रमजान-उल मुबारक 

सम्पादकीय

नेपालको विशेषता विविधता । संस्कृति, धर्म र सम्प्रदायहरूको सामाजिक मिलन । सबैले मनाउने चाड-पर्व, रिवाज र संस्कृति राष्ट्रको पहिचान । यही इन्द्रेणीको एउटा रंग- मंगलबार सुरु भएको इस्लाम धर्मावलम्बीको पर्व रमजान । करिब १२ लाख नेपाली मुस्लिमका लागि अबको एक महिना विशेष पवित्र । इस्लामी पात्रोअनुसार 'रमजान-उल मुबारक' महिना ।

इस्लामी पात्रो, हिजरी संवत्अनुसार नवौं महिनामा पर्ने रमजान विश्वभरका इस्लाम धर्मावलम्बीले मनाउँछन् । महिनाभर 'रोजा' (व्रत) बस्छन् । इस्लामका पाँच आधार स्तम्भ आस्था, नमाज (प्रार्थना), हज (तीर्थाटन), जकात (दान) मध्ये एक हो- रोजा (व्रत) । धर्मग्रन्थ कुरानअनुसार बयस्क मुसलमानले अनिवार्य रोजा बस्नुपर्छ । धनी, गरिब, मजदुर, राजा सबैले । नाबालिक, भोकतिर्खा सहन नसक्ने, बिरामी, रजस्वला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य छैन ।

इस्लाम दर्शनअनुसार मानवका दैनिक हुने विभिन्न इच्छालाई नियन्त्रण गर्ने कार्य रोजा हो । इस्लामले १२ मध्ये यो महिनालाई अब्बल मानेको छ । रोजा बस्नेले सूर्योदय हुनु एक डेढ घण्टाअघिदेखि सूर्यास्त नहुन्जेलसम्म खानेकुरा खाँदैनन् । अशुद्ध मानिएका कर्म गर्दैनन् । यो एक आत्मिक प्रशिक्षण हो । विश्वासअनुसार यसले मानिसलाई अनुशासित रहन सिकाउँछ । विनम्र, सत्प्रीय, संयम, सहनशील बनाउँछ । सदाचारी, त्यागी, परोपकारी, दयालु र दानशिला बन्न प्रेरित गर्छ ।

रोजाको अध्यात्मिक अर्थ छ । यसले मानवीय इच्छाहरूमाथि विजय प्राप्त गर्न सिकाउँछ । यो अधिकतम सत्कर्म र मानवीय सद्भावको संगम हो । यसले आधारभूत नैतिक प्रशिक्षण दिन्छ । मानिसलाई धैर्य र निष्ठावान् बनाइदिन्छ । यसको दौरान अर्काको कुरा काट्न, झूटो बोल्न, झगडा गर्न, फजुल कुराकानी गर्न, अनावश्यक श्रवण गर्न वर्जित छ ।

रमजानको साइनो परोपकारसँग पनि जोडिएको छ । यो विपन्नलाई सहयोग गर्ने महिना हो । इस्लामका दुई स्तम्भ जकात अर्थात् दान र रोजा जोडिएका छन् । दैनिक उपभोग्य वस्तु र आवश्यक आवास सुविधाबाहेक साढे सात तोला सुन वा साढे बाउन्न तोला चाँदी वा त्यसबराबर सम्पत्ति भएको कुनै ऋणमुक्त व्यक्तिले दान दिनुपर्ने परम्परा छ । यसरी दान दिँदा बाँकी सम्पत्ति शुद्धीकरण हुने विश्वास छ । यस्तो दान गरिब र असक्षमलाई वितरण गरिन्छ । त्यस्तो रकम अरूले प्रयोग गर्न पाउँदैनन् । यसले गर्दा विपन्न वर्ग पनि पर्वको खुसियालीमा सहभागी हुन सक्छन् । सामूहिकताको भावना हो यो ।

पछिल्लो समय नेपालमा यस पर्वको महत्त्व फैलँदो छ । अन्य धर्मका अनुयायीले पनि रमजानका विभिन्न अंशमा सहभागी भएर शुभकामना आदानप्रदान गर्न थालेका छन् । विशेष परिकारका रूपमा प्रयोग हुने 'सेवई' लगायतका खानेकुरा ख्वाएर मुस्लिमहरूले भाइचारा बढाइरहेका छन् । यसको सांस्कृतिक महत्त्वले हाम्रो विविधतालाई जोडिरहेको छ । नेपाल विभिन्न धर्म र संस्कृति भएकाहरूको साझा देश हो भन्ने सन्देश पनि दिइरहेको छ ।

३० दिन रोजा बसिसकेपछिको अर्को दिन इद उल फित्र मनाइन्छ । यो खुसी साट्ने दिन हो । एकापसमा गला मिलाएर इदको शुभकामना आदानप्रदान गरिन्छ । आफन्तजनलाई बोलाएर मिठोमसिनो खुवाइन्छ । इद उल फित्र र हजसँग जोडिएको इद उल अजहा पर्वमा दिइँदै आएको राष्ट्रिय बिदा भने कटौती हुँदा मुस्लिम समुदायको मन काटिएको छ । मुलुकको तेस्रो ठूलो धार्मिक समुदायले राष्ट्रिय पर्वको पहिचान माग गर्नु स्वाभाविक छ, जायज छ ।

प्रकाशित : वैशाख २४, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

सरकार कसको ? 

