ककरा हाथ कनक पिचकारी !

डेटलाइन तराई
चन्द्रकिशोर

काठमाडौँ — देहातमा संवादको एउटा सार्वजनिक मञ्च हुने गर्छ ‘दलान,’ जसलाई मधेसमा बैठका, बहरघरा पनि भन्ने गरिन्छ । यस्तो थलो जहाँ घर बाहिर छरछिमेक, आफन्त, इष्टमित्रहरूसँंग गफ गरिन्छ । यहाँ उठ्ने गफहरूमार्फत ती लोक आहान पनि सुन्न पाइन्छन्, जो अब लोप भइसकेको मानिएको छ ।

त्यसैगरी राजनीतिक विश्लेषणहरू पनि गजबले बुझ्न पाइन्छ । भुइँ सतहमा के कस्ता गुनासाका छालहरू उठ्दै गरेका छन्, तिनलाई पनि गम्न पाइन्छ । देहातमा हुने (फुनगी वर्ग) र नहुने (भुइयाँ वर्ग) बीचको दूरी बढदै जाँदा विस्तारै हुने वर्गको एउटा खुट्टा सहरमा छ, तर उसले गाउँलाई पनि पुरै छोडेको छैन । उता नहुने पनि कहाँ गाउँमै अल्झिएको छ ?

Citizen

दलान संवादमा सुनियो, ‘दुर–दुर केहन छै सरकार, अपने बैसल मोज करै छै, लोक करै हाहाकार, दुर–दुर केहन छै सरकार ।’ अर्काले सुनाए, ‘पीसै अछि हमरा जमिनदार, सोखै अछि हमरा सुदवला ।’ तुकबन्दीमा अभिव्यक्त यी पंक्तिहरूमा देहात सुसाएको भेटिन्छ । शक्तिशाली संघीय सरकारप्रतिको असन्तोष त झल्कियो नै, गाउँ–देहातमा विद्यमान शोषणको चक्रबारे पनि दुखेसो पोखियो । देहातमा अन्यायका बहुआयामिक अभ्यास ज्युँदैछन् ।

देहातमा गुम्सिएको असहजतालाई व्यवस्थापन गर्न अझै कति कुर्नुपर्ने हो भन्ने सवाल टड्कारो रूपमा देखिएको छ । भुइयाँ र फुनगी बीचको अन्तरलाई सार्थक संघीयताको अभ्यासले मात्र कम गर्नसक्ने हो । संघीय सरकारले नेपालमा संघीयता प्रशासनिक सहजताका लागि नभएर आन्तरिक उपनिवेशवादको अन्त्यका लागि आवश्यक मानिएको हो भन्ने बुझ्न भने सकेको छैन ।

पर्वहरूले प्राणवायुको काम गर्छन् । पर्वहरू सम्बन्धित समाजको संस्कृतिलाई चियाउन आँखीझ्याल भई उपस्थित हुने गर्छन् । जीवनमा समरसता, सरसता र सौन्दर्यका सांस्कृतिक सचेतना बढाउनमा यिनले सघाउ पुर्‍याउँछन् । मधेसको लोकसंस्कृति अत्यन्त समृद्ध छ । अहिलेको मधेसी पहिचानभित्र कतिपय प्राचीन संस्कृतिहरूको संगम नियाल्न सकिन्छ । फागु त लोकपर्वै हो । गाउँहरूमा माघ शुक्ल पञ्चमीदेखि नै होली (फगुवा) गाउन सुरु भइहाल्छ ।

होली जहाँ एउटा खास दिन उत्सवका रूपमा मनाइन्छ, त्यहीँ यसको गायन महिनौँ चल्ने गर्छ । दलान यस्तै सामूहिक गायनको एउटा थलो बन्ने गर्छ । यसमा हारमोनियम, ढोलक, झाल, डम्फु आदि बाजागाजा बजाएर फगुवा गाइन्छ । रङ्ग र अविरसंँग आपसमा प्रेम र सद्भाव अभिव्यक्त गरिन्छ नै, यसको मूल पक्षचाहिँ सामूहिक गायन हो, जहाँ विभिन्न पुस्ता एक ठाउँमा भेलाई भई गाउने गर्छन् । मधेसमा होली मनाइने अघिल्लो राति होलिका दहन गरिन्छ, जसलाई संवत् जलाउने पनि भनिन्छ ।

