो वर्ष भारत गएका उनको गाउँका ७५ प्रतिशतभन्दा बढी घर फर्केको र सबै जसो खेतीपातीको काममा लागेको उनले सुनाए ।

देशमा चैत्र ११ गतेबाट लकडाउन सुरु भएयता बझाङ जिल्लामा मात्रै २० हजारभन्दा बढी मानिसहरु भारतबाट फर्किएका छन् । ठूलो संख्यामा प्रवासीहरु जिल्ला भित्रिँदा यसको सकारात्मक असर कृषि क्षेत्रमा परेको कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर सिंह बताउँछन । जिल्लाको ८५ प्रतिशत जनसंख्या कृषिमै निर्भर रहेको भए पनि युवा जनशक्ति बाहिर हुँदा उत्पादन घटिरहेका बेला ठूलो जनशक्ति गाउँ फर्कनु राम्रो भएको उनले बताए ।

'अधिकांश युवाहरु भारतमा हुँदा जिल्लाको कृषि क्षेत्र करिब करिब महिला, बालबालिका र वृद्धावृद्धाको जिम्मामा गइसकेको थियो । काम गर्ने मानिस नहुँदा जग्गा बाँझै रहने क्रम पनि बढिरहेको थियो,’ उनले भने ‘यो वर्ष धेरै मानिसहरु जिल्ला आएपछि बाँझो जमिन पनि कम हुने र उत्पादन बढ्ने आशा गर्न सकिन्छ ।’ उनले कृषि क्षेत्रमा काम गर्ने युवाहरु गाउँ फर्केका कारण महिला, बालबालिका र वृद्धवृद्धाको कामको बोझमा पनि निकै कमी आएको बताए ।

प्रकाशित : असार १७, २०७७ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?