जादुगर अर्थमन्त्रीको खोजी

मुराहरि पराजुली

काठमाडौँ — चालु वर्ष आर्थिक वृद्धिदर ८ प्रतिशत हुने बजेटमा उल्लेख थियो । गत शुक्रबार केन्द्रीय तथ्यांक विभागले भने यो आँकडा ६.८ प्रतिशतमा सीमित हुने सार्वजनिक गरेको छ । बजेटमा भनिए अनुसारको खर्च हुन नसक्ने र राजस्व संकलन पनि नहुने अर्थमन्त्रीले पहिल्यै बताइसकेका छन् ।

बजेटका हिसाब पहिले मिल्थेनन्, अहिले पनि मिलेनन् । यसपाली विज्ञ अर्थमन्त्री भएकाले हिसाब मिल्छ कि भन्ने धेरैलाई लागेको थियो, मिलेन ।

कमजोरी अर्थमन्त्रीको होइन, हाम्रै हो । अर्थशास्त्र र अर्थशास्त्री सम्बन्धी अल्पज्ञानले हाम्रो अपेक्षा बढाइदिएको थियो । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम अनुसार, धेरै विद्यार्थीले ‘यो धनको विज्ञान हो’ भनेर अर्थशास्त्र पढ्न थालेका हुन्छन् । मान्छेलाई आर्थिक मानव (होमो इकोनोमिक्स) का रूपमा लिइएको हुन्छ । उसले आफ्नो हित अधिकतम गर्ने काममात्रै गर्छ, अरू केही गर्दैन भन्ने मान्यता राखिएको हुन्छ । यसरी गलत ढंगले पढिएको अर्थशास्त्रको ज्ञानले हामीलाई गलत निष्कर्षमा पुर्‍याउनु अनौठो होइन ।

राम्रो भनिएको एउटा अर्थशास्त्रीले अर्थतन्त्रबारे सबथोक जान्दछ भन्ने भ्रममा हामी धेरै छौं । कलेजमा अर्थशास्त्र पढेकैलाई त भ्रम छ भने नपढेकालाई नहुने कुरै भएन । त्यसैले नाम चलेको अर्थशास्त्री पदमा पुग्यो भने उसले अर्थतन्त्रका यावत समस्या हल गर्छ भन्ठान्छौं । पछिल्लो समय स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष बन्दा वा युवराज खतिवडा अर्थमन्क्री नियुत्त हुँदा सामाजिक सञ्जालमा उत्साह देखिन्थ्यो ।

राजनीतिक दृष्टिले ‘अर्को कित्ता’का मान्छे पनि खुलेरै आशावादी बनेका थिए । उनीहरूले बिर्सिएका थिए— यसअघि पनि हाम्रो योजना आयोग र अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्नेहरू अधिकांश अर्थशास्त्रका धुरन्धर विद्वान थिए । बहुदल पुनःस्थापना अघि पञ्चायत कालमा पनि योजना आयोग र अर्थ मन्त्रालयको नेतृत्व गर्नेहरू अर्थशास्त्रका कम जानकार थिएनन् ।

यस सम्बन्धमा नोबेल अर्थशास्त्री रोबर्ट सिलरको भनाइ चोटिलो छ । ‘अर्थशास्त्री भनेका पानी सफा गर्न क्लोरिन हाल्नुपर्छ भन्ने सुझाव दिने विज्ञमात्र हुन्,’ सिलर भन्छन्, ‘क्लोरिन हाल्ने–नहाल्ने निर्णय गर्ने वा हाल्न सक्ने–नसक्ने त अरू नै हुन्छन् !’ अर्थशास्त्रीले भए–गरेका आर्थिक घटनाको व्याख्या गर्ने हुन्, अर्थतन्त्रलाई ‘डिजाइन’ गर्ने होइनन् । कसैले त्यसो गर्न खोज्यो भने असफल हुन्छ ।
अझ पहिलेका नोबेल अर्थशास्त्री एफ ए हायक मान्छे आफूले बनाउन चाहेको ढाँचाबारे कति थोरै जानकारी राख्छ भन्ने देखाउने काम अर्थशास्त्रको हो भन्थे ।