फागुनमा फागु गीतको धुन गुञ्जिन्छ भने चैतमा चैतीको । यस क्षेत्रका कर्णप्रिय फागु गीतले लोकजीवनलाई साहित्यको मुख्य धारासंँग जोड्ने गरेका छन् । लोकगीतको लोकसंगीतसँंग अभिन्न सम्बन्ध रहन्छ । प्रत्येक लोकगीतमा कुनै न कुनै वाद्यको सहायता लिनुपर्ने हुन्छ ।

वाद्ययन्त्र उपलब्ध नभएका बेला चुटकी बजाएर वा ताली दिएर संगीत उत्पन्न गरिन्छ । फागु गीतमा आशिर्वाद र शुभेच्छाको तत्त्व पनि मौजुद छ । दलान–दलान पुगी गाउँलेहरू आपसमा सुखको कामना साट्दै गाउँथे— ‘सदा आनन्द रहै यही द्वारै, मोहन खेलै फाग ।’ मधेसी संस्कृतिको यो तत्त्व गाउँबाट पनि टाढिँदै गएको छ । देहातले लोकसंस्कृतिबाट आफूलाई विस्तारै अछुतो राख्न थालेको छ ।

मंगल पर्वको आमन्त्रणमा होली गाई आफन्तहरू आपसमा आनन्दको प्रकटीकरण गर्छन् । अब त्यस्ता कुरा कथामै सीमित हुनथालेका छन् । पुराना पुस्ताले नयाँ पुस्तालाई पहिलाको फागु वा सघन मधेसी क्षेत्रमा पहाडी समुदायको बसोबास हुँदाखेरिको समावेशी होलीको बयान गर्छन् । अब त त्यसको ठाउँमा भोजपुरी र हिन्दीका सस्ता फागु गीत घन्किन्छन् । पारम्परिक होली गीतको आफ्नै स्वभाव थियो । त्यसमा यौवनको चर्चा थियो, कामको चर्चा थियो, तर मर्यादा पनि थियो । फागु आउँदै गर्दा किसानका घर–घरमा धनधान्य भित्रिसकेको हुन्छ ।

गहुँ पनि पाक्दै गर्दा किसानको बोझ हल्का भइसकेको हुन्छ । जाडोले विस्तारै विदा लिनथालेको हुन्छ । यस्तोमा फगुआ अर्थात मस्ती र बेफिक्री, उमंग र उल्लासको गीत ! यस्तोमा लोकबाजाहरूका साथ जब सामूहिक रूपमा होली गाइन्थ्यो, तब त्यसको आनन्दमा सबै मानिस विभोर हुन्थे । होली सुन्ने सबैलाई नयाँ जोश र उमंगले तरंगित गर्थ्यो । तर यतिखेरका चल्ती गीतमा तरुणाइको बखान गर्ने नाममा अत्यन्त हलुका र उत्तेजक गीत गुञ्जिन थालेका छन्, जसले होली गीतलाई भद्दा बनाइदिएका छन् ।

मधेसमा आज फागु मनाइँदैछ । मधेसमा यो पर्व पहाडी र मधेसी समुदाय गरी दुई दिन मनाइने गरिन्छ । यो होली प्रितीको पर्व हो, सौहार्द र सद्भावनाको पर्व हो । उत्साह र उमंगको पर्व हो । जुन पर्वको सम्झना मात्रले कण–कणमा बिजुलीको स्पन्दन हुन जान्छ, नसा–नसामा लालसाको लहर फैलिन जान्छ, मन–प्राणमा भावहरूको सम्मोहक इन्द्रेणी स्पर्श गर्न थाल्छ, त्यो पर्व नै होली ।

