कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोको  जोखिममा रहेको बस्ती नै सारियो

पहिरोको उच्च जोखिममा रहेको वालिङ–८ ढावाखोलास्थित  बस्तीलाई सुरक्षित स्थलमा स्थानान्तरण गरिएको छ ।
प्रदेश ब्युरो

पोखरा — वर्षायाम लागेसँगै दिनदिनै झरी परिरहेको छ । गाउँबस्ती बाढीपहिरोको जोखिममा छन् । कतिपय बस्ती तत्कालै सार्नुपर्ने अवस्थाका पनि छन् । बुधबार मात्रै स्याङ्जाको वालिङ नगरपालिकाले ७ परिवारलाई सुरक्षित स्थानमा सारेको छ । पहिरोको उच्च जोखिममा रहेको वालिङ–८ ढावाखोलाको दलित बस्ती स्थानान्तरण गरिएको हो ।

पहिरोको  जोखिममा रहेको बस्ती नै सारियो

अस्थायी रूपमा सोही वडाकै अभिलिथुङ प्राविको पुरानो भवनमा ती परिवारलाई सारिएको नगरप्रमुख दिलीपप्रताप खाँडले बताए । जोखिममा रहेका यहाँका ३७ घरलाई नै सार्ने तयारी छ । ‘डाँडो रहेको जमिन चर्किएपछि बस्ती बस्नयोग्य नभएकाले सार्नुपरेको हो,’ उनले भने, ‘पहिरोसमेत गएकाले घर जोखिममा छन् ।’ नयाँ जग्गाको खोजी भइरहेको र योजना बनाएर एकीकृत स्थायी बस्ती निर्माण गरिने उनको भनाइ छ । २०७२ को भूकम्पले सो बस्तीमा असर पुर्‍याएको थियो । मोटरबाटो नपुगेको ढावाखोलामा पैदलमार्गका लागि सिँढी बनाइएको थियो । त्यसपछि जमिन, घर र सिंगो डाँडो नै चर्किएको स्थानीयले बताए ।

‘दिनमा भोक र रातमा निद्रा थिएन । अब त्यसको अन्त्य हुने भयो,’ विष्णुमाया परियारले भनिन् । यो बस्तीसँगै १३ नम्बर वडाको कुसुन्डे बस्ती पनि पहिरोको उच्च जोखिममा छ । यहाँका ३२ घरलाई बिहीबार विद्यालय, सामाजिक भवनमा सार्ने तयारी गरिएको खाँडले बताए । नगरभित्रका जोखिमयुक्त बस्तीको खोजी भइरहेको नगरपालिकाले जनाएको छ ।

पहिरो रुँघ्न हेरालु

म्याग्दीस्थित किमचौरको भीर फाटेर खस्न सुरु गरेपछि यहाँका ३६ परिवारमा त्रासमा छन् । यो भीर म्याग्दीखोलास्थित दक्षिण डाँडामा रहेको अर्मन बस्तीको सिरानमा पर्छ । पहिरो खस्ने त्रासमा रहेका स्थानीय चौबिसै घण्टा पालो मिलाएर हेरालु बस्न थालेका छन् । पहिरो खस्ने लक्षण देखिन थाले हेरालुले माथिबाट सिटी फुक्ने, ड्रम बजाउने गर्छन् । ‘स–साना ढुंगा दिनहुँ खस्छन् । मुख्य जोखिम मानिएको ठूलो ढुंगो कहिले खस्ने हो, त्यही डर छ,’ स्थानीय रत्नबहादुर विकले भने, ‘दैनिक ३–३ जनाको पालो लगाएर पहिरो नजिकै सुरक्षित स्थानमा हेरालु बस्ने गरेका छौं । गोठमा भैंसीले किलोमा सिङ बजाउँदा पनि पहिरो खस्यो कि भन्ने त्रास हुन्छ ।’

अर्मन बस्ती मंगला गाउँपालिका–५ मा पर्छ । अर्मन र किमचौरवासीले गाउँपालिकाको ८ लाख बजेटमा धारा–अर्मन–किमचौर सडक खन्न सुरु गरेका थिए । सडकको ट्रयाक अर्मन गाउँदेखि माथि किमचौर बस्तीमुनि पुगेपछि भीरमा पुगेर टुंगियो । भीर फोड्न खोज्दा ठूला ढुंगा निक्लिए । डोजर र ब्रेकरको कम्पनले पहरा नै खस्न थालेपछि तलको अर्मन बस्ती जोखिममा पर्‍यो । ‘दुवै बस्तीको सहमतिमै सडक खनिएको हो,’ प्राविधिक नगेन्द्र सापकोटाले भने, ‘अहिले भीर चर्किएकाले झर्ने हो कि भन्ने त्रास छ ।’

ढुंगा खस्न थालेपछि सम्भावित खतराबाट जोगाउन गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिले गाउँलेलाई सुरक्षित स्थानमा अस्थायी रूपमा सार्ने तयारी गरेको छ । ‘तत्काल बस्ती नसार्ने हो भने ठूलो जोखिम छ । सुरक्षित स्थानको पहिचान भइसकेको छ । केन्द्र र प्रदेश सरकारबाट पालसमेतका सामग्री प्राप्त हुनासाथ बस्ती सार्छौं,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘भौगर्भिक अध्ययनबिना हचुवाको भरमा गरिने सडक विस्तारले निम्त्याएको मानवीय संकटको एउटा नमुना यो पनि हो ।’ अर्मनमा २०५८ साउन १३ मा यही पाखोबाट झरेको पहिरोले १६ जनाको ज्यान लिएको थियो ।

सडकले निम्त्याएको विपद्

बाह्र वर्षअघि सडकको ट्रयाक खुल्यो । घरदैलोमा सवारीसाधन गुडेर दैनिक कामकाजमा समेत सहज हुने भन्दै स्थानीय खुसी भए । तर यतिबेला भने त्यो खुसी त्रासमा परिणत भएको छ । सडक खनिएकै कारण पहिरो गएपछि स्थानीय भोक न निद्राको अवस्थामा पुगेका छन् । पर्वतको कुश्मा नगरपालिका–१० र फलेबास नगरपालिका–२ को सीमाको फेदीलाई मल्याङदी खोलाको झोलुंगे पुलले जोडेको छ । तर कुश्मा–१० विर्ताकटुवामा ठूलो पहिरो गएपछि दुवैतर्फका स्थानीय पिरोलिएका छन् । थाउसेखोला–गहतेपोखरा–फेदी–थापाठाना सडक खण्डमा पहिरो खसेको हो । ‘पहिरो जाने क्रम रोकिएको छैन । खेतीयोग्य जमिन हुँदै घरतिर आउने क्रममा छ,’ स्थानीय गणेश क्षेत्रीले भने, ‘घरमुनि पहिरो गइरहेकाले त्रासमा छौं ।’

स्थानीय शिक्षक त्रिलोचन सुवेदीका अनुसार २०७६ जेठ २३ मा पहिलोपटक पहिरो खसेको थियो । नियन्त्रण प्रयास नभएपछि यसपटक असार पहिलो साता फेरि पहिलेको भन्दा ठूलो पहिरो गयो । पहिरोले सडक अवरुद्ध भएकाले हिँड्न पनि समस्या छ । झोलुंगे पुलसमेत जोखिममा छ । ‘विर्ताकटुवाका ४ घर उच्च जोखिममा छन् । पहिरो एकैचोटि झरेमा खोला थुनिएर तटीय क्षेत्रका अन्य घरबस्ती झनै जोखिममा पर्छन्,’ उनले भने ।

पटकपटक वडा, नगरपालिकादेखि सरोकारवाला निकायमा खबर गर्दा पनि नियन्त्रण प्रयास नभएको स्थानीयको गुनासो छ । कुश्मा–१० का वडाध्यक्ष सुजन विकले यति ठूलो पहिरो जाला भन्ने अनुमान नगर्दा अहिले समस्या बढेको बताए । ‘तत्काल पहिरो नियन्त्रण असम्भव छ,’ उनले भने, ‘आगामी दिनमा आवश्यक पहल हुनेछ ।’

-प्रतीक्षा काफ्ले (स्याङ्जा), घनश्याम खड्का (म्याग्दी) र लालप्रसाद शर्मा (पर्वत)

पर्वतको कुश्मा नगरपालिका–१० विर्ताकटुवामा सडक खन्दा गएको पहिरो । पहिरोले सडक अवरुद्ध हुँदा हिँड्न पनि समस्या भएको छ । बस्ती र झोलुंगे पुल पनि जोखिममा परेका छन् । तस्बिर : लालप्रसाद शर्मा/कान्तिपुर

प्रकाशित : असार २५, २०७७ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?