कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘जलविद्युत् क्षेत्रमा साझेदारी अपरिहार्य’

कान्तिपुर संवाददाता

नयाँदिल्ली — नेपाल र भारतका आर्थिक, ऊर्जा एवं कूटनीति मामिलाका जानकारहरूले कोभिड–१९ महामारीले विश्व अर्थव्यवस्थालाई गम्भीर असर पारेका बेला नेपाल र भारतबीच आर्थिक साझेदारीका लागि ‘जलविद्युत्’ क्षेत्रको भूमिका अहं हुन सक्ने बताएका छन् । 

‘जलविद्युत् क्षेत्रमा साझेदारी अपरिहार्य’

भारत–नेपाल केन्द्र (एसडीसी) ले नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल एसबीआई बैंक, एनएचपीसीएल, पीएचडीसीसीआईसँगको समन्वयमा आयोजना गरेको ‘एक्स्प्लोरिङ हाइड्रोइलेक्ट्रिसिटी पोटेन्सिअल इन नेपाल’ शीर्षक वेबिनारमा उनीहरूले जलविद्युत् क्षेत्रका विविध आयामबारे छलफल गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले अहिलेको कठिन परिस्थितिमा नेपाल र भारत दुवैतिरको आर्थिक पुनरुत्थानका लागि जलविद्युत् क्षेत्रमा संयुक्त प्रयास आवश्यक रहेको बताए । ‘हाम्रो मुख्य जोड र ध्यान मानिसको जीवनलाई सुरक्षित तुल्याउनु र वस्तु एवं सेवाहरूको आपूर्ति चक्रलाई जारी राख्नु हो,’ उनले भने, ‘त्यसका लागि हामी सबैको ध्यान आर्थिक क्षेत्रको पुनरुत्थानमा केन्द्रित गर्न आवश्यक छ ।’

नेपाल सरकारले तर्जुमा गरेको १५ औं योजनाअन्तर्गत आगामी तीन वर्षका लागि पाँच हजार मेगावाटभन्दा बढीको विद्युत् उत्पादन लक्ष्य राखिएको उनले जानकारी दिए । आर्थिक वृद्धिलाई तीव्रता दिन जलविद्युत् क्षेत्र महत्त्वपूर्ण भएकाले आवश्यक ऊर्जा संयोजनको सुनिश्चिततामा जोड दिनुपर्ने र त्यसका लागि वैदेशिक लगानीदेखि सीमापार साझेदारीको आवश्यकता पर्नेमा समेत जोड दिए ।

जलविद्युत् क्षेत्रको तीव्र विकासका लागि वैदेशिक लगानी नै आवश्यक रहेको विद्युत् नियमन आयोगका सदस्य रामप्रसाद धितालको भनाइ छ । नेपालमा विद्युत्को खपत बढाउन विद्युतीय परिवहनसम्बन्धी पूर्वाधार विकास र बिजुलीबाटै खाना पकाउने वस्तुको प्रयोग बढाउन आवश्यक काम गर्नुपर्ने उनको धारणा छ ।

कार्यक्रममा एनएचपीसीएलका निर्देशक (प्राविधिक) वाईके चौबे र कार्यकारी निर्देशक बीके मैनीले नेपाल र भारतको ऊर्जा क्षेत्रको पछिल्लो परिदृश्यमाथि प्रकाश पारेका थिए । उनीहरूले जलविद्युत् क्षेत्रको विकासका लागि नेपाल र भारत सरकारले गरेका पछिल्ला पहललाई उल्लेख गरेका थिए ।

नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि सरकार र बैंक तथा वित्तीय क्षेत्रबाट उपलब्ध हुन सक्ने वित्तीय स्रोतसम्बन्धी एसबीआई बैंक नेपालका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले जानकारी दिए । यसैगरी पीएचडीडीसीसीआईका वरिष्ठ उपाध्यक्ष सञ्जय अग्रवालले जलविद्युत् क्षेत्र दुई देशबीचको साझेदारी र पारस्परिक लाभको उपयुक्त मञ्च भएको बताए ।

दुई देशबीचको आर्थिक साझेदारीलाई सुदृढ पार्न जलविद्युत् क्षेत्रमा नयाँ अवसरको सिर्जनाबाट मात्र सम्भव रहेको सीएनआईका उपाध्यक्ष तथा भारत–नेपाल केन्द्र (नेपाल) का अध्यक्ष निर्वाण चौधरीको भनाइ छ ।

कार्यक्रममा पीएचडीसीसीआईका उपाध्यक्ष प्रदीप मुल्तानी, महासचिव सौरभ सन्याल, ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान, नेपाली उद्यमीहरू विष्णुकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, दीपक रौनियार, विशाल थापा, प्रवीण काला तथा भारत–नेपाल सेन्टरका अतुल ठाकुरले पनि जलविद्युत् क्षेत्रको महत्त्व एवं यसले दुई देशबीचको आर्थिक क्षेत्रको साझेदारीबारे आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित : श्रावण १०, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?