मोजमस्ती, रंगिनी र अलमस्तीको अत्यन्त सुन्दर सम्झना हो– होली । जनजनलाई जोडने र वर्षभरिका कटुतालाई बिर्साउने तथा आफन्तलाई अंँगालोबद्ध गराउने पर्व हो– होली । होलीका दिन गाउँका सबै मानिस ग्रामदेवताको परिसरमा उपस्थित भई त्यहाँ सबैभन्दा पहिला अविर अर्पण गर्थे, होली गाउँदै त्यहीँबाट फागु पर्वको उल्लासपूर्ण सुरुवात गर्थे र गाउँभरि धनी–गरिब सबैका घरदैलोमा पुग्थे ।

यतिखेर विस्तारै ती परम्पराहरू मेटिँदैछन् । सम्पूर्ण समाजलाई जोडने, एक ठाउँमा ल्याउने जुन प्रक्रिया थियो, त्यसमा विराम लाग्दै गएको छ । यसले गर्दा फागु पर्वको मूल मर्ममाथि प्रहार गर्दै गएको छ । अब त जाति र पार्टी आधारित पर्व मनाउने काम हुनथालेको छ । सामुदायिक सम्वादको त्यो पुरानो माध्यम हराउन पो थाल्यो !

फागुसंँग जोडिएका पुराना तर असल परम्पराहरू हराउँदै जानु भनेको दुःखान्त अवस्था हो । यस्तो किन भयो त ? यतिखेर गाउँ–देहातमा चल्ने गफहरूको मूल विषय के हुन्छ ? मौसमले तात्दै गरेको मधेसमा ज्ञानेन्द्र शाह पगडण्डीहरू नाप्दै पूजाअर्चनामार्फत शक्ति साधनामा देखिए । उता मधेसलाई आधार बनाएको पृथकतावादी आन्दोलनको आरोह–अवरोह र हिंसाको राजनीतिमा लागेका चन्द समूहमाथिको सरकारी प्रतिबन्धले विशेष चर्चा पाएको छ ।

देहातमा जेजति दलान बाँचेका छन्, त्यहाँ यदि गफ हुन्छ भने यिनै राजनीतिका बहुआयामिक पक्षहरूबारे, तर कहीँ कतै मधेसमा हुँदै गरेको सांस्कृतिक विचलनबारे मन्थन हुँदैन । पछिल्ला वर्षहरूमा विभिन्न संगठनमार्फत फागुको अवसरमा साहित्यिक कार्यक्रम, मिलन समारोह जस्ता कार्यत्रमहरूको आयतन फराकिलो हुँदै गरे पनि परम्परामाथि जुन पूर्णविराम लाग्दै गरेको छ, त्यसले निम्त्याएको शून्यताबारे कहीँ कतै संवेदनशीलता भेटिँदैन । लाग्छ— देहातमा अनौठो के हो र स्वाभाविक के हो, छुट्याउने गाह्रो पर्दै गएको छ ।

के फागु पर्वका मूल तत्त्वहरू ओझेल पर्दै जानुको कारण गाउँहरू रित्तिँदै जानु हो ? मधेसका गाउँ ठूलो संख्यामा कुरुवाघरको रूपमा विकसित हुँदै गएका छन् । विगतमा रोजगारी वा द्वन्द्वका कारण गाउँलेहरूको पलायन भयो, त्यसमा जातीय संगठन र दलहरूको दाउपेचले गर्दा गाउँहरू विभाजित भए । कृषि माथिको निर्भरतामा आउँदै गरेको ह्रासले पनि यो परम्पराहरूलाई बिर्साउँदै लग्यो । बरु पर्वलाई बजारले कब्जा गरेको छ । फागु रङ्गको पर्व पनि हो ।

