कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एसियाली सहकार्यको समय

सी चिनफिङ

मानव बसोबासको सुरुआती घरमध्ये एसिया पर्छ र यो क्षेत्र मानव सभ्यताको महत्त्वपूर्ण आधार पनि हो । यो सुन्दर र गहन महाद्वीपले पृथ्वीको एक तिहाइ हिस्सा ओगटेको छ भने विश्वको दुईतिहाइ जनसंख्या । यहाँका ४७ देशमा एक हजारभन्दा बढी जातीय समूह बसोबास गरिरहेका छन् ।

एसियाली सहकार्यको समय

यो साझा युगको सयौं हजार वर्षपहिले टिग्रिस र युफ्रेटस, इन्दुस र गंगा अनि एलो नदी र याङत्जेमा बसोबास गरेका हाम्रा पुर्खाहरूले जमिन खने र सिंचाइ गरे, औजार र भाँडाकुँडा बनाए, अनि बस्नका लागि घर बनाए ।


एकपछि अर्को पुस्ता गर्दै हाम्रा एसियाली पुर्खाहरूले आफ्नो अथक प्रयासलाई सार्थक पार्दै समायानुकूल इतिहास अनि समृद्ध सभ्यताको निर्माण गरे । हाम्रा बृहत् र उर्वर जमिन, सुन्दर नदी प्रणाली, ठूला चौरहरू, मरुभूमि, ठूला नदी र महासागर र हिमालहरूले एसियाभर रंगीन र विविधतायुक्त सभ्यता निर्माणमा सघाएका छन् ।


सभ्यता निर्माणका क्रममा एसियाका मानिसले एकदमै ठूला उपलब्धिहरू हासिल गरेका छन् । मलाई लाग्छ, द बुक अफ सङ्स, कन्फ्युसियसको दर्शनको सँगालो, तालमड, एक हजार र एक रात, ऋग्वेद र गेन्जी मोनोगतारी जस्ता श्रेष्ठ साहित्य, पुराना लिपि, नक्सा, सिसा, अरबी अंक, कागज निर्माण र छपाइ प्रविधि अनि ग्रेट वाल, मक्का, ताज महलजस्ता ऐश्वर्यपूर्ण संरचनाहरू यसका उदाहरण हुन् । मानव सभ्यताका अमूल्य निधि हुन् यी । एक-अर्कासँगको अन्तरक्रियाका माध्यमबाट एसियाली सभ्यताले एकअर्कालाई समृद्ध बनाएका छन् भने विकासको महाकाव्य लेखेका छन् ।


एसियाका हाम्रा पुर्खाहरू धेरै पहिलेदेखि नै एकअर्काको सभ्यताको साटासाट र ज्ञान आदान-प्रदानमा संलग्न थिए । सिल्क रोड, टी रोड र स्पाइस रोडजस्ता प्राचीन व्यापार मार्गले रेसम, चिया, माटाका भाँडाकुँडा, मसला, चित्रकला र मूर्तिकलालाई एसियाभर नै विस्तार गरे । व्यापार तथा संस्कृति आदान-प्रदानका हिसाबले एकअर्काको सभ्यतासँग साक्षात्कार गरे ।


आज टु करिडोर एन्ड वान बेल्ट, युरेसिया इकोनोमिक युनियन र अन्य अभियानसहित बेल्ट एन्ड रोड इनिसियटिभका कारण एकअर्काको सभ्यता साटासाट र सिकाइ बृहत रूपमा फैलिएको छ । विज्ञान, प्रविधि, शिक्षा, संस्कृति, स्वास्थ्य र जनता-जनता बीचको सहकार्य फस्टाउँदो छ ।

