कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुरुबा, केले बोलाउँछ कीर्तिपुरमा ?

नारायणी देवकोटा

त्रिविको केन्द्रीय क्याम्पसलाई अहिले चौर र रूखबिरुवाको हरियाली अनि ज्याकारान्डाका बैजनी फूलहरूले निकै मोहक बनाएका छन् । मानविकी संकायमा एमफिल र पीएचडीका कक्षाहरू खचाखच हुन थालेका छन् । बिहान आठ बजेको चिया ब्रेकमा शिक्षक र विद्यार्थीबीच चल्ने भलाकुसारीमा पनि मौसमको प्रभाव झल्किने गरेको छ ।

कोही कुनै विषयमा अरूको भन्दा फरक तरिकाले थेसिस लेखिरहेको बताउँछन्, कोही कुनै अन्तर्राष्ट्रिय जर्नलका लागि लेख लेखिरहेको वा कसैले आफ्ना विद्यार्थीको अनुसन्धान र भाइभाको कुरा गर्छन् । आफ्ना विद्यार्थीले विदेशको फलानो विश्वविद्यालयबाट पीएचडी गर्दै गरेको र त्यसका लागि रिकमेन्डेसन लेटर लेखिदिएको कुरा पनि हुन्छ ।


सधैं यस्तै राम्रा कुरा नहुन पनि सक्छन् । राम्ररी पढाउन नसकेका शिक्षकलाई लिएर विद्यार्थीहरू आपसमा भन्ने गर्छन्, 'बिचरा, अस्ति त हो यो सरले नियुक्ति पाएको !' राम्रो पढाइरहेका तर करारको नियुक्ति पनि नपाएका कुनै विज्ञबारे 'बिचरा सर-मिसले कुन आत्मबलले पढाउँदा हुन् है !' भनेर पनि कुरा हुन्छ । आफ्ना कमजोरी लुकाउन दोषजति राजनीतिलाई थोपर्ने र यस्ता अभ्यासविरुद्ध पांैठेजोरी खेल्ने धेरै राम्रा प्राध्यापक पनि छन् त्रिविमा ।


गत साता त्रिविको प्रशासनिक शाखाको नियुक्ति प्रक्रियाबारे सामाजिक सञ्जालमा चर्चा हुँदा मानवशास्त्र विभागका प्रमुख डम्मर चेमजोङ विद्यार्थीलाई भन्दै हुनुहुन्थ्यो, 'यस्ता गफमा नलागी पढ्नू ।' भोलिपल्ट बिहानको चिया ब्रेकमा पनि उहाँ समाजशास्त्रका विद्यार्थीलाई 'आउँदै गरेको लेक्चररको परीक्षाको लिखितमा नाम निकाल्ने गरी पढ्नू' भनिरहनुभएको थियो ।


यस्ता सरहरूका आँखामा त्रिवि राम्रो हुनेछ, राम्रा लेक्चर आउनेछन् भन्ने सुदूर आशाका किरण रहेको पाउँछौँ हामी । मान्छेहरू भन्छन्, 'त्रिवि विश्वका राम्रा विश्वविद्यालयको लाइनमा हजारपछिको नम्बरमा आउँछ ।' त्रिविले सन् २०३० सम्म विश्वका पाँच सयौँ विश्वविद्यालयभित्र आफूलाई पुर्‍याउने लक्ष्य राखेको कुरा भर्खरै त्रिवि योजना विभागका निर्देशक रिदिश पोखरेलले बताउनुभएको थियो । यस्ता योजनाले पनि हामीलाई केही आशावादी बनाउँछन् ।


यो आशावादमा, गएको शनिबार कान्तिपुरमा छापिएको नेपाली समाजशास्त्रका गुरु चैतन्य मिश्रको 'विश्वविद्यालय ज्ञानको केन्द्र रहेन' शीर्षक अन्तर्वार्ताले भने केही तुषारापात गरिदियो । सन् २०१२ मा 'चैतन्य सरका दुई-चार लेक्चर सुनूँ' भनेर समाजशास्त्रको कक्षामा पसेकी मैले त्यसयता नेपालको समाजशास्त्र, समाजशास्त्री, चैतन्य सर लगायतका गुरु-गुरुआमाहरूका अन्तर्वार्ता, लेख, सार्वजनिक मन्तव्य र प्राज्ञिक कर्मलाई निरन्तर नियाल्दै आइरहेकी छु ।