सामाजिक विविधतालाई बहुरङ्गले प्रस्ट्याउँथ्यो । रङ्ग पिचकारीमार्फत हालिन्छ । त्यस अर्थमा एउटा कनक पिचकारी दलाल पुँजीवादीहरूको हातमा पुगेको छ । राजनीतिको सोझो सम्बन्ध भ्रष्टाचार र संरक्षणवादसंँग जोडिएको छ ।
सीके राउतसंँग गरिएको राजनीतिक सहमति नाटकीय थियो । यसको सही कसी कार्यान्वयन मात्र हुनसक्छ । दमित चाहनाहरूलाई सहानुभूतिपूर्वक सम्बोधन गर्ने हो भने मधेसमा विद्यमान तरलतालाई सही ठाउँमा ल्याउन सकिन्छ ।

‘सरकारको ब्रेक फेल भो’ भनेर रोइ–कराइ सुरु हुनुअघि नै प्रधानमन्त्री ओली आत्तिने होइन, सच्चिने उपक्रम उपयुक्त हुन्छ । भुइँ सतहमा चिन्ता छ, चन्दलाई बल प्रयोग गरेर व्यवस्थापन गर्ने निहुँमा कतै सैनिक मुख्यालय सुस्तरी प्रधानमन्त्री सचिवालयमाथि हावी नहोओस् । संघीय सरकारका यतिन्जेलका यावत कामकुरा यथास्थितिकै जोगाउने खालका छन् । परिवर्तनको हावाले राज्ययन्त्रको कुनै संरचनालाई लेसमात्र पनि छोएको छैन ।

उता अतिवादी नारा लिएर हिँडेकाहरू नागरिक सशक्तीकरणका काम खुद्रामसिना गर्ने र गफैमात्रै ठूला गर्नेहरूसंँग भुइँ मान्छेहरू हुनसम्म आजित भएका छन् । कुनै पनि प्रकारको अतिवाद व्यवस्थापनलाई विधिद्वारा शासन (रुल बाइ ल) को बाटोबाट होइन, विधिको शासन (रुल अफ ल) मार्फत खोजिनुपर्ने हो । लोकतान्त्रिक व्यवस्थाको प्राथमिक सर्त पनि यही हो ।

फागु पर्व संवाद र आत्मीयताको पर्व हो । एउटा कनकपिचकारी अहिले संघीय सरकारको हातमा छ । ओली–सत्तालाईभने आफ्नो औचित्य र निरन्तरता बाहेक अरु कुनैकुराको चिन्ता छैन ।

ट्विटर : @kishore_chandra

प्रकाशित : चैत्र ७, २०७५ ०८:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छाउपडी उन्मूलन मुख्य कार्यसूची

साधना प्रतीक्षा

काठमाडौँ — गत माघमा डोटीको पूर्वीचौकी गाउँपालिका–५ की २१ वर्षीया पार्वती बोगटीको छाउ बार्दा निसासिएर मृत्यु भयो । उनकी जेठानीले उनी छाउगोठमा नबसी घरभित्र सुतेकी हुनाले देउता रिसाएर त्यस्तो हुनगएको शङ्का गरिन् । सामूहिक छाउगोठमा अन्य तीनजना थपिएपछि चौथो दिनकी पार्वती भोलिपल्ट चोखिने खुसीका साथ घरको साँघुरो कोठामा झ्यालढोका थुनेर आगो बालेर सुतेकी हुनाले निसासिएर उनको ज्यान गयो ।

केही समयअघि पनि छाउगोठमा निसासिएर आमा र छोराको मृत्यु भएको घटना बाहिर आएको थियो । सुत्केरी महिला पनि छाउपडीको लामो कष्टकर समय बिताउन बाध्य हुने गर्छन्, जसको नकारात्मक असर नवजात शिशुमा समेत पर्ने गर्छ । यस्ता धेरै महिलाले छाउ बार्दा ज्यान गुमाउनुपरेका कहालीलाग्दो यथार्थको साक्षी बनिराखेका छौँ हामी ।

