कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धर्मनिरपेक्ष राज्यको धर्म

‘हिन्दु सांस्कृतिक उत्थान’ कि ‘आर्थिक समृद्धि’ स्थापना ? बहसको विषय बन्नु जरुरी छ । यो धर्मनिरपेक्ष राज्यको आधारभूत सिद्धान्तको मुख्य कडी हो ।

काठमाडौँ — नेपाली भाषा बृहत् शब्दकोशले धर्मलाई ‘व्यक्ति वा वस्तुमा रहिरहने गुण’, ‘स्वर्ग वा ईश्वर प्राप्तिका लागि गरिने पुण्य कार्य,’ ‘असल आचरण’ र ‘कुनै महापुरुषको मत, सम्प्रदाय’ भनेको छ । ‘धर्मनिरपेक्ष’लाई ‘कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने तथा धर्मका मामिलामा कुनै किसिमको हस्तक्षेप नगर्ने र संविधानमा पनि कुनै धर्मको आड नलिने राज्य, समाज’ भनिएको छ । शब्दकोशअनुसार ‘राज्य’ भन्नाले ‘राजा वा शासनसत्ताका अधीनमा रहेको देश, मुलुक, राष्ट्र’ हो । 

धर्मनिरपेक्ष राज्यको धर्म

सामान्य बोलीचालीमा कुनै ‘कल्याणकारी’ कार्य कसैले गर्दा ‘धर्म गर्‍यौ’ भनिन्छ । जात, जाति तथा जनजातिका सयौं समूह भएको मुलुकमा वैयक्तिक वा सामूहिक रूपमा गरिने कल्याणकारी कार्य आआफ्नै संस्कृतिमा गरिँदा हुन्, आआफ्नै भाषामा भनिँदा हुन् । नेपाली भाषाको ‘धर्म’को प्रयोग प्राय: सबैमा हुन्छ । जस्तो– लिम्बू भाषामा कसैले गरेको कल्याणकारी काम ‘धर्म के–जोगु’ (तिमीले धर्म गर्‍यौ) भनिन्छ ।


गाउँघरमा मानिसको आस्था वा विश्वास, नित्य वा कर्म निजी मामलाकै रूपमा लिइन्छ । आहारविहार पनि व्यक्ति, समुदायको निजी विषय हो । कसैको आपत्तिको विषय मानिँदैन । लिम्बू समुदायमा थरअनुसार मासु खाने/नखाने संस्कारगत विविधता छ । तुम्बाहाम्फेको एउटा समुदायमा राँगा, भैँसी खान वर्जित छ ।


खेवा, तिगेलाले कुनै पनि पन्छीको मासु खाँदैनन् । नेम्वाङ, योङहाङमा खसी, बोका, बाख्रा खान वर्जित छ । आङबुहाङले सुँगुर, बंगुर खाँदैनन् तर प्राय: सबै लिम्बूका घरमा युमा साम्माङ (प्रमुख अनुष्ठान) लगायत कर्म सम्पन्न गर्न सुँगुर, कुखुरा, बोका, राँगो चढाउन कोही कसैलाई वर्जित हुँदैन ।


बाहुन, क्षत्रीले भैँसी, राँगा, पाडा खाँदैनन् । उनीहरूले पालेको दुहुना भैँसी थारो भयो भने कटाउन लिम्बू, राई, मगर, गुरुङ समुदाय खोज्छन् र सुक्रीबिक्री गर्छन् । भित्री पहाडी र हिमाली भेगमा भोटे संस्कृतिका र धौलागिरि–राप्ती क्षेत्रका मगर जनजातिलाई गाई, गोरु, याक, चौँरीको मासु खान वर्जित छैन । मधेसका भित्री गाउँहरू जहाँ मुस्लिम समुदायको घना बस्ती छ, त्यहाँ बाछो, बहर, गोरु, गाईको मासु खाइँदा छरछिमेकका बाहुन, क्षत्री, थारू, यादव वा कोही हिन्दुले आपत्ति जनाउँदैनन् ।


राज्य वा राजा, शासनसत्ताको अधीनको कुरो आउँछ, त्यो समस्याजनक छ । राज्यको उत्पत्ति राजा, महाराजाले गठन गरेर भयो । नेपालको राजतन्त्र मिचा खाँ–काँचा खाँका सन्तान हुन् भन्नेदेखि मगरका सन्तान हुन्, खसानको ‘खस’ जुन वैदिक आर्यकरण हुनुअघि बोन संस्कृतिको थियो भन्ने छ । एकाएक हिन्दु बनाइयो भनियो र भए ।