हामीसँग नभएको ज्ञान छ भन्ने दाबी गर्नु र सोही अनुरूप आफूले चाहेकै ढाँचामा समाजको प्रक्रियालाई अगाडि बढाउन सकिन्छ भन्ने विश्वास गर्दा हानिमात्रै हुन्छ । कुनै पनि निकाय वा व्यक्तिसँग सूचना वा ज्ञान केन्द्रीकृत हुनै नसक्ने दाबी हायक गर्थे । सूचनाहरू छरिएर बसेका हुन्छन्, ज्ञानको स्थानीयकरण हुन्छ । कुनै वर्ग, पेसा वा क्षेत्रको अधिकतम हित केमा हुन्छ भनेर कुरा हितग्राही स्वयंले नै थाहा पाउँछ, केन्द्रीकृत सत्ता वा शासकले होइन । असल नियत भएको शासकको हकमा पनि यही लागू हुन्छ ।

योजनाकारले नागरिकको इच्छा के हो भन्ने थाहा नपाउँदा–नपाउँदै पनि योजना बनाउँछ । पछि यो भएन, त्यो भएन भनेर सच्याउन खोजिन्छ । अन्तिममा योजना कार्यान्वयन गर्ने शक्तिशाली शासक, स्थिर शासन नभएर रहेछ, प्रतिफल नभेटिएको भन्ने निष्कर्ष निकालिन्छ । ‘अनि जनप्रिय तानाशाह सत्तामा आउँछ । नागरिक स्वतन्त्रता जोखिममा पर्छ,’ दोस्रो विश्वयुद्ध लगत्तै आएको हायकको ‘द रोड टु सर्फडम’ मा यस्तो लेखिएको थियो ।

हाम्रा नेता, नीति निर्माता, प्रशासकहरूको नियतमा शंका नगर्नु एउटा कुरा हो, तर उनीहरूको सीमिततामा मज्जैले प्रश्न सकिन्छ । ‘तिमीले साँच्चिकै सक्छौ त ?’ हामीले प्रश्न गर्दै आएका पनि छौं । यसले नसके अर्कोले सक्छ कि भनेर रोज्दै र छोड्दै आएका छौं । तर पनि हामी बिर्सिरहेका हुन्छौं, गलत छनोट गरिरहेका हुन्छौं । गलत छनोट गर्दाका परिणाम भोगिरहेका हुन्छौं ।

समाजवादीहरू योजना बनाउँछन्, बृहत समाजको हितमा काम गर्छु भन्छन् । वस्तु तथा सेवा उत्पादन गर्ने, न्यायोचित वितरण गर्ने, सबैलाई रोजगारी दिने समाजवादी कुरा सरल र आकर्षक छन् । अर्कोतिर पुँजीवादी हुन्छन्, आफ्नो स्वार्थका लागिमात्र काम गर्छन्, नाफाको पछाडि दौडिन्छन्, हरेक चिजलाई उपभोग्य वस्तु बनाउँछन्, असमानता बढाउँछन्, गरिब र असहायलाई बेवास्ता गर्छन् । कति अमानवीय होला, यो व्यवस्था ? कति दुःखी होलान्, यस्तो समाजमा बाँच्ने मान्छे ? सरकारी योजना नहुने अराजक समाज कस्तो होला ? सम्झिँदै हामीलाई कहाली लाग्छ ।

यस सम्बन्धमा रूसी क्रान्तिकारी लियोन त्रत्स्कीले सन् १९३२ मा लेखेको निबन्ध ‘द सोभियत इकोनोमी इन डेन्जर’ मा उल्लेख एउटा प्रसंग रोचक छ । उनले लेखेका छन्, ‘यदि सर्वज्ञानी बुद्धि अस्तित्वमा हुन्थ्यो भने त्यस्तो बुद्धिले त्रुटिरहित र सर्वव्यापी आर्थिक योजना बनाउँथ्यो । त्यो योजनामा कति हेक्टर जमिनमा गहुँखेती गर्नेदेखि लिएर कति कमिजका लागि कतिवटा टाँक बनाउने सम्मका कुरा हुन्थे । कर्मचारीतन्त्रले यस्तो बुद्धि अस्तित्वमा हुन्छ र आफ्नो अधीनमा रहेको दाबी गर्छ । त्यसैले उसले आफूलाई बजार (र सोभियत प्रजातन्त्र) को नियन्त्रणभन्दा बाहिर छु भन्ठान्छ ।’

