कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिमा हास्यकलाकार

कृष्ण खनाल

काठमाडौँ — गत साता युक्रेनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा ४१ वर्षीय हास्यकलाकार भोलोदिमिर जेलेन्स्की ठूलो मतान्तरले विजयी भए । उनले ७३.२ प्रतिशत मत पाए । यो सामान्य मत थिएन । खुला प्रतिस्पर्धामा सामान्यतया त्यत्रो मतान्तर हुँदैन ।

राजनीतिमा हास्यकलाकार

यद्यपि पहिलो चरणको मतदानमा उनले पनि पूर्ण बहुमत पाएका थिएनन् । धेरै उम्मेदवारबीच मत बाँडिएको थियो । दोस्रो चरणमा बहालवाला राष्ट्रपति पेट्रो पोरोसेन्कोविरोधी सबै मत उनका पक्षमा एकत्रित भएको देखिन्छ । मतको अन्तरभन्दा पनि जुन पृष्ठभूमिमा जेलेन्स्की आएका छन्, त्यसले विश्वभर चर्चा पाएको छ ।


राजनीतिको दैनिकीबाट टाढा रहेका उनको यो विजय धेरै किसिमबाट नयाँ र ‘ननकन्भेन्सनल’ छ । जेलेन्स्कीको कार्यकाल कस्तो हुनेछ, अनुमान गर्न सजिलो छैन तर हास्यकलाकार पृष्ठभूमिका उनको यो विजय निकै सन्देशमूलक पाइन्छ ।


युक्रेनको यो चुनावलाई हेर्दा हिन्दी सिनेमा ‘नायक’ मा अनिल कपुरले एक दिनको मुख्यमन्त्रीका रूपमा खेलेको भूमिकाको सम्झना हुन्छ । चुनाव लड्नु पहिले जेलेन्स्की पनि टीभी सिरियल ‘सर्भेन्ट अफ द पिपुल’ का स्टार कलाकार रहेछन्, जसले युक्रेनी दर्शकमाझ अत्यधिक लोकप्रियता पाएको थियो । भिन्नता के हो भने, जेलेन्स्कीले टोलिभिजनका दृश्यलाई यथार्थ राजनीतिमा रूपान्तरण गरेका छन्, अनिल कपुरले गरेनन् ।


उनको पार्टीको नाम पनि ‘सर्भेन्ट अफ पिपुल’ नै छ, जुन नयाँ पार्टी हो, पहिलो प्रस्तुतिमै विजय पायो । उनको चुनाव अभियान पनि रोचक थियो । उनी भन्थे, ‘व्यावसायिक एवं शिष्ट मानिसलाई सत्तामा ल्याउनुपर्छ । राजनीतिको ताल–सुर बदल्नुपर्छ ।’ ताल–सुर बदल्ने कुराले नयाँ राजनीतिक प्रतिबिम्ब दिन्छ । चुनावी अभियानका बेला बहालवाल राष्ट्रपति पोरोसेन्कोलाई उनले ठाडै चुनौती दिएका थिए, उनीसँग बहस होइन, फैसला हुनेछ भनेर ।


युक्रेन प्रायः हाम्रो चर्चामा आउने मुलुक होइन । अन्तर्राष्ट्रिय राजनीतिको सामान्य विद्यार्थीका रूपमा बाहेक त्यहाँका बारे मलाई पनि खासै जानकारी छैन । यो सूचनाको युग हो, हातहातै जानकारी मिल्छ । सामान्य जानकारी राख्न र धारणा बनाउन त्यति कठिन हुँदैन । युक्रेनका केही सन्दर्भ नेपालसँग मिल्दाजुल्दा छन्, खास गरी भूराजनीतिक अवस्थिति । युक्रेनको उत्तर–पूर्वमा रूस छ, जसको प्रत्यक्ष प्रभाव र छायाबाट त्यो देश मुक्त छैन ।


