८ घण्टा काम गर्ने प्रावधान

कान्तिपुर संवाददाता

काठमाडौँ — ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकामा मजदुरले गर्दै आएका संघर्षस्वरूप एसियाका देशमा पनि हप्ताको ४० घण्टा रुटिनमा चल्दै आएको छ  । युरोपका केही देशमा दैनिक १० घण्टाका दरले काम गरी हप्ताको ४ दिन काम गरी ३ दिन बिदा दिने चलन रही आएको छ  ।

संसारका सबैजसो देशमा हप्ताको ५ दिन काम र २ दिन बिदा दिने चलन छ । नेपालमा सरकारी कर्मचारीलाई ५ दिनका ७ घण्टा र शुक्रबार ५ घण्टा गरी हप्ताको ४० घण्टा काम गर्ने चलन रही आएको छ । बहाल श्रम ऐनअनुसार श्रमिक र कर्मचारीले निजी कम्पनीहरूमा दैनिक ८ घण्टा कार्य गरी हप्ताको ४८ घण्टा तोकेकाले सोहीअनुरूप निजी क्षेत्रका श्रमिक र कर्मचारीले हप्ताको ४८ घण्टा कार्य गर्न परिरहेको छ तर अन्तर्राष्ट्रिय मान्यताअनुरूप हप्ताको ४० घण्टा मात्र काम लगाउन पाइन्छ । त्यसैअनुरूप सरकारले हप्ताको ४० घण्टाको मापदण्ड राखेको छ । नेपालमा निजी क्षेत्रमा हप्ताको ४८ घण्टा कार्य गर्ने समय सरकारको कार्य समयसँग बाँझिएको छ ।
–सुमनकुमार रेग्मी, लपु–१, कुपन्डोल

प्रकाशित : फाल्गुन १९, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

काल बन्दै छ यात्रा !

कान्तिपुर संवाददाता

काठमाडौँ — उडान र गुडान दुवै यात्रा असुरक्षित बन्दै गएको छ  । नियम पालना नगर्नु, याक्रामा हेलचेत्र्याइँ गर्नु, हवाई यात्रा र सडक यात्रा दुर्घटनाको प्रमुख कारण हुँदै आएका छन्  ।

गुडानमा त कतिलाई ट्राफिक नियम नै थाहा हुँदैन भने थाहा हुनेले पनि नियम पालना गरेको देखिँदैन । यात्रा गर्दाको अनुभव छ, जतिबेला सबैलाई हतार हुन्छ । लेनमा चल्न र अर्को सवारीसाधनको पछि हुन कसैलाई मन पर्दैन । मोडमा ओभरटेक, अत्यधिक गति देखिन्छ । पछिल्लो समय टिपर र बोलेरो पिक अप गाडीबाट दुर्घटना धेरै भएको देखिन्छ तर सम्बन्धित पक्षको चासो न्यून छ । ‘मापसे’ गरेर सवारी चलाउनु दुर्घटनाको अर्को कारण हो । किनिएका सवारी चालक अनुमतिपत्र, गुणस्तरहीन र खाल्डाखुल्डी सडकको अवस्था पनि दुर्घटनाको कारण बनेको छ ।


उडानमा देशको भौगोलिकता र पुराना जहाज र हेलिकप्टर खरिद गरी सेवामा लगाउनु पनि दुर्घटनाको कारण बनेका छन् । सम्बन्धित नियमनकारी पक्षको चासो बढाउनु र ट्राफिक जनचेतनाका कार्यक्रम गरी सबैलाई सुसूचित गर्नु आवश्यक देखिन्छ ।
–जोन कँडेल, भरतपुर, चितवन

बर्सेनि हवाई दुर्घटना भइरहेको छ । हवाई दुर्घटनामा परी विशिष्ट व्यक्तित्वदेखि सर्वसाधारण नागरिकले ज्यान गुमाउनुपरेको यथार्थलाई नेपालीले सामना गरिरहनुपरेको छ । भर्खर मात्र हामीले एक होनहार युवा नेता, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई गुमाएका छौं । अन्य विभिन्न क्षेक्रका विशिष्ट व्यत्तिले पनि सो दुर्घटनामा ज्यान गुमाउन पुगे । आखिर किन होला एकपछि अर्को हवाई दुर्घटना नेपाली आकाशमा बढिरहेको ? सरोकारवाला निकायहरूले गम्भीर समीक्षा गर्नुपर्छ । नेपाली आकाश दिनानुदिन असुरक्षित बन्दै गइरहेका बेला सरकार भने जुन दुर्घटनामा पनि हतारहतार छानबिन समिति बनाएर टाउको हल्का पारिहाल्छ । हालसम्म भएका हवाई दुर्घटनाको कारण पत्ता लगाउन गठित छानबिन समितिले के कस्ता प्रतिवेदन दिए, त्यसको परिपालना कडाइसाथ लागू गराइयो कि गराइएन सरकारसमक्ष आम नागरिकले औंला ठड्याउनुपर्ने बेला भएको छ । केवल औपचारिकता पूरा गर्न छानबिन समिति बनाउनुको कुनै अर्थ छैन । अब यस्ता दुःखद दुर्घटना नदोहोरिऊन् । नेपालजस्तो हिमाली र पहाडी भूगोल भएको देशमा प्रतिकूल मौसमका बेला हवाईजहाज उड्न अनुमति दिनु हुँदैन । आवश्यक समयमा अनिवार्य इन्जिनलगायत पाटपुर्जा चेक गर्ने, हवाई उड्डयन क्षेत्रमा पालन गर्नुपर्ने नियम कडाइसाथ परिपालन गराउने हो भने केही हदसम्म दुर्घटनामा कमी ल्याउन सकिनेछ ।
-पूर्ण थापा, सालु–४, मन्थली, रामेछाप

प्रकाशित : फाल्गुन १९, २०७५ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्