पाठशाला आफैँले पहिला पाठ सिक्नू

सम्पादकीय

काठमाडौँ — हाम्रो समाजमा शारीरिक अपांगता भएको व्यक्तिले शिशुकालबाटै विभेदको सामना गर्छन् । पहिलो पाठशालारूपी घरपरिवारबाटै पर्याप्त स्नेह र सहयोग नपाउन सक्छन् । घरबाहिर निस्कन त आफैँमा दुष्कर हुन्छ । हिँड्ने होस् कि गुड्ने न बाटो हुन्छ, न साधन । न त्यसअनुसार वातावरण । भौतिक होस् कि मानसिक । 

विद्यालय जाने उमेर भएदेखि तिनले अपमानको औपचारिक यात्रा सुरु गर्छन् । प्रायः विद्यालय अपांगमैत्री हुँदैनन् । पोखराको छोरेपाटनका रविन परियारलाई हेरौँ न । छोरेपाटन माध्यमिक विद्यालयले उनलाई सुरक्षाका कारण देखाउँदै घरमै बसेर पढ्न सुझायो । पूर्वप्राथमिक तहको नर्सरी सकेर केजी पढ्न खोजेका उनले भर्ना पाएनन् । उनको शिक्षा अधिकार हनन भयो भनेर हामीले समाचार छापेपछि बल्ल विद्यालयको सोच बदलियो । अभिभावक र विद्यालयबीच रविनको सुरक्षा र छुट्टै पूर्वाधार बनाएर पढाउने मौखिक सहमति भयो । त्यो भनेको सामान्य फर्निचरको व्यवस्था हो ।

शिक्षालय सिकाइ स्थल हो । उसले साक्षर बनाउने मात्र होइन, संस्कार पनि सिकाउँछ । समानता र सहकार्यको भावना पनि जगाउँछ । शिक्षाको आधारभूत उद्देश्य बुझ्ने शिक्षालयले त्यसअनुसारको चरित्र प्रदर्शित गर्छ । गर्नुपर्छ । गरेन भने गराउनुपर्छ । छोरेपाटन विद्यालयले केही दिन विलम्ब गरेर भए पनि पाठ सिक्यो । पाठ सिक्यो भने पो पाठशाला भयो । पाठ विद्यार्थीले भन्दा पहिला विद्यालय आफैँले सिक्न जरुरी छ भन्नेयही एउटा उदाहरण हो ।

अझै पनि अपांगतालाई धेरैले स्वास्थ्य समस्या र फरकपनाको दृष्टिले मात्र बुझ्ने गर्छन् । अपांगतालाई कमजोरीका रूपमा बुझ्ने दोषी सोच अझै हाबी छ । आज पनि कतिपय विद्यालय अपांग बालबालिकालाई भर्ना गर्न र पढाउन आनाकानी गर्छन् । अपांगता भएका बालबालिकाको पूर्णरूपले पहिचान हुन सकेको छैन ।

विभिन्न प्रकारका अपांगताको बहुविषयगत समूहद्वारा पहिचान गरी तिनको यकिन तथ्यांक खोजी गर्नु राज्यको पहिलो दायित्व हो । हरेक गाउँ या नगरपालिकाले आफ्नो गाउँ या नगरमा कति जना, कुन प्रकारका अपांग बालबालिका छन् भनी तथ्यांक निकालेर तिनको स्वास्थ्य तथा शिक्षामा पहुँच सुनिश्चित गर्नुपर्छ ।

