कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफ्नै निर्वाचन क्षेत्र आफ्नै विकास सूत्र

सम्पादकीय

काठमाडौँ — एकातिर सरकारले समयमा विकास बजेट खर्च गर्न नसकेर आर्थिक गतिविधि प्रभावित हुने गरेको छ अर्कातिर राजनीतिक पहुँचका आधारमा बजेटको दोहन जारी छ । विशेषगरी आफ्नै निर्वाचन क्षेत्रमुखी राष्ट्रिय नेताहरूको चरित्र फेरिन सकेको छैन ।

आफ्नै निर्वाचन क्षेत्र आफ्नै विकास सूत्र

पञ्चायतकालमा ठूला पञ्चहरूले आफ्नै जिल्ला हेर्थे । लोकतान्त्रिक गणतन्त्रमा पनि डाडुपन्यू भएका नेताले आफ्नै मुकाम हेर्न थालेका छन् ।

नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालका गृहनगरमा योजनै योजना परेका छन् । झापा र चितवनका अन्य स्थानीय तहमा विकास निर्माणका गतिला योजना छैनन् । पद र पहुँचको आधारमा विकासको पहिचान हुने गरेको छ । प्रभावशाली नेताका नगरस्तरीय योजनामा पनि संघीय सरकारले बजेट विनियोजन गरेको छ ।

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र पर्ने झापाको दमकमा पौने ३ अर्ब रुपैयाँको भ्यु टावर निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । दाहालको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिकामा त्यसैगरी धेरै योजना परेको स्थानीयले अनुभव गरेका छन् ।

सहरी विकास मन्त्रालयले निर्माण गर्ने भरतपुरस्थित चक्रपथ र लिंक रोडको दाहालले गत असार अन्त्यमा शिलान्यास गरेका थिए । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान पनि दाहालकै निर्वाचन क्षेत्रमा पर्छ ।

विकास निर्माण योजना छनोटको वैज्ञानिक प्रणाली छ तर त्यसलाई नेताले मिचेका छन् । दबाब र पहुँचका बलमा योजना पार्ने परिपाटी जारी छ । राजनीतिक प्रभावमा योजना छनोट हुने प्रचलनले प्राविधिक, आर्थिक सम्भाव्यताका योजना ओझेलमा पर्छन् ।

बजेट विनियोजनको विधिलाई नेताविशेषका प्राथमिकताको प्रभावबाट मुक्त नगर्दा ‘सुखी नेपाली समृद्ध नेपाल’ को चाहना एकांगी बन्न पुग्छ । सरकारले योजना छान्दा उत्पादनशील क्षेत्र छनोट गर्नुपर्छ । एक रुपैयाँ लगाएर पाँच रुपैयाँ आम्दानी हुने क्षेत्रमा योजना गर्नुपर्छ । यस्तो परम्पराले भोलि ‘भ्यु टावर’ बाट हेर्दा हाम्रो विकासमा समानता होइन, असमानता देखिनेछ ।

राष्ट्रिय योजना आयोगले जनसंख्या, विकासको स्थिति र दुर्गमताका आधारमा योजना छनोट गर्नुपर्ने परम्परा छ । योजना वितरण गर्दा यो सूत्र ख्याल नगरी कसरी समृद्ध नेपाल बन्छ ? कसरी नेपाली सुखी हुन्छन् ? आफ्नो नगर/क्षेत्रमा मात्र योजना थुपार्ने प्रवृत्तिबाट न समानुपातिक र समावेशी विकास सम्भव छ न सन्तुलित र समन्यायिक । जनसंख्या पनि नहेर्ने, भइरहेको विकासको स्थिति पनि नबुझ्ने र दुर्गमताको पनि ख्याल नगरी पद र पहुँचको बलमा योजना जति आफ्नै क्षेत्रमा ओइर्‍याउने प्रवृत्ति विकासको बाधक हो ।

कर्णालीका गरिब जनताको पीडामा भावुक बनेर भाषण दिने, सिरहा, सप्तरीका चमार बस्तीमा पुगेर तिनका आँसु पुछ्ने गुड्डी हाँक्ने, महाभारत लेकका कुनाकाप्चामा गिट्ठा, भ्याकुर खाएर जीविकोपार्जन गरिरहेका चेपाङहरूको मुहार फेर्ने वाचा गर्ने अनि विकास निर्माणका योजना जति आफ्नै चुनाव क्षेत्रमा खन्याउने, यो कस्तो समानता हो ? कस्तो समान अवसर दिने सोच हो ?

यो प्रवृत्ति त राष्ट्रिय बजेटको दोहन हो । सत्ताको दुरुपयोग गरेर, आफ्नो प्रभाव र दबाब देखाएर, आफ्नै चुनाव क्षेत्रका मतदाता खुसी पारेर सधैंभरि चुनाव जितिरहने लालसा हो । विकासको नाउँमा अरूलाई आफ्नो क्षेत्रमा निषेध गर्ने प्रवृत्ति हो । निर्देशित संघीयताले पञ्चायतकालीन योजना छनोटकै विरासत बोकेको छ । यो संघीय शासन पद्धतिको बर्खिलाप हो ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको क्षेत्रबाहेकका जनताले आफू वञ्चितीमा परेको अनुभूति गर्नेछन्, विकासमा भेदभाव गरेको ठान्नेछन् । बजेटका प्राथमिकतामा नेताविशेषको पहुँचको प्रभाव पर्नु विधिसम्मत होइन, विभेदकारी विकास हो । लोकतान्त्रिक राज्य प्रणालीमा विकासका लागि जनतालाई समान अधिकार, समान सुविधा, समान अवसर र समान पहुँचको प्रत्याभूति हुनुपर्छ ।

प्रकाशित : माघ २८, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?