पश्चिममा युरोपियन युनियनमा आबद्ध देशहरू छन् । अमेरिकालगायत सामूहिक प्रतिरक्षाको सैनिक गठबन्धन (नाटो) छ । आन्तरिक राजनीतिक उतारचढाव पनि छ । हाम्रो पनि दक्षिणमा ठूलो छिमेकी भारत छ, उसको प्रभाव र छायाबाट हामी पनि मुक्त छैनौं । उत्तरमा चीन छ । भारत–चीन कूटनीतिक प्रतिस्पर्धाको राजनीतिबाट हामी पनि प्रभावित छौं ।


हाम्रो राजनीति पनि तरल छ, कम्युनिस्ट वा कांग्रेसको सनातनी वैचारिक एवं बुझाइको नियन्त्रणमा छ । सधैं उनै दल, उनै मानिस राजनीतिमा सदाबहार छन् । चुनाव लड्ने उनै हुन् । मन्त्री, प्रधानमन्त्री जे भए पनि उनै हुने हुन् । चुनावका बेला हामी पनि यदाकदा तेस्रो विकल्पको कुरा गर्छौं तर परिणाम सधैं उनै सनातनी हातमा पुग्छ । त्यसैले केही सन्दर्भ जोडेर विमर्श गर्नु सामयिक लागेको छ ।


पूर्वी युरोपको अत्यन्त पुरानो सभ्यता बोकेको युक्रेन बेलाबखत युरोपमा हुने युद्ध र साम्राज्य विस्तारको चपेटामा पर्दै आएको छ । रूसमा बोल्सेभिक क्रान्तिपछि सोभियत संघ स्थापनाकै समयदेखि युक्रेन त्यसको एउटा घटक गणतन्त्र बनेको थियो । ख्रुस्चेभपछि सोभियत कम्युनिस्ट पार्टीका महासचिव बनेका लियोनिद ब्रेजनेभ युक्रेनकै थिए । सन् १९९१ मा सोभियत संघको विघटन भएपछि युक्रेन पुनः स्वतन्त्र राज्यका रूपमा रहँदै आएको छ ।


केही वर्षदेखि युक्रेन अन्तर्राष्ट्रिय राजनीतिको चर्चामा छ । यसको पूर्वी भूखण्ड क्रिमियालाई २०१४ देखि रूसले आफूमा गाभेको छ । रूसी समर्थक र सरकारबीचको द्वन्द्वमा राजधानी किभ र आसपासका क्षेत्रमा भएका विरोध प्रदर्शनमा १३ हजारभन्दा बढीको ज्यान गएको थियो । अहिले पनि सीमावर्ती केही भागमा रूसविरोधी स्वतन्त्रता आन्दोलन जारी छ ।


त्यहाँको राजनीति र राष्ट्रियताको विषय रूस र युरो–एटलान्टिक धुरीबीच पक्ष–विपक्षमा विभाजित छ । युक्रेनको अखण्डता, रूससँगको सम्बन्ध, भ्रष्टाचार चुनावका बेला चर्चित विषय थिए तर पनि जेलेन्स्कीले प्रतिस्पर्धी पोरोसेन्कोले जस्तो रूसविरोधी राष्ट्रवादलाई उचालेका थिएनन् । चुनावी प्रतिस्पर्धामा उनको अग्रतालाई रूसले नजिकबाट नियालिरहेको थियो, खासै प्रतिक्रिया जनाएको थिएन । उनको विजय रूसका लागि अनुकूल ठहरिन पनि सक्छ, नयाँ सुरुआतको प्रारम्भ हुन सक्छ ।


युक्रेन अहिले पश्चिमा देश र रूसको प्रत्यक्ष चपेटामा छ । उनलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग खेल्न सजिलो छैन । पूर्वी युरोपमा पुटिन साम्यवादबिनाको पुरानो सोभियत शैलीको रूसी शक्तिकेन्द्र पुनःस्थापनाका लागि प्रयत्नशील छन् । युक्रेनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदीय बहुमतको प्रधान भएको मिश्रित शासन प्रणाली छ । प्रमुख कार्यकारी अधिकार राष्ट्रपतिसँग भए पनि यसै वर्ष अक्टोबरमा हुने संसदीय चुनाव जेलेन्स्कीका लागि महत्त्वपूर्ण ठहरिनेछ ।


जेलेन्स्कीको यो विजयलाई धेरैले ‘अप्रत्याशित’ भनेर टिप्पणी गरेका छन् । यस्तै अप्रत्याशित विजय केही वर्षपहिले फ्रान्समा इमान्युएल माक्रौंले पनि हासिल गरेका थिए तर उनी राजनीतिमै थिए, मन्त्री भइसकेका थिए । संयुक्त राज्य अमेरिकाका ४० औं राष्ट्रपति रोनाल्ड रेगन पनि हलिउडका सिने कलाकार थिए । राष्ट्रपति बन्नुभन्दा पहिले क्यालिफोर्निया राज्यको गभर्नरमा निर्वाचित भएका थिए ।


भारतमा थुप्रै चर्चित सिने कलाकार सांसद बनेका छन् तर ती प्रायः स्थापित राजनीतिक दलबाटै टिपिएका छन् । आफ्नै पहल र नेतृत्वमा राजनीतिमा आएकामा तमिलनाडुका एमजी रामचन्द्रन, जयललिता र आन्ध्रप्रदेशका एनटी रामराव पर्छन् । उनीहरू नयाँ दलको निर्माणका साथै राज्यको राजनीतिमा प्रवेश गरे र मुख्यमन्त्रीसमेत भए । अहिले पनि उनीहरूले स्थापना गरेका दल त्यहाँको राजनीतिमा प्रमुख भूमिकामा छन् ।


सिनेमा र हास्यव्यंग्य कलाकारिताका यस्ता क्षेत्र हुन्, जहाँ राजनीतिमा भइरहेका विकृतिलाई मार्मिक प्रदर्शन गरिन्छ । त्यस्ता दृश्यहरूले दर्शकको भीड तान्छन् । कलाकारलाई पनि प्रत्यक्ष राजनीतिमा आकर्षित गर्छ । सबै कालाकारलाई राष्ट्रपति, प्रधानमन्त्री वा मुख्यमन्त्रीजस्तो पदमा निर्वाचित हुने अवसर भने मिल्दैन ।


राजनीतिको बाटो अलि भिन्न छ । शासन दर्शन, विकास र नीतिका मुद्दा, पक्ष–विपक्षका घोचपेचले यो भरिएको हुन्छ । हुन त, राजनीति र चुनाव पनि पनि एउटा नाटक नै हो, जहाँ नेताका रूपमा प्रमुख पात्रहरूको नाटकीय भूमकाले गति दिन्छ । राजनीतिमा हुने विद्रोहले कसैलाई महात्मा गान्धी र नेल्सन मन्डेलाको उचाइमा पुर्‍याउँछ भने कसैलाई हाम्रै देशका पूर्वमाओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जस्तो अस्तित्वको संकटमा ।


सनातनी अर्थमा राजनीति भनेको लामो समयदेखि राजनीतिलाई नै आफ्नो दैनिकी बनाउँदै आएका व्यक्ति, परिवार र पार्टीको क्षेत्र (डोमेन) हो, अरू बाहिरिया हुन् भनेर बुझ्ने प्रचलन छ । यसरी हेर्दा युक्रेनमा जेलेन्स्कीको यो विजय अप्रत्याशित लाग्न सक्छ, राजनीतिमा विचलन आएको हो कि भनेर शंका पनि हुन सक्छ । मलाई चाहिँ राजनीति कुनै व्यक्तिले जीवनभर चलखेल गर्ने दैनिकी होइन, त्यस्तो हुनु पनि हुँदैन भन्ने लाग्छ ।


खास गरी लोकतन्त्रमा यो आवधिक भूमिका हो र यसको खुला अभ्यासमा जो पनि आउन सक्छ भनेर बुझ्ने हो भने जेलेन्स्कीको यो विजयलाई सहज र स्वाभाविक मान्नुपर्छ । आजीवन राजनीतिको सनातनी डोमेन तोडिनुपर्छ अनि मात्र लोकतन्त्रको सही अर्थ लाग्छ ।