पहिलो दायित्व स्थानीय सरकार र समाजकै हुन्छ । प्रदेश र संघीय सरकारले स्थानीय सरकारलाई सहयोग जुटाउनुपर्छ । बौद्धिक अपांगतालगायत सहजै थाहा हुन नसक्ने अपांगता पहिचान गर्न अभिभावक, शिक्षक र सरोकारवालाहरूको संयुक्त प्रयास आवश्यक हुन्छ । विद्यालयमा अपांग बालबालिकाका लागि अपांगमैत्री संरचना आवश्यक छ । शौचालय, कक्षाकोठा र पुस्तकालयमा ह्विलचियर जान सक्ने व्यवस्था गर्नुपर्छ । र्‍याम्प तथा दृष्टिविहीनलाई हिँड्न सहज हुने भौतिक संरचना बनाउनुपर्छ ।

बहिरा बालबालिकाका लागि सुनाइ सहयोगी सामग्रीको व्यवस्था जरुरी हुन्छ । कक्षा १ देखि १० सम्मका इच्छाधीन विषयहरू अझै ब्रेल लिपिमा बनेका छैनन् । ११ र १२ कक्षाका कुनै पनि पाठ्यपुस्तक ब्रेल लिपिमा तयार भएका छैनन् । बहिरा र दृष्टिविहीन बालबालिकाका लागि पढाउने शिक्षण विधिको पर्याप्त विकास गर्न सकिएको छैन । बहिरा बालबालिकाले प्रयोग गर्ने सांकेतिक भाषाको शब्द भण्डार कमजोर भएका कारण तिनको पठनपाठन प्रभावित भइरहेको छ । न्यून दृष्टि भएका बालबालिकाका लागि रंगीन र ठूला अक्षरकापाठ्यपुस्तक निर्माण नहुँदा पठनपाठन प्रभावित भइरहेको छ ।

अपांगता भएका बालबालिकाको पहिचान गरी तथ्यांक राख्न प्रदेश र स्थानीय तहमा कम्तीमा एउटा प्रारम्भिक पहिचान केन्द्र स्थापना गर्नु आवश्यक छ । सबै प्रकारका अपांगता भएका बालबालिकाका लागि पाठ्यक्रम, पाठ्यसामग्री र शिक्षकको व्यवस्था गरे/नगरे हेर्ने दायित्व विभिन्न तहका सरकारको हो ।

समावेशी कक्षा वा विद्यालयमा सहभागी हुन नसक्ने अपांग बालबालिकाका लागि विशेष रेखदेखमा कक्षा सञ्चालन छन्, छैनन्, विद्यालयले अपांगता भएका बालबालिका लक्षित शैक्षिक योजना बनाएका छन्, छैनन् हेर्नुपर्छ । प्रदेश र स्थानीय सरकारले पनि पहिला यस्ता प्राथमिकपाठ लिन जरुरी छ ।

प्रकाशित : वैशाख ३१, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

कफीमै परनिर्भर 

सम्पादकीय

नेपाली कफी लोकप्रिय हुँदै जाँदा धेरैलाई लाग्न सक्छ, नेपाल कफीमा आत्मनिर्भर भयो । वा, हुँदै छ । काठमाडौं उपत्यकामा मात्रै खुलेका कफीघर हेर्ने हो भने स्वदेशी दानाको माग र आकर्षण बढ्दो छ । 

स्याङ्जाका किसान कफी केलाउँदै । फाइल तस्बिर : कान्तिपुर

सहरमा कफी पिउने संस्कार बढाउन विदेश गएर फर्केका युवा उद्यमीहरूको उत्प्रेरणा छ । एक तथ्यांकअनुसार उपत्यकामा करिब साढे चार हजार कफीघर छन् । महिनैपिच्छे सरदर तीनवटा नयाँ खुल्ने गरेका छन्, त्यो पनि चालीस/पचास लाख रुपैयाँसम्मको लगानीमा । देशभरि १२ हजार कफीघरको अनुमान छ ।

