कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पीसीआर परीक्षण घटाउने मनसाय छैन’

भानुभक्त ढकाल

पीसीआर परीक्षणको दायरामा सार्क मुलुकमध्ये भुटानबाहेकमा हामी अगाडि छौं । लकडाउनको सुरुवातीताका काठमाडौंमा मात्रै पीसीआर परीक्षण हुन्थ्यो । अहिले सबै प्रदेश र ठूला सरकारी अस्पतालमा विस्तार गरिसकेका छौं । भारतबाट फर्केको संख्या एकै पटक धेरै हुँदा पीसीआरको रिपोर्ट दिन ढिलाइ भएको थियो ।

‘पीसीआर परीक्षण घटाउने मनसाय छैन’

परीक्षण गर्ने क्षमता ३ हजार हुँदा स्वाब संकलन दिनमा १५ हजारसम्म हुन्थ्यो । यसले पनि रिपोर्ट आउन ढिलाइ हुन्थ्यो । अब यस्ता समस्याबाट हामी मुक्त भइसकेका छौं । हामी दिनमा १५ हजारभन्दा बढी परीक्षण गर्न सक्ने भएका छौं । रिपोर्ट पनि ४८ घण्टाभित्र दिन सक्ने भएका छौं । अझ छिटो दिन हामी लागिपरेका छौं । उच्च जोखिम क्षेत्रमा हेलिकप्टरसमेत प्रयोग गरेर स्वाब संकलन गरिरहेका छौं । सरकारले पीसीआर परीक्षणको दायरा घटायो भन्ने आरोप लाग्ने गरेको छ तर दायरा घटाउने सरकारको कुनै मनसाय छैन ।

असारमा भारतबाट आउनेको संख्या बढी भएकाले संक्रमित पनि बढ्यो । एक दिनमा १ लाख ७२ हजार जनालाई समेत व्यवस्थित नभए पनि क्वारेन्टाइनमा राख्यौं । एक सय जनाका लागि बनाइएको क्वारेन्टाइनमा एक हजारभन्दा बढी आएपछि क्वारेन्टाइन अव्यवस्थित भएकै हो । अहिले क्वारेन्टाइनमा १९ हजार मात्रै छन् । कुनै समस्या छैन । साउन २५ मा उच्च संक्रमण भएका ९१ हजार र मध्य भएका ३९ हजारसम्म पुग्न सक्ने विज्ञहरूले आकलन गरेका थिए । आजसम्म हामी १९ हजारमा राख्न सफल भएका छौं । पछिल्लो समय संक्रमितभन्दा पनि निको भएर घर जाने संख्या बढी थियो । केही दिनयता संक्रमितको संख्या अलि बढेको छ । भारतबाट पेसा, व्यवसाय गर्न आउनेमा संक्रमण देखिएको हो । यसको असर वीरगन्ज, विराटनगर हुँदै काठमाडौंमा पनि देखियो । यसलाई कडाइ गर्न उपत्यका प्रवेश गर्ने नाकामा स्वाब संकलन गर्न थालेका छौं । विदेशबाट आएकालाई होटल र क्वारेन्टाइनमा राख्ने नीति बनाएका छौं । सीमापारिको हकमा होल्डिङ सेन्टरमा बस्ने व्यवस्था गरेका छौं । लुकीछिपी आउनेबाट संक्रमण बढेको हो ।

लकडाउनको अवस्था चैत ११ भन्दा अघिको जस्तो अवस्थामा पुगेको छैन । मास्क, सोसियल डिस्ट्यान्स, सेनिटाइजर प्रयोग गर्न चेतना फैलाइरहेका छौं । धेरै जनताले दुःख नपाऊन् भनेर लकडाउन सहज बनाएका हौं । पहिला कोरोना भनेपछि भयभीत थिए । निको हुँदै गएपछि केही होइन भनेर सावधानी अपनाउन छाडेका छन् । यसतर्फ हामीले जनचेतना फैलाउन सकेका छैनौं ।

-कुराकानीमा आधारित

प्रकाशित : श्रावण १४, २०७७ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?