बेलैमा यौन शिक्षा

सान्नानी बुर्लाकोटी

काठमाडौँ — गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार जस्तै यौन पनि जीवनमा नभई विषय हो । यति आवश्यक विषयका बारे हाम्रो समाजमा अपेक्षित चर्चा भने हुने गरेको छैन । प्रायः मानिस यसबारे कुरा गर्न सहज हुन्नन् । समाजमा यसको उल्टो असर परिरहेको छ । अपरिपक्व उमेर समूहका केटाकेटीले पनि यसलाई सामान्य कुराका रूपमा बुझ्न सकिरहेका छैनन् ।

विज्ञान र र प्रविधिको विकाससँगै पाश्चात्य संस्कारको देखासिकीका कारण हाम्रा केटाकेटीमा मायाप्रेमभन्दा पनि उमेरको आकर्षणले गर्दा समस्यामा पर्ने गरेका छन् । धेरैजसो लुकीछिपी र कमै मात्रामा खुलारुपमा हाम्रा गाउँसहर, विद्यालय तथा
कलेजका केटाकेटीमा यस्ता कुरा देखिनमा आइरहेका छन् ।

स्कुल–कलेजमा हामी सैद्धान्तिक ज्ञान मात्र दिन्छौँ । व्यावहारिक पाटोको बेवास्ता हुने गरेको छ । यौन शिक्षाबारे पर्याप्त चर्चा गरेर त्यसको असर, परिणाम बुझाउनुपर्छ । अपरिपक्व उमेरकै कारणमा शारीरिक आकर्षणका कारण केटाकेटी शिक्षक, समाज र आफन्तको डरले गर्दा लुकेर आपसमा भेट्छन्, मायाप्रेमका कुरा गर्छन् ।

हुँदाहुँदा शारीरिक संसर्गसम्म पुग्छन् अनि पढ्ने र सुन्दर भविष्यका योजना बोकेका उनीहरूको जीवन गर्भ निरोधक औषधी र असुरक्षित गर्भपतनको यात्रातर्फ लाग्छ । सामाजिक, पारिवारिक, मानसिक समस्यामा परेर उनीहरू जोखिमपूर्ण अवस्थामा क्लिनिकमा बच्चा जन्माउने, बच्चालाई नालीमा फ्याँकिदिने, आत्महत्या गर्ने अवस्थासम्म पुग्छन् ।

असुरक्षित यौन सम्पर्क गर्दा प्राणघातक रोग लाग्ने, सानो उमेरमा पाठेघरको पूर्ण रुपमा विकास भइनसक्ने हुनाले ज्यानकै खतरा हुने, सङ्क्रमण हुन सक्ने, गर्भ रहन सक्ने,गर्भपतन गराउँदा जीवन जोखिममा पर्ने जस्ता यथार्थ आफ्ना केटाकेटीलाई घरपरिवारले बुझाउनुपर्छ । शिक्षक, साथी तथा अन्य मान्यजनको भूमिका पनि यसमा उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

सहरका सम्पन्न घरका बालबालिका बढीजसो मोवाइल, कम्प्युटर, प्रेम दिवशमा आदिमा अलमिलने गरेका छन् । विकटतिरका बालबालिका भने शिक्षा, चेतना, गरिबी, अभावको चपेटामा परिरहेका छन् । प्रायः सहरिया बालबालिका बढी आत्मविश्वासी भएका कारण र दुर्गमका बालबालिका सोझोपनका कारण असुरक्षित यौनको भुङ्ग्रामा पर्ने गरेका छन् । तसर्थ हामीले हाम्रा विद्यार्थी तथा छोराछोरीलाई यौन जीवनको सबैभन्दा महत्त्वपूर्ण पाटो हो भनेर बेलैमा सिकाउनुपर्छ ।

मानसिक रूपमा सक्षम प्रत्येक मानवमा यौनको चाहना हुन्छ र हुनुपर्छ भन्ने कुरा खुलेर बुझाउनुपर्छ । यौनको भावना जन्मेदेखि नमरुन्जेल बालबालिका, युवायुवती, बूढाबूढी सबैमा हुन्छ । यो जैविक आवश्यकताहो । बालकले आमाको स्तन चुसेर वा टोकेर होस्, युवा तथा वृद्धले कसैलाई हेरेर, बोलेर, हाँसेर, जिस्क्याएर, ठट्टा गरेर, मन परेका भौतिक वस्तु उपहार दिएर तथा हार्दिक प्रेम गरेर यौन चाहना पुरा गरिरहेका हुन्छन् । तर हाम्रो समाजमा तनको मिलन नै यौन चाहना हो भन्ने सङ्कीर्ण मानसिकता छ ।

