कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रुघाखोकी भनेर कम नआँकौं

सम्पादकीय

काठमाडौँ — राजधानीमा मौसमी रुघाखोकीका बिरामी बढ्न थालेका छन् । ‘इन्फ्लुएन्जा ए–एच १ एन १’ को संक्रमणबाट एकाधको निधनसमेत भएको छ । दुई महिनामा डेढ सयभन्दा बढीमा इन्फ्लुएन्जा प्रमाणित हुनुले यसको असर अनुमान गर्न सकिन्छ । केही अस्पतालका एक चौथाइ बिरामीमा रुघाखोकी तथा छातीको संक्रमण हुन थालेका छन् । 

रुघाखोकी भनेर कम नआँकौं

बिरामी गम्भीर वा निमोनियाँ भएपछि मात्र अस्पताल पुग्ने गरेका छन् । उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी पनि प्रभावित भएका छन् । विश्व स्वास्थ्य संगठनले सन् २०१० देखि स्वाइन फ्लुलाई मौसमी रुघाखोकीकै श्रेणीमा राखेको छ ।


मौसमी रुघाखोकी बर्सेनि दुई–तीनपटक देखिन्छ । जाडोमात्र होइन, वर्षामा पनि । यसको पहिचान गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मंसिरदेखि पुस २६ सम्म ३ सय ३४ जना बिरामीको र्‍यालको नमुना परीक्षण गरिएकामा १ सय ६८ मा इन्फ्लुएन्जा प्रमाणित भएको छ । संक्रमण भएपछि ज्वरो आउँछ, छाती दुख्छ, सास फेर्न समस्या हुन्छ, केहीलाई पखला पनि लाग्छ, घाँटी दुख्छ, थकाइ लाग्छ, जीउ दुख्छ, खोकी लाग्छ । नाकबाट पानी बग्छ ।


अपवादबाहेक पहिले समस्या नभएका युवालाई यसले गाँज्दैन । सामान्यतया बूढाबूढी, केटाकेटी, दम, श्वासप्रश्वास समस्या भएका, मधुमेह, मुटु, कलेजो र स्नायु रोग लागेका, अंग प्रत्यारोपण गराएकालाई यस्तो संक्रमण हुने बढी खतरा हुन्छ । गर्भवती, क्यान्सर उपचार गराइरहेका, मोटोपना भएका, रोग प्रतिरोधी क्षमता कम भएका मात्र होइन, मदिरापान गर्नेलाई पनि संक्रमणले छिटो भेट्छ । त्यसैले जोखिममा रहेका समूहहरू बढी सचेत रहन आवश्यक छ ।


युवालाई उस्तो नसताए पनि संक्रमण सार्न उनीहरूको पनि भूमिका हुन्छ । उनीहरू घर बाहिर गएर काम गर्छन् । संक्रमित भए भने घरमा रहेका जोखिमपूर्ण व्यक्तिलाई सार्छन् । संक्रमित युवा सजिलै ठीक हुन्छन् । उनीहरूले रोग सारेकाहरू निको नहुन सक्छन् । युवाहरू तातोपानी खाने, न्यानोमा बस्ने, बाफ लिनेलगायत पथपहरेजमा बसेर संक्रमण निको गर्छन् । कमजोर र दीर्घरोगीहरूले रुघाखोकीलाई पनि कम आँक्नु हुँदैन । संक्रमणले छोएको थाहा हुनासाथ चिकित्सकको परामर्श लिनुपर्छ । भनेअनुसारको उपचार विधि अपनाउनुपर्छ ।


रुघाखोकीलाई बेवास्ता गर्नु हुँदैन । बेलैमा उपचार नथाले जटिलता थपिन सक्छ । समयमै औषधि उपचार गरे सहजै निको हुन्छ । ढिलो गरे बहुअंगले काम गर्न छाड्छ । समस्या देखिएकाहरू भीडभाड भएको ठाउँ जानु हुँदैन । सकेसम्म घरमै बसेर उपचार–आराम गर्नुपर्छ । अन्य व्यक्तिको सम्पर्कबाट टाढै रहनुपर्छ । संक्रमणको फैलावट हुनबाट रोक्नुपर्छ । आफूलाई थोरै सताएको भए पनि अरूलाई सर्दा जटिल बन्न सक्छ । तसर्थ संक्रमण भएका र नभएका दुवै सतर्क बन्नैपर्छ ।


नेपाल सरकारले यस्तो संक्रमणबाट बच्न अहिलेसम्म व्यक्तिगत सरसफाइमा मात्र ध्यान दिएको छ । युरोप–अमेरिकाले खोपमा पनि जोड दिन थालेका छन् । विश्वभर खोपको प्रयोग बढ्दो छ । अनुसन्धानहरूले खोपलाई संक्रमणबाट बच्ने प्रभावकारी उपाय भनेका छन् । यस्तो खोप ६ महिनामाथिको जोसुकैले लगाउन मिल्छ । निरोगीले पनि, संक्रमितले पनि । अध्ययनहरूका अनुसार संक्रमितलाई यस्तो खोप लगाउँदा मृत्युदर घटेको छ । संक्रमितको आईसीयू र अस्पतालको अवधि घटाएको छ । निरोगीलाई संक्रमण हुनबाट जोगाएको छ ।


सर्वसाधारणलाई भने यस्तो खोपको उपलब्धताबारे जानकारी छैन । नेपाल सरकारले यसबारे चेतना जगाउन सक्छ । उसको नियमित खोप कार्यक्रममा यो छैन । यसबारे नीति–छलफल जरुरी छ ।

प्रकाशित : माघ ९, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?