समृद्ध नेपालको खाका

झमक घिमिरे

अहिले नेपाली समाजको परिस्थिति हेर्दा लाग्छ, पुरानै सोचमा मग्न छ । किनभने मान्छेको दिमागमा परिवर्तनको छिटाहरू पर्नसकेको छैन । देशमा स्थायी सरकार भए पनि धेरै आलोचनाको घेरामा छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले केही राम्रा कामहरू गर्नथाले पनि जनअपेक्षा पनि चाहिनेभन्दा ह्वात्तै बढ्नुले उनले गरेका कामहरू ओझेलमा पर्न खोजेको आभास हुन्छ । किनभने विकास निर्माण भनेको कुनै जादुको छडी होइन । आजको भोलि पुरा गर्न सकियोस् । अहिलेको अवस्था परिस्थितिमा प्रधानमन्त्रीले जनअपेक्षा र जनताको आवाजलाई सुनेर मौन बनेर काम गर्नुको विकल्प छ जस्तो यस पंक्तिकारले देखेकी छैन ।


अहिले प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा उत्पात विरोध गरिरहेको छ । यसका नेता, कार्यकर्ताहरूले शालिनता भद्रताको सीमा नाघेर विरोधका स्वरहरू उरालिरहेका छन् । नउरालुन् पनि यिनलाई सत्ताको मोह अहिलेसम्म छ । हुन त राजनीति गर्ने भनेको सत्तामै पुग्न हो । तर जनमतको सम्मान गर्न नेपाली राजनीतिक दलका नेताहरूले शालिन शिष्ट ढंगले खोइ कहिले जान्लान् ? अहिलेको सरकारलाई चुनौती र अवसर दुवै छ । यसलाई आत्मसात गरेर सरकारले अगाडिका कदम बढाउन सक्यो भने अहिले जति विरोधका स्वरहरू उराले पनि कालान्तरमा साम्य हुँदै जानेछन् ।

आलोचनाहरू पनि आउनुपर्छ, यसले सरकारका गलत कदमहरूलाई सुधार्न मद्दत गर्नेछन् । त्यसैले सरकार आलोचकहरूप्रति पनि सकारात्मक हुनु आवश्यक छ । किनभने सबै आलोचनाहरू सरकारका लागि नकारात्मक चिन्तनले मात्र आएका हुँदैनन् । आलोचकहरू पनि सरकारका दुश्मनमात्र पनि हुँदैनन् । सरकारसँग धेरै गुनासो पोख्छन् मान्छेहरू, किनभने नागरिकहरूले आफ्नो अभिभावकत्व खोजिरहेका छन् । उनीहरूको आशा, अपेक्षालाई सबै अंशमा नभएर पनि केही अंशमा सम्बोधन गर्नु सरकारको कर्तव्य र दायित्व दुवै हो ।


अहिले संविधानको संशोधनको माग केही दलले उठाएर फेरि देशलाई अर्को द्वन्द्वमा धकेल्न खोजिरहेका छन् । कहिले अधिकारको नाममा, कहिले जातीयता, भाषा, धर्मका नाममा द्वन्द्व निम्त्याउने काम त गरिरहेका छैनन् भन्ने आशंका पनि सचेत मान्छेका मनमा नजन्मिने होइनन् । यी सचेत नागरिकहरू अब सबै खालका द्वन्द्व अन्त्य होस् । सबैको साझा फूलबारी नेपाली भूमि होस् भन्ने चाहन्छन् । जहाँ सबै खालका नेपालीहरू अटुन् । सबै थरीका सबै जातका नेपालीहरूको नेपाल बनोस् । यसको संयोजन नेपाल सरकारले गर्नुपर्छ । केपी शर्मा ओलीको सरकारले यस विषयमा अत्यन्तै संयम, धैर्य बन्दै सबै खालका द्वन्द्वहरूको व्यवस्थापन गर्नुपर्छ ।