त्रत्स्कीको भनाइ हायकको भन्दा फरक छैन । दुई विपरीत ध्रुवका यी विचारकहरूको कुरा एउटै कसरी हुनगयो ? यसको छुट्टै पृष्ठभूमि छ । पहिले सर्वहाराको अधिनायकत्वको कुरा गर्ने त्रत्स्की यो विचारमा साँच्चिकै प्रतिबद्ध थिए भन्न सकिँदैन । खालि स्टालिनसँगको मनमुटावका कारण उनले त्यसो भनेका हुनसक्ने प्रशस्त आधार छन् ।

मेन्सेभिक (अल्पमत) बाट बोल्सेभिक (बहुमत) हुँदै सोभियत कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य, विदेश विभाग प्रमुख, सेना प्रमुख लगायतको महत्त्वपूर्ण जिम्मेवारी पाएका त्रत्स्कीलाई पछि स्टालिनको उदयपछि सबै जिम्मेवारीबाट हटाइएको थियो । देश निकालापछि मेक्सिको निर्वासनमा रहेका बेला उनले यो लेख लेखेका थिए । १९४० मा मेक्सिकोमा स्टालिनले नै खटाएको एउटा मान्छेले हिउँ फोर्ने बन्चरोले हानेर त्रत्स्कीको हत्या गरेको थियो ।

हायक भने आफ्नो विचारमा दृढ थिए । ‘द रोड टु सर्फडम’ अघि र पछि आएका उनका सबै कृतिमा वैचारिक एकरूपता पाइन्छ । उनले स्वचालित समाजको कल्पना गरेका थिए । उनको कल्पनाको समाजमा अर्थतन्त्र चलायमान हुनका लागि ‘मूल्य’ बाहेक अरू केही चाहिँदैन । माग र आपूर्तिबाट स्थापित हुने मूल्यमा सबै उत्पादक कुनै वस्तु वा सेवा उत्पादन गर्ने कि नगर्ने भन्ने निर्णय गर्न स्वतन्त्र हुन्छन् ।

त्यसैगरी उपभोक्ता पनि उक्त मूल्यमा वस्तु वा सेवा खरिद गर्ने कि नगर्ने, निर्णय गर्न स्वतन्त्र हुन्छन् । सरकार वा अरू कसैको हस्तक्षेपको आवश्यकतै पर्दैन । प्रचलित मूल्यमा फाइदा हुने भए उत्पादकले उत्पादन गर्छ, नत्र गर्दैन । उत्पादनका साधनहरूको व्यवस्थापन पनि त्यही किसिमले हुन्छ । लाभ हुने अवस्थामा सबै उत्पादनका साधन (भूमि, श्रम र पुँजी) कुनै उत्पादनशील कार्यका लागि सहकार्य गर्न सहमत हुन्छन्, नत्र हुँदैनन् ।

उपभोक्ताका हकमा पनि त्यही लागू हुन्छ । सेवाग्राही र सेवाप्रदायक आपसी सौदाबाजी र सम्झौताबाट बाँधिएका हुन्छन् । एउटा बालिग व्यक्तिले गर्ने हरेक निर्णयका राम्रा/नराम्रा नतिजाको भागिदार ऊ स्वयं हुन्छ । बाह्य बल (सरकार) ले उसलाई क्रियाशील बनाइरहनु पर्दैन ।

अर्थशास्त्री जुलिएन साइमनका अनुसार, कुनै पनि अर्थतन्त्रमा मुख्य स्रोत भनेको जमिन, तेल, सुन वा फलाम खानीजस्ता निर्जीव चिज होइनन्, बरु मानवीय मस्तिष्क हो, जुन नवप्रवर्तनका लागि स्वतन्त्र हुन्छ । हामी हाम्रो उन्नतिको स्रोत जलविद्युत, पयर्टन वा कृषि हो भनिरहेका छौं । यो नयाँ कुरा होइन । तापनि यी स्रोतको भरपूर दोहन हुन सकिरहेको छैन । यसको एउटा प्रमुख कारण हाम्रो सोच नै हो । निश्चित व्यक्ति वा निकायलाई हामी जिम्मेवार भन्ठान्छौं ।

