कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

प्रेस स्वतन्त्रता सबैलाई सुरक्षा

रिचर्ड मोरिस

काठमाडौँ — तीस वर्ष अघिसम्म खानीमा काम गर्ने कामदारले खतरनाक ग्यासको पूर्वसूचना पाउने प्रयोजनका लागि क्यानरी चरालाई आफूसँगै खानीभित्र लिएर जान्थे । क्यानरी चरा जिउँदो र सुरक्षित रहेसम्म खानीका कामदारहरू पनि सुरक्षित हुन्थे । क्यानरी चरा चुप लागेमा वा बेहोश भएमा भने खानी बाहिर निस्कने समय भएको बुझिन्थ्यो ।

प्रेस स्वतन्त्रता सबैलाई सुरक्षा


प्रेस स्वतन्त्रता भनेको ‘खानीभित्र रहेको क्यानरी चरोजस्तै’ हो, जसले प्रजातान्त्रिक व्यवस्थामा देखापर्ने समस्याको पूर्वसूचना दिने गर्छ । आज विश्व प्रेस स्वतन्त्रता दिवसका दिन हामीले बुझ्नुपर्छ, प्रेस स्वतन्त्रता भनेको गतिशील प्रजातन्त्रको महत्त्वपूर्ण अवयवमात्र होइन, स्वतन्त्र समाजको अभिन्न अङ्ग पनि हो । शक्तिशालीलाई उत्तरदायी बनाउने, भ्रष्टाचार र दुरुपयोगलाई उजगार गर्ने तथा आवाजविहीनहरूको आवाज बन्ने प्रेसको स्थापित भूमिका रहँदै आएको छ ।


प्रजातान्त्रिक समाजमा स्वस्थ र स्वतन्त्र प्रेस यही भूमिकामा निरन्तर गतिशील रहन्छ । स्वतन्त्र प्रेसको यस्तो अधिकारलाई संयुक्त अधिराज्य (युके) र नेपाल लगायत १७२ देश पक्ष रहेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धले सुरक्षित गरेको छ ।


प्रेसबाट आलोचित नभएको सरकारले राम्रो काम गरिरहेको हुन्छ भन्ने गलत बुझाइ रहिआएको छ । वास्तवमा प्रजातान्त्रिक व्यवस्थामा आलोचनालाई ठाउँ दिनु स्वस्थ प्रणालीको एउटा संकेत हो । खोजपूर्ण रिपोर्टिङले संस्थालाई उत्तरदायी बनाउन, उपभोक्तालाई संरक्षण गर्न तथा सामान्य जनताका लागि सार्वजनिक सेवामा सुधार गर्न मद्दत गर्छ । कुनै प्रेसले सरकारको विशेष रूपमा सकारात्मक कुरामात्र प्रकाशन गर्छ भने त्यो खराब समयको सुरुवाता हो । उक्त कुराले प्रेस स्वतन्त्रताबारे चासो राख्ने जोसुकैका लागि पनि खतराको घन्टी बजाउँछ ।


अन्य धेरै कुराका अलावा सन् २०१९ मा प्रेस स्वतन्त्रताको विश्वव्यापी अवस्था जटिल र बढ्दो छ । सामाजिक सञ्जालको उदय तथा विगतका आम्दानीका स्रोतमा गिरावट, सरकारी वा गैरसरकारी पक्षबाट सूचना लुकाउने वा नदिने कारणले गैरप्रजातान्त्रिक सरकार, निजी क्षेत्रको प्रभाव तथा सेन्सरसिप जस्ता प्रेस स्वतन्त्रताका परम्परागत चुनौतीलाई अझ जटिल बनाएको छ । यस्तो अवस्थाबाट न बेलायत नत नेपाल नै अछुतो छ ।


नेपालमा प्रेस स्वतन्त्रतालाई संविधानमा नै सुरक्षित गरिएको छ । यस्तो सकारात्मक कुरालाई कतिपय देशको संविधानमा राखिएको छैन । रिपोर्टस विदआउट बोर्डसको प्रेसमाथिको नियन्त्रणको पछिल्लो प्रतिवेदनमा नेपालले कतिपय दक्षिण एसियाका छिमेकीभन्दा राम्रो स्थान हासिल गरेको छ । बाँकी विश्वमा देखिएका चुनौती तथा पत्रकारहरूले भोग्नुपरेको आत्मनियन्त्रण, दुर्व्यवहार, गैरकानुनी पक्राउ र जीउज्यानको असुरक्षा जस्ता दुःखदायी अवस्थाबाट भने मुक्त हुनसकेको छैन ।


