कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

लोकसभा चुनाव : दार्जिलिङमा मोदीविरुद्ध ममता 

दार्जिलिङमा यसपटक चिरपरिचित प्रतिस्पर्धी भारतीय जनता पार्टी र अखिल भारत तृणमूल कंग्रेसबीच भिडन्त हुँदैछ ।
पर्वत पोर्तेल

इलाम — ‘गोर्खाल्याण्ड’ आन्दोलनको आगो सल्किँदै–निभ्दै गर्ने मेचीपारिको नेपालीभाषी बाहुल्य भारतीय भूमि दार्जिलिङ अचेल शान्त छ । सन् २०१७ मा अन्तिमपटक निभेको गोर्खाल्याण्डको आगो पुनः नसल्किए पनि राजनीतिक प्रतिस्पर्धा भने तीव्र छ ।

लोकसभा चुनाव : दार्जिलिङमा मोदीविरुद्ध ममता 

केही वर्षयता शान्त यो भूमिमा शुक्रबार भारतीय संसद्को तल्लो सदन लोकसभाको चुनाव हुँदैछ । दोस्रोचरण अर्न्तगत दार्जिलिङसहित पश्चिम बंगालका रायगञ्ज र बालुरघाटमा पनि शुक्रबार एकैपटक चुनाव हुँदैछ ।

दार्जिलिङमा यसपटक चिरपरिचित प्रतिस्पर्धी भारतीय जनता पार्टी र अखिल भारत तृणमूल कंग्रेसबीच भिडन्त हुँदैछ । भाजपा केन्द्रीय सत्तारुढ दल हो भने तृणमूलको पश्चिम बंगालको सत्ताधारी पार्टी । ‘खासमा दार्जिलिङको चुनाव नरेन्द्र मोदीविरुद्ध ममता वेनर्जी हो’, सिलिगुडीका लेखक राजा पुनियानीले सुनाए,‘जुन पार्टीले जितेपछि दार्जिलिङले केही लाभ लिन पाउने छैन ।’

उनका अनुसार मुलतः दुवै पार्टी दक्षिणपन्थी र अवसरवादी हुन् । यी पार्टी गोर्खाल्याण्डविरोधी पनि हुन् । भाजपाले राजु विष्ट र तृणमूल कंग्रेसले पूर्वप्रशासक गोपाल लामालाई उम्मेदवार बनाएको छ । हुन त अलि उदारवादी दल मानिने भारतीय राष्ट्रिय कंग्रेसले दार्जिलिङका बौद्धिक नेता मानिने डा. मुनिष तामाङलाई उम्मेदवार त बनायो तर, मतदाताको रुझान कंग्रेसतिर खासै छैन ।

६२ वर्ष लामो लोकसभा चुनावको इतिहासमा भारतीय राष्ट्रिय कंग्रेस दार्जिलिङबट सबैभन्दा बढी चुनाव जित्ने दल थियो । उसले विभिन्न कालखण्डमा चारपटक बाजी मारेको थियो । शुरुआती चुनाव सन् १९५७, १९७७, १९९१ र पछिल्लो पटक सन् २००४ मा नेपालीभाषी दावा नर्बुला दार्जिलिङबाट लोकसभा सांसद बनेका थिए ।

तर, २००४ पछि ओरालो लागेको राष्ट्रिय कंग्रेस अहिलेसम्म पहाड उक्लिन सकेको छैन ।

पश्चिम बंगालमा कम्युनिस्ट शासनताका भारतीय कम्युनिस्ट पार्टीबाट नेपालीभाषीहरु रतनलाल ब्राम्हण (माइला बाजे) ले सन् १९७१ मा तथा आनन्द पाठकले सन् १९९८ मा लोकसभा चुनाव जितेर भारतीय संसद् छिरेका थिए । सन् १९६७ मा स्वतन्त्र उम्मेदवार मैत्री बासुले पनि जितेको यो क्षेत्रमा ममताको दलले भने अहिलेसम्म जितेको छैन । सन् २०११ मा ममता चारदशक लामो कम्युनिस्ट राजको अन्त्य गर्दै सत्तामा आएकी थिइन् । त्यसयता तृणमूल पश्चिम बंगालको सत्तामा निरन्तर छ । तर, दार्जिलिङ लोकसभाको एकसिट भने उनी सँधै गुमाउँदै आएकीछन् ।

गोर्खाल्याण्डप्रति उनको अनुदारताका कारण दार्जिलिङका मतदाताले उनलाई त्यति प्रिय मान्दैनन् ।

बरु काम नगरेपनि मोदीले मिठो आश्वासन दिएर जान्छन्, मतदाताले पत्याइहाल्छन् । यसपटक प्रधानमन्त्री मोदीले गोर्खाल्याण्ड शब्द उच्चारण नगरी ‘दार्जिलिङको समस्या चाँडै समाधान हुन्छ’ मात्रै भने । तर, के कुराको समाधान गर्ने भन्नेबारे उनले खुलाएनन् ।

दार्जिलिङमा गोर्खाल्याण्डपछि उठेको अर्को माग ११ जातिलाई जनजातिको दर्जा दिने हो । मोदीले सम्भवत: यही माग पुरा गर्ने आश्वासन दिएको हुनसक्ने दार्जिलिङका अगुवा पत्रकार विवेक क्षेत्रीको अनुमान छ । क्षेत्रीकाअनुसार क्षेत्री, बाहुन, भुजेल, थामी, नेवार, गुरुङ, धिमाल र राईले जनजातिमा सूचीकृत गर्न माग गर्दै आएका छन् । सरकारले भने लिम्बू, तामाङ, शेर्पा, भोटेलाई मात्रै जनजातिको मान्यता दिएको छ । यो माग पनि यसपटक चुनावी मुद्दा बनेको छ ।

तृणमूलका उम्मेदवारलाई दार्जिलिङको क्षेत्रीय दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले सघाएको छ । दार्जिलिङको क्षेत्रीय राजनीतिमा यो दलको बहुमत छ । पञ्चायत, नगरपालिका र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा मोर्चाको बहुमत छ । मोर्चाका प्रमुख अनित थापाले भने,‘१५ वर्षदेखि भाजपाले जित्दा गोर्खाल्याण्डबारे कुनै निर्णय लिन नसकेको र अहिलेसम्म सिन्को पनि नभाँच्ने दललाई कसरी जिताउन मिल्छ ?’

अन्यौलताकाबीच भारतीय जनता पार्टीले राजु विष्टलाई नै दोस्रोपटक उम्मेदवार बनाएको थियो । दार्जिलिङ ‘चिकेन नेक’ क्षेत्रमा पर्छ । त्यही भएर केन्द्र सरकारले यसलाई संवेदनशिल क्षेत्रको सूचीमा राखेको छ । दार्जिलिङको सीमाना पूर्वमा भुटान, उत्तरमा सिक्किम, पश्चिममा नेपाल र दक्षिणमा बंगलादेशसँग जोडिन्छ ।

मणिपुरका नेपालीभाषी विष्टले दोस्रोपटक टिकट पाएको खबरले दार्जिलिङमा खुसीभन्दा ज्यादा असन्तुष्टी पोखियो । खासमा भाजपाले दार्जिलिङलाई ‘जित निश्चित’ क्षेत्रको रुपमा राखेको छ । त्यसकारण पनि दार्जिलिङलाई भाजपाले निक्कै महत्त्व दिएको पाइन्छ । विष्ट अघि नेपालीभाषी कूटनीतिज्ञ तथा भारतका पूर्वविदेश सचिव हर्षवर्द्धन श्रृंगलाको पनि चर्चा थियो । उनको नाममा निक्कै लामो छलफलपछि भाजपाले पुनः विष्टलाई दोहोर्‍याउने निधो गरेको थियो । श्रृंगलाले टिकट नपाएको भन्दा पनि विष्टले पुनः पाएको विषयले दार्जिलिङका मतदातालाई सुरुमा ज्यादै निरास बनाएको थियो ।

खासमा भाजपाले दार्जिलिङकै रैथाने, भूमिपुत्रलाई टिकट दिन्छ भन्ने अपेक्षा मतदाताको थियो । तर, दोहोर्याइदियो विष्टलाई नै । विष्टभन्दा बलियो उम्मेदवार नपाएपछि भाजपाले उनैलाई उम्मेदवार बनाएको राज्यसभा सांसद निरज जिम्बा तामाङले बताए । विष्टले टिकट पाएको खबर सुन्ने बित्तिकै उनी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । विष्टलाई पुनः उम्मेदवार बनाएको भन्दै खरसाङबाट जितेका भाजपाका राज्य सभा सांसद बीबी बजगाईले त विष्टविरुद्ध ‘बागी’ उम्मेदवारी नै दिए । विष्टलाई गोर्खा जनमुक्ति मोर्चाका विमल गुरुङ, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका मन घिसिङ, बौद्धिक नेता डा. महेन्द्र पी लामा लगायतको समर्थन छ । भाजपाका समर्थक लामाले भने, ‘दार्जिलिङमा भाजपा सरकार बनेमा छुट्टै राज्य, ११ जनजातिको मुद्दा, नर्थ इष्ट काउन्सिल गठन जस्ता नेपालीभाषी लक्षित मुद्दाहरूको सम्बोधनको आधार बन्नेछ ।’

भाजपाले दार्जिलिङमा एउटै उम्मेदवार दोहोर्याएको पहिलो घटना हो । । सन् २००९ देखि लगातार जित्दै आएको भाजपाले यसपटक पनि जित नगुमाउने निश्चयसाथ विष्टलाई नै उम्मेदवार बनाएको थियो । ‘मतदाताको मनिस्थिति रैथाने र चिनिएको उम्मेदवार उठाउनु पर्छ भन्ने थियो,’ भाजपाका एक नेताले भने,‘तर, हामीलाई जित्ने उम्मेदवार चाहिएकाले विष्टलाई दोस्रो मौका दिइएको हो ।’

दार्जिलिङमा जम्मा १७ लाख मतदाता छन् । पहाडका तीन क्षेत्रहरु दार्जिलिङ, खरसाङ र कालेबुङमा करिब ७ लाख र तराईका चार क्षेत्र सिलिगुडी, मतिगढा–नक्सलवारी, फासीदेवा र चोप्रामा १० लाख गरी जम्मा १७ लाख मतदाता छन् । दार्जिलिङका १ हजार ९ सय ९९ मतदान केन्द्रमध्ये ४ सय केन्द्रलाई अति संवेदनिल मानिएको छ ।

प्रकाशित : वैशाख १३, २०८१ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?