सरकारी योजना वा बजेटबाटै सबै कुरा फत्ते हुन्छ भन्ने सोच्छौं । सरकारले यो गरेन, त्यो गरेन भन्ने यत्रतत्र सुन्न पाइन्छ । सरकारबाट हामी बढी अपेक्षा गर्छौं । सरकारको नेतृत्व गर्नेहरूले पनि हाम्रा अपेक्षा बढाइदिन्छन् । सर्वेसर्वा हामी हौं, हामी जान्दछौं, हामीले गर्न सक्छौं, हामीसँग त्यो क्षमता छ, तिमीहरूले गर्न सक्दैनौ... टोलछिमेक, चियागफ, आमसञ्चार माध्यम, सार्वजनिक समारोहहरूमा हामीले यस्तो सुन्दै आएका छौं ।

विगतदेखि नै नचाहिने ठाउँमा सरकार देखा परिरहेको छ । सरकारको उपस्थिति घट्लाभन्दाबढ्दो छ । पहिले विपन्नहरूको आधारभूत आवश्यकता परिपूर्ति गर्ने भन्दै सरकार विविध गतिविधिमा हात हाल्थ्यो । अब समृद्धिमा जानुपर्छ भन्दै नयाँ–नयाँ कार्यक्रम ल्याएर भूमिका बढाउन खोजिरहेको छ । सरकारको भूमिका विस्तार प्रत्युत्पादक हुन्छ । संघीयता आएपछि समुदायको स्तरमा योजना बन्छन्, निर्णयहरू हुन्छन् भन्ने अनुमान गलत भएको छ । जनतादेखि धेरै टाढाको केन्द्रीय सरकारले योजना बनाइरहेको छ, निर्णयहरू गरिरहेको छ । केन्द्रमा पनि धेरै–थोरै मान्छे यो प्रक्रियामा संलग्न छन् ।

वर्तमान अर्थमन्त्री नेपालमा उपलब्ध उत्कृष्ट अर्थशास्त्री हुनुहोला, तर उहाँका कुनै राजनीतिक, सामाजिक, प्रशासनिक सीमा छैनन् र ? आर्थिक विकास भनेको यी यावत सीमालाई नाघेर प्राप्त गर्न सकिन्छ ? उहाँको एउटा निर्देशनले हाम्रा आर्थिक चुनौतीहरू फुमन्तर हुन्छन् ? एउटा असल अर्थशास्त्रीले उत्पादनलाई प्राथमिकतामा राख्छ, अनिमात्र वितरणको कुरा गर्छ । अहिले छुट, अनुदान, सहायता, भत्ताका विषय जोडतोडसँग अगाडि आएका छन् । यी विषय असल अर्थशास्त्रभित्र पर्दैनन् । सबै असल अर्थशास्त्र असल राजनीति नहुन सक्छ । यो हाम्रा अर्थमन्त्रीलाई जानकारी नभएको होइन ।

हलिउडका एक टिप्पणीकारले भनेका थिए, ‘सो बिजनेसमा तिमी के हौ भन्ने कुराले अर्थ राख्दैन । तिम्रा बारेमा मान्छेले के सोच्छन्, त्यो महत्त्वपूर्ण हुन्छ ।’ हाम्रो अर्थ राजनीतिमा पनि यो भनाइ मिल्न खोजेको छ । यो संयोग मुलुकका लागि हानिकारक हुन्छ । राजनीति, अर्थतन्त्र, सार्वजनिक नीति निर्माण ‘सो बिजनेस’ होइन ।

नटिक्ने कुरा नगरेकै राम्रो हुन्छ । माग र आपूर्तिका आर्थिक शक्ति प्राकृतिक हुन्छन् । गर्मीमा छाता ओढेर केही शीतल पाउन सकिएला, जाडोमा बाक्लो लुगा लाएर न्यानो पाइएला, तर ऋतु नै परिवर्तन गरेर गर्मीलाई जाडो र जाडोलाई गर्मी बनाउन सक्ने जादुगर पैदा भएको छैन । जादुगर अर्थमन्त्रीको खोजी भ्रम हो ।

