कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोदीको मतादेश

सम्पादकीय

भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक मत ल्याए पनि भारतीय जनता पार्टीले जितेको भनिँदै छ । भारतीय जनता पार्टीले उल्लेख्य जित हासिल गरे पनि प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको जयजयकार गरिँदै छ । प्रधानमन्त्रीय पद्धतिको राजनीतिक व्यवस्था भए पनि राष्ट्रपतीय व्यवस्थाझैँ एक व्यक्तिमा आधारित निर्वाचन उल्लास मनाइँदै छ । 

मोदीको मतादेश

संसारको सबभन्दा ठूलो लोकतन्त्र मानिएको भारतमा डेढ महिना चलेको सात चरणको आम निर्वाचनपछि बिहीबार घोषित मत परिणामको केन्द्रमा एक व्यक्ति थिए– प्रधानमन्त्री मोदी । परिणामपछि फेरि एकै व्यक्तिमा भारतीय राजनीति झन् आधारित हुने भएको छ– प्रधानमन्त्री मोदी । मोदीको जनमतसंग्रहका रूपमा अर्थ्याइएको निर्वाचनले उनलाई सदर गरिदिएको छ ।


मोदीले पहिला विकासका नारामा जितेका थिए । यसपटक राष्ट्रवादलाई बढावा दिएका थिए । भारत आफैंमा महाभारत हो । चुनावी कुरुक्षेत्रका दाउपेच र पहेली सजिलै बुझ्न मुस्किल छ । अहिले यति बुझ्न सकिन्छ, उनको एकल कठोर नेतृत्वशैलीले व्यापक विविधतासहितको ठूलो देशलाई उकास्ने भानमा आश्वस्त पार्‍यो । विपक्षी दलहरूको मोदीविरुद्धको अभियानले काम गरेन । जातीय गठबन्धन विफल भयो ।


कतिपय बौद्धिकका अनुसार भारतीय जनता पार्टीसित हिन्दु राष्ट्रवादबाहेक दोस्रो कार्यसूची थिएन/छैन । पपुलिजम् अर्थात् लोकरिझ्याइँ नै चुनाव जित्ने उनको मुख्य आधार हो । अघिल्लो पटक दिइएको विकासको नाराले पाँच वर्षमा भनेजस्तो ‘अच्छे दिन’ ल्याएन । बेरोजगारी अझ बढ्यो । सन् २०१८ मा मात्रै १ करोडभन्दा बढीले जागिर गुमाए । किसानका समस्या उस्तै रहे । अर्थतन्त्रको गति धिमा बन्यो ।


बरु यसबीच मोदीमाथि कैयौं संगीन आरोप लागे– धर्मनिरपेक्ष राज्यमा हिन्दुत्वको नारा उचाले, अल्पसंख्यकहरूमा असुरक्षाको भय सिर्जना गरे, जनताको भान्सामा के पाक्छ भनेर निगरानी बढाए । उनको पहिलो कार्यकालमा लोकतन्त्रको ठूलो क्षयीकरण भयो ।काश्मीर आक्रमणपछि राष्ट्रिय सुरक्षालाई उनले चुनाव जित्ने अस्त्र बनाए ।


बौद्धिक विमर्श र जनताको चित्तवृत्ति फरक विषय हुन् । सार्वभौम जनताले आफ्नो विवेक र आवेगको प्रयोग मतपत्रमा गर्छ । अमेरिकी पत्रिका ‘टाइम’ बाट ‘प्रमुख विभाजक’ को संज्ञा पाएका मोदीले भारतीय जनताको मन जोड्छन् कि मत फटाउँछन्, आगामी दिनले बताउनेछ ।


नेपालीलाई यो चुनावको परिणामका कारणभन्दा पनि उनको दोस्रो कालमा नेपाल–भारत सम्बन्ध कस्तो होला भन्ने चासो बढी छ । मोदीको अघिल्लो कार्यकालमा नेपाल–भारत सम्बन्धमा ठूलो उतारचढाव आएको थियो । झन्डै दुई दशकसम्म भारतको राजनीतिक नेतृत्वको नेपाल भ्रमण भएको थिएन, पाँच वर्षको दौरान मोदी चारचोटि नेपाल आए । कर्मचारीको तहबाट माथि उठेर दुई देशबीच राजनीतिक सम्बन्ध पुनः जोडे । यही बीचमै दुई मुलुकको सम्बन्ध प्रजातन्त्र पुनःस्थापनायताकै तिक्ततापूर्ण चरणबाट गुज्रियो । भूकम्पलगत्तै नेपालमाथि भारतले नाकाबन्दी लगायो । नेपाली जनप्रतिनिधिले बनाएको संविधानप्रति अस्वाभाविक सन्देह दर्सायो ।


पछिल्लो समय मात्रै दुई मुलुकको सम्बन्ध पुरानै स्वाभाविक लयमा फर्किएको छ । तैपनि दुवै देशद्वारा गठित प्रबुद्ध व्यक्तिहरूको समूहले तयार पारेको प्रतिवेदन चुनावअघि मोदीले बुझ्न मानेनन् । अब के गर्छन्, सम्बन्धको दिशा त्यसले पनि तय गर्छ । नेपालमा धर्मभीरु राजनीतिमार्फत दक्षिणपन्थ हुर्काउन खोज्ने प्रवृत्ति भित्रभित्रै चलायमान छ, जो मोदीको पुनः जितपछि हौसिन सक्नेछ ।


नेपालको आन्तरिक मामिलामा भारतको चासो कम हुन्छ/हुँदैन, नेपालमा भारतद्वारा सञ्चालित परियोजना समयमै सकिन्छन्/सकिँदैनन् भन्नेले पनि सम्बन्धको स्तरमा फरक पार्नेछ । क्षेत्रीय स्थायित्वमा भारतको भूमिका कस्तो हुनेछ ? सार्कलाई अवरोध गरिरहन्छ कि स्वाभाविक गति लिन दिन्छ ? बिहीबार नै पाकिस्तानले फेरि १५ सय किलोमिटरसम्म मार हान्न सक्ने आणविक मिसाइल प्रक्षेपण गरेको छ ।


भारत–पाकिस्तान तनाव कम गर्न मोदीको सोच कस्तो हुन्छ भन्नेले क्षेत्रीय मामिला निर्दिष्ट गर्छ । भारतमा स्थायित्वपूर्ण मतादेशबाट स्थापित बलियो नेतृत्वले क्षेत्रीय सहित अन्तर्राष्ट्रिय सम्बन्ध पनि प्रभावित गर्ने हुन्छ । भारतीय जनताले आफ्नो मत दिए, मोदीले अब केमा मन दिन्छन्, छरछिमेकले ख्याल गरिरहनेछन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?