कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुलाकी सडक निर्माणमा एसएसबीको अवरोध

३८ नम्बर सीमास्तम्भ रहेको क्षेत्र भारतीय अधिकारीहरूले आफ्नो भूभाग भन्दै सडक निर्माण रोक्न भनेपछि विवाद समाधानका लागि केन्द्रको सहयोग माग्ने जिल्ला प्रशासनको तयारी
भवानी भट्ट

कञ्‍चनपुर — कञ्चनपुरको दक्षिणी क्षेत्रमा हुलाकी सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पुन: अवरोध गरेको छ । बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा निर्माणाधीन सडक आफ्नो भूभागमा पर्ने भन्दै भारतको केन्द्रीय अर्धसैनिक बल (एसएसबी) ले अवरोध गरेको हो । आइतबार भारत उत्तरप्रदेशको पिलिभित जिल्लाका एसडीएम र एसएसबीका डीआईजीसहितको टोलीले निर्माणस्थलमै पुगेर काममा अवरोध गरेको हो ।

हुलाकी सडक निर्माणमा एसएसबीको अवरोध

३८ नम्बर सीमा पिलरनजिकैको उक्त क्षेत्र नयाँ नापीअनुसार भारतमा पर्ने दाबी गर्दै एसडीएम र डीआईजीले काम रोक्न भनेको स्थानीयले बताए ।

यसअघि पनि एसएसबीले उक्त क्षेत्र भारतमा पर्ने भन्दै लामो समय हुलाकी सडक निर्माणको काममा अवरोध गरेको थियो । ‘यो क्षेत्र हाम्रोमा पर्छ भन्दै काम रोक्न भनेका छन्,’ बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले भने, ‘३८ नम्बर पिलरको पूर्वी र दक्षिणी क्षेत्र भारतमा पर्ने उनीहरुको दाबी छ ।’

उनले आइतबार ठूलो संख्यामा सुरक्षाकर्मीसहित आएका दुवै जनालाई तत्काल काम नरोकिने भन्दै फिर्ता पठाइए पनि विवाद माथिल्लो तहबाटै समाधान हुनुपर्ने बताए । यसबारे प्रमुख जिल्ला अधिकारीसँंग पनि तत्काल छलफल गरेर समाधान गर्न आग्रह गरिएको उनले बताए ।

उक्त क्षेत्रमा अहिले ग्राभेलिङको काम चलिरहेको छ । यसअघि पनि एसएसबीकै अवरोधका कारण लामो समय काम हुन नसक्दा निर्माणले गति लिन सकेको छैन । सशस्त्र प्रहरीको ३५ नम्बर गणका एसपी वीरसिंह साहूले सडक निर्माणका क्रममा सामान्य विवाद देखिएको र समाधानका लागि छलफल चलिरहेको बताए । उनका अनुसार ३८ र ३९ नम्बर पिलरको बीचको भूभाग भारतीय पक्षले आफ्नो क्षेत्रमा पर्ने दाबी गरेको छ । यही कारण निर्माण रोक्न एसएसबीको टोली आएको उनले बताए ।

फागुनमा बेलौरी नगरपालिकाको भुडा क्षेत्रमा नेपाल–भारत संयुक्त सर्वे टोलीले काम सुरु गरेको थियो । तर उक्त क्षेत्रमा महाकाली सिँचाइ आयोजनासहित थुप्रै नेपालीको जमिन भारततर्फ जान थालेपछि स्थानीयले विरोध गरेपछि टोलीले काम स्थगित गरेको थियो ।

उक्त क्षेत्रमा नेपालतर्फ दर्ता रहेका जमिनसमेत भारतमा पर्ने देखिएपछि स्थानीयले विरोध गरेका हुन् । भारतीय पक्षले निर्माण गरेका पिलरहरुसमेत स्थानीयले भत्काएका थिए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भारतीय पक्षबाट सडक निर्माणको अवरोध भएपछि हाललाई उक्त क्षेत्रमा निर्माण कार्यअघि नबढाउने सहमति भएको छ । नेपाल र भारतको संयुक्त टोलीले सीमाको वास्तविक अवस्था बुझ्नका लागि केन्द्रमा पत्राचार गरिने प्रजिअ खतिवडाले बताए ।

निर्माण निकै सुस्त

कञ्चनपुरमा हुलाकी सडक निर्माणको काम तीन चरणमा भइरहेको छ । अहिले एसएसबीले अवरोध गरेको क्षेत्र बेलौरीको बुटाबारीदेखि बेलडाडी गाउँपालिकासम्म २० किलोमिटर सडक निर्माणका लागि बाबाहंस निर्माण कम्पनीसँग ४१ करोड ७६ लाखमा २०७३ पुसमा ठेक्का सम्झौता भएको हो । २०७६ असारमा म्याद सकिएपछि ९ महिना थप गरिएको म्याद पनि चैतमा सकिएर साउनसम्म दोस्रोपटक म्याद थप भएको छ ।

यो अवधिमा पनि काम सम्पन्न हुने सम्भावना नरहेको हुलाकी सडक आयोजनाका इन्जिनियर पदम मडैले बताए । उनका अनुसार तीनवटै चरणमा करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ । पहिलो र तेस्रो चरणमा बढी भए पनि दोस्रो चरणमा कम रहेको उनले बताए ।

प्रकाशित : असार २३, २०७७ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?