प्रकाशित : वैशाख १६, २०७६ ०७:५२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मूर्ख समाजसँग जुवा

उनीहरूले जित्दा समाज हारेको थियो । २६ लाख अमेरिकीले जागिर गुमाए, लाखौं घरबारविहीन भएका थिए, केहीले आत्महत्या गरे ।
मुराहरि पराजुली

सामान्यतया सेयर बजारमा किन्नेले सस्तोमा किनिरहेको छु भन्ठान्छ  । उसलाई किन्नेहरूको लाममा म बीचमा छु भन्ने लाग्छ  ।

मैले महँगैमा किनेको रहेछु भने पनि किनेको चीज अर्कालाई भिराउन सक्छु, अर्कालाई मूर्ख बनाउन सक्छु भन्ने उसलाई लागेको हुन्छ ।


मान्छेले कहिलेदेखि यस्तो मुर्ख्याइँ गर्न थाल्यो र संकट आइलाग्यो भन्ने प्रामाणिक इतिहास छैन । तर, इतिहासमा रेकर्ड भएको सबैभन्दा पुरानो घटना ‘ट्युलिप मानिया’ लाई मानिन्छ । चार्ल्स माकेको पुस्तक ‘एक्स्ट्राअर्डिनरी पपुलर डिलुजन एन्ड म्याडनेस अफ क्राउड’ मा सन् १६३६–३७ मा ट्युलिप फूलको पछि मान्छेहरू कसरी अन्धो भएर लागेका थिए भन्ने चर्चा गरिएको छ । माकेका अनुसार त्यतिबेला नेदरल्यान्ड संसारकै धनी मुलुक थियो, त्यहाँ सबैजसो वर्ग र पेसाका मान्छे ट्युलिप किनबेचमा लागेका थिए । त्यतिबेला मान्छेहरूले ट्युलिपको ४० वटा गानोलाई एक लाख डच गिल्डर्स (मुद्रा) सम्म तिरेका थिए । जबकि त्यति नै बेला एउटा दक्ष कामदारको वार्षिक आम्दानी १ सय ५० देखि ३ सय ५० गिल्डर्स हुन्थ्यो । बहुमूल्य सम्पत्ति मानिएको ट्युलिपको मूल्य चुलीमा टिकिरहन सकेन र धेरैलाई नोक्सान भयो ।


यसरी सम्पत्तिहरूको बजार पानीको फोकाझैं उठ्ने र फुट्ने क्रम रोकिएको छैन। सन् १७२० को साउथ सी बबल र मिसिसिपी कम्पनी संकट, सन् १९३० दशकको महामन्दी, १९७३ को तेल संकट, १९९७ को दक्षिण पूर्वी एसियाको संकट र २००० को डटकम बबल यो शृंखलामा जोडिन आइपुग्छन् । सन् २००८ को वित्तीय संकट हामीले थाहा पाएको सबैभन्दा पछिल्लो घटना हो । यो संकटलाई लिएर धेरै सरकारी प्रतिवेदन तयार भएका छन, पुस्तक लेखिएका छन, फिल्म र डकुमेन्ट्री बनेका छन् । एउटा ओस्कारसहित अरू धेरै अन्तर्राष्ट्रिय पुरस्कार पाएको र मनग्गे पैसा कमाएको ‘द बिग सट’ ले चार प्र्रमुख पात्रका माध्यमबाट वित्तीय संकटको कथा भनेको छ । सत्य घटनामा आधारित यो फिल्मले पुँजी बजारका जटिल अवधारणालाई बुझाउन नोबेल अर्थशास्त्री रिचार्ड थेलर, गायिका सेलेना गोमेजलगायत सेलेब्रिटीलाई बीचबीचमा उभ्याएको छ ।


