सम्बन्धनको व्यापार

सम्पादकीय

काठमाडौँ — सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी असुलेर विद्यार्थीमाथि व्यापार गर्ने मेडिकल कलेजहरूलाई त्रिभुवन विश्वविद्यालय आफै“ले कुनै कारबाही नगर्ने प्रवृत्तिले चिकित्सा शिक्षालाई विकृत बनाएको छ । शिक्षालाई व्यापारको चंगुलमा फसाएको छ र विद्यार्थी प्रतिभाहरूका हुर्कौला मस्तिष्कमा भ्रष्टाचार र अन्यायको वीजारोपण गरेको छ ।

मेडिकल कलेजका ज्यादतीविरुद्ध विद्यार्थीहरूले शिक्षा मन्त्रालयमा उजुरी दिएपछि कलेजमाथि छानबिन थाल्दा जथाभाबी मेडिकल कलेज खोल्न सम्बन्धन दिने त्रिवि मूकदर्शक बनेको छ । मानौ“, उसमा कुनैदायित्व छैन ।

सम्बन्धन लिएका मेडिकल कलेजहरूले एमबीबीएस र बीडीएसका विद्यार्थीमाथि शोषण गर्ने धन्दा रोक्न नखोज्दा विश्वविद्यालयले आफ्नो गरिमा र मर्यादा गिराएको छ जसको असर राज्य र समाजका अंगहरूमा पर्दै जानेछ । ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगन्जको नेसनल र पोखराको गण्डकी मेडिकल कलेजले विद्यार्थीसित गैरकानुनी रूपमा शुल्क लिँदै आएको अनुगमन निर्देशनालयको छानबिन प्रतिवेदन त्रिविका लागि आफैँमा चुनौतीबनेको छ ।

कागजमा शुल्क बढी लिएको देखि“दैन । बढी शुल्कबाट सताइएका पोखरास्थित गण्डकी मेडिकल कलेजका विद्यार्थी सडकमा आएपछि मात्र मेडिकल कलेजको ठगी धन्दा बाहिर आउन थालेको हो । काठमाडौं उपत्यकाका मेडिकल कलेजले विद्यार्थीसित किस्ताबन्दी अर्थात् तीन चरणमा ३८ लाख ५० हजार रुपैयाँ शुल्क लिन पाउने व्यवस्था छ । उपत्यकाबाहिर ४२ लाख ४५ हजार शुल्क निर्धारण गरेको भए पनि कलेजहरूले यो मापदण्डभन्दा बढी रकम असुलिरहेका छन् । बीडीएस कोर्सका लागि १९ लाख ३२ हजार लाग्छ । सरकारले तोकेको शुल्कमै कलेजहरूले खेले । अपारदर्शी तरिकाले उठाउन थाले– भर्ना, रजिस्ट्रेसन, वार्षिक, सूचना प्रविधि, परीक्षा, काउन्सिल दर्ता, इन्टेन्सिभ, शिक्षा सेवा करजस्ता शुल्कैशुल्क । शुल्कैशुल्कको सूचीले विद्यार्थीलाई सूलीमा चढाउने गरेको छ ।

त्रिवि भने सम्बन्धन दिन अग्रसर हुने, नियमन गर्न भने नचाहने गरी आर्थिक शोषणचक्रको मतियार बनिरहेको छ । उसले नियमन गर्न सक्ने क्षमता पनि विकास गरेको छैन । सम्बन्धन शुल्क लिने मात्र उसको धेय देखिन्छ । त्यो भनेको व्यापार हो । कर्तव्यबिनाको व्यापारले त्रिविलाई विकृतिको अखडा बनाएको छ । काठमाडौं विश्वविद्यालयका हकमा पनि त्यस्तै छ । विज्ञ कार्यदलले दिएको सुझावअनुसार पाँच वटासम्म मेडिकल कलेजलाई सम्बन्धन दिएको भए नियमन गर्न सक्थ्यो । डा. गोविन्द केसीको आन्दोलन मेडिकल क्षेत्रका बेथिति रोकी शुद्धीकरणका लागि थियो । विश्वविद्यालयहरू शुद्धीकरणका सत्याग्रहप्रति सधै“ नकारात्मक रहिरहे, जसकारण अब विद्यार्थीहरू आन्दोलित हुनुपर्ने अवस्था आएको छ ।

