कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहान बालुवाटारमा भएको भेलाबारे बुझ्न ललितपुरमा भेला : रावल

पार्टी निर्णय र प्रणालीलाई मानेर अघि बढ्न आग्रह

काठमाडौँ — स्थायी समितिको बैठक चलिरहेकै बेला पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीका केही नेतालाई बोलाएर छलफल गरेपछि त्यसबारे बुझ्न अर्का अध्यक्ष पुष्पकमल दाहालले ललितपुरमा भेला गरेको नेकपाका स्थायी समिति सदस्य भीम रावलले बताएका छन् । रावलले पार्टीको बैठकबाट नै सम्पूर्ण निर्णय हुनुपर्छ भन्ने आफूहरुको चाहना भएको पनि बताए । 

बिहान बालुवाटारमा भएको भेलाबारे बुझ्न ललितपुरमा भेला : रावल

उनले भोलि बिहान पनि अरु नेताहरुसँग छलफल र भेला हुने बताए । 'विधि र नियमअनुसार पार्टी चलोस् भन्ने हाम्रो भनाई हो । तर, स्थायी समिति चलिरहेका बेला प्रधानमन्त्री तथा अध्यक्षले नै छुट्टै भेला गरेपछि त्यहाँ के भएको हो ? त्यसको आशय के हो भन्ने बुझ्नका लागि यो भेला भएको हो,' ललितपुरको एक होटलमा भएको भेलाबाट बाहिर निस्केर रावलले भने । उनले प्रणालीलाई पछ्याउनु पर्ने र कमिटीका निर्णय दुवै अध्यक्षले मान्नुपर्ने भेलाको निष्कर्ष भएको पनि बताए ।

'पार्टी पद्दतिमा चल्नु पर्‍यो । कसैले पनि यस्ता अभिव्यक्ति दिनु भएन जसले पार्टीको छवि नष्ट हुन्छ, पार्टी कमजोर हुन्छ, जनता र कार्यकर्तामा निराशा छाउँछ भन्नेमा हामी सबैको जोड हो,' उनले भने । उनले यसअघि पनि पार्टीको विधि र विधानअनुसार चल्ने सहमति भएको तर त्यसको पालना नभएको तथा २० जना स्थायी कमिटीका सदस्यले लिखित रुपमा बैठक बोलाउन माग गर्दा बैठकसमेत नबोलाइएको भन्दै असन्तुष्टि प्रकट गरे ।

रावलले अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने विषय स्थायी कमिटी बैठकमै उठेको र छलफलमा रहेकाले त्यसबारे ललितपुर भेलामा खासै कुरा नभएको बताए । 'उहाँले जुन किसिमले हाम्रो स्वतन्त्रता, आत्मनिर्णयको अधिकार तथा नेपाल र नेपाली जनताका विषयमा नेपाल आफैंले र जनताले बहुमत दिएको पार्टी नेकपाले निर्णय गर्नसक्छ भन्ने कुरामा समेत आघात पुग्नेगरी अभिव्यक्ति दिनुभयो त्यो पनि छलफलकै क्रममा छ,' उनले भने । प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा नेपालको नयाँ नक्सा जारी गरेपछि आफ्नो सरकार ढलाउन नेकपाकै केही नेता तथा भारतीय राज्यसंयन्त्रले लागेको बताएका थिए । उनले यसका लागि भारतीय दूतवासाले काठमाडौंका होटेलहरुमा बैठक गरिरहेको पनि बताएका थिए ।

उनले भेला पार्टी फुटाउनका लागि नभइ एकजुट गर्नका लागि भएको पनि बताए । 'कतिपय मानिसहरुले पार्टी निर्णय मान्नुपर्ने अवस्था आएमा किन मान्ने ? बरु पार्टी फुट्न सक्छ भनेर बाहिर जुन किसिमले हल्लाहरु चलाइयो त्यो गलत हो । जसरी नेकपा एमाले भन्ने पार्टी नै दर्ता भएको कुरा आयो,' रावलले भने, 'यस्तो अवस्थालाई रोक्न र पार्टीलाई बलियो बनाउन हामी चाहन्छौं । पहिले पनि पार्टी फुटाउन सजिलो हुने विधेयक ल्याउँदा हामीले कदम चालेका थियौं ।'

रावलले यो भेलालाई गुट भेला मान्न पनि इन्कार गरे । 'यो गुट भेला होइन । बालुवाटारमा छलफल भएपछि यहाँ पनि भएको हो । त्यस भेलामा सहभागि साथीहरु र मन्त्रीहरु पनि यहाँ हुनुहुन्थ्यो,' उनले भने । भेलाले कसरी अघि बढ्ने निर्णय गर्‍यो त भन्ने प्रश्नमा उनले भने, 'कसरी अघि बढ्ने भन्नेबारे त स्थायी समितिले निर्णय गर्छ । स्थायी समिति चलिरहेका बेला निर्णय स्थायी समितिले नै गर्छ ।'

उनका अनुसार यो भेलामा मन्त्रीहरुसहित ३० जना नेकपा नेताहरु सहभागि थिए । अध्यक्ष दाहालले बोलाएको भेलामा प्रधानमन्त्री ओलीसँग रुष्ट सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायत स्थायी समिति सदस्यहरु उपस्थित थिए ।

प्रकाशित : असार १७, २०७७ २२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?