कथा २००५ देखि सुरु हुन्छ । कथामा प्रमुख पात्रहरू हेज फन्ड म्यानेजर मार्क बम, डुइचे बैंकको कर्मचारी जार्ड बेनेट, पूर्वसेयर कारोबारी बेन रिकेट र अर्को हेज फन्ड म्यानेजर डा.माइकल बरीले छुट्टाछुट्टै अमेरिकी वित्त बजार संकटापन्न छ भन्ने पत्ता लगाएका हुन्छन् । घरजग्गामा बैकहरूले दिएको जथाभावी कर्जा, त्यो कर्जा प्रदान गर्नका लागि बैंकहरूले जारी गरेको ऋणपत्र र त्यस्तो ऋणपत्रलाई बिमा गर्ने कम्पनी सबै धराशायी हुन्छन् भन्ने उनीहरूलाई लागेको हुन्छ ।


तर बजारले यसको छनक पाएको हुँदैन । सस्तोमा सजिलै ऋण पाइने भएपछि चार कोठा मात्रै घर भए पुग्नेले आठ कोठाको घर किनेका हुन्छन्, एउटा भए हुनेले दुइटा किन्छन् । उनीहरू लाई लागेको हुन्छ ‘घरको भाउ बढेको बढ्यै हुन्छ, कहिल्यै घट्दैन । महिना, छ महिनामा घरको भाउ दोब्बर हुन्छ, बेच्छु, ऋण तिर्छु, नाफा कमाउँछु ।’ वित्तीय क्षेत्रका पेसेवरले यस्तै सोचेका, गरेका हुन्छन् नै डाक्टर, वकिल, पत्रकार, शिक्षकलगायत अरू पेसाका मान्छे पनि यही भ्रममा हुन्छन् । बजारप्रति उनीहरूको ठूलो आस्था हुन्छ ।उनीहरू ह्वारह्वारती बलेको पुँजी बजारमा जल्ने पुत्ला बन्न आइपुग्छन् ।


बैंकहरू पनि ऋणपत्रबाट संकलित रकम हो त्यसमाथि बिमा गरिएकै छ भनेर धमाधम कर्जा दिइरहेका हुन्छन् । नाम ठेगाना भए पुग्ने फर्जी कागजातहरूबाट ऋणयोग्य छु भन्ने ग्राहकलाई दिल खोलेर ऋण दिइरहेका हुन्छन् । बढीभन्दा बढी ऋण प्रवाह गर्न सक्ने कर्मचारी र एजेन्टलाई दिइने सेवा सुविधामा कुनै कन्जुस्याइँ गरिएको हुँदैन । कर्मचारी र एजेन्टले नगद बोनस, गाडी, विदेशको महँगो ट्रिप पुरस्कार पाइरहेका हुन्छन् । बैंकहरूले नाफा कमाइरहेका हुन्छन् । बैंकका कार्यकारीहरू पुँजीवादका सम्राट्झैं हुन्छन । उनीहरूको आर्थिक तथा राजनीतिक शक्ति शिखरमा हुन्छ ।


मान्छे सरकारी हुन् वा बजारका लोभले सबैलाई गाँजेकै हुन्छ । त्यो उत्कृष्ट सपनातुल्य जीवनको लोभ कसलाई हुँदैन र ? त्यसरी कमाएको धन सुरासुन्दरी, जुवातास, विलासी साधनहरूमा पर्याप्त खर्च हुन्छ । यसैलाई सबैले सत्य मानिरहेका हुन्छन् । राजनीतिक, व्यावसायिक, सामाजिक, प्राज्ञिक क्षेत्रका अधिकांश मान्छेले यसलाई स्वाभाविक रूपमा लिएका हुन्छन् । यो अस्वाभाविक छ, टिकाउ हुँदैन, लामो समय चल्दैन भन्नेका आवाज दबिएका हुन्छन् ।


फिल्मका ४ प्रमुख पात्रहरूले आफ्ना साथीभाइ, छिमेक, सहकर्मी, मिडियालाई यो भ्रम र संकटको कुरा भन्न खोजिरहेका हुन्छन् । उनीहरूका कुरा सुनिदैन । अनि आजित उनीहरूमूर्ख समाजसँग जुवा खेल्ने अप्रिय निर्णय गर्छन् । पहिलो पात्र मार्क बम साथीहरूसँगै अमेरिकाका विभिन्न सहर घुम्छ । उनीहरूले पैसैपैसा कमाएका घरजग्गा दलाललाई भेट्छन्, सबैतिर रित्तारित्ता घर भेट्छन् । अमेरिकाभर चाहिनेभन्दा बढी घर बनेका हुन्छन् । कुकुरको नाममा, मेक्सिको हुँदै भर्खर छिरेको आप्रवासीलगायतको नाममा घर बनेका हुन्छन् । उनीहरूले घर नबिकेर मानसिक सन्तुलन गुमाएका मान्छे भेट्छन् । त्यस्ता घर बनाउन प्रयोग भएको ऋण डुब्ने पक्का हुन्छ तर बैंकहरूको नाफा बढेको बढ्यै हुन्छ ।