विश्व सभ्यतामा एसियाली महान् सभ्यताको विशेष स्थान छ । यसले मानव सभ्यतामा विविधता थपेको छ । एसियाको धर्म, दर्शन, नैतिक आचरण, कानुन, साहित्य, चित्रकला, नाट्य अनि गाउँ-सहरका भवनहरूले विश्वमा के योगदान दिन सक्छन्, सोचौं । यिनले एसियाको सामाजिक रीतिथिति, अजम्बरी, श्रेष्ठ र उत्कृष्ट कलाको गौरवमय उपलब्धिको आयतनबारे जानकारी दिन्छन् । यिनले विश्व सभ्यतालाई समृद्ध विकल्प प्रदान गर्छन् ।


हाम्रा विगतको समीक्षा गर्दै एसिया बाहिर हेर्दा हाम्रो सभ्यताले ठूलो आत्मविश्वास दिन्छ । हामीले पुर्खाहरूको समृद्ध सम्पदालाई आकार दिन सक्छौं, अन्य सभ्यतासँग सहकार्य गर्न सक्छौं र आपसी सिकाइलाई बढावा दिन सक्छौं । यसो गर्दै हामीले एसियाली सभ्यतामा नयाँ कीर्ति थप्न सक्छौं ।


हामी एसियाली देशहरू निकट छौं र आत्मीयताको प्राकृतिक बन्धनमा बाँधिएका छौं । हामी एउटै ऐतिहासिक कालखण्डबाट गुज्रियौं र भविष्यका लागि एउटै सपना साँचेका छौं । अझ भन्नुपर्दा, विश्व कता गइरहेको छ भनी हामीले हेक्का राख्नुपर्छ, समयको शैलीमा हिँंड्नुपर्छ र समृद्ध जीवन जिउने हाम्रा जनताको चाहनालाई यथार्थमा परिणत गर्नुपर्छ ।


हामी एसियाभर शान्ति र स्थायित्व चाहन्छौं । शान्ति कायम राख्नु हरेक देशको दायित्व हो । जब द्वन्द्व र युद्धले शान्ति अवरोध हुन्छ, तब आर्थिक वृद्धि, सभ्य जीवन, सामाजिक स्थायित्व र जनता बीचको सम्बन्धमा पनि खलबलिन्छ । हामी एसियाका जनता त्रासबिना खुसी र सुरक्षित अवस्थामा बाँच्न र काम गर्न चाहन्छौं । हामीलाई आशा छ, सबै देशले एकअर्कालाई सम्मान र विश्वास गर्नेछन्, हामी ऐक्यबद्ध भए बस्नेछौं र सीमा, समय र स्थान साथै मानवीय सभ्यतामा भएको भिन्नताको सम्मान गर्नेछौं । हामीले शान्तिका लागि ऐक्यबद्ध भएर काम गर्नुपर्छ, किनकि कहिलेकाहीँ यो सुनभन्दा पनि मूल्यवान हुने गर्छ ।


हामी एसियामा साझा समृद्धि चाहन्छौं । आर्थिक वृद्धिले सभ्यतालाई सघाउँछ र समृद्धिले देशको प्रगतिलाई बलियो बनाउँछ । एसियाका केही भागका जनता, महिला र विशेष गरी बालबालिकाहरू अहिले पनि गरिबी, भोकमरी र रोगबाट प्रताडित छन् । यो अवस्थाको अन्त्य हुनैपर्छ । हामी गरिबीरहित सभ्य जीवन चाहन्छौं । हामीलाई आशा छ, देशहरूले आर्थिक विश्वव्यापीकरणको प्रवर्धनको लागि सहकार्य गर्नेछन् र यसलाई अझ बढी खुला, समावेशी, सन्तुलित र सबैका लागि लाभदायक बनाउनेछन् । यसले गर्दा केही देशमा व्याप्त गरिबी र पछौटेपन निवारणका लागि सहयोग पुग्नेछ । यसले हाम्रा सन्ततिलाई चिन्तामुक्त र हाम्रो परिवारलाई खुसी तुल्याउनेछ ।