अपरिपक्व उमेर समूहका केटाकेटीलाई हामीले यौन शिक्षा दिँदा यसलाई त्राससँग जोड्नु हुन्न । कसैसँग शारीरिक सम्पर्क गरे शारीरिक यातना दिन्छु भनेर थर्काउनु हुन्न । यस्तो अभ्यासले नराम्रो परिणाम दिन सक्छ । तिनीहरूको मानसपटलमा हामीले सकारात्मक ऊर्जा भर्दै यौन सम्पर्कले आउने सम्भावित दुष्परिणामबारे सिकाउनुपर्छ । भविष्य बरबार हून्छ, उर्जाशिल समय त्यत्तिकै सकिन्छ भनेर सम्झाउनुपर्छ । उमेरलाई पढाइ तथा सिर्जनात्मक काममा लगाए भविष्य सुन्दर हुन्छ भन्दै ज्ञान आर्जनमा लाग्न साहस, आँट र हिम्मत दिन सक्नुपर्छ । ज्ञानी र असल व्यक्ति बनेर देशको होनाहार प्रतिभाशाली व्यक्ति बन्न प्रेरित गर्नुपर्छ ।

पाठ्क्रम विकास केन्द्रले कति सकिन्छ माध्यमिक तथा उच्चमाध्यमिक तहकाविद्यार्थीको भविष्यलाई मध्यनजर गरेर पच्चिस/पचास अङ्कको यौन शिक्षासम्बन्धीपाठ्यांशको खाका तयार पार्नुपर्छ र लागुगर्न ढिलो गर्नुहुदैन ।

यौनको अभावमा मान्छे विक्षिप्त बन्न पुग्छ । यसो भन्दैमा हामी अविवेकी बन्न हुन्न । हामीले सही समयमा सचेत भएर यौन सम्पर्क गर्नुपर्छ । पढ्ने, लेख्ने, भविष्य बनाउने समयमा अन्धवेगमा आएर हामीले गरेको प्रेम प्रेम नभएर उमेरको आकर्षण मात्र हो । यो ज्ञान केटाकेटी तथा सन्तानलाई बुझाउन सक्नुपर्छ । यस्तो कच्चा उमेरमा मनको संवेगलाई नियन्त्रण गर्न सकिँदैन । आँधी र तुफान, चैतको हुरहुरे वतासले कोमल मन अनि भावनालाई डढाउने काममात्र गर्छ भनेर मानसिक उपचार गर्नुपर्छ ।

केटाकेटीहरू अरूलाई भन्दा आफैलाई मात्र ठूलो देख्ने हुन्छन् । त्यही भएर उनीहरूको संवेगात्मक कोमल मनलाई ठेस नपुग्ने गरी ‘जुन बाटो तिमी हिँडेका छौ त्यो भिर हो, काँडा छ, खाल्डो छ, जीवनमा कालो बादल लाग्छ’ भन्दै उनीहरूमा सकारात्मक भाव भर्नु शिक्षक तथा अभिभावकको जिम्मेवारी हो । उनीहरूलाई ‘आफ्ना केटा वा केटी साथीलाई असल साथीको रुपमा हेर, मायाप्रेम र यौन चाहनाले होइन, सकेसम्म यौन सम्पर्क गर्नै हुँदैन’ भन्नुपर्छ ।

विकसित देशमा केटाकेटीलाई स्वतन्त्र रुपले हेरिन्छ । पूर्वीय संस्कारले गाँजेको हाम्रो देशमा चाँहि केटाकेटीको सम्बन्धलाई केवल यौनिक दृष्टिकोणले मात्र हेरिन हुदैन । तिनीहरूले पनि पढाइका, देशका समसामयिक गतिविधिका आफ्नै परिवेशका, समस्याका, परिवारका दुःखसुखका कुरा गरेका हुन सक्छन् भन्ने विश्वास अभिभावक तथा शिक्षकमा हुनुपर्छ । हामीले तिनको विश्वासलाई मर्न दिन हुदैन । उनीहरूलाई भन्नुपर्छ, ‘तिम्रो ऊर्जाशील समयलाई खेर नफाल, फलामलाई तातेकोबेला ठोकेमात्र विभिन्न औजार बनाउन सकिन्छ, जवानी भनेको अञ्जुलीको पानीजस्तै हो, आफ्नो भविष्यको सपना साकारपार्न काम गर्नुपर्छ, तिमीले यौनको महत्त्वलाई बुझेर सही सयम आएपछि सदुपयोगगरेमा सुन्दर, सुनिश्चित भविष्य निर्माणगर्न सक्छौ ।’