चैतन्य सरले योभन्दा अगाडि पनि बेलाबेला लेखिरहनुभएकै थियो, भनिरहनुभएकै थियो, 'विश्वविद्यालयलाई दलहरूले थला पारे ।' यो धेरै हदसम्म सही पनि थियो । ३७ वर्ष माक्र्सवाद पढाएका चैतन्य सरले गत वर्ष 'नभएको माक्र्सवाद पढिएछ' भन्नुभयो । अब त्यही विषय पढाउने गुरुले भनेपछि आफूहरूले पनि गलतै पढेछौँ भनेर हामीले पत्यायौँ । तर, योपटक उहाँले 'विश्वविद्यालय ज्ञानको केन्द्र रहेन' भन्दा निको लागेन । विश्वविद्यालयका अनुसन्धान केन्द्रले मात्रै ज्ञानको निर्माण गर्छन् कि त्यहाँका शिक्षक-विद्यार्थीको कर्मले पनि ? चैतन्य सरले अरूलाई भन्नुभएझैं उहाँ आफैँ पो भजनमण्डलीको घेरामा पर्नुभयो कि ?


विश्वविद्यालयलाई शिक्षक र विद्यार्थीका दैनिक क्रियाकलापले ज्ञानको केन्द्र बनाउने हो । प्रायः मेरो उमेरका र प्राज्ञिक क्षेत्रमा आफ्नो भविष्य बनाउन खोजिरहेका धेरै विद्यार्थीले आफ्ना अनुसन्धानमूलक लेखहरू विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन भएको खुसी सामाजिक सञ्जालमा बाँडिरहन्छन् ।


विभिन्न अन्तर्राष्ट्रिय प्राज्ञिक भेलाहरूमा आफ्ना अनुसन्धानका निष्कर्ष प्रस्तुत गरिरहेका देखिन्छन् । किताब लेख्ने र सेमिनार गर्ने कार्य पनि निरन्तर भइरहेका छन् । अर्थात्, प्राज्ञिक काम भइरहेकै छ । 'विश्वविद्यालय ज्ञानको केन्द्र रहेन' भन्दा हरेक दिन बिहानैदेखि विश्वविद्यालयमा प्राज्ञिक कर्ममा लाग्ने शिक्षक-विद्यार्थीको अपमान हुन्न र, चैतन्य सर ? कि सरले बुझेको र हामीले बुझेको ज्ञानमा फरक छ ?


मेरो दोस्रो प्रश्न अलि रूखै छ । यो हाम्रै समाजशास्त्र विभागको सन्दर्भ हो । विभागको स्थापनाकालदेखिका संलग्न चैतन्य सर र भर्खर एमफिल पढ्दै गरेकी मसम्म सामेल छौं यसमा । केन्द्रीय क्याम्पसको समाजशास्त्र विभाग सबैभन्दा बढी विद्यार्थी भएको विभाग हो । तर, पछिल्लो समय यो विभागभित्र भएका विवाद र नियुक्ति, समाजशास्त्र संघभित्र भएका विवाद र फुटले यसलाई थिलथिलो बनाइरहेको छ ।


यस्तोमा चैतन्य सर कतै आफूलाई आम मानिसभन्दा फरक रूपमा प्रस्तुत गरेर आफ्ना कमजोरी छोप्नेहरूको घेराबन्दीमा पर्नुभएको त होइन ? अध्ययन-अनुसन्धानबारे कम र अरू नै विषयबारे बढी गफिनेहरूले सरलाई नीरस बनाउने गरेका त होइनन् ? सर आफै युवा विद्यार्थीहरूको आशावादी गफबाट टाढा पो पुग्नुभयो कि ?


त्रिवि विश्वको जतिसुकै नम्बरमा परे पनि, यहाँ दलीय भागबन्डा भए पनि मध्यम वर्गका नेपालीहरूका लागि आफ्ना भागमा परेको अक्सफोर्ड, हार्वर्ड वा क्याम्बि्रज यही हो । ठूलो रकम नहुने र देशै छोडेर जाने पारिवारिक वातावरण नभएका धेरैको ज्ञानको तिर्खा मेट्ने थलो यही हो । विश्वविद्यालयमा प्राज्ञिक 'भाइब्स' आउँछ कि आउँदैन भन्ने चैतन्य सरको आशंकामा पनि यति भनूँ— सोही अन्तर्वार्ताको 'एउटा, दुइटा क्लास लिने बहानामा भए पनि कीर्तिपुर गइरहन मन लाग्छ' भन्ने वाक्यले पुष्टि गर्दैन र यो कुरा ?

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?