नियमन नभएको अनलाइन समाचार पोर्टल तथा सामाजिक सञ्जालका प्लेटफर्मको उदयका कारण कतिपय भरपर्दा सञ्चार संस्थाहरूको आवाज सुन्न कठिन बनाएको छ । यस्तो जटिल चुनौतीका लागि बहुआयामिक प्रतिक्रिया आवश्यक पर्छ । समाजका हरेक क्षेक्रका व्यत्तिहरू त्यस्तो विषयमा संलग्न हुनुपर्छ ।


कुनै पनि देशमा प्रेस स्वतन्त्रता कतिको बलियो छ भन्ने कुरा अन्ततः त्यस देशका संस्थाहरू कति बलिया छन् भन्ने कुरामा भर पर्छ । गुनासामाथि तदारुकतासाथ तथा पारदर्शी तरिकाले कारबाही गर्ने प्रेसको नियामक निकाय, मानव अधिकारको रक्षा गर्ने अदालत तथा जटिल अवस्थामा पनि वाक् स्वतन्त्रताको सम्मान गर्ने सरकारले प्रेस स्वतन्त्रतालाई बलियो बनाउँछ ।


पत्रकार तथा प्रेस जगतका पनि अवश्य नै दायित्वहरू हुन्छन् । गैरव्यावसायिक तथा सतही अनुसन्धानको रिपोर्टले प्रेसको समग्र ख्यातिमा क्षति पुर्‍याउँछ र यसले गलत कुरा लुकाउन खोज्नेहरूलाई मद्दत गर्छ । अनलाइन समाचारसँग प्रतिस्पर्धा गरी विषय–वस्तुभन्दा पनि हेडलाइनको पछि लाग्ने सम्पादकले आफ्नो प्रकाशनको विश्वसनीयतामा कमी आएको पाउनेछ । आत्मनियन्त्रण र भ्रष्टाचारले न्यायको बाटोमा बलियाहरूको स्वार्थलाई मात्र मद्दत गर्छ ।


तथ्यांकको प्रभावकारी प्रयोग, प्रशिक्षणको अवधिमा प्रेसको मूल्य–मान्यताको विषय प्रचुर मात्रामा समावेश तथा सन्तुलित रिपोर्टिङले कुनै पनि देशको पत्रकारिताको गुणस्तरलाई सुनिश्चित गर्छ । र त्यस्ता पत्रकारहरूलाई सीपको उपलब्धता, संस्थागत सबलीकरण तथा मानव अधिकारको दरिलो संरक्षणजस्ता विषयमा सहायताको जरुरत पर्छ ।


कहिलेकाहीं पत्रकारहरूले आफ्नो भावी रोजगारीको संरक्षणका लागि बलिया निजी क्षेत्रलाई अप्ठ्यारो पर्ने खालका वा तिनीहरूलाई निराश तुल्याउने किसिमका समाचार प्रकाशन रोक्ने गरेको सुनेको छु । सत्य कुरा प्रकाशन गर्ने वा आफ्नो परिवारका लागि आय आर्जन गर्ने ? के रोज्ने भन्ने समस्याबाट कुनै पनि पत्रकारले गुज्रनुपर्ने अवस्था दुर्भाग्यपूर्ण हो ।


प्रेस स्वतन्त्रताका लागि बेलायतले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । बेलायतका विदेशमन्त्री जेरमी हन्टले प्रतिष्ठित मानव अधिकार कानुन व्यवसायी अमल क्लोनीलाई क्यानाडा सरकारसँगै बेलायतले यस वर्षको उत्तरार्द्धतिर लन्डनमा प्रेस स्वतन्त्रता सम्बन्धी सम्मेलनको निम्ति प्रेस स्वतन्त्रताका लागि विशेषदूत घोषणा गर्नुभएको छ । बेलायत सदैव नेपाल र अन्यत्र जहाँसुकै प्रेस स्वतन्त्रताको पक्षमा रहन्छ ।


प्रेस स्वतन्त्रता तथा प्रेसमाथिको नियन्त्रणको विषयमा महत्त्वपूर्ण कार्य गर्ने फ्रिडम फोरम, नेपाल पत्रकार महासंघ, खोज पत्रकारिता केन्द्र नेपालजस्ता संस्थाहरूको कार्यले मलाई प्रभावित पारेको छ । प्रेसमा लेखिएको कुरा हामीलाई सधैं मन नपर्न सक्छ । तर गुणस्तरीय पत्रकारिता अगाडि बढ्न पाउनुपर्छ भन्ने कुरा हामी सबैका लागि महत्त्वपूर्ण छ । खानीको क्यानरी चराले सबैलाई सुरक्षित रहन मद्दत गरेजस्तै स्वतन्त्र प्रेसले पनि सबैको हित हुने काम गर्छ ।


लेखक नेपालस्थित वेलायती राजदूत हुन् ।


प्रकाशित : वैशाख २०, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?