प्रकाशित : चैत्र ४, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

यसरी भित्रिन्छ वैदेशिक लगानी

आशुतोष तिवारी

काठमाडौँ — अर्को साता नेपालमा लगानी सम्मेलन हुँदै छ । देश–विदेशका लगानीकर्ताहरू नेपाल आउँदै छन् । तर ‘लगानी सम्मेलन जति वटा गरे पनि खासै फरक पर्दैन’ भन्नेहरू पनि कम छैनन् । आलोचनाको यो पृष्ठभूमिमा यो सम्मेलनलाई उपलब्धिमूलक बनाउन नेपालले के–के कुरामा ध्यान दिनुपर्ला ?

मानसिकता परिवर्तन गर्ने
नेपालमा कुनै कुरा उद्घाटन भएकै भरमा या सुरु मात्रै गरिएकै आधारमा ‘सम्पनै भयो, सफलै भयो’ भनेर प्रचार गर्ने चलन छ । तर, त्यसबाट आशाअनुरूप नतिजा नआए सरकारसहित अरू जो–जसले ‘सफलै भयो’ भनेर प्रचार गरेका थिए, तीप्रति विश्वास घट्न जान्छ र वितृष्णा मात्र बढ्छ । पहिले–पहिले भएको यही हो ।

विगतका लगानी सम्मेलनहरू पनि सम्मेलन गरेकै भरमा ‘सफलै भयो’ भनेर भनिए पनि पछि सोचेअनुरूप कोही लगानी गर्न आएनन् । आए पनि तिनले झेल्नुपरेका कठिनाइहरू हेर्दा, हाम्रो सरकार र कर्मचारीतन्त्रले विदेशी लगानीप्रति आ–आफ्नासूक्ष्म धारणा पनि व्यापक रूपले परिवर्तन गर्नुपर्ने देखिन्छ । मानसिकता परिवर्तनका तीन खम्बा छन् ।

पहिलो खम्बा त, समग्रमा ठूला आयोजना या ठूला कम्पनीहरू खोल्न स्वदेशमै पैसा अपुग भइरहने देशमा विदेशी लगानीमार्फत पैसा मात्र देशभित्र आउने हैन । देशमा हजारौं रोजगारी अनि नयाँ र खँदिला सीपहरू पनि भित्रिन सक्छन्, जसले आय बढाएर गरिबी घटाउन मद्दत गर्छन् । लगानीलाई यस्तै जनतामुखी आँखाले हेर्नुपर्छ ।

लगानीको सवालमा हामीकहाँ कसले कति पैसा कहाँबाट केका लागि ल्याउँछ भनेर गनेर बस्ने मात्र चलन छ । लगानीलाई जनताकै भलाइको आँखाबाट नहेरेसम्म यसप्रति हाम्रो धारणा हालका लागि ‘ट्रान्ज्याक्सनल’ या पैसाको लेनदेनमै मात्र सीमित हुन्छ ।
मानसिक परिवर्तनको दोस्रो खम्बा हो— विदेशी लगानीका कारण देशबाट पैसा विदेश जाने मात्र हैन, देशमा पनि त्यो लगानीले ‘वेल्थ क्रिएसन’ या धन निर्माण गर्न धेरै मद्दत गर्छ भनेर सोच्नु ।

वैदेशिक लगानीको सवालमा हामी प्रायः विदेशीले नेपालमा आएर पैसा कमाएर (हाम्रो पैसा) विदेशमा लगे अर्थात् अरू आएर हामीलाइ लुटे भन्ने त्रासको ‘न्यारेटिभ’ ले ग्रस्त छौं । तर त्यही लगानीले नेपालमा धेरैलाई रोजगारी दिएर, सीप सिकाएर अनि त्यस्तै उद्योग अरू पनि खोल्न सजिलो पारेर धेरै नेपालीलाई पनि धनी बनाएको यथार्थचाहिँ बिर्सन्छौं ।

एक–दुई ठूला र प्रख्यात लगानीकर्तालाई बढी नै समय खर्च गरेर, सम्मान गरेर देशमा ल्याउन सकियो भने तिनले विश्वको अगाडि हाम्रा ‘एंकर इन्भेस्टर’ को काम गर्छन् । तिनको देखासिखी गर्दै अरू धेरै लगानीकर्ता नेपाल आउन उत्साहित हुन्छन् भनेर बुझ्नु नै मानसिक परिवर्तनको तेस्रो खम्बा हो ।

वैदेशिक लगानीको सन्दर्भमा, हामीले उपर्युक्त तीन पक्षमा सरकारको माथिल्लो तहदेखि तल्लो तहसम्मको मानसिकता परिवर्तन गरेनौं भने हाम्रो कर्मचारीतन्त्रले नै विभिन्न झन्झट उठाइदिएर लगानीकर्ताहरूको समय र पैसा खेर फालिदिन सक्छ । त्यसका लागि प्रधानमन्त्रीदेखि लगानीको काममा लागेका सरकारका सबै संयन्त्रले जनतामुखी र भविष्यमुखी हिसाबले वैदेशिक लगानीको महत्त्वबारे बुझाइरहनुपर्छ ।

हार्डवेयर ल्याउने, सफ्टवेयर बनाउने
वैदेशिक लगानी ल्याउन सरकारले लगानीकर्ताहरूसँग मात्र कुरा गरेर हुँदैन । त्यो एकपक्षीय काम हो । नेपालमा शिक्षा र सीपको अवस्था राम्रो छ कि छैन, राम्रो छैन भने प्राविधिक स्कुलहरूलाई कसरी बलियो पार्न सकिन्छ, काम गर्ने दक्ष नेपालीहरू नै पाइँदैनन् भने भएकैलाई नयाँ–नयाँ सीप सिक्न कसरी उत्प्रेरित गर्न सकिन्छ भन्ने कुराहरूमा डटेर लाग्नुपर्छ । हाम्रै नेपाली सक्षम भए या सक्षम बन्न जति जाँगर देखाउँछन्, त्यति नै वैदेशिक लगानीकर्ताको खर्च घट्छ ।

सीप नै नभएर या अर्धदक्ष मात्र भएर नेपालमै काम खोजिरहेका नेपालीले न आएको वैदेशिक लगानीबाट काम मिलाएर आफ्नो आय बढाउन सक्छन्, न त नयाँ सीप सिक्ने प्राथमिकतामा पर्छन् । अफ्रिकाका कतिपय देशमा लगानी गर्ने कुनै एउटा देशले कपाल काट्ने र जुत्ता मर्मत गर्नेहरूलाई पनि आफ्नै देशबाट झिकाएको प्रसंग नेपालको हकमा ठाडै लागू त नहोला, तर लगानी ‘हार्डवेयर’ हो भने देशभित्र पाइने सीपचाहिँ ‘सफ्टवेयर’ हो ।

त्यो सफ्टवेयरको क्षमता बढाउने काम शिक्षा, प्राविधिक तालिम, स्वास्थ्योपचार सेवा र सजिलै उपलब्ध हुने सार्वजनिक यातायात आदिले गर्छन् भन्ने हेक्का सरकारलाई हुनुपर्छ । यो अर्थमा वैदेशिक लगानीकर्ताहरूलाई नेपालमा लगानी गराइराख्न सरकारको आफ्नै खर्चमा गरिने अरू काम गर्न सजिलो हुने प्लाटफर्मरूपी पूर्वाधार विकासको काम तीव्र गतिमा अघि बढाउनै पर्छ ।

सजिलो पारिदिने
नेपालका नियम–कानुन सरसर्ती हेर्दा धेरै सजिलो र छरितो बनाए जस्तो देखिन्छ । तिनको कार्यान्वयन पक्ष भने झन्झटिलो छ । कुनै रेस्टुरेन्टमा गएर सिधै चाउमिन खान नपाई ग्राहक आफैंले मैदाको अर्डर छुट्टै, गोलभेंडा र प्याजको अर्डर छुट्टै, तेल र ग्यास–स्टोभको अर्डर छुट्टै गर्नुपर्‍यो भने त्यो रेस्टुरेन्ट चल्छ ? रेस्टुरेन्ट आफैंले काँचो नुडल्स, गोलभेंडा, नुन–तेल आदिको जोहो गरेर ग्राहकलाई उसले अर्डर गरेको तातो चाउमिन पस्कन जान्नुपर्छ ।

विदेशी लगानीकर्तालाई पनि हामीले सामान्यतः रेस्टुरेन्टको ग्राहकजसरी नै बुझ्नुपर्छ । एउटा अनुमति लिन यो मन्त्रालय, अर्को कागज बुझाउन अर्को आयोग र अन्य कुरा बुझ्न अर्कै महाशाखामा दौडाएर हाम्रा सरकारी कार्यालयहरूले त आ–आफ्नो क्षेत्रगत काम पाउलान्, तर विदेशी लगानीकर्ताहरूचाहिँ माथिको उदाहरणमा देखाइएको रेस्टुरेन्टको ग्राहक जस्तै हायलकायल हुन्छन् । एकचोटि यसरी चेतेको लगानीकर्ता अर्कोपल्ट फर्केर आउँदैन र अरूलाई पनि नेपालमा आउन प्रेरित गर्दैन ।

