कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमणको जोखिम कम भएको भन्दै सरकारले भ्रामक प्रचार गरिरहेको छ : कांग्रेस

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले बिनातयारी र बिनाउपलब्धि  लकडाउनको लामो अवधि सकाएको आरोप लगाएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री तथा कोभिड-१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सरकारले लकडाउन खोल्दा बढ्न सक्ने संक्रमणप्रति तयारी नै नगरेको बताएका हुन् ।

संक्रमणको जोखिम कम भएको भन्दै सरकारले भ्रामक प्रचार गरिरहेको छ : कांग्रेस

संक्रमणको क्रम नघटेको, वीरगन्ज, राजविराजलगायतका ठाउँहरुमा देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने देखिएको उल्लेख गर्दै यस्तो अवस्थामा परीक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधाप्रति सरकारको तयारी अत्यन्त निराशाजनक रहेको महतले बताए ।

लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्थाहरुमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरुमा पनि सरकार गम्भीर नभएको आरोप कांग्रेसको छ ।

कांग्रेसको पटक-पटक ध्यानाकर्षण गराए पनि सरकारले होल्डिङ सेन्टर, क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्डअनुरुप सञ्चालन नगरेको महतले बताए । त्यस्तै परीक्षणको दायरा फराकिलो पार्नुपर्नेमा सरकारलेर उल्टो परीक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भन्दै भ्रामक प्रचार गरिरहेको कांग्रेसको आरोप छ ।

अहिलेकै जस्तो अव्यवस्थित र पर्याप्त स्वास्थ्य सुरक्षा सावधानीबिनै उद्योग व्यवसाय सञ्चालन गर्दा थपिने संक्रमण र नागरिक जीवनमाथि आइपर्ने जोखिम सम्बोधन गर्नेतर्फ पनि सरकारको ध्यान नगएको महतले बताए ।

लकडाउन खोल्ने निर्णय गर्दा सार्वजनिक स्थल, होटल, रेस्टुरेन्ट, कार्यालय, कलकारखाना व्यवसाय, शैक्षिक संस्थाहरु, सार्वजनिक यातायातहरुमा अपनाउनु पर्ने सुरक्षा प्रोटोकल र कार्यान्वयन गर्ने तयारीका बारेमा सरकार मौन रहेको महतले बताए । सरकारले पूर्वतयारी बिना नै लकडाउन खोल्ने निर्णय गरेकाले राजस्व बढाउने तथा राज्यले निर्वाह गर्नुपर्ने दायित्वबाट पन्छिने उद्देश्यबाट मात्र प्रेरित भएको देखिएको पनि उनले बताए ।

प्रकाशित : श्रावण ९, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?