सम्पादकीय

काठमाडौँ — पहिले, श्री ५ को सरकार थियो । राजाले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा 'मेरो सरकार' भन्थे । पञ्चायत व्यवस्थामा मात्र होइन, बहुदलीय व्यवस्थामातहत २०४७ सालको संविधानमा पनि राजालाई संसद्को एउटा अंग भनिएको थियो । संसद् भन्नाले तल्लो सदन, माथिल्लो सदन र राजा ।

कार्यकारिणी अधिकार श्री ५ र मन्त्रिपरिषद्मा संयुक्त रूपमा रहने व्यवस्था गरिएको थियो ।
कार्यकारिणी अधिकार बाँडिएबाट त्यो प्रबन्ध एक प्रकारले द्वैध सत्ता थियो । राजाले बेलाबेला मन्त्रिपरिषद्को अधिकार आफैं प्रयोग गर्न खोज्थे । जनशक्ति र राजशक्तिबीच द्वन्द्वकै कारण देशमा लोकतान्त्रिक गणतन्त्रको आन्दोलन भएको थियो । 'श्री ५ को सरकार' रहेन, 'नेपाल सरकार' बन्ने व्यवस्था भयो ।

२०७२ सालको संविधानमा राष्ट्रपतिलाई संसद्को अंग मानिएको छैन । कार्यकारिणी अधिकार पनि पूर्ण रूपमा मन्त्रिपरिषद्मा रहने व्यवस्था गरिएको छ । संसदीय व्यवस्था नै भएकाले राष्ट्रपतिलाई सरकारको वाषिर्क नीति तथा कार्यक्रम सम्बोधन गर्न संसद्को संयुक्त बैठकमा बोलाउने परम्परा कायम राखियो । संसदीय अभ्यासलाई सर्वोच्चता दिन त्यो मानका खातिर मान थियो ।

राजनीतिक स्थायित्वपछिको वर्तमान सरकारले भने आफ्नो वाषिर्क नीति तथा कार्यक्रम सम्बोधन गरिदिन निमन्त्रणा गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा पारिदिएको छ । यसअघि नेपाल सरकार भनिँदै आएकामा राष्ट्रपतिको सम्बोधनमा 'मेरो सरकार' भन्न लगाइएको छ । अप्रत्याशित रूपमा राजाको झझल्को आउने गरी राष्ट्रपतिलाईप्रस्तुत गरेपछि सरकार स्पष्टीकरणपछि स्पष्टीकरण दिन विवश बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले अन्तर्राष्ट्रिय अभ्यासको दृष्टान्त दिन थालेका छन् । संसदीय व्यवस्था भएका गणतान्त्रिक मुलुकमध्ये भारतका राष्ट्रपतिले 'मेरो सरकार' सम्बोधन गर्ने गर्छन् । प्रधानमन्त्री ओलीले भारतकै उदाहरणलाई सहारा लिएका छन् । यसमा प्रधानमन्त्रीले लिएको अल्प-जानकारी हो । कार्यकारिणी अधिकारसम्बन्धी संवैधानिक प्रावधान नेपाल र भारतको फरक छ ।
भारतीय संविधानमा कार्यपालिका शक्ति राष्ट्रपतिमा निहित हुने लेखिएको छ । धारा ५३ अनुसार राष्ट्रपतिले संघको कार्यपालिका शक्ति प्रयोग संविधानबमोजिम आफू या आफ्नोअधीनस्थ सरकारद्वारा गर्नेछन् । यस हिसाबले त्यहाँका राष्ट्रपतिले संसद्मा 'मेरो सरकार' भन्नु स्वाभाविक र संविधान मुताविक हो ।

हाम्रो संविधानको धारा ७५ ले कार्यकारिणी अधिकार 'संविधान र कानुनअनुसार मन्त्रिपरिषद्मा निहित हुने' मात्र भनेको छैन, 'नेपालको संघीय कार्यकारिणीसम्बन्धी सम्पूर्ण काम नेपाल सरकारको नाममा हुने' प्रावधान राखेको छ । यस हिसाबमा हाम्रा राष्ट्रपतिबाट 'मेरो सरकार' भनाउनु संविधानसम्मत देखिँदैन न यसको कुनै तात्पर्य नै खुल्छ ।

हाम्रो संविधानमा नेपाल सरकार भनिएको छ, 'राष्ट्रपतिको सरकार' होइन । यसअघिका वर्षमा राष्ट्रपतिले 'नेपाल सरकार', 'वर्तमान सरकार', 'यो सरकार' भनेर चलेकै थियो । गणतन्त्रयता अहिले आएर एक्कासि यस्तो सम्बोधन किन दरकार पर्‍यो, प्रश्न उब्जिएको छ ।

राष्ट्रपतिको संस्थालाई निरन्तर विवादमा पार्नु सरकारको कार्यक्षमताकै कमजोरी हो । जनताको आलोचना वास्तै नगरी राष्ट्रपतिको भ्रमणलाई शाही सवारीको झझल्को आउने बन्न दिइरहनु, सर्वसाधारणलाई जाममा कुराउनु, नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान विस्थापित गर्दै शीतल निवासलाई फराकिलो बनाउन खोज्नुलगायतका व्यवहारले व्यक्तिगत रूपमा राष्ट्रपति भण्डारीलाई समेत सम्मानित हुन संकुचित पारेको छ । राजाकै शैलीमा सरकारका जथाभावी तक्मा वितरणदेखि जस्तो पायो उस्तै कार्यक्रममा सरिक बनाउने निर्णयले राष्ट्रपतिको संस्थाको गरिमा बढ्न दिएको छैन ।

यसबारे सबभन्दा सतर्क 'राष्ट्रपतिको सरकार' नै हुनुपर्ने भएको छ । गाल गर्ने सरकार, अवगाल पर्ने राष्ट्रपति भइरहेको छ ।

प्रकाशित : वैशाख २३, २०७६ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्