कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के हो, चौथो औद्योगिक क्रान्ति ?

रमेश के.सी.

काठमाडौँ — रमेश के.सी.हिजो सत्य लागेका कुरा आज कम सत्य र असत्य लाग्न थालेको छ । सत्य पनि युगसापेक्ष हुँदोरहेछ । जीवन, जगत र प्रकृतिका ‘फेनोमेना’ बुझ्ने ज्ञान पनि अध्ययन र प्रयोगले फरक–फरक हुँदोरहेछ । आज त्यही नयाँ ज्ञानको उदय भइरहेको छ । यो उदाइरहेको ज्ञानको चरित्रलाई चौथो औद्योगिक क्रान्ति भनी वर्ल्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी अध्यक्ष कलाउस स्कवाबले उल्लेख गरेका छन् ।

के हो, चौथो औद्योगिक क्रान्ति ?

यस क्रान्तिमाथि सन् २०१३ को फोरमको सम्मेलनमा अनेकौं सत्र सञ्चालन भए । विज्ञानमा भइरहेको यस क्रान्तिले हामी होमोसेपियनहरूको अहिलेसम्मको विश्वास प्रणाली, कार्यशैली र मस्तिष्कको संरचनालाई नै परिवर्तन गर्दिनेछ । यसले पुरानो सभ्यतालाई मार्नेछ र नयाँ सभ्यताको जन्म गराउनेछ ।


सन् १९९० को दशकमा भविष्यशास्त्री एल्विन टफ्लरले सूचना क्रान्तिको दौरान नयाँ सभ्यता सिर्जना भइरहेको दाबी गरेका थिए । उनका अनुसार मानव सभ्यताका तीन लहर छन् । तीमध्ये पहिलो कृषि क्रान्ति, दोस्रो औद्योगिक क्रान्ति र तेस्रो सूचना क्रान्ति थिए । सूचना क्रान्तिपछि अहिले जन्मिरहेको नयाँ क्रान्ति झन् खतरनाक र दूरगामी हुनेछ । ३० वर्षमा गान्धी र माओले मानव व्यवहारमा ल्याउन नसकेको क्रान्ति एप्पल कम्प्युटरका स्टीभ जब्स, माइक्रोफ्टका बिल गेट्स, फेस बुकका मार्क जुगर वर्ग, अमेजोनका जेफ बेजोज, गुगलका लेरी पेज र अलिबाबाका ज्याकमाहरूले ल्याए । आज संसारका हरेक कुना र मानिसलाई छोएको यस क्रान्तिले सुपर स्टेटजस्ता ‘टेक कम्पनी’हरूको जन्म गराएको छ । केही समय अघिसम्म क्रान्ति राजनीतिक र सामाजिक हुन्छ भन्ने मान्यतालाई यसले तोड्यो । विज्ञान सार्वभौम हुन्छ र यसले प्रकृति र मानवको फेनोमेना बुझ्छ । जसको प्रभावले करिब ३ अर्ब मानिसको डाटाको मालिक फेसबुक कम्पनी कुनै–कुनै राष्ट्रभन्दा बलियो देखिएको छ, सूचनाको मालिकको रूपमा । यस कम्प्युटर र सूचना क्रान्तिपछि न्युरोसाइन्स, क्वान्टम कम्प्युटर, बायोटेक, भर्चुअल र अगमेन्टेट रियालिलटज, स्पेस टेक्नोलोजी, ब्लक चेन र इन्टरनेट अफ थिङ्जले मानव समाजमा असाधारण परिवर्तन ल्याउनेछ । कृषि युग र औद्यौगिक युगका पहिलो र दोस्रो चरणमा बनेका मानव र समाजको परिभाषालाई बदल्नेछ । अब मानव सांस्कृतिक र सामाजिक प्राणीमात्र रहेन । उसको जीवनमा प्रविधि जोडिन आइपुग्यो । यस परिघटनालाई उत्तर–आधुनिकहरूले टेक्नो कल्चर भनेका थिए । आज बायोटेक र इन्फोटेकको सम्मिश्रणले सोच्दै नसोचेको परिवर्तनहरू ल्याउने कुरा इजरायली इतिहासकार युवाल नोहा हरारी बताउँछन् । मानिस स्नायु विज्ञान, जीव रसायन र विद्युतीय तरङ्गहरूको गठजोडबाट बनेको छ भन्ने मान्यता यस चौथो औद्योगिक क्रान्तिले राख्छ । त्यो गठजोडमाथि आविष्कार र प्रयोग गर्नाले मान्छेको क्षमता र स्वरुप परिवर्तन हुन्छ । यस ‘नन अर्गानिक’ मानवलाई अक्सफोर्ड विश्वविद्यालयका निक बोस्ट्रमले उत्तर–मानव भनेका छन् । अब उत्तर–मानवको जन्म हुनेछ । जसको समाजलाई उत्तर–मानव समाज भनिनेछ ।