त्यसपछि उनीहरू त्यस्तो ऋणलाई असल भनेर प्रमाणित गरिदिने रेटिङ एजेन्सी पुग्छन् । रेटिङ एजेन्सी ‘त्योे त हाम्रो धारणा हो, त्यसलाई तपाईं पत्याउन सक्नुहुन्छ, नपत्याउन नि सक्नुहुन्छ’ भनेर टकटकिन्छ । आफूले असल हो नभनिदिने हो भने बैकहरू छिमेकमै भएको अर्को रेटिङ एजेन्सीकोमा जाने र आफ्नो व्यवसाय चौपट हुने बाध्यता सुनाउँछ कम्पनीको प्रतिनिधिले । सारा संसारले भर परेर लगानी गरिरहेको रेटिङ एजेन्सीको यस्तो अवस्था सुनेर अवाक हुन्छ बमको टोली । दोस्रो पात्र डुइचे बैंकको कर्मचारी जार्ड बेनेट हुन्छ । उसले पनि आफ्नो बैंकमा त्यसरी जथाभावी ऋण दिनु हुँदैन भन्ने आवाज उठाएको हुन्छ । आफ्नो बैंकमा मात्र नभएर अरू बैंकमा पनि गएर भनेको हुन्छ । उसको कुरा कसैले पत्याउँदैन । संकट आउँदै छ भन्ने उसको प्रतिवेदन धेरै बैंकको लबीमा रहेका कफी टेबलमा मिल्किएका हुन्छन् ।


तेस्रो पात्र बेन रिकेट अमेरिकाकै एक बैंकका लागि सिंगापुरमा बसेर सेयर कारोबार गरिरहेको हुन्छ । पैसो कमाउने प्रतिस्पर्धाबाट वाक्क रिकेट सिंगापुरको जागिर छोडेर घरै फर्किन्छ । उसाग प्रशस्त पैसा हुन्छ । घरमा करेसाबारी गोड्दै, फूलका बगैंचा स्याहार्दै बसिरहेको हुन्छ । ऊ वित्त बजारको ठूलो खेलाडी हो भन्ने छिमेकका दुई जना कलेज पढ्ने केटाहरूबाहेक अरूलाई थाहा हुँदैन । केटाहरूले उसलाई वित्त बजार संकटमा पुगेको र त्यसबाट नाफा कमाउने तरिका आफूलाई थाहा भएको बताउँछन् । सुरुमा उसले केटाहरूलाई हप्काउँछ र त्यस्तो खेलबाट टाढै बस्न चेतावनी दिन्छ । उसले समाचारहरूमा आँखा डुलाउन थाल्छ, केटाहरूले फेला पारेको प्रतिवेदन हेर्छ । ऊ केटाहरूको कुरा पत्याउन बाध्य हुन्छ । अनि वित्त बजारमा कारोबार गर्न उसलाई प्राप्त विशेष अधिकार र पुँजी केटाहरूलाई दिन्छ ।


चौथो पात्र औपचारिक शिक्षाले चिकित्सक ‘स्किअन क्यापिटल’ नामको हेज फन्ड म्यानेजर डा.माइकल बरी हो । उसको प्रक्षेपण २००७ को सेप्टेम्बरमा अमेरिकी बजार क्र्यास हुन्छ भन्ने हुन्छ । उसको प्रक्षेपण सही निस्कन्छ, तर उसले भनेको भन्दा दुई चार महिना ढिलो हुन्छ । यसबीचमा उसले आफ्ना साझेदारसँग निकै गलफत्ती गर्नुपर्छ । साझेदारहरूले उसलाई ‘अर्थतन्त्रका बारेमा तैंले बढी जानेको छस् कि ३० वर्षसम्म अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको प्रमुख भएका धुरन्धर अर्थशास्त्री ग्रिन स्पानले जानेका छन्’ भन्दै खिसीट्युरी गर्छन् । तथापि, सन् २००० मा उसले सुरु गरेको हेज फन्ड ‘स्किअन क्यापिटल’ ले २००८ को वित्तीय संकटमा अर्बौं डलर बाजी मार्छ ।