कलेजहरूका ज्यादतीविरुद्ध उजुरी परे स्थानीय जिल्ला प्रशासनले कारबाही गर्ने भन्ने मन्त्रिपरिषद् निर्णय भए पनि प्रभावकारी छैन । मेडिकल कलेज सञ्चालकहरूका संगठन ‘सोसाइटी अफ टीयू एफिलिएटेड हेल्थ इन्स्टिट्युसन’ र ‘एसोसिएसन अफ प्राइभेट मेडिकल कलेज एन्ड डेन्टल कलेज अफ नेपाल’ले पनि मन्त्रिपरिषद्को निर्णय मान्दैनौं भनिरहेका छन् । सुशासन र कानुनीराज कायम गर्नुपर्ने राज्यलाई यो ठूलो चुनौती हो ।

सुधारका लागि अब अविलम्ब चिकित्सा शिक्षा आयोग दह्रो उभिन सक्नुपर्छ । उसैले शुल्क र सिट संख्या तोक्ने दायित्व निर्वाह गर्नुपर्छ । मेडिकल कलेजहरूको ठगी धन्दाबाट विद्यार्थीलाई जोगाउन आयोगले नै विद्यार्थी भर्ना गरेर ती कलेजमा पठाइदिने व्यवस्था गर्नु एउटा उपाय हुन सक्छ । प्रवेश परीक्षा सबैलाई एउटै भएपछि भर्नाको शुल्क जम्मा गरेर कलेजलाई पठाइदिन सकिन्छ । आयोग नियामक निकाय हो । उसले मापदण्ड बनाउँछ, नियमन गर्छ र परिआए सम्बन्धन खारेजसम्म गर्न सक्छ । आयोगले आ“खा खोलोस् र सम्बन्धनको व्यापारमा लिप्त विश्वविद्यालयका आ“खा पनि खोलिदेओस् ।

प्रकाशित : चैत्र ५, २०७५ ०९:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रतिबन्धित समयसित संवाद

सरिता तिवारी

काठमाडौँ — सन् १९४० मा छापिएको निबन्ध ‘इन्साइड ह्वेल’ मा जर्ज अर्वेल भन्छन्, ‘हामी करिब–करिब निश्चित रूपले तानाशाही युगमा प्रवेश गरिरहेका छौं । यस्तो युगमा विचारको स्वतन्त्रता सुरुमा घातक पाप र पछि एउटा अर्थहीन शब्दावली बन्न पुग्छ ।’ राजनीतिमाथि कलात्मक व्यंग्य र जोखिमपूर्ण भविष्यकथन गर्ने अर्वेलले आजभन्दा ८० वर्षअघि नै भन्दिए, ‘अब स्वतन्त्र व्यक्ति संसारबाट नष्ट गरिनेछन् ।’

यद्यपि पूर्ण रूपले स्वतन्त्र व्यक्तिको कल्पना मात्र पनि सायद आजको संसारका लागि दुर्लभ कुरा हो । स्वतन्त्रताको सापेक्ष अर्थ विचारहीनता निश्चय पनि होइन । यसको अर्थ विचारमा शासकीय सत्ता–निरपेक्षता होला । निर्भीक र कुनै पनि प्रभाववृत्तभन्दा बाहिरको सहज अभिव्यक्तिका परिवेशको कुरा होला ।

आजको समाज पु“जीवादको चरममा छ । अहिले विवेक मानौं बजारमा किन्न पाइने चीज हो । त्यसको क्रयमूल्य छ । निश्चित रकम वा दस्तुर तिरेपछि त्यो खरिद–बिक्री हुन्छ । यसै पनि विचारवान हुनु, सोच्नु र तथ्यलाई हत्केलामा राखेर नाङ्गा आँखाले परीक्षण गर्नु झन्झटिलो मात्रै होइन, एउटा जीवनको सारा फुर्सद चाहिने महँगो काम हो ।

