कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षाका लागि स्वास्थ्य

सम्पादकीय

काठमाडौँ — सानै सर्वेक्षण नै सही, तथ्यांकले वस्तुस्थितिको झल्को दिन्छन् । डोटीको केआई सिंह गाउँपालिकाले गरेको दुई विद्यालयका झन्डै दुई सय विद्यार्थीको स्वास्थ्य परीक्षण यस्तै एउटा पहल हो । यसको परिणाम हाम्रा तीनै तहका सरकार र नीति–निर्मातालाई सोच्न बाध्य तुल्याउने किसिमको छ ।

शिक्षाका लागि स्वास्थ्य

पालिकाले भुवनेश्वरी मावि र दुर्गा प्राविका विद्यार्थीको तौल र उचाइ लियो, आँखा, कान, नाक, घाँटी, दाँतलगायत परीक्षण गर्‍यो । १८ प्रतिशत कुपोषित पाइए । ५० प्रतिशत कुपोषण हुन सक्ने सीमारेखामा भेटिए । ५१ जनाको दाँत, २० जनाको कान, ५ जनाको आँखामा समस्या देखियो । एकातिर उमेर पुगेका सबै बालबालिका विद्यालय गएका छैनन् । कति बीचैमा कक्षा छोड्छन् । पाँचमध्ये एक विद्यार्थीले मात्र स्कुले शिक्षा पूरा गर्छन् । विद्यालय शिक्षामा सरल र सहज पहुँच पुर्‍याउन विभिन्न बाधा छन् । विद्यालयमा न्यूनतम सिकाइ वातावरण छैन । विद्यार्थीको स्वास्थ्य र पोषण अवस्था पनि एउटा कारण हो ।

विद्यार्थीको शारीरिक, संवेगात्मक, सामाजिक र शैक्षिक विकासका लागि उपयुक्त शिक्षा मात्र होइन, उचित स्वास्थ्य र पोषणको पनि खाँचो छ । शैक्षिक उपलब्धि सुधार्न र विद्यालयमा उपस्थिति दर बढाउन स्वास्थ्य तथा पोषण अवस्था राम्रो हुन जरुरी छ । विश्व स्वास्थ्य संगठनले सन् १९५० कै दशकमा प्रभावकारी सिकाइका लागि बालबालिकाको स्वास्थ्य चाहिन्छ भन्यो । शिक्षा र स्वास्थ्यबीचको अन्तरसम्बन्धलाई कार्यगत रूपमा लागू गर्नुपर्नेमा जोड दियो । हामीकहाँ राणाकालमै विद्यालय खाना व्यवस्था थियो । प्रजातन्त्रको पहिलो दशकसम्म काठमाडौं उपत्यकाका विद्यालयमा दिवा खाजा थियो । अहिले पनि सरकारले ३१ जिल्लामा नगद मोडलमा प्राथमिक तहका विद्यार्थीलाई खाजा खुवाउँदै आएको छ ।

सरकारले २०६७ सालमा गुणस्तरीय शिक्षाका लागि ‘बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप’ जारी गरेको छ । त्यसले बालबालिकाको स्वास्थ्य, सुरक्षा र बचावटलाई बालमैत्री विद्यालयको एउटा सूचकमा रूपमा अर्थ्याएको छ । हरेक विद्यालयमा कम्तीमा वर्षको दुई पटक बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था गर्न भनेको छ । हरेक विद्यार्थीको व्यक्तिगत स्वास्थ्य विवरण व्यवस्थित र अद्यावधिक गरी उनीहरूका लागि उपयुक्त सुरक्षाका उपाय अपनाउन सुझाएको छ । नीतिअनुसार कार्यान्वयन छैन । अरू विद्यालयले यस्तो परीक्षण गराएकै छैनन् ।

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक यसरी विद्यार्थीको स्वास्थ्य परीक्षण गरिनु स्वागतयोग्य हो । यसका आधारमा पालिकाले कार्यक्रम तय गर्न सक्छ । ‘अति दुर्गम’ मा पर्ने उक्त पालिकाले अभियानकै रूपमा परीक्षण थालेको हो । रोग लाग्नुपूर्व स्वास्थ्य अवस्था जाँचेर सतर्कता अपनाउने प्रयास अनुकरणीय छ । सरसफाइ र पोषणमा अभिभावकको ध्यानाकर्षण गर्नु जरुरी छ । धेरै विद्यार्थीका बाबु परदेश छन्, आमाले घर धानेका छन् । एकातिर विपन्न छन्, अर्कोतिर चेतना अभाव छ । विद्यालयमा पोषण कार्यक्रम छैन ।

विद्यार्थीको स्वास्थ्य विद्यालय बाहिरको वातावरणमा पनि निर्भर हुन्छ । गाउँको स्वास्थ्यचौकी, स्वास्थ्य कार्यकर्ताहरूको पनि भूमिका हुन्छ । घर–चोक, आँगन, टोल, कुलो, खोला, नहर सफा राख्ने चेतना आवश्यक छ । विद्यालयको वातावरण तथा कक्षाकोठा स्वस्थ र सुरक्षित हुनुपर्छ । शुद्ध खानेपानी, सफा शौचालय चाहिन्छ । अतिरिक्त पोषण तथा दिवा खाजा प्रबन्ध गरिनुपर्छ । शारीरिक एवम् मानसिक रूपमा स्वस्थ नभई न बालबालिकाको उचित विकास हुन्छ, न उनीहरूले सिक्नै सक्छन् ।

बालबालिकाले वर्षको २ सय २० दिन ६/७ घण्टाको महत्त्वपूर्ण अवधि विद्यालयमा बिताउँछन् भने भोकै राख्नु अन्याय हुन्छ । सक्ने अभिभावक आफैं व्यवस्था गर्न सक्छन्, नसक्नेलाई स्थानीय सरकारले सघाउनुपर्छ । स्थानीय तहले स्वास्थ्यलाई हित गर्ने खानेकुराको चेतना फैलाउन जरुरी छ । वडा कार्यालयहरूले घरैपिच्छे यस्तो सन्देश पुर्‍याउन सक्छन् । स्थानीय रूपमै फल्ने कोदो, गहुँ, जौ, मकै, भटमासमै पर्याप्त पोषण पाइने बुझाउन सक्छन् । सरसफाइको महत्त्व दर्शाउन सक्छन् ।

प्रकाशित : फाल्गुन २७, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?