राजनीतिक द्वन्द्वलाई पनि सकेसम्म दमनको नीति होइन, शान्तिपूर्ण समाधानको नीति लिनुपर्छ । फेरि हतियार उठाएर रक्तपात मच्चाएर जनताको सत्ताको स्थापना हुन्छ भन्ने शक्तिले पनि सोच्नुपर्छ– ‘अब फेरि देशको भूमि कुनै निर्दोष मान्छेको रगतले रंगिनु हुँदैन । कोही नेपालीको तातो रगत यस पवित्र भूमिमा पोखिनु हुँदैन ।’ यो सबै जनताको मनको चाहना हो । यो जनचाहनालाई सम्मान गर्ने कि नगर्ने सम्बन्धित पक्षले पनि गम्भीर बनेर सोच्न आवश्यक छ ।

प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपाली बनाउने चाहना छ । यो चाहना कतिको धैर्य, संयम बनेर पूरा गर्छन् या गर्दैनन्, यो कुरा हेर्न बाँकी छ । यो चाहना उनले मात्र पूरा गर्न सक्दैनन् भन्ने सबैलाई थाहा छ । तर उनले कस्तो खालको कूटनीति रणनीति लिएर जनतामा जान्छन् भन्ने कुरामा निर्भर हुने स्पष्ट छ । उनको परीक्षा त्यसैमा हुनेछ । हामी नेपालीहरू पनि जे कुरा सरकार र तिनका निकायहरूकै मुखमात्र हेर्छौं । आफ्नो मुख एकचोटी ऐनामा राम्रोसँग हेरेर आफ्नो काम, कर्तव्य के हो त्यसलाई गम्भीरताका साथ लिएर अगाडि बढ्ने हो भने हाम्रो चाहना अनुसारको समृद्ध नेपालको खाका कोरिन धेरै समय लाग्ने छैन ।

प्रकाशित : वैशाख २८, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

बौद्धिकताको विलास

आफ्नै परिवेश
झमक घिमिरे

काठमाडौँ — चैत ३ गते सिर्जना दिवस परेको थियो । नेपाली साहित्य स्रष्टाका लागि विशेष महत्त्वपूर्ण दिन । यसको न कतै साहित्यसर्जकहरूले चर्चा गर्न भ्याए, न तिनका नाममा खुलेका साहित्य, कला, संस्कृतिका संघ/संस्थाले गर्न भ्याए । गत महिना नेपाली साहित्यका दुई मूर्धन्य व्यक्तित्वलाई गुमाउनुपर्‍यो, मोहनराज शर्मा र बालकृष्ण पोख्रेल ।

यस धराधामबाट सधैंका लागि बिदा भए । देशले निकै आशा र भरोसा गरेका नेता रवीन्द्र अधिकारीलाई पनि ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा गुमाउनुपर्‍यो । सँगै ६ जना आआफ्ना क्षेक्रमा दक्ष व्यत्तित्वहरूले पनि ज्यान गुमाउनुपर्‍यो ।


मृत्यु नै मृत्युका खबरले अखबारका पानाहरू भरिए । पढ्दा पंक्तिकारको मनमा एक खालको स्तब्धता छाइरह्यो । आफूलाई मन परेका मान्छेको मृत्युको खबर बाहिर आउँदा यस्तो अनुभूति भएको पनि हुनसक्छ । स्रष्टा र द्रष्टाद्वयको निधनले नेपाली साहित्य आकाशमा जुन खालको रिक्तताको अनुभूति भयो, त्यसको पूर्ति चाँडै हुनेवाला छैन । मृत्यु एउटा शाश्वत सत्य हो, जसलाई सबैले आत्मसात गर्नैपर्छ, स्वीकार्नैपर्छ ।


कुरा थियो, सिर्जना दिवसको न कसैले सम्झना गरे न कसैले त्यसलाई सम्झिनुपर्छ भन्ने ठाने । हामीकहाँ कस्तो संस्कृति भित्रिँदै छ भने आफैंलाई सर्वेसर्वा ठान्ने अगाडि–पछाडिको पुस्ताबारे चिन्तन र चासो नगर्ने । अहिलेको समय सिर्जना विस्तारै विकाउको वस्तुमा परिणत हुँदै छ । स्वनामधन्य विद्वान् कहलिएकाहरूको बुद्धिविलासको साधनको रूपमा परिणत हुँदै छ । यी दुवै कुरा नेपाली साहित्य, कला, संस्कृतिका साधक/सर्जकका लागि राम्रो पक्ष होइन । समय हिजोको जस्तो छैन । यहाँ जुनसुकै चीज पनि बिकाउको रूपमा परिणत भइरहेको छ । साहित्य पनि अर्थात् सिर्जना पनि । जस्तो खालको बिक्छ, त्यस्तै लेख्ने स्रष्टाहरूको जमात पनि निकै बढ्दो छ ।