छाउपडी जस्तो कुप्रथा र अमानवीय प्रचलन विरुद्ध समय–समयमा आवाज उठिरहन्छ, विरोधका विभिन्न कार्यक्रम गरिन्छन् । कतिपय ठाउँमा त छाउघर भत्काउने अभियान पनि चलाइयो । महिलाहरू छाउपडीमुक्त हुन सकेनन्, बरु ओढार तथा तिनै भत्काइएका घर–गोठ बारबेर गरेर बस्न बाध्य भए । अछाम, बझाङ, बाजुरा, डोटी, बैतडी आदि जिल्लाका ग्रामीण महिलाहरू छाउको पीडाले बढी आक्रान्त देखिन्छन् ।

छाउपडी पितृसत्तात्मक सामाजिक संरचनाभित्र जैविकीय आधारमा महिलामाथि हुने सांस्कृतिक उत्पीडन हो । त्यसैले यसको अन्त्य हुनुपर्ने माग सर्वत्र भैरहेको छ । हालै संसदमा महिला सांसदहरूले पनि यसको अन्त्यका लागि आवाज उठाएका छन् । यो अत्यन्त सकारात्मक पक्ष हो ।

यति हुँदाहुँदै पनि समस्या जस्ताको त्यस्तै रहेको देखिन्छ । अब यस्तो समस्याको जरासम्म पुगेर त्यसको निराकरणका उपाय खोजिनुपर्ने हुन्छ । समाज विकासको क्रमसँगै आरम्भ भएको सामाजिक तथा पारिवारिक जीवनपश्चात् महिलाको रजस्वलाजस्तो प्राकृतिक गुणलाई अछूत अवस्था मान्दै भिन्नै बस्नुपर्ने नियम बनाइनुका पछाडि विविध कारण हुनसक्छन् ।

सामान्यतया त्यतिबेला मासिक स्रावको उचित व्यवस्थापनका सहज साधन तथा ज्ञानको कमी एकातिर हुनसक्छ, अर्कातिर चेतना र शिक्षाको अभावका कारण पितृसत्तात्मक सोचले त्यसलाई पापको संज्ञा दिएर त्यसैका आधारमा महिलालाई दमन गरिएको पनि हुनसक्छ ।

यस्तो अवस्थामा महिला कमजोर हुने, उनीहरूलाई आराम, पौष्टिक आहार तथा सरसफाइको आवश्यकता पर्नुका साथै विवाहित महिलाले पुरुष संसर्ग गर्नु उफुक्त नहुने, संत्रमणको जोखिम बढी हुनाले पनि अलग्गै बस्ने प्रचलन बन्यो होला । यस्तै सकारात्मक पक्षले कालान्तरमा अपभ्रंसित भएर छाउगोठमा बस्ने, दूध–घिउजस्तो पोसिलो खाना नदिने, सरसफाइमा ध्यान नदिने, घरेलु काम गर्न वर्जित हुँदा बाहिरको भारी काम गर्नुपर्ने हुन थाल्यो ।

यस्तो अस्वस्थकर महिनावारीका कारण महिलाहरू संक्रमितसमेत हुने गरेको पाइन्छ । छाउपडी महिलाका लागि शारीरिकमात्र नभएर मानसिक उत्पीडन पनि बनिरहेको छ । यसबाट मुक्तिका लागि सम्बन्धित सरकारी निकायबाट नै प्राथमिकताका क्षेत्र पहिचान गरी पहल थालिनुपर्छ ।

जनचेतनामूलक कार्यक्रम
शिक्षित तथा चेतनशील परिवार र समाजमा केही वर्जना भए पनि महिला तथा किशोरीहरू छाउबाट पीडित देखिँदैनन् । जहाँ चेतनाको अभाव हुन्छ, त्यहीँ अनेकथरी अन्धविश्वास झाङ्गिने गर्छ । त्यसैले छाउपडीको प्रभाव भएका ग्रामीण क्षेत्रहरूमा सरकारको स्थानीय तथा केन्द्रीय स्तरबाट नै प्रभावकारी जनचेतनामूलक कार्यक्रमहरू निरन्तर रूपमा प्रवाहित गरिनुपर्छ ।