हामी खुला र जोडिएको एसिया चाहन्छौं । पछिल्ला दशकमा भएको एसियाको तीव्र विकासले के देखाउँछ भने बाहिरी विश्वका लागि ढोका खुला गर्नु र विश्वव्यापी आर्थिक विकासको शैली पछ्याउनु महत्त्वपूर्ण छ । यदि देशहरूले आफ्नो ढोका बन्द गर्ने र आफैंमा हराउने विकल्प छाने भने मानव सभ्यता एकअर्काबाट विच्छेद हुन्छ र सबै सामथ्र्य हराएर जान्छ । हामीलाई के आशा छ भने सबै देशले निषेध त्याग्नेछन् र एकता, खुलापन र प्रवर्धनको नीति साथै पूर्वाधार, व्यापार र आर्थिक तथा जनता बीचको सम्पर्क प्रवर्धनका नीति अंगीकार गर्नेछन् । यस हिसाबमा हामीले हाम्रो एसियाली समुदाय र मानवीयताको भविष्य संवर्धन गर्न सक्छौं ।


विविधताले सभ्यताहरू बीचको अन्तरक्रियालाई बढावा दिन्छ, जसका कारण आपसी सिकाइ र भविष्यको विकासको प्रवर्धन हुन्छ । हामीले विश्वभरका देश, राज्य र संस्कृतिहरू बीचको सहकार्य र आपसी सिकाइको प्रवर्धन गर्नुपर्छ, एसिया तथा मानवताको भविष्यका लागि साझा भविष्य तय गर्नुपर्छ । मलाई लाग्छ, यसका लागि हामीले निम्नानुसार काम गर्नुपर्छ :


पहिलो, हामीले एकअर्कालाई सम्मान गर्नुपर्छ र समान व्यवहार गर्नुपर्छ । सबै मानिसको आफ्नै फरक सांस्कृतिक वातावरण हुन्छ । हरेकसँग आफ्नै देश र राज्य अनुसारको ज्ञान र दृष्टिकोण हुन्छ र हरेकका लागि त्यो विशेष हुन्छ । जसरी मानिसहरू छालाको रंग र भाषाका आधारमा फरक हुन्छन्, त्यसरी नै सभ्यताहरू पनि फरक हुन्छन् । कुनै पनि सभ्यता अर्कोभन्दा माथि हुन्न । कुनै जात र सभ्यता अर्कोभन्दा ठूलो हुन्छ भन्नु मूर्खता हो ।


यदि सबै सभ्यतालाई एउटै रंगरूपमा ढाल्ने हो भने यो विश्व बस्नका लागि एकदमै निरस हुन्छ । हामीले गर्ने भनेको एकअर्कालाई समान सम्मान र पूर्वाग्रहको त्याग हो । एसियाली सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन र हाम्रो सभ्यताको दिगोपनाका लागि अन्य देशसँग काम गर्न चीन तयार छ ।


दोस्रो, विश्वभरका सभ्यता र विविधताको हामीले सम्मान गर्नुपर्छ । हरेक सभ्यता मानव सिर्जनाको परावर्तन हो र हरेक सभ्यता आफ्नै विशेषताका कारण सुन्दर छ । सभ्यताहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्नु आवश्यक छैन । हामीलाई हरेकमा सुन्दरता देख्ने आँखाचाहिँ चाहिएको छ । हामीले हाम्रै सभ्यतालाई गतिशील राख्नुपर्छ र थप फैलिने वातावरण प्रदान गर्नुपर्छ । हामी सबै मिलेर विश्व सभ्यताको बगैंचालाई रंगीन र चलायमान बनाउन सक्छौं ।


अहिले धेरै देशका सांस्कृतिक कलाहरू चीन भित्रिइरहेका छन् र अन्य धेरै देशले पनि चिनियाँ सांस्कृतिक सामग्रीहरू भित्र्याइरहेका छन् । एसियाका राम्रा कलाहरू चिनियाँ भाषामा र चिनियाँ भाषाबाट अन्य भाषामा अनुवाद गरी प्रवर्धन गर्न पाएकामा चीन निकै खुसी छ । यसले एसियाली जनतालाई एकअर्काको संस्कृतिबारे बुझ्न सघाउँछ ।


तेस्रो, हामी खुला, समावेशी र एकअर्काको सामथ्र्यमा आकर्षित हुनुपर्छ । हाम्रा जीवित अंगहरूले मेटाबोलिजम प्रक्रियाद्वारा आफूलाई पुनर्जागृत गर्नुपर्छ, नत्र हाम्रो जीवनको अन्त्य हुन्छ । यो नियम सभ्यताको हकमा पनि लागू हुन्छ । लामो समय एक्लिँंदा सभ्यताको अन्त्य हुन्छ, जबकि आपसी सहकार्य र सिकाइले यसको विकासलाई कायम राख्छ । एउटा सभ्यता अर्को सभ्यतासँगको सहकार्य र सिकाइबाटै हुर्किन्छ । यस्ता सहकार्य र सिकाइ पारस्परिक, विविधतायुक्त र बहुआयामिक हुनुपर्छ, नकि बलजफ्ती, एकोहोरो र एकतर्फी ।


हामीले खुला सोच राखी सांस्कृतिक सहकार्यमा हुने सबै खाले अवरोध हटाउनुपर्छ । हामी समावेशी हुनुपर्छ र आपसी सहकार्यमार्फत एसियाली सभ्यताको विकास गर्न अर्को सभ्यताबाट पनि बल प्राप्त गर्नुपर्छ ।


सभ्यताहरूबीच सहकार्य र सिकाइका लागि मानिसहरू नै सबैभन्दा उत्कृष्ट सेतु हुन् । पछिल्ला वर्षहरूमा चीनले अन्य देशसँग सहकार्य गरिरहेको छ र शिक्षा, संस्कृति, खेलकुद, स्वास्थ्य र अन्य क्षेत्रमा सहकार्यका लागि विभिन्न माध्यम बनाएको छ ।

चौथो, हामी समयसँगै परिष्कृत हुनुपर्छ र विकासको नयाँ आधार तय गर्नुपर्छ । कुनै सभ्यता टिकाउनुछ भने यसलाई जीवित राख्ने प्रयास हुनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण, जुनसुकै सभ्यताले आफूलाई नयाँ समय अनुकूल बनाउनुपर्छ । विश्व सभ्यताको इतिहासले पनि हामीलाई यही सन्देश दिन्छ । नयाँ सोचसहित हाम्रो सभ्यताको विकासमा ऊर्जा र प्रेरणा भर्नुछ, जसले सभ्यताको आकर्षणलाई जीवित राख्छ ।


मानिसको अन्वेषण र सिर्जनाशीलता वृद्धिका लागि सबैभन्दा उत्तम उपाय भनेको फरक-फरक सभ्यतासँगको सम्पर्क गर्नु, उनीहरूको सामथ्र्य थाहा पाउनु र त्यसप्रति आकर्षित हुनु नै हो । गत वर्षमात्रै अन्य देश पुग्ने चिनियाँ पर्यटकको संख्या १६ करोड थियो भने १४ करोड विदेशीले चीन भ्रमण गरे । यस्ता भ्रमणले ज्ञान र सीपको आदान-प्रदानमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।


एसियाली सभ्यताको एक हिस्सा भएकाले चिनियाँ सभ्यताले यसको सुरुआती दिनदेखि नै परिवर्तन आत्मसात् गरेको छ । कागज, बारुद, छपाइ र कम्पास सम्बन्धी चिनियाँ आविष्कारको विश्वव्यापी प्रभाव छ र यिनले मानव सभ्यताको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । अन्य सभ्यतासँगको सहकार्यबाटै चीनले यो यात्रा तय गरेको हो ।


चीनका राष्ट्रपति चिनफिङले बेइजिङमा आयोजित ‘कन्फ्रेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन्स’ को उद्घाटन सत्रमा मे १५ मा दिएको मन्तव्यको अनुदित र सम्पादित अंश ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?