कसलाई फुर्सद ? यो त ‘केही काम नपाएर’ वा अर्थोपार्जनको भ्याई–नभ्याईबाट टाढै बस्ने धैर्य हुनेहरूले गर्ने कुरा हो । असीम पँजीको कल्पनाले पुरिएर एक बारको जुनी धन्य गर्ने उद्योगले घेरिएपछि मानिसलाई आफ्नै विचारको परीक्षण गर्ने फुर्सद कहाँ मिल्छ ? पैसा र सुख–सुविधाका लागि जसो गर्न पनि तयार हुने समय हो यो । ‘जाबो’ तीन पाउन्डको रेडिमेड गिदीलाई दाउमा राख्नु कुन ठूलो कुरा हो र ? यस्तो बेला मेरो विचार बिक्रीमा छैन भन्नु मात्रै पनि एउटा ठूलो प्रतिरोध हो ।

सिंगो एक वर्ष विचारको घना संक्रमणमा बिताएपछि अचानक एक दिन मलाई आभास भयो, मैले यस्ता धेरै वर्ष संक्रमणमै बिताएकी रहिछु । फरक यत्ति हो, ती संक्रमणको पहिचान गर्ने सामथ्र्य मसित थिएन । अथवा भए पनि मभित्र त्यो सामथ्र्य छ भन्ने कुरो मलाई थाहै थिएन । यति थाहा पाउन्जेल मेरो निधार असंख्यपल्ट सत्यजस्ता भ्रम र भ्रमजस्ता सत्यले ठडिएका अ“ध्यारा भित्ताहरूमा ठोक्किएर रक्ताम्य बनेको रहेछ ।

बुझेर ल्याउँदा संक्रमण आजीवन चलिरहने प्रक्रिया रहेछ । एउटा गतिशील मानिस हरक्षण विचारको संक्रमणमा हुँदो रहेछ । यो आध्यात्मिक कम र समाज–राजनीतिक परिघटना ज्यादा हो । यो व्यक्ति ‘राजनीति सचेत’ हुनुको सुख र दुःख दुवै हो । समयरेखामा उभिएर अगाडि र पछाडि हेर्दा म आफूजस्तै धेरै मानिसको पंक्ति देख्छु । ती मानिस जसलाई अहिलेका दृश्यले औडाहा छुटाउ“छन् । तर भविष्यमाथि असंख्य ऊर्जा र आशा तिनैसित छ । तिनीहरू भयंकर असन्तोषी त छन्, तर आफ्नो स्वाधीन विवेक बेच्न तयार छैनन् ।

मुखामुख संवाद
जर्ज अर्वेलले भनेको वाक्य सही साबित नभएको भए हामी धेरै सन्तोषी मान्छे हुँदा हौं । सन्तोषी हुनुमा गतिरोध छ । त्यहाँ प्रश्न हुन्नन्, केवल मौन तृप्ति हुन्छन् । शालीन चुपहरू हुन्छन् । त्यसो हुँदा हामी बडो ‘भद्र’ देखिँदा हौं । धेरैका प्रिय हुँदा हौं । बोलेर ‘छुच्चो’ बनिने स्थिति नै नआउँदो हो । तर कोही छुच्चो नबनी दुनिया“ बदलिन्छ ? कसैले जोखिम नमोली मान्छेका अघिल्तिर बनिबनाउ सुख हाजिर हुन्छ ? आजसम्मको इतिहासमा कुनै मौनले सत्यका पत्रहरू खोलेको तथ्य छ ?