हिन्दु राजा, महाराजाको देश भनी हिन्दु राष्ट्र र अधिराज्य बनाइयो । राजतन्त्रको प्रभाव गाउँघरमा पुग्दा बाहुन गाउँ नजिकैको तामाङले आफ्नै घरमा पालेको बाछो काटेर खाँदा तामाङलाई आफ्नो स्वार्थको चंगुलमा फसाउन गौहत्या अभियोगमा थुनिन्थ्यो । मुसलमान, लिम्बू, मगर, शेर्पा वा गुरुङलाई गौमांस खान निषेध गरियो । अन्तर–सम्बन्धित र अन्तर–निर्भर समाजलाई हिन्दु राजा र हिन्दु अधिराज्यका आडमा बनेका ऐन, कानुन, विधिविधानले सर्वसाधारणलाई थुन्न र थुनाउन मद्दत पुग्यो ।


धार्मिक स्वतन्त्रतामाथि राज्यले दक्खल पुर्‍यायो । गाउँको शोषकले गैरहिन्दुलाई राज्यको ऐन, कानुन नमानेका नाममा आफ्नो आर्थिक, सामाजिक तथा राजनीतिक स्वार्थसिद्धि गर्‍यो । सामान्य परिवारको हिन्दुसितको अन्तर–सम्बन्ध गैरहिन्दुका हकमा पनि वैमनस्यमा पुग्यो ।


‘धर्मनिरपेक्ष राज्य’ शब्दको व्युत्पत्ति धार्मिक राज्यविरुद्ध प्रतिक्रियास्वरूप आएको थियो । जर्ज ज्याकब होलिओके यसका पिता ठानिन्छन् । धर्मनिरपेक्ष शब्द आफैंमा धर्मको ‘एन्टिथेसिस’ हो । यसले औचित्य, उपयोगिता, भौतिकता र वैयक्तिकताको पक्ष लिन्छ । पशुपतिनाथले नेपाल र नेपालीको संरक्षण गरून् भन्ने मान्यताले नभई वैज्ञानिक चिन्तन र भौतिक विकासमार्फत नेपाली र नेपालको हित हुन्छ भन्ने अर्थमा धर्मनिरपेक्षता राज्यले धारण गरेको हो ।


नेपालको पछिल्लो राजनीतिक परिवर्तनको उद्देश्य राजाको सिंहासनमा राष्ट्रपतिको कुर्सी राख्ने मात्र थिएन । हिन्दु धर्मका नाममा केन्द्रदेखि गाउँसम्म एउटा वर्ग, धर्मीले अरू वर्ग र धर्मीमाथि गर्ने शोषण र उपेक्षा अन्त्य गरेर समान रूपमा सबैले धार्मिक स्वतन्त्रता उपभोग गर्न थियो । परम्पराका नाममा भगवानको पूजापाठ गरेर समृद्धि हासिल गर्नेभन्दा औचित्य, आवश्यकताका आधारमा अन्वेषण र विकासको मार्ग खुलाउनु थियो ।


नेपाल संविधानत: धर्मनिरपेक्ष राज्य हो तर कस्तो धर्मनिरपेक्ष ? ‘सनातन कालबाट अभ्यासमा रहेका धर्म र संस्कृतिको संरक्षण गर्दै धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता हुने’ संविधानमा भनिएको छ । सनातन कालबाट प्रचलनमा रहेका धार्मिक तथा संस्कृतिको ‘संरक्षण गर्ने’ ध्येय भन्नाले गाउँघरमा प्रचनमा रहेको परम्पराको अभ्यास वा हिजो राजामहाराजालाई हिन्दु घोषणा गरेर बनाइएको हिन्दु अधिराज्यको सनातन संस्कृति ? बहस गर्नु जरुरी छ । तर ‘धर्मनिरपेक्ष’ विचारधारालाई अवाञ्छित ठान्नेहरूको कट्टरता संविधान जारी गर्ने मुख्य दलहरूमै छताछुल्ल पोखिएको देख्दा लाजको पसारो भएको छ ।


नेपाल धर्मनिरपेक्ष भएकामा आपत्ति के सुन्ने गरिएको छ भने यो अवधारणा इसाईवादी संघ/संस्था र युरोपियन युनियनको प्रायोजनमा कतैबाट भित्र्याइयो । इसाईवादी मात्र होइन, बौद्ध, किरात, मुस्लिम, नागरिक समाज, दलित, जनजाति संघ/संस्थाले धर्मनिरपेक्ष राज्य मागेकै हो । दातृराष्ट्र वा अन्य एनजीओको कल्याणकारी देखाउने दाँत र चपाउने दाँत वर्चस्वशाली जाति र वर्गले नबुझेको होइन ।


