कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

सफा टालोको सर्वसुलभता

सम्पादकीय

काठमाडौँ — रजस्वला जस्तो नियमित स्वाभाविक प्राकृतिक प्रक्रियाबारे पनि अझै नेपाली समाजमा कुरीति जारी छ । सुदूर र मध्यपश्चिमी पहाडी गाउँमा छाउपडी हटिसकेको छैन । राजधानीदेखि सहर बजारहरूसम्म समेत परिवार–परिवारमा संकोचजन्य व्यवहार र छोइछिटोजस्ता रूढि समाजका छायाले पछ्याइरहेका छन् ।

सफा टालोको सर्वसुलभता

यसकै निहुँमा महिला उत्पीडन कायम छ । यसका विरुद्ध राज्यका अंग तथा सामाजिक समूहहरूले आवश्यक स्वास्थ्य चेतना अभियान सञ्चालन गर्न धेरै बाँकी छ ।


सफा र स्वस्थ सुतीका टालाको प्रयोगबारे जनचेतना व्यापक छैन । आजभोलि सहर बजारतिर प्रचलन बढेको सेनेटरी प्याड सर्वसुलभ छैन । एकपल्ट प्रयोग गरी फाल्ने यस्ता प्याडको अनिवार्यताबारे अभियान जरुरी भइसकेको छ । गाउँ/देहातका महिलाले पुराना, फोहोर कपडा च्यातेर प्याडका रूपमा प्रयोग गर्दा पाठेघरको संक्रमण बढेका चिकित्सकहरू अनुभव गर्छन् । तराईका गाउँ/देहाततिर स्वास्थ्य शिविर चलाउने चिकित्सकहरूले प्रत्यक्ष यो समस्या सामना गर्ने गरेका छन् । गाउँ/देहातका कैयौं परिवारमा घरैपिच्छे १/२ जना महिला पाठेघरको संक्रमणबाट पीडित भएको समेत पाइएको छ ।


फोहोर कपडाका टुक्राको प्रयोगले पाठेघरको संक्रमण हुने र त्यसले तल्लो पेट दुख्ने, कम्मर दुख्ने, सेतो पानी जाने, बच्चा नबस्ने, जीउ दुख्ने जस्ता समस्या निम्त्याउने गरेको छ । घरमा सेनेटरी प्याड किनेर राख्ने बानी बसिसकेको छैन । रजस्वला हुनासाथ नचुहियोस् र कपडा नभिजोस् भनी हत्तपत्त पुराना कपडा च्यात्ने र टुक्रा प्रयोग गर्ने प्रचलन छ । यसले स्वास्थ्यलाई पार्ने असरबारे समाज/घरपरिवारमा खुलेर छलफल गर्ने संस्कार बसेको छैन ।


प्रजनन स्वास्थ्यसित सोझै सम्बन्धित भएर पनि यसप्रति आवश्यक प्राथमिकता अभाव राज्य र समाजका लागि चुनौती हो । स–साना व्यावहारिक उपायहरू पनि अभियानका रूपमा सञ्चालन हुन सकेका छैनन् । जस्तो, विद्यालय र सामुदायिक स्वास्थ्य चौकीहरूमार्फत सेनेटरी प्याड उपलब्ध गराएर महिला स्वास्थ्य सुरक्षित गर्नु हाम्रो कर्तव्य र दायित्व दुवै हो भन्ने ख्याल गरिएको छैन । आज पनि हाम्रा विद्यालयमा भर/अभर पर्दा किताब र कापीका पाना च्यात्नुपर्ने अवस्था छ भने त्यो छात्राहरूको होइन, विद्यालयकै लाजको विषय हो ।


सेनेटरी प्याडकै प्रयोगबारे सहर–बजारतिरै पनि आवश्यक चेतना पर्याप्त नरहेको चिकित्सकहरू औँल्याउँछन् । पछिल्लो पुस्ताका केटीहरूले सेनेटरी प्याडका रूपमा प्रयोग गर्ने ‘ट्याम्पुन’ निर्मलीकरण गरेको भए पनि भिजेपछि नफेरे त्यसले पनि संक्रमण गर्छ । रजस्वला हुँदा सतर्कता नअपनाए रगत नै संक्रमणको ‘कल्चर मिडिया’ भइदिन्छ । सेनेटरी भनेकै स्वस्थ/सफा र कीटाणुरहित हो । स्टेरियलाइज भएकाले यसले संक्रमण रोक्छ । पुराना, फोहोर कपडाका टुक्राको सट्टा साधारण भए पनि प्याड नै प्रयोग गर्नुपर्छ ।


हालै गण्डकी प्रदेशले एउटा सराहनीय पहल थालेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले लमजुङका एसईई परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्थाका लागि जिल्ला शिक्षा तथा समन्वय एकाइलाई २० हजार रुपैयाँ उपलब्ध गराएको छ । २ हजार ९ सय ९० परीक्षार्थीमध्ये १ हजार ६ सय १४ छात्रा छन् । प्रदेशको एसईई परीक्षामा स्याङ्जाबाट सबैभन्दा बढी २ हजार ७ सय ३२ छात्राले परीक्षा दिँदैछन्, जसका लागि ४० हजार रुपैयाँ दिइएको छ ।


यस्तो सकारात्मक अभियान एसईई परीक्षाका बेला मात्र नभई बाह्रैकाल, बाह्रै महिना गर्नुपर्ने र त्यसका लागि सबै प्रदेशले प्राथमिकता दिनु महिला स्वास्थ्यप्रति आवश्यक पहल हुनेछ । सर्वप्रथम यसका लागि विद्यालय र समुदाय केन्द्रित अभियानहरू आवश्यक छन् । सेनेटरी प्याडको सर्वसुलभता हरेक समाजको सभ्यताको अनिवार्य सर्त मानिनुपर्छ । हरेक समुदायमा स्थानीय रूपमै सेनेटरी प्याड बनाउने व्यवस्थाका लागि स्थानीय सरकारहरूले पहल गर्न सक्छन् जसका लागि प्रदेशहरूले सघाउने व्यवस्था गर्नुपर्छ । प्रदेशैभरि सहज उपलब्ध गराउन ठूलो संख्यामा उत्पादन व्यवस्थाले मूल्य कम गर्न सकिन्छ । महिला स्वास्थ्यका लागि बजेट कुनै पनि सरकारको कुनै प्रश्न हुनुहुँदैन ।

प्रकाशित : चैत्र ६, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?