कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

गृहमन्त्री लामिछाने छानबिनबाट डराइरहेका छन् : साउद 

शंकर आचार्य

पर्सा — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद एनपी साउदले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आफू उपर भइरहेको छानबिनको मागबाट डराइरहेको आरोप बताएका छन् । सहकारीको बचत ठगी गरेको विषयमा संसदीय छानबिन समित गठन भएमा पारदर्शी हुने पनि साउदको भनाइ थियो । 

गृहमन्त्री लामिछाने छानबिनबाट डराइरहेका छन् : साउद 

कांग्रेस निकट नेपाल प्रेस युनियन पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका सांसद साउदले सहकारीको रकम अपचलनबारे संसदीय समितिले छानबिन गर्नुपर्ने बताएका हुन् । 'गृहमन्त्री लामिछाने आफूउपर भइरहेको छानबिनको मागबाट डराइ राख्नु भएको छ,’ साउदले भने, ‘उहाँउपर संसदीय फाँटबाट छानबिन हुनुपर्छ, त्यो ज्यादा पारदर्शी र महत्वपूर्ण हुन्छ ।’

छानबिन हुने कुरालाई रोक्न नहुने साउदको भनाइ थियो । छानबिन गर्ने बितिक्कै कोही व्यक्ति दोषी नहुने भन्दै उनले त्यसको निष्कर्षसम्म पर्खिनुपर्ने धारणा राखेका हुन् ।

पत्रकार र गृहमन्त्री दुई फरक-फरक जिम्मेवारी भएकाले लामिछाने अब जिम्मेवार हुनुपर्ने साउदको भनाइ थियो । ‘मन्त्री भएर जिम्मेवारीमा बसेपछि जवाफ दिन सक्नुपर्छ,’ उनले भने, ‘यही लोकतन्त्रको मूल मर्म हो, उहाँ पत्रकारजस्तो बनेर काम गरिराख्नु भएको छ ।’

लामिछानेकै कारण सहकारीका बचतकर्ताको रकम अपचलनको छानबिन प्रक्रियाअवरुद्ध भएको पनि साउदले बताए । उनले लामिछानेकै कारण संसद्मा गतिरोधसमेत भइरहेको बताए ।

यस्तै अवस्था कायम रहेमा लाखौं सहकारी पीडित न्याय पाउने अधिकारबाट वञ्चित हुने साउदको भनाइ थियो । लामिछानेलाई राजनीतिक संरक्षण दिन नहुनेमा पनि उनको जोड थियो । 'देशबाहिर लुकेर बसेको जीबी राईलाई तत्कालै ल्याउँछु पातालमुनि लुकेको भए पनि, जसरी पनि ल्याउँछु भनेर गृहमन्त्रीले दाबी त गरे तर, यथार्थमा उनले कुनै पनि मानिस गिरफ्तार गर्न सकेका छैनन्,’ साउदले भने ।

त्यस्तै, सुन तस्करी प्रकरण छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री र गृहमन्त्रीले बुझेपनि कार्यान्वयन हुन नसकेको साउदको भनाइ थियो । ‘प्रधानमन्त्री र गृहमन्त्रीले अझै पनि सुन तस्करी प्रकरणको प्रतिवेदन कार्यान्वयन गर्न सकेका छैनन् । न त प्रतिवेदन पारदर्शी किसिमले सार्वजनिक गरियो, जनतामा यो प्रकरणमा सत्तारुढ दलका नेता वा अन्य प्रभावशाली व्यक्तिहरूको नाम छ कि भन्ने आशंका बढेको छ,’ उनले भने ।

सांसद साउदले एमाले र माओवादीलगायतका दलहरूको गठबन्धनको सरकार ढाल्ने पक्षमा कांग्रेस नरहेको पनि बताए । ‘नेपाली कांग्रेसले चाह्यो भन्यो सूर्योदयको बेला संकल्प लिएर सूर्यास्तसम्म सरकार ढल्छ, तर यो सरकार आफ्नै अन्तरविरोधले ढलोस् भन्ने कांग्रेसको चाहना हो, सत्तारुढ दलहरूबीचको अविश्वास र एक अर्कालाई प्रयोग गर्ने षडयन्त्रलाई हामी हेरी रहेका छौं,’ उनले भने । कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चामा कुनै सत्यता नरहेको पनि उनको भनाइ थियो ।

प्रकाशित : वैशाख १५, २०८१ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?