कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

टिंकर जोड्ने बाटो निर्माणमा भारतको अवरोध

नेपाली सेनाले घोडेटो निर्माण सुरू गरेलगत्तै ठीक पारिपट्टि भारतले सडक चौडा पार्न थाल्यो । उसले विस्फोट गराउँदा खसेको चट्टानले महाकाली नदीको सतह माथि आउँदा नेपाली सेनाले बनाएको ४५ मिटर बाटो बगाएको छ ।
मनोज बडू

दार्चुला — भारतले नेपाली भूमि लिपुलेक जोड्ने सडक विस्फोटक पदार्थले चट्टान फुटाउँदै विस्तार गर्न थालेपछि व्यास गाउँपालिका–१ जोड्ने घोडेटो निर्माणमा अवरोध पुगेको छ । नेपाली सेनाले जेठ दोस्रो सातादेखि घोडेटो बनाइरहेको छ । भारतले आफ्नोतिर ठूला चट्टान फुटालेर महाकालीमा खसाल्दा नदीको बहाव नेपालतर्फ फर्केपछि बन्दै गरेको घोडेटो कटानमा परिरहेको छ ।

टिंकर जोड्ने बाटो निर्माणमा भारतको अवरोध

भारतले महाकाली किनारैकिनारबाट धार्चुला–लिपुलेक सडकको ट्रयाक खोलेर गत वैशाख २६ मा उद्घाटन गरेको थियो । नेपाली सेनाले बाटो निर्माण थालेदेखि नै भारतले सडक चौडा पार्न थालेको स्थानीयले बताए । सेनाले घोडेटोको ट्रयाक खोलिरहेको ठीक पारिपट्टि भारतले पनि निर्माणलाई तीव्रता दिएको हो । ‘भारतले नियमित रूपमा विस्फोट गराएर चट्टान तोडिरहेको छ,’ व्यासका रवीन्द्र जोहारीले भने, ‘ठूला मेसिन प्रयोग गरेर ठूल्ठूला ढुंगा महाकालीमा फाल्दा पानीको सतह माथि उठेको छ ।’ ठूला ढुंगा खसाल्दा नदी साँघुरिएर बहावको तीव्रता बढेको छ । जसका कारण घाटीबगरमा सेनाले खोलेको ट्रयाकमध्ये ४५ मिटर बाटो बगाएको छ ।

दार्चुलाको व्यास गाउँपालिका २ घाटीबगड पारिपट्टि भारतीय पक्षले विस्फोट गराउँदा आएको ढुंगाको चोइटाले नेपाली सेनाको क्याम्पमा परेको प्वाल । तस्बिर : मनोज बडू/कान्तिपुर

भारतले सडक विस्तार गर्न दिनमा ४/५ पटक विस्फोट गराएर चट्टान खसालिरहेको छ । विस्फोट हुँदा साना ढुंगा र चोइटा उछिट्टिएर आउने हुनाले ज्यान जोगाउनसमेत मुस्किल भएको घाटीबगरमा काम गर्नेहरू बताउँछन् । बाटो निर्माणका लागि सेनाले घाटीबगरमा क्याम्प राखेको ठाउँ होचो छ । त्यसैले भारतले विस्फोट गराउँदा सेना र अन्य कामदार बसेको ठाउँसम्मै ढुंगा खस्ने गरेको छ । सेना र कामदार बस्न टाँगिएका पालमा विस्फोटले उछिट्टिएर आएका ढुंगाले प्वालसमेत बनाएका छन् ।

बाटो बनिसकेको १५ मिटर क्षेत्रमा पहिरो खसेपछि त्यहीं फेरि काम गर्न धेरै समस्या खेप्नुपरेको सेनाले जनाएको छ । अहिले करिब दुई सय मिटर घोडेटो निर्माण भएको छ । महाकालीले कटान गरेको ४५ मिटर बाटो फेरि बनाउनुपरेकाले निर्धारित समयमा काम नसकिने सेनाको भनाइ छ । सेनाले घाटीबगरबाट मौरीभीरसम्मको ४ सय ५० मिटर घोडेटो असार मसान्तभित्र बनाइसक्ने लक्ष्यका साथ काम थालेको थियो ।

भारतले विस्फोट गराउँदै चट्टान नदीमा खसालिरहे नदीको सतह अझै माथि आउने सम्भावना रहेको कामदारहरूले बताएका छन् । उनीहरूका अनुसार अहिले सेनाले निर्माण गरिरहेको बाटोभन्दा ४–५ मिटर मात्रै मुनि महाकाली बगिरहेको छ । ‘तलबाट नदी कटान भइरहेको छ । माथिबाट पहिरो खस्ने खतरा भएकाले जोखिम मोलेर काम गर्नुपरेको छ,’ सेनासँगै निर्माणमा खटिएका व्यास–५ का वीरेन्द्रसिंह धामीले भने । धामीसहित स्थानीय आठ जनाले उक्त बाटो निर्माणमा दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । धामी उक्त बाटोमा ड्रिलिङको काम गर्छन् ।

स्थानीय जेहेन्द्र भण्डारीका अनुसार भारतीयले एक पटक सिट्टी फुक्ने र लगत्तै विस्फोट गराउने भएकाले हतारहतार लुक्नुपर्ने अवस्था रहेको बताए । ‘हामीले यस्तो दिनहुँ भोग्दै आएका छौं । यहाँ बस्ने सेना नै असुरक्षित छन्, हामी त हुने नै भयौं,’ उनले भने ।

घाटीबगरको खोंचमा सेनाको क्याम्प र हेलिप्याड बनाइएको ठाउँको तलतिर पनि महाकालीले कटान गरिरहेको छ । पारिपट्टि नदी किनारमा ठूला ढुंगा र माटो थपिँदै जाँदा महाकाली वारितर्फ सरिरहेको छ ।

घाटीबगर र मौरीभीरमा पर्ने बाटो छिटो सञ्चालन गर्ने जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निर्माणका लागि नेपाली सेनाको प्राविधिक जनशक्तिसहितको टोली त्यस क्षेत्रमा खटिएको हो ।

व्यास–२ मा पर्ने मौरीभीरमा ठूलो चट्टान र घाटीबगरमा पहिरोसमेत गएकाले व्यास–१ मा पर्ने छाङरु र टिंकर गाउँका बासिन्दालाई जिल्ला सदरमुकाम आउजाउ गर्न समस्या छ । नेपालतर्फ बाटो नहुँदा उनीहरूले आफ्नो थातथलो आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

नेपाली सेनाले बनाइरहेको घोडेटो बाटोमा काम गरिरहेका व्यासका स्थानीय मजदुरहरु । तस्बिर : मनोज बडू/कान्तिपुर

बाटो निर्माणमा भारतले अवरोध पुर्‍याइरहेको बारे माथिल्लो निकायलाई खबर गरेको एक सैनिक अधिकारीले बताए । उनका अनुसार बाटो निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति (इन्जिनियर) र थप सुरक्षा तथा बन्दोबस्तीका लागि फौज बाटो निर्माणमा खटिएका छन् । यहाँ दुई सय मिटरको चट्टान छ । सय मिटर सुक्खा पहिरो गएको हटाउनुपर्ने र बाँकी ठाउँमा बाटो निर्माण गर्नुपर्ने छ । चट्टानमा ब्लास्टिङ गरेर बाटो बनाइँदै छ । यो बाटो बनेपछि व्यासको छाङरु र तिंकरका बासिन्दाले नेपाली भूमिबाटै सदरमुकाम आउजाउ गर्न पाउनेछन् ।

घाटीबगड क्षेत्रमा पहिरो पन्छाएर फेरि बाटो बनाउँदै नेपाली सैनिक । तस्बिर : मनोज बडू/कान्तिपुर

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले सीमावर्ती पिथौरागढ जिल्लाका डीएमले सडक निर्माणका ठेकेदारलाई असर नहुने गरी तलमाथि मिलाएर काम गर्न लगाउने मौखिक आश्वासन दिएको तर त्यहीअनुसार काम नभएको बताए । ‘मेरो तहबाट कुरा गर्दा समाधान भएन । दूतावासमार्फत पहलका लागि प्रयास भइरहेको छ,’ उनले भने ।

प्रकाशित : असार २४, २०७७ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?