रजस्वला पापको परिणति नभएर नियमित शारीरिक प्रक्रिया भएको हुनाले यस्तो अवस्थामा महिलाप्रति गरिनुपर्ने सकारात्मक व्यवहार, परम्परागत छाउपडीबाट महिला, किशोरी तथा शिशुहरूमा पर्नगएको नकारात्मक असरबारे जनचेतनाको आवश्यकता देखिएको छ । यसका लागि छाउपडी प्रभावित क्षेत्रकै पण्डित वा धार्मिक अगुवाहरू, धामी–झाँक्री, स्वास्थ्यकर्मी तथा शिक्षक वर्गलाई आवश्यक अभिमुखीकरणका साथ स्वस्फुर्त रूपमा परिचालन गर्नसकेमा जनचेतनामूलक कार्यक्रम अझै प्रभावकारी बन्न सक्छ ।

महिनावारीको सहज व्यवस्थापन कार्यक्रम
घरपरिवारदेखि टाढा छाउगोठमा बस्नुपर्ने कारण महिनावारीको स्राव व्यवस्थापनबारे अज्ञान तथा त्यसका लागि आवश्यक स्रोत–साधनको अभाव पनि हो । महिनावारीमा प्रयोग गरिने कपडा तथा त्यसको उचित सरसफाइको व्यवस्था हुन नसक्दाको परिस्थितिले पनि महिलालाई अलग्गै बस्नुपर्ने बाध्यता देखिएको हो ।

सहरी क्षेत्रमा आर्थिक क्षमता अनुसारका स्यानेटरी प्याडको प्रयोग हुने हुँदा महिनावारी भएका र नभएका महिलाबीच भिन्नता देखिँदैन । ग्रामीण, विपन्न अझ सुदूरको गरिबीमा भने त्यो सम्भव देखिँदैन । ती क्षेत्रहरूको पहिचान गरी सरकारी स्तरबाट सुपथ मूल्यका स्यानेटरी प्याड वितरण गरिनुका साथै त्यसको प्रयोग र प्रयोगपश्चात् विसर्जन गर्ने तरिका पनि सिकाइनुपर्छ ।

यसो भयो भने महिनावारीको स्राव लुकाउनकै लागि एकान्त बस्नुपर्ने प्रचलनमा क्रमशः कमी आउनेछ र महिलाहरू यस अवस्थामा पनि स्वाभाविक जीवनयापन गर्न सक्नेछन् । किशोरीहरू विद्यालय छाड्न बाध्य हुने छैनन् ।
सुविधायुक्त छाउघर निर्माण
इतिहासमा कहीँ पनि परिवर्तन एकाएक भएको पाइँदैन । परिवर्तनको प्रयासले केही समय लिन्छ नै । समाजभिक्र हुने सामाजिक अन्तरत्रियाका माध्यमबाट क्रमशः हुने परिवर्तन स्थायी हुने गर्छ भने परिवर्तनका नाममा चालिएका क्रान्तिकारी कदमहरू क्षणिकमात्र पनि बन्न सक्छन् ।

व्यक्ति–मनोविज्ञान तथा समाज मनोविज्ञानको सम्बोधन नगरी स्थायी परिवर्तन सम्भव हुँदैन । त्यसैले जबसम्म जनमानसमा छाउपडी महिलामाथिको उत्पीडनमात्र नभएर अमानवीय व्यवहार पनि हो भन्ने मान्यता स्थापित गराउन सकिँदैन, तबसम्मका लागि महिलाको सहज जीवनयापन, अझ जीवनरक्षाका लागि पनि सुधारिएका छाउघर निर्माण गरिनुपर्छ । हाल ती क्षेत्रहरूमा छाउगोठ घरदेखि टाढा, साँघुरा, फोहोर, घाम तथा हावा नछिर्ने हुनाका साथै आवश्यक कपडा प्रयोग नगर्ने गरिएको देखिन्छ ।