यसले पाठकलाई केही सयम मनोरञ्जन त देला, पाठ्यसामग्री पनि देला, तर सधैंभरिका लागि काम लाग्ने सिर्जना वा पाठ्यसामग्रीचाहिंँ दिन सक्दैन । आफ्नो बुद्धि विलासका लागि मात्र सिर्जना गर्ने स्वनामधन्य विद्वान्हरू जसको बुद्धिचाहिंँ एउटा सानो परिधिमा घुमिरहेको छ, उनीहरू विशाल संसारका लागि आफ्नो बौद्धिकताको प्रयोग गर्दैनन् ।

तिनको व्यक्तिगत विलासिताको माध्यम सिर्जना बन्छ, बौद्धिकता सानो परिधिमा खर्च हुन्छ भने तिनीहरूबाट आम पाठकले कस्तो अपेक्षा राख्ने ? तिनीहरूको चरम बौद्धिकताको स्तरसम्म के आम पाठक पुग्न सक्छन् ? आम पाठकका लागि त्यो स्तरसम्म पुग्ने पहुँच के छ ? यो मेरो मनमा बारम्बार तेर्सिएको प्रश्न हो । यस पटक पनि सिर्जना दिवसको दिन पारेर आम लेखकलाई एकै ठाउँमा जम्मा पारेर तिम्रो लेखनको उद्देश्य के ? लेखन केका लागि ? खालि सीमित परिधिका लागि सिर्जना कि विशाल संसारका लागि झन्नेबारे अन्तरक्रिया गर्ने मन थियो । विविध कारणले सकिनँ ।


शत्तिशाली सिर्जनाकर्मीहरूले यी विषयमा सोच्नुपर्दैन ? किन मौन ? अहिले प्रदेश प्रज्ञा प्रतिष्ठानको कुरा आइरहेको छ । त्यसमा जाने विद्वान्हरूले यी कुरालाई के कसरी सोचेका छन् ? चासो र चिन्ताको विषय के भने, सिर्जना बिकाउ मात्र हुनु हुन्न, टिकाउ पनि हुनु आवश्यक छ । विद्वान्हरू बौद्धिकता सीमित घेरामा रहेर विलासको माध्यम मात्र बन्नु हुँदैन । तिनीहरूको बौद्धिकताको बाछिटा कति तलसम्म आइपुगेको छ, यो सोचनीय छ । तिनीहरूले करोडौं शब्द लेखेका मोटा–मोटा ठेली बजारमा ल्याएर त्यसको स्वाद केकस्तो छ, सीमित पाठकले पनि चाख्न पाएनन् । त्यसको के अर्थ ? निकै पहिला मलाई एक जना अग्रज स्रष्टाले भन्ने गरेका थिए, ‘तिमीले लेखेका कुरा मान्छेले बुझ्न सक्दैनन् भने त्यसको के अर्थ ?’ त्यति बेला उरन्ठ्यौलो उमेरमा सोच्थेंँ, ‘यी बूढाले मलाई किन यस्तो कुरा गरेका होलान् !’


अहिले लाग्छ, तिनले मलाई ठीक समयमै सम्झाएका रहेछन् । त्यति नभनिदिएको भए म आजको सन्दर्भमा यस्ता कुरा सोच्ने नै थिइनँ होला । एउटा घेरामा सीमित बनेर त्यसको चाकडी गरिरहेकी हुन्थेँ कि ? म जनताबाटै उठेकी मान्छे, त्यो काम गर्न सक्दिनथेंँ होला । आज लेखक वर्गले सोच्नैपर्ने विषय भएको छ, यो ।

प्रकाशित : चैत्र १५, २०७५ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्