कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्देश्य के लिनु मूर्ति ठड्याउनु

सम्पादकीय

के पूर्व, के पश्चिम, स्थानीय सरकारहरूले विकासका नाममा धमाधम गिनिज बुकमा नाम लेखाउने तरिकाले काम गर्न थालेका छन् । नजाने कसको प्रेरणा हो वा दबाब, अनेक तरहका भ्यु टावर र मूर्ति ठड्याउने होड बढाएका छन् । जनताको घरदैलोसँग पायक पर्ने गरी गठन भएका सरकारको काम जनताको जीवनस्तर उकास्नेभन्दा आफ्नो क्षेत्रको सान बढाउने हुन थालेको छ । सान राख्न सौकत देखाउने यो रवैयाले स्थानीय सरकारमा पुर्‍याइएको शक्तिको उपहास गरेको छ । 

सिलसिला लामो छ । पछिल्लोपल्ट तनहुँ, दमौलीस्थित व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषले महर्षि वेदव्यासको १ सय ८ फिट अग्लो प्रतिमा बनाउने निर्णय गरेको छ । व्यास नगरपालिकाले त्यसका लागि ५० लाख बजेट दिने भएको छ । व्यास–३ स्थित शिवपाञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको मूर्तिसहित सबै संरचना निर्माणका लागि करिब ६२ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

त्यसैगरी, पूर्वी नेपालको मोरङस्थित ‘सुन्दर हरैंचा विकासको बगैंचा’ नारा दिने सुन्दर हरैंचा नगरपालिकाले संसारकै अग्लो गाईको मूर्ति बनाउन भनी ९९ लाख बजेट विनियोजन गरेको छ । गत वर्ष असार १० गते सम्पन्न तेस्रो नगरसभाले नगरभित्र गौरवका योजना बनाउने निर्णय गरेसँगै गौशाला–५ मा गाईको मूर्ति बनाउन तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलियाबाट शिलान्यास गराएको थियो ।

छिमेकी भारतको भद्दा नक्कल गर्दै कृत्रिम विकास गर्ने लहड सुरु भएजस्तो छ । त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले केही महिनाअघि गुजरातको बडोदरा नदीमा सर्दार बल्लभभाइ पटेलको १ सय ८२ फिट अग्लो मूर्ति अनावरण गरेका थिए । ‘एकताको प्रतिमूर्ति’ नाम दिइएको मूर्ति संसारकै अग्लो भएको भारतीय राष्ट्रवादीहरूले हर्षबढाइँ गरेका थिए ।

हाम्रा जनप्रतिनिधिहरूले स्थानीय सरकारमार्फत स्थानीय जनतालाई अधिकार र अवसर सम्पन्न बनाउने मूल मर्म आत्मसात् गर्न सकेको देखिँदैन । कसरी हुन्छ छिटो कुनै भौतिक स्वरूप देखाउने कथित विकासको अल्पबुझाइबाट उनीहरू ग्रसित भएका छन् । पहाड खोल्ने र नदीनाला खोस्रने गरी डोजर र एस्काभेटर अन्धाधुन्ध चलाएका छन् । सिमेन्टका संरचना ठड्याएर ‘विकास’ मा बलियो सावित हुन खोजेका छन् । स्थानीय सरकारहरू विकासका नाममा बरालिने बाटो यात्रारत हुन थालेको साँच्चै नै लोकतन्त्र र स्थानीय शासनका दृष्टिले चिन्ताजनक चित्र हो ।

जस्तो, दमौलीको दक्षिणतिर मादी र सेतीको दोभान क्षेत्रको खुला ठाउँ आफैंमा सुरम्य छ । सार्वजनिक ठाउँ खुला राख्नु स्थानीय सरकारको दायित्व भए पनि त्यहाँ संरचना निर्माण गर्ने निर्णय गर्नु अरू सहरहरूको देखासिकी हो । पर्यटन विकास निम्ति व्यासको प्रतिमा ठड्याउनु उचित कि व्यास गुफाको संरक्षण ? मूर्ति बनाएर फूल चढाउने कि व्याससम्बन्धी खोजी, अनुसन्धान गरेर कृति प्रकाशन गर्ने ?

व्यासले गरेका प्राज्ञिक कार्यका ग्रन्थ तयार गर्ने, प्रवर्द्धन गर्ने, परिवेशलाई पुरातात्त्विक राख्ने कि प्रदर्शनीय बनाउने ? व्यास गुफा प्राकृतिक छटायुक्त हुनुपर्छ कि रमाइलो मेलाको गुलजार बजार ? व्यास गुफाको प्रवर्द्धन गर्न के मूर्तिको अट्टालिका बनाउनुपर्छ ? के हामीसँग त्यस्तो विशाल अमर कलाकृति छ जसलाई क्षितिज चुम्ने गरी आकाशतिर फैलाउनुपर्छ ?

त्यस्तै मोरङको सुन्दर हरैंचा नगरपालिकाले संसारकै अग्लो गाईको मूर्ति बनाएर के कीर्तिमान कायम गर्न खोजेको हो ? यो केको फूर्ति हो ? केको स्वाङ हो ? कसलाई देखाउन चाहेको हो ? यो हाम्रा जनप्रतिनिधिमा व्याप्त रहेको आर्थिक उद्यमशीलता र सिर्जनशीलता शून्यताको चरम अभिव्यक्ति हो । विकासका नाममा यो हाम्रो विद्रुप अनुहार हो । त्यसकारण, यस्तो अभिमानपूर्ण दम्भी नक्कले विकास अविलम्ब रोक्नुपर्छ ।

प्रकाशित : असार १२, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?