जनचेतनामूलक कार्यक्रमले छाउपडी उन्मूलन गरिहाल्न नसकिएको अवस्थामा सकेसम्म घरभिक्रै निश्चित स्थानमा र नसके घरसँगै सुविधायुत्त छाउघर बनाउन प्रेरित गरिनुपर्छ । सर्प, विषालु किरा आदिबाट सुरक्षित तथा ओढ्ने–ओछ्याउने न्याना कपडासहितको यस्तो बासस्थान हुने हो भने रजस्वला महिलाले हिउँदमा निसासिएर र वर्षामा सर्पले टोकेर मृत्युवरण गर्नु पर्दैन । साथै शिशुहरू पनि चिसोका कारण बिरामी हुने अवस्था रहने छैन ।

छाउपडी पीडित महिलाहरूका अभिव्यक्ति अनुसार, उनीहरू अघिल्लो पुस्ताको डरले मात्र यसलाई निरन्तरता दिँदै आएको र आगामी पुस्तामा यसको हस्तान्तरण नहोस् भन्ने चाहन्छन् । यसरी घरभित्रै वा घर नजिक रहँदा पनि कुनै अनिष्ट नभएपछि समाजमा व्याप्त अन्धविश्वास विस्तारै हट्दै जानेछ । विपन्न वर्गका लागि सरकारी अनुदानको व्यवस्था हुनुपर्छ ।

महिला सशक्तीकरण अभियान
जबसम्म महिला सबल र सचेत बन्न सक्दैनन्, तबसम्म उनीहरू आफूमाथि भएका अन्याय, विभेद अनि कुप्रथाको विरोध गर्न सक्दैनन् । त्यसैले छाउपडीले आक्रान्त क्षेत्रहरूको पहिचान गरेर सरकारी तथा सम्बन्धित गैरसरकारी निकायबाट महिला सशक्तीकरण अभियान चलाइनुपर्छ ।

शैक्षिक तथा आर्थिक रूपले महिलालाई सबल बनाउने हो भने उनीहरू आफूलाई चिन्छन्, आफ्नो समाज बुझ्छन्, अनि आफूमाथि भएका विभेद तथा उत्पीडनका विरुद्ध आवाज उठाउन सक्छन् । एउटी सबल महिला आफू छाउपडीको कष्टबाट उम्कने प्रयास गर्छे, अनि भावी पुस्तालाई पनि त्यसबाट मुक्त गराउँछे । महिलाको पारिवारिक तथा सामाजिक भूमिका र हैसियतले उसको प्रतिकार क्षमता निर्धारण गर्छ । त्यसैले छाउपडी उन्मूलनका लागि महिला सशक्तीकरणलाई पनि प्राथमिकतामा राखिनुपर्छ ।

छाउपडी महिलाको विकराल समस्या हो, किनभने एउटी महिला १३–१४ वर्षको उमेरदेखि रजस्वला भएर ४५–५० को उमेर बिताउँदा महिनामा चार दिनका दरले वर्षमा ४८ दिन र रजोनिवृत्तिसम्म सरदर १६५० दिन छाउगोठमा रहन बाध्य हुन्छन् । उनीहरूसँगै शिशुहरूले पनि दुई–तीन वर्षसम्म सरदर १४४ दिन सोही अवस्था झेल्न पुग्छन् । यसबाट महिला तथा शिशुको स्वास्थ्यमा पर्ने नकारात्मक असरको सहजै अनुमान लगाउन सकिन्छ ।

समाधान नभएको समस्या बिरलै होला । अतः छाउपडी समस्याको समाधानका लागि सम्बन्धित पक्षले यसलाई नारा–भाषण बनाएर कागजी योजनामा सीमित नराखी स्थलगत रूपमा कार्यक्रम लैजानुपर्छ । यससँग सम्बन्धित संघ–संस्थाहरू तारेहोटलमा सेमिनार गर्नेभन्दा सुदूरका गाउँ पुग्नुपर्छ । स्थानीय सरकारले छाउपडी उन्मूलनलाई आफ्नो मुख्य कार्यसूचीमा राख्नुपर्छ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT