कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परराष्ट्र नीतिमा सन्तुलन आवश्यक

काठमाडौँ — कान्तिपुरको चैत १ को अंकमा प्रकाशित ध्रुव कुमारको लेख ‘अमेरिकी सुर्ता’ मैले आद्योपान्त पढेँ  । परराष्ट्र मामिलामा चासो राख्नेहरूलाई यसले राम्रो खुराक दिएको छ  ।

परराष्ट्र नीतिमा सन्तुलन आवश्यक

हाम्रो देशको नीतिनिर्माण तहमा बसेकाहरूले त झन् यो लेखबाट निकै राम्रो शिक्षा लिन सक्छन्, पाठ सिक्न सक्छन् । अहिले अमेरिका ‘महाशक्तिराष्ट्र’ को हैसियतबाट तल झरिरहेको छ । हाम्रो उत्तरी छिमेकी चीनले उसलाई हरेक मामिलामा टक्कर दिइरहेको छ, महाशक्तिका रूपमा उदाइरहेको छ । यही पृष्ठभूमिमा विश्व नयाँ शीतयुद्धको चरणमा प्रवेश गरेको छ । अमेरिका र चीनबीच शीतयुद्ध सुरु भएको छ र यसलाई लिएर हामी बढी सजग हुनु परिरहेको छ । यसअघि अमेरिका र रूसबीच भएको शीतयुद्धको असर हामीकहाँ सोझै आइपुगेको थिएन । दुइटै मुलुकबाट टाढा रहेकाले हामीमाथि त्यसको कुनै दबाब थिएन । फेरि हामीले असंलग्न परराष्ट्र नीति अँगालेका थियौँ तर अहिलेको शीतयुद्धमा हामी केन्द्रमा छौं किनकि यसको एउटा पक्ष चीनसँग हाम्रो सीमा जोडिएको छ । तिब्बत र ताईवान चीनका कमजोर पक्ष हुन् । अतः अमेरिकाले तिब्बत र ताईवानसम्बन्धी रणनीति छोड्नेछैन । विश्वभर छरिएका तिब्बतीहरूलाई अमेरिकाले त्यही भएर आर्थिक सहयोग गर्ने गरिरहेको छ । तिब्बत हाम्रो उत्तरी सीमा रहेकाले यो मामिलामा अमेरिकाका लागि नेपालको निकै महत्त्व छ । त्यसैले अमेरिकाले इन्डो–प्यासिफिक रणनीतिमा नेपालको केन्द्रीय भूमिका खोजेको छ, नेपाललाई फकाउन–फुस्ल्याउन उसले अनेक कोसिस गरिरहेको छ । दुइटै देशका लागि उत्तिकै महत्त्व रहेको नेपालले कसैको उक्साहटमा आइहाल्नु हुन्न । आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर उसले आफ्ना पाइला अगाडि बढाउनुपर्छ । चीनको मूल्यमा अमेरिकासँगको सम्बन्ध र अमेरिकाको मूल्यमा चीनसितको सम्बन्ध प्रत्युत्पादक त हुन्छ नै, निकै जोखिमपूर्ण पनि हुन सक्छ ।
– डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : चैत्र ३, २०७५ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?