पहिलो औद्योगिक क्रान्ति १८ औं शताब्दीको मध्यमा लुगा काट्ने मेसिनबाट भएको थियो । जसको प्रविधिले वाष्प इन्जिन र रेलको आविष्कार गरायो । सन् १८७० देखि १९५० सम्म नयाँ प्रविधि र क्रान्तिको जन्म गरायो । जसले रेडियो, टेलिभिजन, विद्युत, प्लेन, टेलिफोन र अटोमोबाइलहरूको जन्म गरायो । सन् १९५० बाट सूचना सिद्धान्त र डिजिटल कम्प्युटिङको आविष्कार गरायो । यो तेस्रो औद्योगिक क्रान्ति थियो । जुन बिसौं शताब्दीमा भएको प्रमात्रा भौतिकीको आविष्कार र प्रयोगबाट सम्भव भएको थियो । अहिले भइरहेको चौथो औद्योगिक क्रान्ति यसैको जगमा उभिएको छ । जसका भविष्यवाणी गुगलका भविष्यशास्त्री रे कर्ज बेल र न्युयोर्क सिटी विश्वविद्यालयका सैद्धान्तिक भौतिकशास्त्रका प्राध्यापक मिचियो काकु गरिरहेका छन् । काकु ‘द फ्युचर अफ ह्युमानिटी’ पुस्तकमा कालान्तरमा पृथ्वी ग्रह मानवजातिको लागि बसोबास गर्न योग्य भएन वा वातावरणीय संकटले मानव अस्तित्व संकटमा पर्‍यो भने मंगलग्रहमा मानव बसोबास सम्भव छ भन्नेसम्म भविष्यवाणी गर्छन् । जसको संकेत आज सुरु भएको स्पेस पर्यटनले पनि दिएको छ ।


मान्छे यस क्रान्तिमा विभिन्न ग्रहको भ्रमण गर्न सक्छ । स्नायु विज्ञानको विकासले मानव चेतनालाई शरीरबाट निकालेर स्पेसमा घुमाउन सकिन्छ । यी यस्ता गुण हुन्, जुन चौथो औद्योगिक क्रान्तिमा सम्भव हुन्छ । बायोटेकको विकासले मानिस कहिल्यै नमर्नेगरी अमरता प्राप्त गर्छ । यसले मृत्युलाई जित्छ । जसलाई क्रोयनिक्स भनिन्छ । शरीरका अङ्गहरू सबै कृत्रिम रूपमा बनाउन सकिन्छ । मस्तिष्कको कृत्रिम रूप उत्पादन हुन्छ । जिन एडिट गरेर भ्रूण अवस्थामै व्यक्तिको स्वभाव र क्षमतालाई निर्धारण गर्न सकिन्छ । मानव क्लोनिङ हुन्छ । थ्री डी प्रिन्टिङबाट आफूले चाहेको सामान बनाउन सकिन्छ । मानव जत्तिकै सोच्न सक्ने रोबर्टहरू हुन्छन् । उद्योग, अस्पताल र कार्यालयहरूमा रोबर्टले काम गर्नेछन् । जसले मानव श्रमलाई विस्थापन गर्नेछ । मानव मस्तिष्कसँग इन्टरनेट जोडिनेछ । लुगाजस्तो लगाउने टेक वस्त्रहरू आविष्कार हुनेछन् । जसबाट मानवले आफ्नो क्षमता विकास र प्रविधिमार्फत शरीरको क्षमताको खेलवाड गर्नेछ । यस क्रान्तिको सार के हो भने मानव मेसिन र जैविक रसायनहरूको गठजोड हो । जसलाई प्रविधिमार्फत जे पनि गर्न सकिन्छ । आज साइन्स फिक्सन फिल्ममा देखाएको कुरा भोलि यथार्थ बन्नेछ । जसको प्रहार आफै पनि कृषि युगमा बसिरहेका समुदायलाई पर्नेछ । पहिलो र दोस्रो औद्योगिक क्रान्ति शैलीमा बाँचिरहेकाहरू पछौटे हुनेछन् । यसले स्मार्ट समाज र स्मार्ट मानवको अवधारण ल्याउनेछ । सबै कुरो सौर्य ऊर्जाबाट हुनेछ । जियो इन्जिनियरिङमा पनि उथल–पुथल ल्याउनेछ । यो कायाकल्पले केही नीतिगत र धार्मिक प्रश्न उठाउनेछ । के मानव मेसिन हो ? ईश्वरको भूमिका के त ? जस्ता प्रश्नले पिरोल्नेछ । हिजोको सभ्यतालाई ठाडो चुनौती दिने यसले ‘टेक’ विभेद पनि ल्याउनेछ ।


अहिले डिजिटल डिभाइडजस्तो यसले टेक डिभाइड पनि ल्याउनेछ । विश्वका विशेष गरेर पश्चिमका वैज्ञानिक र पुँजीपतिहरूद्वारा प्रचारित चौथो औद्योगिक क्रान्तिले विकासशील तेस्रो विश्वका राष्ट्रहरू र पछौटे समुदायलाई सकसमा पार्नेछ । विज्ञान प्रविधि पनि शक्तिशालीहरूकै आर्थिक फाइदा र बलवान हुने महत्त्वकांक्षाको सेवा गर्ने हो भने आम समुदाय त्यसको लाभबाट वञ्चित हुनेछन् । ठूलठूला राष्ट्रहरू त्यस प्रतिस्पर्धामा आउनेछन् । चौथो औद्योगिक क्रान्तिले ‘टेक वार’ पनि ल्याउनेछ । अहिले यस विषयमा प्रतिस्पर्धा सुरु भइसकेको छ । चीनको ५ जी प्रणालीको विस्तार गर्न चाहने हुबाबे कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध र गुगलको प्रविधि प्रयोग गर्न दिन अस्वीकार गर्ने कदमले चौथो औद्योगिक क्रान्तिको महत्त्व देखाउँछ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्– जसले ‘निर्मित बौद्धिकता’माथि पकड जमाउँछ, उही शक्तिशाली हुन्छ । यसर्थ चौथो औद्योगिक क्रान्ति राजनीतिक हिसाबले पनि जटिल प्रक्रिया हो ।


प्रकाशित : असार ७, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?