कुनै पनि गौरवमय इतिहास गतिहीन वर्तमानले अनुचित ब्याज खाने सा“वा होइन । इतिहास गतिशील वर्तमानको ‘ब्याक अप’ हो । यो अनुभवको कुञ्जी हो । दिशानिर्देशक हो । त्यसले देखाएका बाटा अख्तियार गरेर वर आइसकेपछि फेरि पछिल्तिर फर्कने काम इतिहासमाथिको धोका हो ।

इतिहास प्रतीक र ट्याग मात्रै हो र त्यसको ‘लेबल’ लगाएर हिँडेपछि जस्तासुकै अपराध पनि क्षम्य हुन्छन् भन्ने भ्रमले केही मानिस मदोन्मत्त साँढेजसरी हुंकार गर्दै छन् । समावेशी लोकतन्त्र र समाजवादको आवरणभित्र तिनले बुनिरहेको मायावी इन्द्रजाल एउटा चटके खेला मात्रै हो भन्ने कुरा शक्ति र उन्मादको प्रभावबाहिर बस्ने जोकसैले सजिलै बुझ्छ । तर ती मानिसलाई यसै गरी बेवकुफ बनाइरहन सकिन्छ भनेर लागिरहेकै छन् ।

इतिहासमाथि धोका दिने उद्यम गर्नेलाई इतिहासप्रति गर्व गर्ने र त्यसको ‘लिगेसी’ दाबी गरिरहने अधिकार रहन्छ कि रहन्न ? यो प्रश्नको सामना नगरी आजका छलफल बढ्न सम्भव छैन । चाहे कुनै राजनीतिक दलमाथि प्रतिबन्धको विषय होस्, चाहे महिला र उत्पीडितहरूमाथि प्रकट अनुदारताको मुद्दा होस्, यो व्यवस्थालाई सबैको साझा र अपनत्व सहितको बनाउने कुरामा देखिएको चरम निरुत्साही प्रवृत्ति विचारको भयावह ‘बुम¥याङ’ हो । यसले ती केही मानिसलाई मात्रै सिध्याउँदैन, लोकतन्त्रको समेत प्राण हरेर लिन्छ । जुन लोकतन्त्र (प्लस गणतन्त्र) का लागि यति ठूलो उत्सर्ग भएको छ, त्यसको मर्म नै मारिसकेपछि यहा“ कोही जिउ“दो रहला र ?

हरेक वर्तमान इतिहासको नयाँ परीक्षण हो । आजकै कुरा गरौं । मुक्त समाजको यात्रा थालेर यहाँसम्म आइपुग्दा हामीले सबैभन्दा धेरै उच्चारण गरेको शब्द हो, संवाद । पारदर्शी, बिना छक्कापञ्जाको, सहज र सहिष्णु संवाद । हामी यस्तो संवादका लागि तयार भए मात्रै हामीले हिँडेर आएको बाटोमाथि न्याय हुने हो । अन्यथा हाम्रो यात्रा पश्चगमन नै हुन्छ । जहाँ निर्भय विचार विनिमयको बाटो छेकिन्छ, जहाँ बाहुबल र सत्ताभक्ति आम संस्कृति बन्छ, जहा“ दिमागदेखि आचरणसम्म विवेकमाथि पैसा र शक्तिको छाया हावी हुन्छ, त्यहा“ संवाद जहिल्यै संकटमा पर्छ । पछिल्लो समय हाम्रा थाप्लामाथि रिंगिरहेको सबैभन्दा ठूलो संकट यही हो ।

समानान्तर
विचारको ‘ओभरडोज’ले निदाएर पूरापूर ‘हाइबर्नेट’ भई बितेका धेरै दिन र रातपछि मेरो विवेकले झकझक्याएर भन्यो, यो उकुच परेको समयको सामना गर्न आखिर विचारको हस्तक्षेप नै चाहिन्छ । निरन्तर संवादको प्रस्ताव प्रायः शासकले गर्दैनन् । पारदर्शी छलफलको चिन्ता शासनको वरिपरि रिंगेर अनुचित लाभांशमा तर मार्ने अनुचरवृत्तले पनि गर्दैन । कथम् यसो भइहालेमा कवि, लेखक, आलोचकहरूले फूल, पात र चराहरूका आख्यान लेख्ने फुर्सद पाउ“दा हुन् । त्यसैले पनि हरेक भ्रष्ट र अनुदार सत्ता लेखकहरूलाई बेफुर्सदी बनाउने एउटा एजेन्ट बन्न पुग्छ ।