हामीकहाँ राजनीति जीवनभरको दैनिकी बनेको छ । राजनीतिमा लागेका मानिसहरू विद्यार्थी जीवनदेखि मृत्युशय्यासम्म त्यसैमा छन् । चुनाव हारून् वा जितून्, विश्राम र अवकाशको कुनै सम्भावना नै छैन । एक–दुई पटक पार्टीको नेतृत्व वा प्रधानमन्त्री भएर पुग्दैन, बाँचुन्जेल पद र सुविधा नछुटोस् भन्ने छ । मानौं त्योबाहेक अर्को जीवनै छैन । शासकीय सुविधाको नयाँ वर्ग जन्मेको मात्र होइन, त्यसले राजनीति र सत्तामा ढेडुले झैं पकड जमाएको छ ।


राजनीति पनि यति सनातनी छ, कसैका लागि दुई सय वर्ष पुराना मार्क्स त कसैलाई चार सय वर्ष पुरानो बेलायती संसद् आज पनि निर्विकल्प रोलमोडल छन् । त्यो खोपीबाट बाहिर आउने प्रयत्न गर्न कोही चाहँदैन । मतदाता पनि त्यो बाकसबाट निस्किन चाहँदैनन् । डा. बाबुराम भट्टराई एक्ला अपवाद भएका छन् । परिवर्तन भनेको तिनै सनातनी विचार र मोडेलको वरिपरि लगाउने नारामा सीमित छ । परिवर्तनको डिङ हाँक्ने तर चुनावमा नयाँ दल र नेतालाई नपत्याउने हाम्रो चुनावी व्यवहार छ ।


युक्रेनी चुनावमा जेलेन्स्की जस्ताको विजयले मलाई राजनीतिप्रति आशावादी बनाउँछ । म सामाजिक–आर्थिक विकासमा जस्तै राजनीतिमा पनि नयाँ प्रयोग र सिर्जशीलताका पक्षमा छु । थोक्रिइसकेको विचार र व्यत्तिबाट नयाँ कुरा आउने सम्भावना छैन । व्यक्ति विचार र पृष्ठभूमि पनि नयाँ चाहिन्छ ।


जेलेन्स्कीले भनेजस्तो नेपालको राजनीतिको ताल–सुर पनि बदल्न अत्यावश्यक भइसकेको छ । यसका लागि संरचनाको अवरोध भने प्रस्ट देखिन्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी संरचनामा यो प्रयोग जति सजिलो हुन्छ, हाम्रोजस्तो संसदीय संरचनामा उत्तिकै कठिन पनि । भारतमा पनि सिने कलाकारहरूको राजनीति क्षेत्रीय तहमा मात्र जमेको छ, दिल्लीमा होइन ।


उपलब्ध संरचनामै पनि नयाँ प्रयोगका लागि ठाउँ नहुने होइन । काठमाडौं महानगरको मेयरमा रञ्जु दर्शनाले यस्तै एउटा धक्का दिएकी थिइन् । अझै पनि त्यस्ता सम्भावना विद्यमान छन् । पञ्चायतको अन्तिम चरणतिर चर्चाको शिखरमा पुगेका मह जोडी पुराना भइसके ।


संविधानसभाको चुनावसम्म त्यो एउटा उल्लेखनीय प्रयोग हुन सक्थ्यो । के धुर्मुस–सुन्तली नेपालको राजनीतिमा जेलेन्स्कीजस्तै नयाँ रोल मोडेल हुन सक्छन् ? यो विकल्प कति टिकाउ हुन्छ, प्रश्न गर्न सकिन्छ तर यो प्रयोगयोग्य ‘सक–ट्रिटमेन्ट’ पक्कै सिद्ध हुन सक्छ ।

प्रकाशित : वैशाख १५, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?