कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अधिवेशन अन्त्यको सिफारिस भइरहँदा संसदका काममा व्यस्त थिए सभामुख र अध्यक्ष

अध्यक्षसँग परामर्श भएको कानुनमन्त्रीको दाबी, अध्यक्ष भने अनभिज्ञ
जयसिंह महरा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएर संघीय संसदको छैटौं अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिसको निर्णय गरिरहेका बेला संसदको नेतृत्व भने आफ्नै काममा व्यस्त थियो । 

अधिवेशन अन्त्यको सिफारिस भइरहँदा संसदका काममा व्यस्त थिए सभामुख र अध्यक्ष

बिहीबार दिउँसो पौने १ बजेतिर प्रधानमन्त्री निवास बालुवाटारमा संसद अधिवेशन अन्त्य गर्नका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको प्रतिवेदनविरुद्ध उत्रिएका निजामती कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनका पदाधिकारीबाट ज्ञापनपत्र बुझिरहेका थिए ।

२२ गते सोमबारका लागि प्रतिनिधिसभा बैठक बोलाएका सभामुख सापकोटाले निजामति विधेयकमाथि नेकपाका सांसद छलफल गर्ने तयारी गरेका थिए । निजामति विधेयकमाथि राज्यव्यस्था समितिको प्रतिवेदन सोमबारका लागि तय गरिएको बैठकमा पेस गर्ने र विवादको समाधान खोज्नेतिर उनी लागेका थिए । सभामुखको सचिवालयले दिएको जानकारीअनुसार निजामति विधेयकमाथिको विवादबारे संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीसँग बिहीबार नै छलफल गरेका थिए । जतिबेला संसद अधिवेशन अन्त्य भएको पत्र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा आइरहेको थियो ।

अन्योलमा थिए अध्यक्ष तिमिल्सिना

संघीय संसदको छैटौं अधिवेशन अन्त्यको निर्णय भइरहेका बेला माथिल्लो सदन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना भने सभाको कार्यव्यवस्था समितिको बैठक सकेर सभाको अध्यक्षता गर्न संसद भवन बानेश्वर पुगेका थिए ।

बिहीबार १ बजे राष्ट्रिय सभाको बैठक सुरु भयो । अध्यक्ष तिमिल्सिनाले बैठक सुरु गर्दासम्म पनि अधिवेशन अन्त्य भएको जानकारी नपाएको सांसद र कर्मचारीहरूले बताएका छन् ।

राष्ट्रियसभा बैठकमा उपस्थित सत्तारुढ न प्रतिपक्षी दलका नेताहरूलाई पनि अधिवेशन अन्त्यबारे थाहा थिएन । प्रतिपक्षी कांग्रेस सांसद अनिता देवकोटाका अनुसार कार्यव्यवस्था समितिको बैठकले असार २१ गते आइतबार १ बजेका लागि राष्ट्रियसभाको बैठक बोलाउने निर्णय गरेको थियो । 'कार्यव्यवस्थाबाट २१ गते १ बजे राष्ट्रियसभा बैठक बस्ने निर्णय गरिएको थियो । २१ गतेको बैठकमा नागरिक उड्डयन प्राधिकारणको विधेयक आउने र अख्तियार विधेयकमाथि विधायन व्यवस्थापन समितिको प्रतिवेदनमा सहमति भएमा टेबुल गर्ने निर्णय भएको थियो,' उनले भनिन् ।

बैठक संचालन गरिरहेका तिमिल्सिना पनि अलमलमा परेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेलाई राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधि सभामा पठाइएको संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न तिमिल्सिनाले समय उपलब्ध गराएका थिए । तर, बैठक सुरु हुँदा उपस्थित मन्त्री उक्त प्रस्ताव पेस गर्ने बेलासम्म भने बाहिरिइसकेकी थिइन् । मन्त्री तुम्बाहाङ्फेलाई समय उपलब्ध गराए पनि नदेखिएपछि अध्यक्ष तिमिल्सिनाले अर्थमन्त्री युवराज खतिवडालाई मन्त्री तुम्बाहाङ्फेको तर्फबाट प्रस्ताव प्रस्तुत गर्नका लागि समय उपलब्ध गराएका थिए ।