कफी नेपालको आफ्नै उत्पादनले नपुग्ने भयो । हाम्रो आफ्नै उत्पादन जम्मा ५ सय १३ मेटि्रक टन मात्र हुन सकेको छ । त्यही भएर राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार ०७४/०७५ मा १ सय ६३ दशमलव ३८ मेटि्रक टन कफी आयात भयो ।
अहिले देशभर २ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा कफी हुन्छ । कफीको उत्पादन र क्षेत्रफल विस्तार सुस्त छ । जिल्लाहरूमा कफी सहकारी पनि बनेका छन् । सहकारी संघहरूमार्फत प्राप्त प्रारम्भिक विश्लेषणअनुसार नेपाली बजारमा यसको माग वाषिर्क ६ हजार मेटि्रक टन रहेको देखिन्छ । विदेशमा अझै बढी ८ हजार मेटि्रन टन निर्यात गर्न सकिन्छ ।

नेपालमा कफी रोपण १९९५ सालमा गुल्मी आँपचौरबाट सुरु भएको मानिन्छ । स्थानीय हिरा गिरीले बर्माको सिन्धु प्रान्तबाट ल्याएर भूक्षय रोक्न भन्दै कफी लगाएका थिए । २०२० को दशकतिर सरकारले भारतबाट कफीको बीउ ल्याई वितरण गरेपछि कफी खेतीले केही गति लियो । अहिले ४२ जिल्लामा कफी उत्पादन हुन्छ । बढी उत्पादन ललितपुर जिल्लाले गर्ने गरेको छ । विदेश निर्यात गर्ने देशले कफी बिस्तारै आयात बढाउनुपर्ने भएको छ ।

कफी किसानहरू सरकारी उदासीनता अनुभव गर्छन् । गुणस्तरमा एकरूपता छैन । कफीको आन्तरिक र बाह्य दुवै माग व्यापक भए पनि व्यावसायिक रूपमा कफी लगाउने चेतना बढिसकेको छैन । बोर्डले अध्ययन गरेअनुसार देशका २ सय ५० स्थानीय तहमा कफी उत्पादनको सम्भावना छ । कफीमा अनुसन्धान र प्रविधिको अभाव छ । सिन्दुरे र सेतो गभारो रोगको समस्या छ । सिन्दुरे रोग उपयुक्तछहारी नहुँदा देखा पर्ने गर्छ । कफीको गुणस्तर बढाउन सकिएको छैन ।

कफी नगदे बाली भए पनि बिरुवा लगाएको केही वर्ष फलको प्रतीक्षा गर्नुपर्ने हुन्छ । साना किसानले त्यसो गर्न सक्दैनन् । प्रतीक्षाका लागि प्रोत्साहन चाहिन्छ । कफी खेतीलाई उद्यमको रूप दिन लगानी बढाउनुपर्ने हुन्छ । प्राविधिक सहायता चाहिन्छ । देशमा अहिलेसम्म एकजना पनि कफी खेती प्राविधिक छैनन् भनिन्छ । कफी विकास बोर्डले किसानका लागि भनेर सहायता कक्षको समेत व्यवस्था गर्न सकेको छैन । वा, चाहेको छैन ।

गुणस्तरीय र जात खुलेको बीउ तथा प्राविधिकको मुख्य समस्या छ । बीउ स्रोत केन्द्रको स्थापना गरिएको छैन । बाहिरी संसारका अध्ययन/अनुसन्धानसँग सहकार्य गर्ने गरी नेपालमा आफ्नै केन्द्र स्थापना गर्न नसक्नु कफीको व्यापक सम्भावनाको अवमूल्यन हो । कफी किसान तथा प्राविधिक, उद्यमीलाई वाषिर्क तालिकाअनुसार शैक्षिक तथा प्राविधिक प्रशिक्षणको व्यवस्था गर्नेतर्फ सरकारको सचेतना आवश्यक छ । कफीलाई सहयोग गर्ने हो भने किसानको संख्या र गुणस्तर बढ्न सक्नेछ, पहाडी कान्लाहरूले रोजगारी आकषिर्त गर्न सक्नेछन् ।

प्रकाशित : वैशाख ३०, २०७६ ०८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्