यस्तो झन्झट नहोओस् भन्न लगानीकर्ताहरूका लागि सरकारले दिने सम्पूर्ण सेवा एकै ठाउँबाट दिनुपर्छ, राम्रो रेस्टुरेन्टले सिधै चाउमिन बनाएर ल्याएजसरी । सरकारको कुन निकायले के काम कति समयमा गर्ने, त्यो त हाम्रो कुरा हो, विदेशी लगानीकर्तालाई काम गर्न सजिलो र छिटो सेवा पो चाहिएको हो !

हाम्रा सरकारी संयन्त्रलाई बुझ्न नेपाली जनतालाई त गाह्रो छ भने विदेशीले कसरी बुझ्लान् ? त्यसैले लगानीकर्तालाई नै ‘के–के गर्‍यो भने तिमीहरूलाई सजिलो पर्छ ?’ भनेर सोधौं र पहिलो तीन वर्ष त्यहीत्यही गरिदिऔं । तीन वर्षमा आएको डेटा र अनुभवबाट भविष्यका अरू वैदेशिक लगानीका योजनाहरू पनि खँदिलो पार्न मद्दत पुग्छ ।

अनुभव र डेटा नभईकनै त्रास र मनलाग्दी ‘हुँदैन’ को भरमा लगानीकर्ताहरूको काम सजिलो पार्न सकिँदैन । कार्यान्वयन सजिलो नपारेपछि कागजमा र लगानी सम्मेलनमा जतिसुकै राम्रा कुरा गरे पनि ठोस नतिजा आउँदैन ।

उदाहरणार्थ, अहिले दुग्ध व्यवसाय र कृषिमा विदेशी लगानी चाहिँदैन, यी क्षेत्रमा नेपाली नै सक्षम छन् भनिएको छ । तर कृषिमा सुर्खेतको अदुवा, ताप्लेजुङको अलैंची, जुम्लाको स्याउ आदि नेपालले उत्पादन गरे पनि किन त ‘भ्यालु–एड’ गरिएर नेपालको त के विश्वकै बजारमा उच्च मूल्यका साथ पुग्दैन ? त्यो गर्नलाई ‘प्रोसेसिङ प्लान्ट’ चाहियो, प्रोडक्ट विविधता चाहियो, प्याकेजिङ हुनुपर्‍यो । यसका लागि धेरै ज्ञानको आबश्यकता पर्छ, जुन नेपालमा छैन । त्यो ज्ञान नेपालमा फैलाउन पैसा पनि छैन ।

विश्वको बजारमा सबैभन्दा छिटो कसरी पुग्ने र पुग्न के–के कुरा सिक्नु/गर्नुपर्छ भनेर वैदेशिक लगानीले नै देखाउने हो । सोल्टी होटलमा धेरै वर्षअगाडि गरिएको वैदेशिक लगानीले नेपालीलाई नै दक्ष बनाई कालान्तरमा नेपालमै नेपालीलाई धेरै अरू होटल खोल्न सक्षम बनाइदियो । त्यस्तै, विदेशी लगानीकै स्टान्डर्ड चार्टर्ड बैंकले नेपाली बैंकरहरूको क्षमता ह्रास हैन, वृद्धि नै गरिदियो । कृषि र दुग्ध व्यवसाय पनि यसरी विकास हुन किन नसक्ने ?

नेपालको समृद्धिका लागि आर्थिक वृद्धि र गरिबी निवारण दुवै हुनुपर्छ भन्नेमा धेरैको विमति नहोला । आर्थिक वृद्धि र गरिबी निवारण गर्न नेपालमै पुँजी पर्याप्त नभएको पनि कसैबाट लुकेको छैन । त्यो अपर्याप्तता पूरा गर्न वैदेशिक लगानी चाहिन्छ भन्नेमा पनि देश चलाउने कम्युनिस्ट सरकारसमेत विश्वस्त भएको देखिन्छ ।

चाहना र उद्देश्य ठीक ठाउँमा हुँदाहुँदै पनि पुरानै मानसिकता, जनताको सीप नबढाइने काम र कागजमा राम्रै लेखिए पनि कार्यान्वयनमा ढिलासुस्ती हुनाले नेपालमा आउनुपर्ने लगानी नआउन सक्छ । सरकारले यी कुरामा आउँदो सम्मेलन र सम्मेलनपछि पनि ध्यान दिएर काम गर्नुपर्छ ।

प्रकाशित : चैत्र ४, २०७५ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्