बिहीबारको बैठकको अन्त्यमा आइतबार बैठक बस्ने सूचना पढ्नुको साटो अध्यक्ष तिमिल्सिनाले कर्मचारीले उपलब्ध गराएको चिटमा लेखिएको बिहीबार नै साढे २ बजेका लागि बस्ने सूचना पढेका थिए । त्यसपछि मात्रै उनलाई अधिवेशन अन्त्यको जानकारी मिलेको थियो । बिहीबारको दोस्रो बैठकमा भने अधिवेशन अवधिभर राष्ट्रियसभाबाट भएका कामहरूको विवरण पढेर सुनाइएको थियो भने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाइएको थियो ।

अधिवेशन अन्त्यबारे राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग छलफल भए पनि सभामुख सापकोटासँग भने 'उनकै वेवास्ता'का कारण परामर्श हुन नपाएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेको भनाइ थियो । 'संसदभित्रका काममा संलग्न भएको, संसद र सरकारको पुलको काम गर्ने मन्त्रालयको जिम्मेवारीमा भएका कारणले संसदबारे रिपोर्टिङ गरेको थिए । अध्यक्ष (तिमिल्सिना)सँग बुधबार पनि भेट भएको थियो । बिहीबार बिहान पनि टेलिफोनमा कुराकानी भएको थियो । उहाँले 'प्रधानमन्त्रीलाई मेरो सन्देश सुनाइदिनुभयो ? आज एक दिन बैठक बस्छौं त्यसपछि बिजनेस छैन, के गर्ने हो ? यो कुरा सुनाइदिनुपर्‍यो प्रधानमन्त्रीलाई । अधिवेशन छिटो अन्त्य गर्नुपर्‍यो कोरोना भाइरसको कारणले गर्दाखेरी,' भन्नुभएको थियो,' बिहीबार साँझ कान्तिपुरसँग कुरा गर्दै उनले भनेकी थिइन् । सभामुख सापकोटाले भने असार १७ र २२ गते बैठक बोलाउनेबारे आफूसँग परामर्श नगरेको मन्त्री तुम्बाहाङ्फेको भनाइ थियो । प्रतिनिधिसभा बैठक ९ गते बसेर १७ गतेसम्मका लागि स्थगित भएको थियो ।

मन्त्री तुम्बाहाङ्फेले अधिवेशन अन्त्यबारे राष्ट्रियसभा अध्यक्षसँग परामर्श भएको दाबी गरे पनि अध्यक्ष तिमिल्सिनाले भने आफूले अधिवेशन अन्त्य भएको सूचना पढेर सुनाएको तर पूर्वसूचना भए/नभएको बारे केही नभन्ने बताए । 'अरुलाई पूर्वसूचना के थियो थाहा भएन हामीले त आएर राष्ट्रपतिको पत्र र संसदका कुरा पढेर सुनाएको हो,' उनले भने ।

आफू र सभामुखबीच अधिवेशन अन्त्यबारे कुनै छलफल नभएको अध्यक्ष तिमिल्सिनाले बताए । संसदको नियमित अधिवेशन अन्त्य गर्ने संवैधानिक अधिकार सरकारसँग भएको उनको भनाइ थियो । तपाईंसँग पूर्व सूचना थियो कि थिएन भन्ने प्रश्नमा उनको जवाफ थियो, 'पूर्व सूचना थियो, छैन भनिनँ । मैले हाउस अन्त्य भएको सूचना पढेर सुनाएको हो । यत्ति कुरा हो ।'

प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्दा संसदमाथि प्रहार गरेको प्रतिपक्षी कांग्रेस र जनता समाजवादीले आरोप लगाएको थियो । नागरिकता र संघीय निजामती सेवासँग सम्बन्धित विधेयक पारित गरेर काम देखाउन लागिरहेको संसदको नेतृत्व परामर्श नगरी अधिवेशन अन्त्य गरेकोमा असन्तुष्ट छ ।

प्रकाशित : असार १९, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?