मेरो अनुभव छ, विचार व्यक्ति आफैंभित्र पनि जति खाँदिन्छन्, त्यति विस्फोटक बन्छन् । विस्फोटन स्वभावैले अनियन्त्रित र भयंकर हुन्छ । यसको प्रभाव गहिरो हुन्छ र यसबाट सिर्जित दुःख पनि गहिरै हुन्छन् । त्यसै कारण विचारमाथिको बाहिरी निषेध र पर्खालजत्तिकै भयानक कुरा हो, हामी आफैंभित्रको मौनता । यो मौनता तोड्न सबैभन्दा पहिले हामी आफैंले आफूसित संवाद गर्नुपर्ने रहेछ । आत्मसंवाद बाहिरी दुनिया“सितको संवादको ‘रिहर्सल’ पनि रहेछ ।

प्रत्येक वस्तुको ‘प्राइस ट्याग’ लागेको यो जुगमा विचारमात्रै अछुतो रहने कुरै भएन । तर सही मानेमा विचारकोमूल्य सत्यको सामना र साक्षात्कार गर्ने आँट नै हो । त्यसको प्रतिफल व्यक्तिले भन्दा समाजको बृहत्तर हिस्साले पाउँछ । सत्यको सामना गर्ने जोखिम अरु कुनै व्यक्तिलाई भन्दालेखकलाई ज्यादा छ । हरेक अनुदार व्यवस्थामा लेखेकै निहुँमा, बोलेकै कारण लेखकले मृत्युसम्म बेहोर्नुपर्ने नियति हामीले देखे–सुनेकै छौं । तर लेखक हुँ भन्ने मान्छेलाई सत्यसित पीठ फर्काउने सुविधा छैन ।

लेख्नु र बोल्नु जब एउटा खास काम बन्छ, त्यसको पनि शुद्धता जाँच हुन्छ । लेख्नुलाई एउटा जरुरी कार्यभार ठहर गरेपछि झुठको कुनै पनि गुन्जाइस असम्भव छ । बोल्नुको जोखिम देख्दा नबोलीकन, छुच्चो नभइकन ‘सुखी र भद्र’ जीवन बाँच्ने सजिला तरिका पनि नदेखिने होइनन् । तर ती सुखी र भद्र लेखकहरूलाई पनि असंख्य दुःख र तनाव छन् । तिनलाई कसैले दागा धर्दैनन्, कसैले चुनौती दिन्नन् । तर पनि ती घनघोर दुःखमा छन् । तिनका दुःख के होलान् ?

सतहमा धेरै बहस छन् । सतहभित्र भूमिगत बहसका अनेक ‘रिहर्सल’ र आत्मसंवाद छन् । तिनको निकास भएन भने एउटा विस्फोटको अप्रिय आँधी आउनेछ । त्यसले आजका शासकीय अहंकारलाई मात्रै होइन, इतिहासका उपलब्धिलाई पनि सँगसँगै बढारेर लैजाने सम्भावना डरलाग्दो छ । उदार संवाद र अरुलाई सुन्ने धैर्यको सख्त अभावमा अतितका हरेक सत्ताजस्तै आजको सत्ता पनि आफ्नै कारणले धराशायी हुन्छ, हुन्छ ।

सामाजिक सञ्जालमाथि समेत नियन्त्रण गर्ने ‘थ्रेट’ भैसकेको, सहिष्णु संवादको चरम अभाव खट्किएको यो बेला तानाशाही र स्वतन्त्रताको छनोटको दायित्व सत्ताधारी वर्गसित मात्रै होइन, आम मानिससित पनि छ । हामी केको पक्षमा छौं ? अब हरेक जनसामान्यले आफ्नो पक्ष छनोट गर्नैपर्छ । हामीले आफ्नो स्वतन्त्र विवेकको उपयोग गर्नैपर्छ । सत्तापूजा र अपेक्षाहरूको र्‌याल, सिंगानमा घाँटीसम्म डुबेका अनुचरहरूको भीडबीच आत्मप्रशंसाले मुग्ध सत्तासित समानान्तर रेखामा निर्भय उभिएर हामीले सामना गर्नुपर्ने चुनौती धेरै छन् ।

ट्वीटर : @saritatiwati36

प्रकाशित : चैत्र ५, २०७५ ०९:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT