कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

छोरालाई जिउँदै जलाउनेलाई सजाय दिलाउन जो साढे १६ वर्ष लडे

२२ वर्षे छोरा त्रिलोकलाई जिउँदै इाटाभट्टामा हालेर मार्ने कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमसहितलाई सजायको माग गर्दै अनवरत अदालत धाएका श्रीनारायण सिंह (८३) ले खर्च धान्न ३ बिघा जमिनसमेत बेचे
शिव पुरी

रौतहट — बुढ्यौली उमेर आराम गर्ने उमेर हो, तर रौतहटको यमुनामाई–४ सरुअठा गाउँका ८३ वर्षीय श्रीनारायण सिंहले पछिल्ला करिब डेढ दशक ‘आराम’ भन्नसमेत भ्याएनन् । न्यायका लागि अड्डा अदालत धाउँदैमा उनको बुढ्यौली उमेरका झन्डै साढे १६ वर्ष बिते । 

छोरालाई जिउँदै जलाउनेलाई सजाय दिलाउन जो साढे १६ वर्ष लडे

सरुअठा गाउँको पूर्वतिर बाक्लो बस्तीको बीचमा रहेको सिंहको घरमा शुक्रबार पुग्दा उनी २२ वर्षमा मारिएका छोरा त्रिलोकप्रताप सिंहको तस्बिर हातमा लिएर टोलाइरहेका थिए । आँखाभरि आँसु पारेर तस्बिरलाई छातीमा राखे । केही समयपछि सुमसुम्याउन थाले । आँगनमा रहेकी त्रिलोककी आमा ८० वर्षीया कमलादेवी पनि भक्कानिँदै थिइन् ।

त्रिलोकको हत्या आरोप लागेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमसहित ४ जनालाई बिहीबार जिल्ला अदालत गौरले जन्मकैदको फैसला गरेको थियो ।

फैसला सुन्न श्रीनारायण अदालत नै पुगेका थिए । तीन दिन लगातार बहसपछि न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आफताब आलमसहितलाई जन्मकैदको फैसला गरेको थियो । सिंहले तीन दिन नै अदालत पुगेर बहस सुनेका थिए, फैसला पनि सुने ।

बम विस्फोटमा परी घाइते छोरालाई जिउँदै इँटाभट्टामा हालेर मारेको भन्दै हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित उनले १६ वर्ष ८ महिना अदालत धाए । घटनामा मारिएका छोराको तस्बिर हातमा राखेर रुँदै गरेका बेला भेटिएका सिंहले भने, ‘न्यायसित सम्बन्धित गुनासा त छैनन्, तर कहिल्यै नफर्किने गरी मारिएको छोराको यादले भने हाम्रो परिवारलाई सधैं सताइरहनेछ ।’

छोराको हत्यारालाई अदालतले जन्मकैदको सजाय सुनाएपछि न्याय मरेको छैन भन्ने भान भएको श्रीनारायणले सुनाए । यति भन्दै गर्दा उनका आँखाभरि आँसु टलपलाइरहेको थियो । ‘मेरो छोरालाई खसी–बोका जस्तै गरी जिउँदै इँटाभट्टामा हालेर मारे,’ उनले भने, ‘छोराको हत्यारालाई जन्मकैदको सजाय दिलाउन सफल भएँ, अब उसको आत्माले शान्ति पाउँछ ।’

न्यायका लागि लडेका सिंहले यसबीचमा भौतिक रूपमा आफ्नो समय मात्र होइन, मुद्दालाई न्यायको रूप दिन १६ वर्षमा ३ बिघा जमिन पनि बेचे । अहिले उक्त जमिनको मूल्य झन्डै २ करोड रुपैयाँ पर्छ ।

संवाद गरिरहँदा आँसुले उनको आँखाको डिल छाडेको थिएन । घरीघरी हात वा गम्छाले आँसु पुछ्थे । ‘न्यायपछि यो त खुसीको आँसु हो बाबु,’ उनले थपे । सिंह बसेको कोठाबाहिर आँगनमा रहेकी त्रिलोककी आमा कमलादेवी छोराको मृत्यु वियोगले धेरै बोल्न सक्ने अवस्थामा थिइनन् । उनी लट्ठीको सहाराले हिँडडुल गर्छिन् । छोराको मृत्युको खबरले थलिएकी उनी अहिलेसम्म छोराबारे कसैले सोध्यो भने खासै बोल्दिनन् । ‘छोरा मार्नेहरू जेल त गए, तर उनीहरू सजाय काटेर बाहिर आउँछन् र परिवारसितै बस्छन्,’ उनले भनिन्, ‘मेरो त काख रित्तिएको छ, कहिल्यै नआउने गरी छोरा मारिएको छ ।’

सिंह परिवारका त्रिलोक कान्छा छोरा हुन् । जेठा सत्येन्द्रप्रताप सिंह सञ्चारकर्मी हुन् । उनी मध्यान्तर दैनिकमा रौतहट संवाददाताका रूपमा कार्यरत छन् । अहिले बुवाआमाको रेखदेख तिनै सत्येन्द्रले गरिरहेका छन् ।

भारतको सीतामाढीस्थित गोयन्का कलेजको बीएस्सी दोस्रो वर्ष अध्ययन गर्दै गरेका त्रिलोक २०६४ चैत १७ मा घर आएका बेला विस्फोटमा परेका थिए । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात अर्थात् चैत २७ को राति राजपुर फरदहवास्थित कांग्रेसका नेता शेख इद्रिसको गोठमा विस्फोट हुँदा घाइते हुन पुगेका त्रिलोकलाई बेहोस हुने सुई लगाएर जिउँदै चिम्नी भट्टामा हालेको आरोपमा पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद आफताब आलम, उनका भाइ महताब आलमसहित ११ जनाविरुद्ध कारबाही माग राख्दै बुवा श्रीनारायणले काठमाडौं र गौर अदालत धाएका थिए । घटनाको १२ वर्षपछि २०७६ असोज ११ मा तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी (हाल एसएसपी) भूपेन्द्रबहादुर खत्रीले आलमलाई पक्रेपछि बल्ल अनुसन्धान अघि बढेको थियो ।

घटनाका दिन त्रिलोकलाई आफताबका मानिसहरू आएर चुनाव प्रचारका लागि भनेर लगेको श्रीनारायण सुनाउँछन् । ‘चुनाव आलमले जिते,’ उनले भने, ‘तर राजनीतिक यात्रा तय गर्न मेरो छोराको बलि चढाए ।’ त्यस दिन विस्फोटको ठूलो आवाज आफ्नो कानसम्मै आएको श्रीनारायणले बताए । ‘चुनावका बेला कतै केही भयो होला भनेर चुप बसें,’ उनले भने, ‘तर बिहानपख गाउँका मानिसले विस्फोटमा त्रिलोक मारिएको खबर सुनाए ।’ त्यसपछि सिंह दम्पती घरमै ढलेका थिए ।

घटनास्थल पुगेका तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मण न्यौपाने (टीकापुर घटनामा मारिएका) ले कुनै किसिमको विस्फोट नभएको भन्दै मुचुल्का तयार पार्न लगाएका थिए । त्यही मुचुल्कालाई आलम पक्षका अधिवक्ताले नजिर बनाइरहे ।

श्रीनारायण जाहेरी बोकेर २०६५ वैशाख ६ मा जिल्ला प्रहरी कार्यालय पुगे । तर त्यहाँ कुनै सुनुवाइ भएन । एसपी न्यौपानेले सिंहको जाहेरी दर्ता नै गरेनन् ।

घटनामा घाइते सरुअठाका २० वर्षीय ओसी अख्तरलाई पनि त्रिलोकसँगै जिउँदै भट्टामा हालेको भन्दै आमा रुक्साना खातुन पनि सिंहसँगै प्रहरीमा जाहेरी बोकेर गएकी थिइन् । दुवैको जाहेरीलाई प्रहरीले वास्ता नगरेपछि वैशाख ९ मा हुलाकमार्फत पठाए । वैशाख १८ मा जिल्ला प्रहरी पुगेको जाहेरीउपर प्रहरीले पीडित दुवैलाई बोलाएर सनाखत गरेको थियो । त्यसपछि प्रहरीले झारा टार्ने खालको अनुसन्धान गरेको सिंहको गुनासो छ । जाहेरी दर्तापछि २०६५ असार ९ मा आफताब आलमसहित ५ जना जिल्ला प्रहरीमा हाजिर भए । प्रहरीले त्यही दिन ५ जनासित बयान लियो र जिल्ला न्यायाधिवक्ताको कार्यालयमा मुद्दा बुझायो । न्यायाधिवक्ताको कार्यालयले आलमसहित सबैलाई मुद्दा नचल्ने निर्णय गर्‍यो । यसले न्यायका लागि लडिरहेका सिंह र रुक्सानालाई आघात पुग्यो । जिल्ला न्यायाधिवक्ताले गरेको निर्णय पुनरावेदन अदालत हेटौंडा हुँदै महान्यायाधिवक्ताको कार्यालय काठमाडौं पुग्यो र मुद्दा नचल्ने निर्णय सदर भयो ।


छोरा त्रिलोकप्रताप सिंहको हत्याका दोषीलाई अदालतले जन्मकैद सजाय सुनाएको भोलिपल्ट शुक्रबार छोरालाई सम्झिएर भावविह्वल हुँदै ८० वर्षीया आमा कमलादेवी । तस्बिर : शिव पुरी/कान्तिपुर

न्यायाधिवक्ताले गरेको निर्णय बदरको माग गर्दै श्रीनारायण र रुक्सानाले २०६५ साउन २५ मा सर्वोच्च अदालतमा निवेदन दिए । ‘त्यसबेला देशमा न्याय मरेको भान भयो,’ श्रीनारायण सुनाउँछन्, ‘जिउँदै मानिसलाई इँटाभट्टामा हालेको मुद्दा पनि नचल्ने भनेर निर्णय गरियो, त्यो अन्यायको पराकाष्ठा थियो ।’

२०७९ जेठ १६ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा फैसला सुनाउँदै गम्भीर रूपले अनुसन्धान गरी मुद्दा चलाउन सरकारका नाममा निर्देशनात्मक आदेश दिएकी थिइन् । त्यसपछि पीडितहरू फैसला कार्यान्वयन निर्देशनालय गए । त्यहाँ कुनै सुनुवाइ भएन ।

यसबीचमा माइती गएका बेला रुक्सानाको गोली हानी हत्या गरियो । यो घटनापछि श्रीनारायणले आफू पनि असुरक्षित महसुस गरे, डराए । कुनै पनि बेला आफू पनि मारिन सक्ने डर उनमा रहिरह्यो । २०७६ असार ६ मा आदेशको पालना किन नभएको भनेर सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको थियो ।

त्यसबीच धेरै पटक राजधानी धाएका श्रीनारायण थाकेनन् । खर्चले धान्न नसकेपछि उनी काठमाडौंको न्युरोडस्थित धर्मशालामै सुत्थे ।

महान्यायाधिवक्ता कार्यालयको पत्रअनुसार तत्कालीन एसपी खत्री (हाल एसएसपी) ले आलमलाई पक्राउ गरेका थिए । यसबीचमा मुद्दाको मिलापत्रका लागि करोडौं रुपैयाँको लोभसमेत देखाएको र मुद्दाको सुनुवाइ हुँदै गर्दा घरमै केही मानिस आएर चुप बस्न धम्कीसमेत दिएको श्रीनारायणले सुनाए ।

‘तपाईं कति पैसा लिनुहुन्छ लिनुस् तर अदालत नजानुस् भनेर आलमका मानिसहरू आए,’ उनले भने, ‘छोराभन्दा पैसा ठूलो होइन, पैसा होइन छोरा दिनुस् भनेर मैले उनीहरूलाई फर्काएँ ।’ आलमले गाउँकै मानिस लगाएर पैसाको लोभ देखाउने गरेको पनि उनको भनाइ छ । अदालतले बकपत्र गराउने बेला पनि ठूलो रकम दिन खोजे पनि सिधै इन्कार गरेको सिंहले सुनाए ।

विस्फोटमा श्रीनारायणका छोरा त्रिलोक र रुक्साना खातुनका छोरा ओसीलाई जिउँदै चिम्नी भट्टामा हालेर मारेको आरोपमा प्रहरीले मोहम्मद अफताब आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सेराज, शेख फजलेहक, शेख भदई, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारलगायत ११ जनामाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको कसुरमा जन्मकैद सजायको मागसहित २०७६ कात्तिक १८ मा अदालतसमक्ष अभियोगपत्र दर्ता भएको थियो । आलमलाई जिल्ला अदालत गौरले २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको थियो । उनी अहिले नख्खु जेलमा छन् । भाइ महताब गौर कारागारमा छन् ।

२०७६ कात्तिक १८ मा दर्ता भएको मुद्दा साढे ४ वर्ष बितिसकेको थियो । विस्फोट घटनाको १२ वर्षपछि २०७६ असोज २६ मा आलम पक्राउ परेसँगै राजनीतिक आवरणमा गुमनाम उक्त घटनाको अनुसन्धानले सार्थकता पाएको थियो । त्यसपछि न्याय पलाएको श्रीनारायणले सुनाए । यही घटनामा ओसीका श्रीमती आमना खातुन र ससुरा समसुल मियाँले अदालतमा बयान बदलेका छन् । श्रीनारायण भन्छन्, ‘रकम लिएर बयान बदलेको हुन सक्छ ।’ दुवैले आलमको पक्षमा बयान दिएपछि श्रीनारायण झस्किएका थिए । तर पनि वृद्ध सिंहले हिम्मत हारेनन् । कहिल्यै थकान महसुस नगरी न्यायका लागि काठमाडौं र गौर यात्रा गरिरहे ।

प्रकाशित : वैशाख १५, २०८१ ०६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?