कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गिरीलाई सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने समाजवादीको निर्णय 

काठमाडौँ — समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णय गरेको छ । समाजवादी पार्टीको मंगलबार दिउँसो बसेको पदाधिकारी बैठकले पार्टीको निर्देशन र संसदीय दलको ह्वीप उल्लंघन गरेकाले निष्कासन गर्ने निर्णय लिएको हो ।

गिरीलाई सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने समाजवादीको निर्णय 

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न ल्याइएको संविधान संशोधन विधेयकमाथि पार्टीले समर्थन जनाएको अवस्थामा पनि सांसद गिरीले त्यसविरुद्ध संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उक्त संशोधन प्रस्ताव फिर्ता लिन प्रमुख सचेतक उमांशकर अरगरियाले निर्देशन दिएका थिए । जुन गिरीले मानेकी थिइनन् ।

त्यस्तै, संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने पार्टीको ह्वीप पनि उल्लंघन गर्दै सांसद गिरीले प्रतिनिधिसभा बैठक बहिष्कार गरेकी थिइन् । त्यसपछि पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समिति सदस्यमा सांसद मोहम्मद इस्तियाक राई र शुशीला श्रेष्ठ सदस्य थिए । समितिले मंगलबार २ बजे पार्टी पदाधिकारीलाई प्रतिवेदन बुझाएको थियो ।

समिति सदस्य राईका अनुसार संसदीय दलको निर्देशन र ह्वीप उल्लंघन गरेको पाइएकोले गिरीलाई पार्टी र प्रतिनिधिसभा सदस्यबाट निष्कासन गर्ने निर्णय भएको हो ।

'उहाँले संसदीय दलको निर्देशन र ह्वीप उलंघन गरेको कुरा संसदीय दलले केन्द्रीय समितिलाई जानकारी दियो । त्यसपछि छानबिन समिति बन्यो,' राईले भने , 'समितिले उहाँलाई जवाफ दिन भन्यो । सोही आधारमा प्रतिवेदन बन्यो । समितिले पदाधिकारीलाई प्रतिवेदन बुझायो र पार्टी तथा प्रतिनिधि सभाबाट निष्कासित गर्ने निर्णय भयो ।'

गिरीले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि होइनन् भन्दै आएकी थिइन् । जसका कारण पनि गिरीलाई कारबाही गर्न समाजवादीलाई दबाब परेको थियो ।

प्रकाशित : असार २३, २०७७ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?