हिन्दु राष्ट्र र राज्यका पक्षधरले नै दातृराष्ट्रहरू नेपाल भित्र्याएका हुन् तर धर्मनिरपेक्षता राज्य पुन:संरचनाका बेला आकस्मिक तवरमा छिरेको भनाइ उचित होइन । तिनलाई के हेक्का हुनुपर्छ भने अहिले पनि कम्युनिस्ट पार्टीको लगभग तीन चौथाइ प्रतिनिधित्वको सरकार छ । कम्युनिस्ट पार्टीको ‘घोषणापत्र’ नेपाली भाषामा अनुवाद भएको करिब ७ दशक भयो ।


नेकपाका नेताहरू प्रचण्डले भैँसी पुज्दैमा वा खड्गप्रसाद ओली र माधवकुमार नेपालले सन म्युङ मुनको जुस पिउँदैमा कम्युनिस्ट विचारधाराबाट पोषित सबैको खप्पर वाग्मतीमा सेलिन्छ भन्ने होइन । कम्युनिस्ट विचारका प्रवर्तक कार्ल माक्र्स धर्मलाई अफिम ठान्थे । राज्य धर्मनिरपेक्ष हुनुपर्छ भन्ने तर्क कम्युनिस्ट विचारको क, ख हो भनी नेपाली कथित बौद्धिक वर्गलाई सम्झाउनु वैचारिक दिवालियापनबाहेक अरू के भन्न सकिन्छ र !

‘नेपाललाई कसैले हिन्दु राज्य हो भन्छ भने त्यो झेली मात्र हो,’ बीपीको भनाइ थियो । बीपीले नेपाल धर्मनिरपेक्ष राज्य– धार्मिक आस्था राख्ने मान्छेलाई स्वतन्त्रता हुने जिकिर गरेका थिए । आज त्यही दलका महामन्त्री तथा उनका कनिष्ठ पुत्र धर्मनिरपेक्षको खिलापमा छन् ।


नेपालको धर्मनिरपेक्ष धर्मविरोधी नभई धार्मिक संरक्षणकारी भएको किटानी संविधानमा छ । धार्मिक स्वतन्त्रताका पक्षमा बीपीपुत्रको रोइलो बेकार हो । नेकपा र नेकाका नेताको ध्येय राज्यले संगठित रूपमा जनतालाई स्वतन्त्रता, समानता र आर्थिक समृद्धि दिनेभन्दा पनि निरन्तर शासकको सपना बुन्ने गरेको बुझ्न गाह्रो छैन ।


छिमेकी मुलुक भारतको एउटा मनोदशा हेरौं । सन् २०१४ मा सत्तामा आएका नरेन्द्र मोदीको नारा थियो– हिन्दु सांस्कृतिक पुनरुत्थान र आर्थिक वृद्धि । हिन्दु सांस्कृतिक पुनरुत्थानको कुरो र आर्थिक वृद्धि विरोधाभास छन् । मोदीले विजयलगत्तै जारी गर्न खोजेको संघीय कानुनले खरिदबिक्री गरिएका पशु काटिन्न भन्ने प्रमाण नदेखाई खरिदबिक्री गर्न नपाउने प्रावधान ल्याएको थियो, जुन राज्यको उच्च अदालतले चुनौती दिएर निष्क्रिय भयो ।


(५ जुन २०१७, न्युयोर्क टाइम्स) भारत विश्वमा बिफ उत्पादन र निर्यात गर्ने मुलुकमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा थियो, अहिले छैटौंमा पुग्यो । उत्तर प्रदेश जहाँ बिफ उत्पादन भई निर्यात हुन्थ्यो, मुख्यमन्त्री आदित्यनाथ योगी आएलगत्तै बिफ उद्योग बन्द गरिए । बिफ र छालाको वार्षिक निर्यातबाट करिब १० बिलियन अमेरिकी डलर भारतले गुमायो । उद्योगमा काम गर्ने मुस्लिम र दलित समुदायका हजारौंले रोजगारी गुमाए ।


हिन्दुले बिफ खाँदैनन्, त्यो स्वाभाविक हो तर हिन्दुले खाँदैनन् भन्दैमा पशुपालन र गोरुको मासु, छाला निर्यातमा नकारात्मक असर पुग्ने गरी बीजेपीले गरेको पश्चगामी राजनीतिक निर्णयले अर्थतन्त्र र औद्योगीकरणमा नकारात्मक असर पर्‍यो । यो उद्धरण नेपालजस्तो सानो मुलुकको आर्थिक मनोदशा बुझ्न खुर्पाको बिँड नहोस् ।


‘हिन्दु सांस्कृतिक उत्थान’ कि ‘आर्थिक समृद्धि’को स्थापना ? बहसको विषय बन्नु जरुरी छ, जुन धर्मनिरपेक्ष राज्यको आधारभूत सिद्धान्त एउटा मुख्य कडी हो ।

प्रकाशित : माघ २०, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?