प्रमुख चार पात्र सबैले एक्लाएक्लै समग्र समाजले भनेको भन्दा उल्टो कुरा गरेर वाल स्ट्रिटमा बाजी लगाउँछन् र अर्बौं डलर हात पार्छन् । उनीहरूले १९७० दशकको सुरुतिर पुँजी बजारले पत्ता लगाएर विकसित हुँदै आएका वित्तीय औजारहरू (स्वाप, सीडीओलगायत) डेरिभेटिभ्सहरू हुन्छन् । धितोपत्र बजारमा सबभन्दा बुझ्न सजिलो औजार ऋणपत्र र सेयर हुन भने डेरिभेटिभ्स सामान्य मानिसले त्यति सजिलै बुझ्दैनन् । त्यसरी अर्बौं डलर हात पार्दा पनि प्रमुख पात्रहरूको मन रमाएको हुँदैन ।

उनीहरूले जित्दा समाज हारेको हुन्छ । त्यतिबेला २६ लाख अमेरिकीले जागिर गुमाएका थिए, लाखौं घरबारविहीन भएका थिए, केहीले आत्महत्या गरे । त्यत्रो जनधनको क्षति हुँदा पनि जेल जाने कम थिए । मानौं त्यो कसैको बदमासी थिएन, कुनै प्राकृतिक विपत्ति थियो । लगानी कम्पनी लिम्यान ब्रदर्सजस्तो पुँजीवादी धरोहर ढलेको थियो । लिम्यानजस्ता कम्पनी ढल्छन्, घरजग्गा कारोबार ध्वस्त हुन्छ, वित्त बजार जुन ज्ञानमा चलेको छ त्यो अपुरो छ भन्ने कसैले पहिले कल्पनै गरेको हुँदैन, पत्तो पाउने एकदमै कम हुन्छन् ।


हामीले यस्तो घटना अमेरिकामा मात्रै हुने हो वा डेरिभेटिभ्समा मात्रै हुने हो भन्ने मुर्ख्याइँ गर्न हुँदैन । हामीले पनि देखेकै हौं, सेयर बजार चुलीमा पुगेको, घरजग्गाको भाउ आकासिएको । अहिले स्थिति ठ्याक्कै त्यस्तै छैन । बैंकको ऋण सस्तो थियो । घरजग्गामा, सेयरमा लगानी गर्न उनीहरूले सजिलै ऋण दिन्थे । देशभरका सहर र सहरोन्मुख ग्रामीण भेगमा जग्गा प्लटिङको लहर थियो । सेयर बजार परिसूचक नेप्से १९ सयको विन्दुमा पुगेको थियो । अहिले बैंकहरूमा ऋण दिनका लागि पर्याप्त पैसा छैन । घरजग्गा कारोबार सुस्ताएको छ । नेप्से १२ सयमा घुमिरहेको छ ।


ऋणले उचालेको अर्थतन्त्र थचारिन्छ । सन् १९८० को दशकमा आफ्नो आकार बराबर ऋण लिएर चलेको विश्व अर्थतन्त्र २००८ मा आइपुग्दा तेब्बर ऋण लिइरहेको थियो । मुलुक र अर्थतन्क्रका लागि जे लागू हुन्छ व्यत्तिका लागि पनि लगभग त्यही लागू हुन्छ । थाम्नै नसक्ने गरी ऋण लिएर घरजग्गामा, सेयरमा वा अरू किसिमका सम्पत्तिमा जुवा खेल्नु मुर्ख्याइँ हो । यो कुरा बुझ्न मद्दत गर्ने ‘द बिग सट’ एउटा राम्रो सामग्री हो । वित्त बजारका जटिल र झर्को लाग्ने विषयलाई बुझ्ने गरी रमाइलो प्रस्तुति फिल्मले दिएको छ ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT